विकासन्युज

ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमाथि रेसिप्रोकल ट्यारिफ (पारस्परिक शुल्क) लगाएका छन् । यद्यपि ९० दिनका लागि यसमा रोक लगाइए पनि यसको प्रभाव अहिलेबाटै देखिन थालिसकेको छ ।  विश्वका धेरै देशहरूमा उत्पादनमा गिरावट आउन थालेको छ । पर्चेजिङ म्यानेजर्सको सर्वेक्षणअनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी र बेलायतमा निजी क्षेत्रको उत्पादन घटेको देखिएको छ ।  दक्षिण कोरियामा अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका, बेलायत र जर्मनीसहित धेरै देशहरूको आर्थिक वृद्धिको अनुमान घटाएको छ । ट्यारिफले व्यापारीहरूको मनोबल घटायो सीएनएनको एक रिपोर्ट अनुसार एसएन्डपी ग्लोबल र हामबर्ग कमर्शियल बैंकले जर्मनीका कम्पनीहरूमा गरेको सर्वेमा देखिएको छ कि ट्यारिफको चिन्ता र अनिश्चितताले व्यापारीहरूको भरोसा र मागमा गिरावट आएको छ ।  जर्मनीको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अप्रिलमा ४९.७ रहेको छ, जुन मार्चमा ५१.३ थियो । पीएमआई निर्माण र सेवा क्षेत्रका गतिविधिहरूको मापन हो । यदि यो ५० भन्दा कम छ भने त्यसको अर्थ उत्पादन घटिरहेको छ भन्ने जनाउँछ । निर्यातको भूमिका अर्थशास्त्रीहरूका अनुसार जर्मनीमा उत्पादनमा आएको गिरावटका पछाडि विभिन्न कारण हुन सक्छन् । ट्यारिफसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनिश्चितताका साथै यसले देशभित्रको आर्थिक कमजोरीलाई पनि देखाउँछ । यसको अर्थ केवल कर मात्र नभई जर्मनीको आफ्नै अर्थव्यवस्था पनि कमजोर भइरहेको छ । आईएमएफका अनुसार यस वर्ष जर्मनीको आर्थिक वृद्धि दर शून्य रहने अनुमान गरिएको छ । जर्मनीको अर्थव्यवस्थामा निर्यातको महत्त्वपूर्ण भूमिका रहन्छ । बेलायतको अवस्था त्यस्तैगरी, बेलायतमा एसएन्डपी ग्लोबलले भनेको छ कि सर्वेमा सहभागीहरूले अमेरिकी ट्यारिफले नराम्रो असर पारेको बताएका छन् । यसले ग्राहकहरूको विश्वासमा पनि गिरावट ल्याएको छ ।  यस महिना देशको पीएमआई ४८.२ रहेको छ, जुन नोभेम्बर २०२२ पछि सबैभन्दा कम हो । रिसर्च फर्म प्यान्थिन म्याक्रो इकनमिक्सका प्रमुख यूके अर्थशास्त्री रोब वुडले भने, ’यसमा कुनै शंका छैन कि अमेरिकी राष्ट्रपतिको ट्यारिफले बेलायतको वृद्धि दरलाई सुस्त पारेको छ ।’ यद्यपि उनले यो पनि भने कि तत्काल मन्दी देखिएको छैन। दक्षिण कोरियाको अवस्था ट्रम्पको आयात ट्यारिफका कारण विश्वव्यापी व्यापारमा गिरावट आएको देखिएको छ । दक्षिण कोरियाको भन्सार सेवाले जनाएको छ कि अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ ।  दक्षिण कोरियाको अर्थतन्त्रमा पनि निर्यातको ठूलो भूमिका छ । आईएनजीका वरिष्ठ अर्थशास्त्री मीन जू काङले भने, 'यो डेटा व्यापारको दिशा देखाउने महत्त्वपूर्ण सूचक हो ।’  यो सर्वेका लागि डेटा अप्रिल ९ देखि २२ बीच सङ्कलन गरिएको थियो, जसले अहिलेको अवस्था स्पष्ट पार्दछ । ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै  

