रास्वपा सभापतिमा फर्किए रवि लामिछाने
काठमाडौं । राप्रपा (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय गरिएको छ । पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो बैठकमा कार्यवाह सभापतिद्वारा धन्यवाद ज्ञापन हुनेछ र दोस्रो बैठक पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बस्नेछ ।’
चोरी भई अमेरिका पुगेका २१ पुरातात्विक कलाकृति नेपाल फिर्ता, १७७ पुरातात्विक वस्तु फर्किसके
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ वटा ऐतिहासिक तथा पुरातात्विक महत्वका कलात्मक वस्तु फिर्ता गरिएका छन् । यीमध्ये तीनवटा पौवा चित्र काठमाडौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए, भने नवौँ शताब्दीको स्थानक बुद्धको प्रस्तर मूर्ति बुङ्मतीको मच्छिन्द्रबहाल परिसरबाट हराएको थियो । पाटनको गुइत टोलको मुछलिन्द बुद्ध मूर्ति र अन्य १६ कलाकृतिहरू पनि विभिन्न समयमा चोरी भई अमेरिका पुगेका थिए । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित घरबास सुरक्षा अनुसन्धान विभाग र म्यानहटन जिल्ला न्यायधिवक्ताको कार्यालय को सहकार्यमा ती कलात्मक वस्तुहरू पहिचान गरी फिर्ता गरिएको हो । अमेरिकी अधिकारीहरूले फागुन १६ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई ती वस्तुहरू हस्तान्तरण गरेका थिए। नेपाल सम्पदा पुनःस्थापना अभियान, आर्ट इन्ष्टिच्युट अफ सिकागो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी इन्टरपोल शाखा, नेपालस्थित अमेरिकी राजदूतावास, लस्ट आर्ट्स अफ नेपाल लगायतका संस्थाहरूको सहकार्यमा यी वस्तुहरू नेपाल फिर्ता गराइएको हो । सन् १९८६ यता नेपालबाट हराएका पुरातात्विक तथा कलात्मक वस्तु फिर्ता गर्ने अभियान चलिरहेको छ । हालसम्म बेलायत, अमेरिका, चीन, भारत, जर्मनी, अष्ट्रेलिया लगायतका देशबाट १७७ वटा कलात्मक वस्तु नेपाल फिर्ता भइसकेका छन् । अहिलेसम्म संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फर्काइएका पुरातात्विक सम्पदाहरूको सङ्ख्या १०४ पुगेको छ । फ्रान्स, बेलायत, चीन, अष्ट्रिया लगायतका देशहरूबाट थप सम्पदा फिर्ता गर्न कूटनीतिक पहल जारी रहेको पुरातत्व विभागले जनाएको छ ।
तीनकुने घटनाको छानविन गरी दोषीउपर कडा कारबाही गर्न सांसदहरूको माग
काठमाडौं । चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सांसदहरूले सरकारलाई दबाब दिएका छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले सुरक्षाको कमजोरीले हिंसा, आगजनी र जनधनको क्षति भएको भन्दै सरकारको असक्षमतामाथि प्रश्न उठाए । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले तीनकुने घटनालाई अराजकता र उदण्डताको पराकाष्ठा भन्दै यसको कडा निन्दा गरे । उनले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पाइन्छ, तर तीनकुनेमा भएको हिंसात्मक गतिविधि क्षम्य हुन सक्दैन । सरकारले सुरक्षाका लागि पूर्व तयारी गर्न नसक्दा ठूलो क्षति भयो ।’ नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले घटनामा संलग्नलाई कडा कानूनी कारबाही गर्न माग गरिन् । उनले पत्रकारमाथिको आक्रमण र कीर्तिपुरका एक युवाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले उक्त घटनाले देशको शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत प्रभावित पारेको बताउँदै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘युवाहरूको भविष्य नै अनिश्चित हुने गरी हिंसात्मक घटना भयो। सरकारको नेतृत्व असफल भएको हो कि भन्ने प्रश्न उठेको छ ।’ सांसदहरूले यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षा उपाय अपनाउन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई सचेत गराएका छन् ।
