विकासन्युज

तीनकुने घरभित्रको त्यो ‘अन्तिम आवर’ : म बल्लतल्ल बाँचे, सुरेश दाई अस्ताए

हातका औंला काँपिरहेका छन् । क्यामेराको सटर थिच्ने यी औंला आज किबोर्ड थिच्न मानिरहेका छैनन् । तर, कतिपय भिडियो र तस्बिरमा कैद हुन नसकेका विषयलाई शब्दजालले सहयोग गरिदिँदा रहेछन् । मैले कतै पढेको थिएँ, ‘हजारौं शब्द एउटै तस्बिरले बोल्छ ।’ तर, म त्यही तस्बिर खिच्ने मान्छे आज कनिकुथी शब्द खेलाएर सन्देश दिँदैछु । उसो त आन्दोलन मलाई झर्को लाग्छ । सकेसम्म देश शान्त रहोस्, हामी सबै सुखी र खुसी रहूँ भन्ने मनोकांक्षा सबैको हुन्छ । तर, सबैको आकांक्षा, चाहना र मनसाय कहाँ एउटै हुँदो रहेछ र ! विगतमा विभिन्न उश्रृङ्खल गतिविधि गरेर जनतालाई भड्काउँदै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन हुने खबर सुनियो । आन्दोलन नहोस् भन्ने चाहना भएपनि हामी फोटो/भिडियो पत्रकारको काम त्यहाँ पुग्नै पर्ने । समाचार त फोनबाट सोधेर पनि लेख्न सकिन्छ होला तर फोटो र भिडियोका लागि भने फिल्डमा दगुर्नै पर्ने । यही बाध्यता, विवशता र आफ्नो कामप्रतिको धर्म र इमानदारिताले पनि म १५ गते हुने गणतन्त्रवादी अर्थात् समाजवादी मोर्चा नेपाल र राजावादीले गर्ने प्रदर्शनको रिपोर्टिङका लागि १४ गतेदेखि नै खटिएँ । १४ गते राति ११ बजे प्रदर्शनी मार्गमा पुगेर विकासन्यूजको फेसबुक पेजबाट त्यहाँको तयारीको विषयमा प्रत्यक्ष प्रसारण गरें । धमाधम स्टेज निर्माणको काम हुँदै थियो । ठाउँ-ठाउँमा माइक राखिँदै थिए । गणतन्त्रवादीको प्रदर्शन १५ गते भव्य र सभ्यका साथ हुन सक्ने आँकलन मैले त्यतिखरै गरें । मञ्च व्यवस्थापन तथा अन्य तयारी गरिरहेकाहरुसँग कुराकानी गर्दा महसुस गरेको कुरा थियो त्यो । प्रदर्शनी मार्गको तयारीको अवस्थामा अपडेट सकाएपछि तीनकुनैतर्फ लागें । साथमा सहकर्मी महेश पौडेल पनि हुनुहुन्थ्यो । हामीबीच भोलि अर्थात् १५ गते हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शन कस्तो होला ? भन्ने कुरा बाटोमा चलिरह्यो । हामी तीनकुने पुग्यौं । पत्रकारिता पढेको र गरिरहेको हिसाबले पनि मलाई कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रही हुनु हुँदैन । समाचार सामग्रीहरू सन्तुलित हुनुपर्छ भन्ने थोरबहुत ज्ञान छ । यही विषयलाई महसुस गर्दै हामी प्रदर्शनी मार्गको लाइभ सकेर तीनकुने पुगेका थियौं । तीनकुनेमा पनि राजावादीले धमधाम तयारी गर्दै थिए । त्यहाँ पुगेर पनि साढे ११ बजे लाइभ गरें । प्रदर्शनी मार्गजस्तै मैले त्यहाँ पनि तयारी गरिरहेकाहरूसँग कुराकानी गरें । भोलिको राजावादीको प्रदर्शन उश्रृङ्खल बन्न सक्ने आँकलन मैले त्यतिखेरै गरें । १५ गतेको प्रदर्शनीका लागि तोकिएको कमाण्डर दुर्गा प्रसाईंले नेतृत्व गर्ने जत्थाले के-कतिसम्म र कस्तो हर्कत देखाउँछन् भन्ने कुरा जोकोहीले पनि सहजै पूर्वानुमान