स्थानीयको सक्रियतामा दरवाङमा सडक विस्तार, टहरा आफैँ भत्काए
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्नो घरआँगनका संरचना भत्काएको मालिका गाउँपालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।
शिक्षामन्त्री पन्तको शपथ आज, आजै सम्हाल्नेछन् कार्यभार
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज अपराह्न ४ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम तय गरिएको छ। एमाले सांसद विद्या भट्टराईले स्वास्थ्य कारण राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा एमालेकै वरिष्ठ नेता पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । पदभार ग्रहणसँगै पन्तले आजै मन्त्रालयमा कार्यभार सम्हाल्ने छन्। यसअघि श्रम मन्त्रीको जिम्मेवारी सम्हालेका पन्तको प्रशासकीय अनुभवलाई प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको रूपमा अघि सारेका हुन् । पन्त शिक्षामन्त्री नियुक्त भएसँगै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् । १० महिनाअघि गठन भएको ओली नेतृत्वको सरकार बुधबार पहिलोपटक पुनर्गठित भएको हो ।
निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरण हुन सक्दैन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र उप्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा प्रभावकारी ज्याला नीति तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । श्रमिकहरूको लागि प्रभावकारी ज्यालाका लागि राष्ट्रको आर्थिक विकास र समृद्धिको राष्ट्रिय आवश्यकता पुरा गर्न निजी क्षेत्रलाई अधिकतम परिचालन गरिनुपर्नेमा उनको जोड छ । न्यून आर्थिक वृद्धिदर, उद्योग क्षेत्रको संकुचन तथा न्यून उत्पादन तथा उत्पादकत्व जस्ता कारणले व्यवसायमा प्रभाव पारेको उल्लेख गर्दै उनले पारिश्रमिक बृद्धिले सिर्जना गर्ने दायित्व तथा सोको व्यवस्थापन निकै चुनौतीपूर्ण रहने बताए । ‘हालको पारिश्रमिक वृद्धिदरले अर्थतन्त्रको लागत बढ्ने देखिन्छ । यसका साथै श्रमिक तथा कामदारलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक भुक्तानी गर्ने क्षमता घट्दै अन्ततः व्यावसायिक गतिविधि नै बन्द गर्नुपर्ने अवस्थामा रोजगारदाता पुग्ने बाध्यात्मक परिस्थिति सृजना हुनसक्छ । यो विचारणीय पक्ष हो भन्ने मलाई लाग्छ,’ अध्यक्ष ढकालले भने । उनले आइएलओको ग्लोबल वेज रिपोर्ट २०२४-२५ का अनुसार एसिया र प्रशान्त क्षेत्रहरूमा औसत वास्तविक ज्याला अन्य क्षेत्रहरूको तुलनामा छिटो बढेको पनि बताए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले स्थापनाकालदेखि नै न्यूनतम् पारिश्रमिक निर्धारणसम्बन्धी विश्वव्यापी बहसमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले आइएएलओले प्रतिपादन गरेको सिद्धान्त र मान्यताको भावना बमोजिम नेपालले श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ मार्फत न्यूनतम् पारिश्रमिक निधारणका आधार तथा विधिहरू निर्धारण गरेको बताए । नेपालमा हालसम्मको पारिश्रमिक वृद्धि परिपाटीलाई हेर्दा अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा पार्ने प्रभावका साथै निजी क्षेत्रको कार्यकुशलतामा पार्ने असरलाई विस्तृत रुपमा विश्लेषण गर्ने पद्धति नरहेको चर्चा गर्दै उनले पारिश्रमिकको दिगोपन कायम गर्दै निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा लगानी योग्य वातावरणको निर्माण गर्ने ध्यान दिनु पर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी बिस्तार एवं सुनिश्चित प्रतिफल र असीमित दायित्व सृजना नहुने गरि पारिश्रमिक तय गरिनु पर्नेमा रोजगारदाताको सुझाव रहँदै आएको अध्यक्ष ढकालले बताए । तीन दिनसम्म चल्ने कार्यशालाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले उद्घाटन गरेका थिए ।
'कांग्रेसको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्यो'
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यातायात व्यवसायी र मजदुरको समस्या कांग्रेसले समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पार्टी लाग्ने बताए । ‘यातायात क्षेत्रको लगानी देशको विकाससँग जोडिएको छ, यसको संरक्षण गर्ने जिम्मा सरकारको यो, तीनै तहसँग जोडिएको यातायात क्षेत्रको मुद्दालाई पार्टीले समन्वय गरेर समाधान निकाल्छ,’ उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरता चिर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार सरकार अगाडि बढ्नुपर्ने बताए । सबै राजनीतिक दलसँग छलफल गरेर संविधान संशोधनमा सरकार लाग्नुपर्ने उनको भनाइ छ । कांग्रेस उपसभापति धनराज गुरूङले नेपालको रोजगारी सिर्जना गर्ने ठूलो सेवामूलक क्षेत्र यातायात क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । यातायात क्षेत्रले मुलुकले राम्रो राजस्व सङ्कलन गरिरहेको उनको भनाइ छ । उनले यातायात व्यवसायीले राखेको मागप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै माग सम्बोधनका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विसं २०४६ पछि कांग्रेस नेतृत्वमा बनेको सरकारले