कोइकाको ४.७ मिलियन डलरको ग्रामीण विकास परियोजना सम्पन्न, स्वास्थ्य र आम्दानीमा सुधार

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले पाँच वर्षे ‘एकीकृत दृष्टिकोणबाट स्वास्थ्य र आम्दानी वृद्धिमार्फत ग्रामीण समुदाय सशक्तीकरण’ परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ । कोरिया डेभलपमेन्ट स्ट्राटेजी इन्स्टिच्युट कन्सोर्टियमको सहकार्य र धुलिखेल अस्पतालको साझेदारीमा सञ्चालन गरिएको यस परियोजनाको कुल बजेट ४.७ मिलियन अमेरिकी डलर रहेको थियो । २०२५ अप्रिल २४ मा काठमाडौंको स्क्वायर होटलमा आयोजित समापन कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, संघीय तथा स्थानीय सरकार, कोरियाली राजदूतावास, कोइका नेपाल, धुलिखेल अस्पताल, नागरिक समाजलगायत १५० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । परियोजना तनहुँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका चार आउटरीच केन्द्रमार्फत सञ्चालित भएको थियो । कृषि क्षेत्रमा संकलन केन्द्र, सवारी, डेमो फार्म स्थापना गरी किसान समूहलाई तालिम दिइयो भने गैर-कृषकलाई उद्यमशीलता तथा व्यावसायिक तालिम प्रदान गरेको थियो । स्वास्थ्य क्षेत्रमा दुई नयाँ आउटरीच केन्द्र निर्माण गरिनुका साथै स्वास्थ्यकर्मी र विद्यार्थीलाई तालिम दिइएको थियो । परियोजनाले स्थानीय स्वामित्व, आम्दानी तथा स्वास्थ्य सुधारका साथै सामाजिक एकता पनि मजबुत बनाएको छ । कोइका नेपालका निर्देशक कोङ मुहुनले परियोजनाले कृषि र स्वास्थ्यको एकीकृत संयोजनबाट समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताए । धुलिखेल अस्पतालका डा. विराजमान कर्माचार्यले परियोजनाको प्रभाव स्थलगत रूपमा स्पष्ट देखिएको भन्दै निरन्तरताको माग राखे । कोरियाली सरकार १९९१ देखि नेपालमा स्वास्थ्य, व्यावसायिक तालिम, सूचना प्रविधि र ग्रामीण विकासमा सहकार्य गर्दै आइरहेको छ । २०२४ सम्म कोइकाले नेपालमा २०० मिलियन डलरभन्दा बढी सहयोग गरिसकेको छ । नेपाल १५ वर्षदेखि कोरियाको ‘कोर पार्टनरशिप देश’ मा निरन्तर रहँदै आएको छ ।

परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूको प्राथमिकताको आधारमा बजेट छुट्टाउनुपर्ने बताएका छन् ।  बिहीवार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौंमा आयोजित गरेको आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले आगामी योजनाहरूमध्ये प्राथमिकतालाई प्रमुख जोड दिन सक्नुपर्ने बताउनु भयो । उनले पर्यटकीय केन्द्र, उत्पादन क्षेत्र र जनसङ्ख्याको केन्द्रलाई प्रमुख आधार बनाएर बजेट विनियोजन गरी भौतिक निर्माणका कामहरूलाई अगाडि बढाउनुपर्ने बताए ।  उनले आफूहरूले तीन करोड भन्दा तलका योजनाहरू केन्द्र सरकारले नराख्ने भनेर कार्यविधि बनाए पनि कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपरेको स्मरण गरे । पूर्वअर्थमन्त्री महतले भने, ‘हजारौं सडक विकासका आयोजनाहरू सहरी विकास र भौतिक योजना । स्थानीयदेखि प्रदेश र केन्द्रसम्म । १० लाख, २० लाखदेखि अनेक खालका छन् । त्यसैले हामीले तीन करोडभन्दा तलका योजनाहरू केन्द्रले नराख्ने भनेर कार्यविधि पास गर्‍याैं । तर त्यो लागू गर्न नपाउँदै सरकार गयो ।’  उनले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिने र वितरणको जिम्मेवारी राज्यले लिनु नै आजको समाजवाद भएको बताए ।  उनले उत्पादनमा सरकार फेल भइसकेको बताउँदै उनले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए ।  पूर्वअर्थमन्त्री महतले उपस्थित नभई नहुने क्षेत्रमा राज्य संलग्न हुनुपर्ने बताए । उनले पूर्वाधारमा लामो समयसम्म प्रतिफल नआउने गरेकोले त्यसमा निजी क्षेत्र नजाने भन्दै त्यसको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको समाजवाद भनेको उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रले गर्ने, ड्रिस्टिब्युसनको नेतृत्व राज्य गर्ने हो । उत्पादन आम नागरिक र निजी क्षेत्रले गर्छ, त्यसमा सरकार फेल भइसक्या छ । उपस्थित नभई नहुने क्षेत्रमा राज्य संलग्न हुनुपर्छ । पूर्वाधारमा लामो समयसम्म प्रतिफल आउँदैन, त्यसमा निजी क्षेत्र जाँदैन, त्यस्तोमा सरकारले गर्नुपर्‍यो । निजी क्षेत्रले शिक्षा, स्वास्थ्य निःशुल्क दिँदैन त्यसलै यो क्षेत्रमा राज्य जाने, उत्पादनमूलक क्षेत्रमा निजी क्षेत्रलाई दिने गर्नुपर्छ ।’ पूर्वअर्थमन्त्री महतले केन्द्र सरकारलाई साना-साना लगानी आयोजनाहरू छुट्याइँदा परिणाम निकाल्न नसकेको जिकिर गरे ।  

बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ । आजको दिन ८३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६१ कम्पनीको मूल्य घटेको छ  । एक कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार ३०८ कम्पनीका १ करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सर्वाधिक कारोबार न्यादी ग्रुपको भएको छ जसको कारोबार ७० करोड रुपैयाँभन्दा बढीकाे काराेबार भएकाे छ । त्यस्तै राधी विद्युत कम्पनीको ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड, युनिर्भसल पावरको ४७ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

