विकासन्युज

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई अवार्डैअवार्ड

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । यसैगरी, लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे । नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्डले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्‍यो । त्यसैगरी, चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त गरे भने कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र सानिगाडको प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् ।

लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू आवश्यक भएको बताएका हुन् । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गरे । अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरूलाई गम्भीर रूपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए । श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाहरूको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए । अर्थसचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

कलाकारको उमेर होइन, अभिनय हेरिन्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए । उनले भने, ‘मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ । किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन । यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ ।’ उनले चलचित्रको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि चलचित्रमा अभिनय गरेको स्पष्ट गरे । नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि अभिनेता हमालले तारिफ गरे । अभिनेता हमालको जोडी बनेर चलचित्रमा प्रस्तुत भएकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरे । ‘यो चलचित्रमा मैले अनुभवी कलाकारसँग काम गर्न पाएको छु, उहाँको अनुभवले मलाई धेरै कुरा सिकाएको छ । अभिनेता हमालसँग काम गर्न पाउँदा म निकै खुसी छु, हामी आफ्नो पात्रअनुसार चलचित्रमा फिट देखिएका छौँ,’ अभिनेत्री शाहले भने । दिवाकर भट्टराईले निर्देशन गरेकाे ‘नरसिंहा अवतार’ चलचित्र आउँदो वर्ष २०८२ जेठ ९ मा प्रदर्शन हुनेछ । यस चलचित्रमा अभिनेता हमाल र अभिनेत्री शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् ।

औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी जनाएको छ । औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ऊर्जा मन्त्रालय र सरकारलाई एसोसिएसनले धन्यवादनसमेत दिएको छ । एसोसियसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगहरूमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ । एसोसियसनमा आवद्ध संघहरूमा सदस्य रहेका उद्योगहरूले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको कारणले उद्योगले आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको र त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यस्तै, स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वबजारमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका कारण असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न गरिरहेको छ । यससँगै अब औद्योगिक क्षेत्रले निरन्तर चौबीसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितताको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । एसोसियसनले स्वदेशी कच्चा पदार्थ एवं उत्पादनहरु उपभोग तथा नियात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा योगदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, यसमा संगठित उद्योगहरूले निर्यातमार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने विज्ञप्तिमा उल्लेख छ । तर, विगत लामो समयदेखि निर्यातमा सरकारले दिने नगद सहुलियत रकम निकासा रोकिएको गुनासो समेत विज्ञप्तिमा एसोसियसनले गरेको छ । एसोसिएसनले यथाशीघ्र सहुलियत रकम प्रदान गर्नका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’ उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुनः चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।

गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट, २०१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९५ अंकले घटेर २६७६ बिन्दुमा झरेको छ । आज ४२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४५ करोड, सीइडीबी होल्डीङसको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।