विकासन्युज

अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउन थालेपछि...

दोलखा । जिल्लाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको पाइएको छ ।  बिगु गाउँपालिका–१ लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार आयोजनाले स्थानीयलाई धम्क्याउने र थर्काउने गरेको पाइएको हो ।  ‘तामाकोशी पाँचौं आयोजनाले स्थानीयका जायज मागहरू सम्बोधन गर्नुको साटो क्रसर प्लान्ट पीडित आन्दोलित हामी स्थानीयहरूलाई आयोजनाले अमुक शक्तिहरू प्रयोग गरी थर्काउने, धम्क्याउने र जायज मागहरूलाई नाजायज हो भनी परिभाषित गर्न चलखेल गरेकोप्रति यस गोंगर बजारका क्रसर पीडित स्थानीय बासिन्दाहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । आयोजनाले सञ्चालन गरेको क्रसर प्लान्टबाट प्रत्यक्ष प्रभावित स्थानीयहरूले राखेका विभिन्न मागहरू पूरा गर्न छोडेर आयोजनाले स्थानीयहरूलाई धम्क्याएर काबुमा राख्न खोजेको आरोप उनीहरूको छ ।  आयोजनाले यस्ता हर्कतले स्थानीयलाई थप आक्रोशित र उत्तेजित बनाइरहेको भन्दै उनीहरूले खराब परिस्थिति सृजना हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘आयोजनाको यस्ता हर्कतहरूले स्थानीयहरू झनै उत्तेजित÷आक्राशित भइरहेका छन् । यस्तै हर्कतहरू आयोजनाले जारी राखे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार आयोजना हुनुपर्ने जानकारी गराईन्छ,’ उनीहरूले भनेका छन् ।  स्थानीयको माग पूरा नगरेको भन्दै पीडितहरूले वैशाख ३ गतेदेखि आयोजनाको क्रसर प्लान्टका सम्पूर्ण कामहरू ठप्प पारेका छन् । क्रसर पीडित स्थानीयको मागहरू पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने संघर्ष समितिका संयोजक डिल्ली बहादुर मगरले जानकारी दिए ।  स्थानीयहरूले क्रसर सञ्चालनबाट वातावरण तथा स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा परेको समस्याको समाधान, स्थानीयको निजी आवासमा परेको÷परिरहने क्षति÷असरको उचित क्षतिपूर्ति, क्रसरपीडित स्थानीयहरूलाई रोजगारी, गोंगर बजारलाई नदीबाट सुरक्षाका लागि तामाकोशी नदीमा तटबन्धन, गोंगर बजारदेखि क्रसर प्लान्ट रहेको स्थानसम्म (करिब १ किमि) सडक ढलान, गोंगर बजारका लागि खानेपानीको व्यवस्थालगायतको माग राखेका छन् ।  उल्लेखित मागका सम्बन्धमा आयोजनाले गत चैत २१ गते स्थानीयसँग सहमति जनाएको थियो । माग पूरा गर्न आयोजना स्वयम्ले एक हप्ताको समय मागेको थियो । तर, समयावधि सकिँदासम्म पनि स्थानीयको माग पूरा गर्ने विषयमा आयोजना इमानदार नभएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।   

आवासीय चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउ गर्दै

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दै छन् ।  डेढवर्षदेखि निर्वाहभत्ताको माग गर्दै आन्दोलनमा उत्रेका चिकित्सकले बिहीबारदेखि फेरि आन्दोलन कडाइ गर्दै मन्त्रालय घेराउ गर्न लागेको जनाएका छन् ।  आवासीय चिकित्सक डा. तेजशु मल्लले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए । उनका अनुसार उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने भएका छन् ।  २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप भएको बताउँदै उनीहरूले बाध्य भएर आन्दोलन कडा पार्नुपरेको बताएका छन् ।

पियोर इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख १९ हजार बढीले पाए १० कित्ताका दरले सेयर

काठमाडौं । बिहीबार पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट गरिएको छ । बाँडफाँट कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि चैत २८ गतेदेखि वैशाख २ गतेसम्म निष्काशन गरेको थियो । सो आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएका छन् भने ६ हजार ४२६ आवेदन विभिन्न कारणले रद्द गरिएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी अधिकांश आवेदक भने खाली हात परेका छन् ।

नेको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले बोनस र नगद दुबै पाउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हालको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो  । कम्पनीले घाेषणा गरेकाे लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।