यस्ता छन् ल्यापटपको स्पीड बढाउने ५ सजिला तरिका

काठमाडौं । आजको डिजिटल युगमा प्रायः सबैले ल्यापटपको प्रयोग गर्छन् । ल्यापटपसँग जोडिएको एक सामान्य समस्या भनेको समयसँगै यसको गति ढिलो हुँदै जानु हो । विस्तारै ल्यापटप ह्याङ हुन थाल्छ । यस्तो अवस्थामा हामी प्रायः यस्ता उपाय खोजिरहेका हुन्छौं जसले ल्यापटपलाई ढिलो हुन नदिन सकोस् ।  यदि तपाईंको ल्यापटप लगातार ह्याङ भइरहेको छ भने पनि यसमा पुनः नयाँ जस्तो स्पीड ल्याउने उपाय खोज्न सकिन्छ । आज हामी तपाईंलाई ५ यस्ता सजिला तरिकाहरू बताउँदैछौं जसको सहयोगले तपाईं आफ्नो स्लो ल्यापटपलाई फेरि नयाँ जस्तै तेज बनाउन सक्नुहुन्छ । अनावश्यक स्टार्टअप प्रोग्रामहरू बन्द गर्ने जब तपाईं ल्यापटप सुरु गर्नुहुन्छ, त्यतिबेला केही प्रोग्रामहरू स्वतः खुल्ने गर्छन् । यी प्रोग्रामहरू ब्याकग्राउण्डमा चलिरहन्छन् र सिस्टमलाई स्लो बनाउँछन् । यदि तपाईंको ल्यापटपमा पनि यस्ता धेरै प्रोग्रामहरू स्वतः चलिरहेका छन् भने यसरी बन्द गर्न सक्नुहुन्छः स्टेप वान : टास्क म्यानेजर खोल्न  Ctrl + Shift + Esc थिच्नुहोस् स्टेप टुः 'स्टार्टअप' ट्याबमा जानुहोस् र जुन प्रोग्रामहरू आवश्यक छैनन्, तीलाई 'डिसाबल' गर्नुहोस् । यसले ल्यापटपको बुट समय कम गर्छ र सिस्टम छिटो सुरु हुन्छ । साथै ती प्रोग्रामहरू ब्याकग्राउण्डमा चल्न पनि बन्द गर्छन् । टेम्पोररी फाइल र क्यास क्लियर गर्ने विन्डोज चलाउँदा समयसँगै धेरै अस्थायी फाइलहरू र क्यास ल्यापटपमा सञ्चित हुँदै जान्छन्, जसले सिस्टमलाई ढिलो बनाउँछ। यी हटाउनका लागिः स्टेप वानः रन (Win + R) थिच्नुहोस् स्टेप टु : %temp% टाइप गर्नुहोस् स्टेप थ्री : खुलेको फोल्डरमा रहेका सबै फाइलहरू डिलिट गर्नुहोस् । यसका लागि तपाईं डिस्क क्लिनअप टुलको पनि प्रयोग गर्न सक्नुहुन्छ । यो ल्यापटपको स्पीड बढाउने एक सजिलो उपाय हो । ल्यापटपको र्‍याम अपग्रेड गर्ने यदि तपाईंको ल्यापटप धेरै ह्याङ गर्छ वा सामान्य काम गर्न पनि समय लगाउँछ भने यसको र्‍याम कम हुन सक्छ । ल्यापटपको र्‍याम अपग्रेड गर्दा मल्टिटास्किङ राम्रो हुन्छ र स्पीड पनि बढ्छ । विज्ञहरूले कम्तिमा ८ जीबी र्‍याम सिफारिस गर्छन् । र्‍याम अपग्रेड प्राविधिक प्रक्रिया भएकाले विशेषज्ञको सहयोग लिनु उचित हुन्छ । एसएसडीको प्रयोग गर्ने यदि तपाईंको ल्यापटपमा अझै एचडीडी स्टोरेज छ भने यसलाई एसएसडीमा अपग्रेड गर्न सक्नुहुन्छ । एसएसडीमा डेटा छिटो रिड/राइट हुन्छ, जसले बुट टाइम, एप लोडिङ र फाइल ट्रान्सफर स्पीडलाई निकै बढाउँछ । यसले ल्यापटपको समग्र प्रदर्शनलाई धेरै नै सुधार गर्छ । भाइरस र मालवेयर स्क्यान गर्ने धेरै पटक भाइरस वा मालवेयरका कारण ल्यापटप ढिलो हुन्छ । राम्रो एन्टिभाइरसको प्रयोग गरी समय-समयमा स्क्यान गर्दै गर्नुहोस् । यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने विन्डोज डिफेन्डर पनि एक राम्रो निःशुल्क विकल्प हो । नियमित स्क्यानिङले हानिकारक फाइल हटाउँछ र ल्यापटप हलुका महसुस हुन्छ ।