लगाउन सक्छन् । मैले पनि त्यहाँ कुराकानी गर्दा त्यस्तै महसुस गरें । मैले १५ गते हुने गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनीमध्ये राजावादीको प्रदर्शन रोजें । केही चुनौतीपूर्ण र सकसपूर्ण हुने भएपनि फोटो पत्रकारका लागि मुडभेड र आन्दोलन तस्बिर खिच्न उद्देलित नै गर्छ । यो मेरो भोगाइ हो । स्टेजमा बोलिरहेका नेताहरूका तस्बिर खिच्नुभन्दा सडकमा उफ्रिन सक्ने राजावादीको तस्बिर र भिडियोहरू चर्चामा आउन सक्ने आत्मबोध गर्दै म तीनकुनेतर्फ लागें । सहकर्मी बटुराज गिरी गणतन्त्रवादीको प्रदर्शनीको कभरेज गर्न गए । फोटो पत्रकारिता यस्तो काम हो जति गरेपनि जस्तो गरे पनि आत्मसन्तुष्टि नहुने । तस्बिरको तिर्खा लागिरहने । भइरहेको कामलाई थप गरौं भन्ने चाहना हुने । एउटा फोटो खिचिसकेपछि अर्को राम्रो फोटो आउँछ कि भनेर थप लालायित बनिहाल्ने । यही चाहना र लोभले कामको शिलशिलामा सँगसँगै फिल्डमा भेटिरहने फोटो पत्रकार दाई सुरेश रजकको काम गर्दागर्दै ज्यान गयो । यो विषयमा एकछिन पछि कुरा गर्छु । चैत १५ गते बिहान ११ बजे नै सुरु हुने भनिएको राजावादीको प्रदर्शन साढे ११ बजिसकेको थियो सुरु हुने छाँटकाट थिएन । साढे ११ बजेसम्म सीमित प्रदर्शनकारी मात्रै तीनकुने आइपुगेका थिए । केही समयपछि एउटा समूह चाबहिल र अर्को समूह कोटेश्वरबाट र्‍याली निकाल्दै तीनकुनेमा आइपुग्यो । तीनकुनेमा हुने भनिएको प्रदर्शन फिल्ड नै वेवास्ता गर्दै बानेश्वरतर्फ लम्कियो । सञ्चारकर्मीहरूले प्रदर्शनकारीहरूसँग कुराकानी गर्न थाल्यौं । उनीहरु भन्दै थिए, ‘मिडियामा बोलेर केही हुँदैन, जाऔं बानेश्वरमा सुरक्षाकर्मीले लगाएको बार भत्काऔं ।’ उनीहरूको रफ्तार बढ्दै गयो । १४ गते राति राजावादीको आन्दोलन अराजक बन्न सक्छ भन्ने जुन आँकलन मैले गरेको थिएँ, त्यहाँको हाउभाउले पनि त्यस्तै देखाउँदै थियो । शान्तिनगरको गेटमा सुरक्षाकर्मीले बार लगाएका थिए । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ थिए । राजावादी उग्र बन्दै गए । जसरी पनि त्यो बार भत्काउने होडमा उनीहरू थिए । सुरक्षाकर्मीले यो प्रदर्शनले उग्ररूप लिन सक्ने अनुमान गरेका हुन सक्छन्, त्यतिबेलै प्रहार भयो, ‘अश्रुग्यास’ । त्यही अश्रुग्यास अभिशाप बन्यो । राजावादी थप उग्र बने । सरकारले आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाए । निरन्तर अश्रुग्यास प्रहार भएपछि राजावादीका समर्थक तितरबितर बने । आन्दोलन साम्य बन्यो । अब राजावादी समर्थक छिन्नभिन्न भएको र घर लागिसकेको अनुमान सुरक्षाकर्मीले लगाए । तैनाथ भएका सुरक्षाकर्मी केही घटे । तर, त्यति नै बेला त्यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसँगै रविन्द्र मिश्र, धबलशमशेर राणा लगायत नेताहरू तीनकुनेमा प्रवेश गरे । तितरबितर भइसकेका समर्थकलाई कार्यक्रमस्थलमा