राजावादीको हिंसात्मक गतिविधिविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । राजावादी समूहको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) ले चैत २५ भित्र देशव्यापी भण्डाफोर अभियानसहित विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नु अराजकता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले सरकारको असक्षमता र सुरक्षाकर्मी परिचालनमा कमजोरी देखिएको आरोप लगाए । उनले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरे । उनले भने, ‘राजावादी प्रदर्शनको नाममा हिंसा मच्चाउने, सञ्चारगृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्य निन्दनीय छ । हाम्रो पार्टीको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय र अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको आक्रमणको विरोधमा सबै तहमा व्यापक प्रदर्शन गरिनेछ ।’ नेकपा एसले हिंसा र अराजकता रोक्न सरकारलाई कडा कदम चाल्न आग्रह गर्दै आफ्ना सबै कमिटी तथा जनसंगठनहरूलाई विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ ।
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ । बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रुपमा काम अघि बढाउन निर्देशन दिए । उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए । सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ । यसैगरी बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरुको मनोनयन गरिएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावललगायत सहभागी रहेको थियो ।
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने : भागेको होइन, ज्यान जोगाएको हुँ
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित बसिरहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रसाईंले प्रहरीको घेरा तोडेर गाडी अघि बढाएका थिए । यस क्रममा उनले अश्लील शब्द प्रयोग गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमक व्यवहार देखाएको आरोप लागेको छ । यसपछि फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रहरीसँग माफी मागेका छन् । उनले भने, ‘म सुरक्षित हुनका लागि मात्र प्रहरी घेरा तोडेको हुँ । तपाईंहरूसँग कुनै व्यक्तिगत दुष्मनी छैन । तपाईंहरूलाई परेको चोटप्रति माफी चाहन्छु ।’ प्रसाईंले आफूलाई मार्ने योजना बनाइएकाले बाध्य भएर यस्तो कदम चालेको दाबीसमेत गरेका छन् । ‘मेरो कानको छेवैबाट गोली गयो, मेरो गाडीमै अश्रुग्यास हानियो । मलाई मार्ने षड्यन्त्र भएपछि ज्यान जोगाउन प्रहरीको घेरा तोडेको हुँ,’ उनले भने । उनले आफू प्रहरी र आमजनतालाई माया गर्ने व्यक्ति भएको दाबी गर्दै कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको संकेत गरेका छन् ।
तीनकुने घटना : निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने सबैलाई खोज्दै प्रहरी
काठमाडौं । नेपाल प्रहरीले तीनकुने घटनामा विभिन्न निजी सम्पत्ति तोडफोड तथा लुटपाट गर्नेलाई पक्राउ गरेर कारवाही गर्ने भएको छ । नेपाल प्रहरीले निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट गर्नेको खोजी भइरहेको बताएको छ । शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटी, सिनामंगल लगायत विभिन्न क्षेत्रहरुम निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारी साधनमा तोडफोड, आगजनी, लुटपाट एवम् अन्य गैरकानूनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रहरीले त्यस्ता व्यक्तिहरुको सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरणं उपलध् गरी सहयोग गर्न पनि आग्रह गरेको छ । गत शुक्रबार राजवादीका समर्थकले तीनकुने आसपास क्षेत्रमा हिंसात्मक गतिविधि गरेका थिए । निजी घरमा आगजनी, तोडफोड, सवारी साधनमा आगजनी गरेका थिए । सो घटनामा दुई जनाको मृत्यु भएको थियो । दुई दर्जन बढी व्यक्ति पक्राउ भइसकेका छन् भने अन्यलाई प्रहरीले खोजी गरिरहेको छ ।
राजावादी प्रदर्शनमा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति र सुरक्षाकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण गर्दै छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले घटनाबाट दुई नेपाली नागरिकको मृत्यु, सुरक्षाकर्मी घाइते हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन सरकारलाई सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिए । समितिले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने उपचारका लागि प्रभावकारी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेको छ ।