लिएको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्न थालेको स्मरण गरे । मोटरबाटो र यातायातको विकासविना देशको विकास हुन नसक्ने उनको भनाइ छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनको मारमा नेपालको यातायात क्षेत्र परेको बताए । उनले शिक्षकसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । कृषिमन्त्री रामनाथ अधिकारीले सुरक्षित यात्राका लागि यातायात व्यवसायीले नागरिकमा विश्वास दिलाउन सक्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य सीता गुरूङ, शिवप्रसाद हुमागाईं बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायतले यातायात क्षेत्रमा गरिएको लगानी सुनिश्चित गर्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले १२ खर्ब रुपैयाँ लगानी र १५ लाख श्रमिकलाई रोजगारी प्रदान गरेको यातायात क्षेत्रको पुँजी र श्रमको संरक्षण हुनुपर्ने बताए । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कमाचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतम, नेपाल यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले व्यवसायीको मुद्दामा एकजुट भएर अगाडि बढेमात्र आफ्नो माग सम्बोधन हुने बताए । उनीरूले सर्वोच्च अदालतले यातायात समितिलाई कायम राख्ने फैसला गरिसकेको भन्दै यसलाई कार्यान्वयनका लागि सरकारले काम गर्नुपर्ने बताए ।
कश्मीर आक्रमणपछि भारतले रोक्यो पाकिस्तानसँग जलसम्झौता र कूटनीतिक सम्बन्ध
काठमाडौं । भारतले जम्मु कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ । भारतले पाकिस्तानले सीमा पार आतङ्कवादलाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको 'इन्डस जल सम्झौता' तत्काल स्थगित गर्ने निर्णय गरेको छ। ‘जबसम्म पाकिस्तानले सीमा पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ,’ उनले भने । इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन÷तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो । सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो । साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ । यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्साउने गर्छ । भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ । कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन । सन् १९८९ यता विद्रोहीहरुले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन् । भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ । इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो । यस घटनासँगै भारत-पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।
आगामी २ दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । विभागले भनेको छ, ‘आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू-भागहरूमा आगामी दुई दिन तातो लहरको समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ । साथै मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ । सम्भावित असर विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ । सावधानीका उपाय तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ । यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध गरिएको छ ।
भारतबाट चाहे जति विद्युत किन्न पाएको छैन, उद्योगहरूमा आपूर्ति व्यवस्थापन भइरहेको छ : प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे जानकारी गराएको छ। प्राधिकरणका अनुसार सुक्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र शौर्य उर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ। हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ। नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहे जति विद्युत किन्न पाएको छैन। प्राधिकरणले नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास लिएको छ। ‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो सायममा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ’ प्राधिकरणले भनेको छ,‘नपुग विद्युत भारतबाट आयात गरी आपूर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहे जति विद्युत किन्न पाएको छैन ।’ नेपालले छिमेकी मुलुक भारतबाट पीईसी मार्फत बेलुका ६ बजे देखि बिहान ६ बजे सम्म १३२ केभी लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ। भारतमा आईपीएल खेल जारी रहँदा माग बढेकोले आईईएक्सको दर रेट पीईसीको दररेट भन्दा बढी भएकोले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन नसकेको प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ। उल्लेखित कारणले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिक लोड दिइने गरेको भएता पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणको भनाइ छ।
काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, तराईमा तातो लहर चल्ने
काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौं उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।