आउन उनीहरूले निर्देशन दिए । नडराएर अगाडि बढ्न ढाडस दिए । नेताहरूको त्यो ढाडसपछि आन्दोलनकारीहरू थप उत्साहित बने । अनि सुरु भयो ढुङ्गामुढाको वर्षा । प्रदर्शनकारीले ढुङ्गामुढा हान्ने र सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्ने शिलशिला निरन्तर चलिरह्यो । हामी ती गतिविधिलाई निरन्तर क्यामेरामा कैद गरिरह्यौं । प्रदर्शन थप उग्र बन्दै थियो । केहीले यही घरबाट हो अश्रुग्यास प्रहार भएको भन्दै त्यस घरतर्फ ढुङ्गामुढा गर्न थाले । अहिले सामाजिक सञ्जालमा जुन घरको तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्, त्यही घर राजावादीका समर्थकको टार्गेटमा पर्‍यो । त्यो घरमा निरन्तर ढुङ्गामुढा बर्सिए । केहीले एमालेका नेता महेश बस्नेतको घर भने । केहीले ठूलो व्यवसायीको घर भने एक कान दुई कान हुँदै सिसाको त्यो घर ओडारजस्तो बन्यो । प्रदर्शनकारीले घरको सटर तोडेरभित्र पसे । माथिबाट सामान खसालेर तल फ्याँक्न थाले । सुरक्षाकर्मी त्यहाँ गएर प्रर्दशनकारीलाई तह लगाउने साहस गरिरहेको थिएन । सुरक्षाकर्मी नै घाइते भइसकेका थिए । केहीको बन्दुक पनि प्रदर्शनकारीले खोसिसकेका थिए । सुरक्षाकर्मी टुलुटुलु हेर्न बाहेकको विकल्प रोज्न सकिरहेका थिएनन् । भित्रको सामान निरन्तर तल खसालिँदै थियो । माथिबाट सामान खसालेको र तलको भीड देखाउने लोभले मसहित फोटो पत्रकार स्वर्गीय सुरेश रजक र अन्य दुई जना फोटो पत्रकार त्यही ढुङ्गा बर्सिरहेको घरभित्र छिर्यौं । भित्रको माहोल शब्दले बताइनसक्नु थियो । सीमित मोमेन्टहरू क्यामेरामा कैद भएका छन् । तर, धेरै हर्कतहरू स्मृतिमा छचल्किरहेका छन् । घरभित्र छिरेका केही प्रदर्शनकारीहरूले केहीले खल्ती त केही झोला भरिरहेका भिडियो तपाईंहरूले हेरिसक्नु भएको छ । ती भिडियो र तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै छन् । मैले पनि मेरो क्यामेरामा एकजनाले कोठाबाट ल्यापटप लिएर बाहिरिँदै गएको भिडियो कैद गरें । मानवनता देखाउँदै ती व्यक्तिलाई यस्तो काम नगर्न सुझाव दिएँ । अहँ, तर त्यतिधेरै भित्र छिरेका प्रर्दशनकारीकासामु हामी दुई/तीन जना पत्रकारको केही चलेन । म खिच्दै थिएँ । प्रदर्शनकारी आएर भिडियो डिलिट गर्न धम्की दिए । क्यामेरा फुटाइदिने चेतावनी दिए । त्यतिखेरै एक जना फोटो पत्रकार म नजिक आएर उनीहरूलाई उल्टै हप्काए । हाम्रो काम यही हो, तिमीहरू के गर्न सक्छौ भनेर आक्रोश पोखेपछि हतास हुँदै हतार–हतारमा उनीहरू सामान बोक्दै बाहिर लागे । त्यतिबेलासम्म अरू पत्रकार घर बाहिर पुगिसकेका थिए । म भिडियो खिच्दै थिएँ । एभिन्यूजका स्व. सुरेश रजक पनि तोडिएको झ्यालबाट बाहिरिको भिडियो खिच्दै थिए । प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए । स्व. सुरेश त्यहीँ नजिक थिए । उनले कसैलाई फोनमा भन्दै थिए- ‘दाई मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन । म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ । छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत माँगें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ । घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाई आगो नजिकै आइसक्यो रे ! झरौं तल ।