राष्ट्र बैंकको कारबाहीमा परे तीन बैंक र दुई फाइनान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा फाइनान्स कम्पनीलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । पोखरा फाइनान्स र जानकी फाइनान्समाथि राष्ट्र बैंकले यस्तो कारवाही गरेको हो । कुनै पनि बैंक तथा वित्तीय संस्था क्रोनिक भएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्ने गरेको छ ।  राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपातभन्दा ५० प्रतिशतभन्दा न्युन पुँजीकोष भएपछि यस्तो कारवाही हुन्छ । शीघ्र सुधारात्मक कारवाहीसँग बैंक तथा फाइनान्स कम्पनीले नयाँ निक्षेप खाता खोल्न पाउँदैन । नयाँ कर्जा लगानी गर्न, नयाँ शाखा तथा सेवा विस्तार गर्न, नयाँ कर्मचारी राख्न पाउँदैन । त्यस्तै राष्ट्र बैंकले समस्यामा परेका संस्थाका कर्मचारीहरुको तलब, भत्ता तथा अन्य आर्थिक सुविधा वृद्धिमा रोक लगाउने लगायत धेरै कारवाही राष्ट्र बैंकले गर्नेछ ।  २०८१ पुस मसान्तमा संस्थाको निष्क्रिय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम् पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थाको वित्तीय परि सूचकहरु ६ महिना भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने सर्त सहित पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरू गरिएको राष्ट्र बैंकले जनाएको छ ।  पोखरा फाइनान्स कम्पनीले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यमान व्यवस्था बमोजिम ४६ हजार ७१८.२३ रुपैयाँ जरिबाना लगाइएको छ । यस्तै, राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको थियो । तर, स्पष्टीकरण चित्त बुझ्दो नरहेकोले गुरुङलाई ५ लाख जरिवाना तोकिएको राष्ट्र बैंकको भनाइ छ ।  त्यस्तै, २०८१ मंसिर मसान्तमा जानकी फाइनान्सले न्यूनतम् पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरू गरिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २ वित्त कम्पनीसहित  ३ वटा विकास बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारवाही गरिएको जनाएको छ ।  राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक पनि कारवाहीमा परेका छन् । मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा बैंकको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले ढकाल सहभागी भएको भेटिएको थियो ।  राष्ट्र बैंकका अनुसार एकीकृत निर्देशनमा ’सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेश हुन पाउने छैन’ भन्ने व्यवस्था रहेको छ । ढकालले उक्त व्यवस्था उल्लङ्घन गरेको राष्ट्र बैंकको ठहर छ ।  यस्तै, नारायणी डेभलपमेन्ट बैंक बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (ग) बमोजिम तोकेको न्यूनतम् चुक्ता पुँजी तथा पुँजी कोष अनुपात २०८२ असारमसान्तसम्म अनिवार्य रुपले कायम गर्न तथा राष्ट्र बैंकका निर्देशनहरू बारम्बार उल्लंघन भएको हुँदा नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विसं २०७७ साउन २१ गते समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभित्र तोकिए बमोजिमको चुक्ता पुँजी पुर्याउन, चुक्ता पुँजीको सतप्रतिशतमा नबढ्ने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न सर्त तोकिएकोमा सोअनुसार न्यूनतम् चुक्ता पूँजी कायम नगरेको, तोकिएको सीमा भन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा भन्दा अधिक हुने गरी वित्तीय श्रोत संकलन गरेको लगायत विगत लामो समयदेखि राष्ट्र बैंकले तोकेको पुँजी कोष अनुपात कायम गर्न सकेको छैन ।  यस्तै, सालपा विकास बैंकलाई तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम गरेको तथा तोकिएको न्यूनतम् चुक्ता पुँजी पुर्याउने सन्दर्भमा राष्ट्र बैंकबाट पटक-पटक दिइएका पूव निर्देशनहरूको कार्यान्वयन नगरी नियामकीय व्यवस्थाहरु पालना गरेको नपाइएकाले सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

दराज नेपालले ल्याउँदै ‘च्वाइस’ अप्शन, सस्तो र छिटो डेलिभरी हुने

काठमाडौं । अनलाइन बजार दराज नेपालले ग्राहकहरूका लागि नयाँ अप्शन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी गरेको छ । यस सुविधामार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा छानिएका १ हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । च्वाइस अप्शन दराजको एपमा होमपेज वा सर्च फिल्टरमार्फत सजिलै पहुँचयोग्य हुनेछ । यस सुविधाले एकै कार्टमार्फत सामान अर्डर गर्ने, १–३ दिनभित्र छिटो डेलिभरी पाउने, निःशुल्क डेलिभरी तथा उपहारको सुविधा लगायत विविध लाभ दिनेछ । न्यूनतम मूल्य १३० रुपैयाँदेखि सुरु हुने यी सामानहरूमा विशेष अफर र बिना झन्झट १४ दिनभित्र फिर्ता गर्ने सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ । ‘च्वाइस’ सँगै दराजको पे डे सेल अप्रिल २५–२९ का लागि आकर्षक अफर पनि सुरू हुँदैछ । च्वाइसमार्फत युनिलिवर, डाबर, गोद्रेज, प्रोक्टर एन्ड ग्याम्बल जस्ता ब्रान्डका ग्रोसरी, पर्सनल केयर, हाउसहोल्ड, बेबी केयर लगायतका सामग्री उपलब्ध हुनेछन् । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, 'च्वाइस ग्राहकलाई स्तरीय, छिटो र भरपर्दो सेवा दिने हाम्रो दीर्घकालीन लक्ष्यको अभिन्न हिस्सा हो ।' दराजका ग्लोबल हेड अफ च्वाइस जिआंग हान एडेलाले पनि यस सुविधाले बिक्रेताका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । यस सुविधाले दराजको ब्रान्ड विश्वास, सेवा पहुँच र उपभोक्ता सन्तुष्टि लाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।  

स्थानीयको सक्रियतामा दरवाङमा सडक विस्तार, टहरा आफैँ भत्काए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्नो घरआँगनका संरचना भत्काएको मालिका गाउँपालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

शिक्षामन्त्री पन्तको शपथ आज, आजै सम्हाल्नेछन् कार्यभार

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज अपराह्न ४ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम तय गरिएको छ। एमाले सांसद विद्या भट्टराईले स्वास्थ्य कारण राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा एमालेकै वरिष्ठ नेता पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । पदभार ग्रहणसँगै पन्तले आजै मन्त्रालयमा कार्यभार सम्हाल्ने छन्। यसअघि श्रम मन्त्रीको जिम्मेवारी सम्हालेका पन्तको प्रशासकीय अनुभवलाई प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको रूपमा अघि सारेका हुन् । पन्त शिक्षामन्त्री नियुक्त भएसँगै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् । १० महिनाअघि गठन भएको ओली नेतृत्वको सरकार बुधबार पहिलोपटक पुनर्गठित भएको हो ।