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’ म तल झर्दै गर्दा एउटा कोठामा अर्का प्रदर्शनकारी ल्यापटप चोर्दै थिए । मैले उनको भिडियो खिँचें । उनलाई त्यो ल्यापटप त्यहीँ राख्न आग्रह गरें । उनी सडकमा फाल्ने भन्दै बाहिर दौडिएँ । म पनि उनलाई पछ्याउँदै बाहिरिएँ । आगोको मुस्लो थियो । क्यामराको लेन्सले उनलाई थप कैद गर्न सकेन । त्यतिसम्म बाहिरबाट भित्र जान सक्ने अवस्था थिएन । ढुङ्गामुढा निरन्तर बर्सिरहेका थिए । आगोले अराजक रूप लिँदै थियो । धुवाँको मुस्लोले मान्छेहरूलाई नदेख्ने अवस्था बनिरहेको थियो । मलाई थाहा थियो, माथि पत्रकार सुरेश रजक छन् । म नजिकै रहेका प्रहरीकहाँ गएर भित्र एक जना पत्रकार रहेको सुनाएँ । ती प्रहरी अधिकारीले वाकीटकीमा कुरा गरेजस्तो गरेर उभिएको ठाउँबाट उता सरे । फेरि आए उताबाट आएर ती प्रहरीले मलाई सोधे– माथि कति जना छन् ? मैले भने ‘एक जना ।’ त्यहीबेलै एभिन्यूजकै अर्का पत्रकारले आफ्नो सहकर्मी माथि नै रहेको प्रहरीलाई सुनाए । मैले भर्खर फोन गरेको उहाँले माथि नै छु भन्नु भएको छ, उहाँको उद्धार गर्नु परेको भन्दै ती पत्रकारले प्रहरीसँग बिन्ती बिसाउँदै थिए । अहँ, प्रहरीले वाकीटकीमा बोल्ने बाहेकको काम गर्न सकेन । आगो दन्किदै थियो । साइरन बजाउँदै दमकल आयो । अब पत्रकार सुरेशको उद्धार हुने झिनो आशा पलायो । तर, प्रदर्शनकारीले दमकललाई बस्न दिएनन्, आगो निभाउन दिएनन् । दमकलमाथि नै उनीहरूले ढुङ्गामुढा गरे । विडम्बना, पत्रकार सुरेश रजकले भित्रै ज्यान गुमाउनु पर्‍यो । दिनभरको थकित ज्यानलाई बिसाउन साँझ ७ बजे बागबजारमा रहेको कार्यालयमा आइपुगें । दिनभरको आफूले भोगेको र देखेको अनुभूतिहरू सम्पादक सरलाई सुनाएँ । उहाँले त्यतिबेलै ब्लग लेख्न सुझाउनु दिनुुभयो । मैले आँट गरिनँ । क्यामेराको बटन थिच्ने बानी परेको म ल्यापटपको किबोर्ड थिच्न उत्साह आएन । तर, आज तीन दिनपछि कनिकुथी मनको बह पोखें । अहिले पनि लागिरहेको छ, यदि मैले तल झरौं भनेको बेला सुरेश दाईले सँगै आइदिएको भए उनको ज्यान बच्थ्यो कि ! उच्च शिक्षाका लागि हुम्लाबाट काठमाडौं आइयो बाध्यताबस् पत्रकारिता पेसामा छिरेको म अहिले यही पेसा आदत बन्यो । धेरैले भन्छन्, ‘आफ्नो ज्यानलाई चुनौतीमा राखेर काम नगर ।’ तर, काम गर्ने बेला ज्यानको प्रवाह नहुँदो रहेछ । सुरेश दाईले पनि एउटा एक्सक्लुसिभ फुटेजको लोभमा आफ्नो ज्यानलाई आगोमा जलाए । हार्दिक श्रद्धाञ्जली सुरेश दाई !

अमेरिकाको नयाँ कर नीति सबै देशमा लागू हुने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार असन्तुलन भएका केही देशमात्र नभई सबै देशमा नयाँ कर नीति लागू गरिने बताएका छन् । ट्रम्प प्रशासनले व्यापार असन्तुलनलाई सुधार गर्न अप्रिल २ देखि पारस्परिक कर नीति लागू गर्ने तयारी गरिरहेको छ । उनले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै, यो नीति सबै देशमा लागु हुने स्पष्ट पारे । ‘मैले १० वा १५ वटा देशको मात्र कुरा भइरहेको भन्ने हल्ला सुनेको छु। तर त्यस्तो होइन। कर नीति सबै देशमा लागू हुनेछ,’ ट्रम्पले भने । ट्रम्पले स्टिल र एल्युमिनियमको आयातमा कर वृद्धि गरिसकेका छन् भने, चीनबाट आयात हुने सामानमा समेत अतिरिक्त कर लगाइसकेका छन् । अप्रिल ३ देखि विदेशी कारहरूको आयातमा पनि अतिरिक्त कर लाग्नेछ । उनका व्यापार सल्लाहकार पिटर नाभारोका अनुसार, यस कर नीतिबाट वार्षिक १०० अर्ब डलर उठ्ने अपेक्षा गरिएको छ । उनले १० वर्षमा करिब ६ ट्रिलियन डलर संकलन हुने दाबी गरे । विश्लेषकहरूका अनुसार ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीति बढाउने र विश्वव्यापी मन्दी निम्त्याउने खतरा रहेको छ । ट्रम्प प्रशासनको नयाँ कर नीतिले अन्तर्राष्ट्रिय व्यापार युद्धको सम्भावना बढाएको अर्थशास्त्रीहरू बताउँछन् । यद्यपि, ट्रम्पले सरकारी राजस्व वृद्धि गर्ने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा यस नीति लागू गर्न लागिएको दाबी गरेका छन् ।

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : काँग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले, घिसिङलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्नेमा सरकारले अनावश्यक रूपमा हटाएको टिप्पणी गरे । उनले अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनु अनुचित भएको भन्दै प्रश्न उठाए । ‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारूढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गर्‍यो, ‘ उनले भने । महामन्त्री शर्माले प्रतिपक्षी दलले यस विषयमा समय माग्नु र सभामुखले समय दिनु समेत गलत भएको बताए । साथै, लोकतान्त्रिक प्रणालीमा अदालतको फैसला नै सर्वोपरी हुने भएकाले यस विषयलाई अदालतले टुंग्याउनुपर्ने धारणा व्यक्त गरे । फरक सन्दर्भमा बोल्दै शर्माले तीनकुने घटनामा भएको धनजनको क्षतिप्रति सबै दुःखी भए पनि निर्मल निवासले कुनै प्रतिक्रिया नजनाएको आरोप लगाए । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जनताका निराशा समाधान गर्दै जानुपर्छ, तर त्यसको समाधान राजतन्त्र होइन, ‘ उनले भने । उनले लोकतान्त्रिक व्यवस्थाले नै जनताको समस्या हल गर्ने दिशामा जानुपर्छ भन्दै, गणतन्त्र सुदृढ गर्न सबै राजनीतिक दलले जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

‘तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा, आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन’

भोलिबाट मित्रराष्ट्र थाइल्याण्डमा मेरो औपचारिक भ्रमण हुँदैछ । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदैछ । यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ । भोलिबाट मित्रराष्ट्र थाइल्याण्डमा मेरो औपचारिक भ्रमण हुँदैछ । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदैछ । यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यस पटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलो पटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ । यस अर्थमा यो भ्रमण आफैमा महत्वपूर्ण हो भन्ने ठान्दछुु । भोलि  १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ ।  २० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ । यसपटक पर्यटन र संस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु ।  थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ । २१ गते (३ अप्रिल) बिहान थाइल्याण्डका प्रतिष्ठित व्यावासायीसँग मेरो भेटघाट र छलफल हुनेछ । दिउँसो एसियन इन्स्टीच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु । साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक डिनरमा सहभागि हुने छु । समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरू २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर पनि शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ । २२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछौं । विहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागि हुनेछु । दिउसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिने छन् । २३ गते हामी स्वदेश फर्किने छौं ।  यस भ्रमणका दुुईवटा उद्देश्य मैले भनें– एउटा औपचारिक भ्रमण र अर्को विमिस्टेक शिखर सम्मेलनमा सहभागिता । यसै सन्दर्भमा अरु केही साइड लाइनका कामहरू हुने मैले यस गरिमामय सदनसमक्ष  जानकारीका लागि निवदेन गरेको छुु । गत चैत १५ गते २ वटा रानीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुबै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो । यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो । शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने बिधि यस्तै हो भन्ने पनि म ठान्दछु । काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो । तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराएअनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमाण्डर” आफैले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुढा गर्ने,  प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए । हुँदाहुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो । यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ । घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन्  र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु । यस घटनाको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, संस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै वक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो । प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो । (बोल्दा बोल्दा राप्रपाका सांसदले होहल्ला गरेपछि)…नियमवालीको होइन, यहाँ संविधान उल्लघंन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छुु । सबैले यस देशमा व्यवस्था मान्नुु पर्छ, व्यवस्था मान्नु पर्छ । हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन । आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट- शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ । केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला ।  त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ । भइरहेको छ । अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ । त्यसैले यस विषयमा मलाई  लाग्छ थप बहस नगरौं, अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ । हामीले सुनेका छौं, व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध,  लोकतन्त्रका विरुद्ध,  संविधानका विरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुुग्ने गम्भीर अपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरु भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरुलाई….हामी जनप्रतिनिधि हौं । संविधानको सपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा सपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यसकारण सपथ विपरीत जानुु हुँदैन । नेपालको संविधानको सपथ हामी सबैले उभिएर लिएका हौला । संविधानको सपथ लिने, अनि संविधानको खिलाप लिने, संविधानभन्दा माथि सपथ कसैले देश र जनताका नाममा लिएका हौला, कसैले इश्वरका नाममा लिएका हौला । इश्वरका नाममा सपथ लिएर संविधानको सपथ लिएर, इश्वरका नाममा सपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छुु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौं । अहिले यति नै भनौं । (प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा गरेको सम्बोधन )

समाजवादी मोर्चाले भन्यो : राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले चैत्र १५ गतेको राजावादी आन्दोलनलाई आततायी र जंगली चरित्रको भएको ठहर गरेको छ। सोमबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा बसेको बैठकले राजावादी आन्दोलनको कडा आलोचना गर्दै गणतन्त्रको रक्षा गर्न जनतालाई सचेत र संगठित बनाउने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चाको कार्यक्रम शालिन र सशक्त रहेको दाबी गर्दै गणतन्त्रको रक्षाका लागि मोर्चा अझै बलियो बनेको बताए । उनले भने, ‘यदि समाजवादी मोर्चाको विरोधसभा नभएको भए, कोटेश्वरमा देखिएको प्रतिगामी तत्वहरूको गतिविधि झन् भयावह बन्न सक्थ्यो । राजावादीहरूको गतिविधि जंगली प्रवृत्तिको देखियो, जसले देशमा अशान्ति मच्चाउने खतरा निम्त्याउँछ ।’ समाजवादी मोर्चाले राजावादी आन्दोलन योजनावद्ध रहेको निष्कर्ष निकाल्दै सरकारलाई घटनाका संलग्नलाई कारबाही गर्न माग गरेको छ । साथै, तीनकुने घटनाका योजनाकारहरूबाट क्षतिपूर्ति असुल गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । मोर्चाले देशको वर्तमान परिस्थितिमा विदेशी शक्ति पनि कतै न कतै संलग्न हुनसक्ने आशंका व्यक्त गर्दै गणतन्त्रविरोधी षड्यन्त्रको भण्डाफोर गरी कडा कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उल्लेख गरेका हुन् । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेको समेत आरोप लगाए । व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले उश्रृंखल श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नु पर्दैन ? भन्दै प्रश्न समेत गरे । उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने काम गर्यो । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नुपर्दैन । ’ प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरुले सभामा उठेर विरोध जनाएका छन् ।

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔं : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८०लाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक उपसमितिको बैठकमा बोल्दै उनले विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताइन् । मन्त्री भट्टराईले यो विधेयक पेचिलो भए पनि सबैको आशा र प्रतिक्षाको विषय भएकाले छिटो टुंगोमा पुर्‍याउनुपर्ने उल्लेख गरिन् । उनले ३५ दिने कार्य योजना बनाएर उपसमितिले काम सुरु गरेकोमा खुशी प्रकट गर्दै भनिन्, ‘यो विधेयक धेरै महत्वपूर्ण छ । जसरी पनि समयमै टुंग्याउनुपर्छ । केही विषयहरू सहज छन् भने केहीमा थप छलफल आवश्यक पर्न सक्छ । मन्त्रालयले आवश्यक सहजीकरणका लागि पूर्ण रूपमा तयार छ ।’ मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयबीचको सहकार्यलाई बलियो बनाउन आवश्यक रहेको भन्दै विधेयकलाई प्रभावकारी रूपमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाइन् ।