स्वास्थ्यमन्त्री पौडेल भन्छन्- सरकारको निर्देशन कार्यान्वयन नगर्ने छुट निजी मेडिकललाई छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले गरेको निर्णय मान्दैन भन्ने अधिकार निजी मेडिकल कलेजलाई नभएको बताएका छन् ।  बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका आवासीय चिकित्सकसँग गरेको छलफलमा उनले चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय रुपैयाँ दिन भन्दै परिपत्र गरेको स्मरण गराउँदै यो निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।  उनले निजी मेडिकल कलेजले यो निर्णय कार्यान्वयन नगरे मन्त्रालयसँग सम्बन्धित कुनै पनि काम अगाडि नबढाउने चेतावनी दिए ।  आवासीय चिकित्सक कुनै सिकारु नभइ दक्ष चिकित्सक भएकाले उनीहरूलाई काम श्रमअनुसार पारिश्रमिक उपलब्ध गराउनु पर्ने मन्त्री पौडेलको भनाइ छ । उनी भन्छन्, निजी मेडिकल कलेजले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ, निर्णय कार्यान्वयन नगरेको खण्डमा कुनै सहयोग गर्न सकिँदैन ।’  मन्त्री पौडेलले चिकित्सकको माग जायज भएको बताउँदै तत्काल कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।  'तपाईंहरूका माग जायज छन्, यसलाई तत्काल कार्यान्वयन गर्न के के गर्ने भन्ने विषयमा चिकित्सक शिक्षा आयोग र प्रधानमन्त्रीसँग छलफल गर्नेछु,’ उनले भने । राज्यले दक्ष चिकित्साका जनशक्ति उत्पादन गर्न गरेको लगानी पर्याप्त नभएको बताउँदै मन्त्री पौडेलले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले पूर्ण रुपमा लगानी गर्नुपर्ने बताए ।  सिट र शुल्क बढाउने विषयमा निजी मेडिकल कलेजले सरकारले गरेको निर्णय कार्यान्वयन गरेपछि मात्र सोंच्न सकिने बताए ।  'पहिले निर्णय कार्यान्वयन गर्नुपर्छ त्यसपछि मात्र दोस्रो पटक यो विषयमा छलफल गर्न मिल्छ,’ उनले भने । चिकित्सकका माग जायज रहेको र यिनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले आन्दोलनरत चिकित्सकलाई कार्यस्थलमा फर्कन आग्रह गरेका छन् ।  अस्पतालमा हुनुपर्ने चिकित्सक सडकमा हुँदा यसको सास्ती सर्वसाधारणलाई परेको भन्दै उनले काममा फर्कन आग्रह गरेका हुन् ।  उनले भने,‘अस्पताल चिकित्सक बिना न मालिकले चलाउन सक्छन् न सरकारले । सिर्फ सक्ने भनेको तपाईंहरूले हो । तपाईंहरूको मागलाई सम्बोधन गर्न हामी छलफल गर्छु तपाईंहरू काममा फर्किदिनूहोस् ।’

ढुंगेअड्डामा चलिरहेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुंगेअड्डामा बिहीबार दिउँसो एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बाप्र०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा आगो लागेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार बसको फाइबर भागमा तार सर्ट भएर आगलागी भएको थियो । आगलागीपछि तुरुन्तै चन्द्रागिरी नगरपालिकाबाट डम्पर मगाई आगो नियन्त्रणमा लिइएको हो । दिउँसो १ बजे लागेको आगो करिब २० मिनेटमै नियन्त्रणमा आएको हो । बस पूर्ण रूपमा जलेर क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रण गरिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो 

युट्युबबाट एकै महिना ८ लाखभन्दा धेरै कमाउँछिन् यी हजुरआमा

काठमाडौं । ७४ वर्षीया सुमन धामनेले यो प्रमाणित गरिदिएकी छन् कि नयाँ कुरा सुरु गर्न कुनै उमेरको सीमा हुँदैन । आफ्ना नातिको सहयोगमा उनले ’आपली आजी’ नामक युट्युब च्यानल सुरु गरिन् ।  अहिले उनका १७.९ लाख सब्सक्राइबर छन् र उनी हरेक महिनामा करिब साढे ८ लाखसम्म कमाइरहेकी छन् । सुमन आफ्नो च्यानलमा परम्परागत महाराष्ट्रीयन परिकार बनाउने गर्छिन् ।  २०२० मा सुरु युट्युब च्यानल सुरु सुमन धामने महाराष्ट्रको अहमदनगर नजिकको सरोला कासार गाउँकी हुन् । उनले मार्च २०२० मा युट्युब च्यानल सुरु गरिन् । यो आइडिया उनको १७ वर्षीय नाति यशको थियो । उनले हजुरआमाई पाव भाजी बनाउन भने र त्यहीबाट सुरु भयो उनको युट्युब यात्रा ।  सुरुवात सजिलो थिएन- उनी क्यामेराको अगाडि आउन डराउँथिन्, प्रविधिमा कठिनाइ भोगिन्, एकपटक च्यानल नै ह्याक भयो । तर उनले हार मानिनन् । आफ्ना रमाइला र नयाँ भिडियोमार्फत दर्शकहरूलाई जोडिरहिन् । उनका परिकारहरूले दर्शकको मन छोए । अन्ततः युट्युबले उनलाई सिल्वर प्ले बटन प्रदान ग¥यो । पकाउने कला संसारलाई देखाइन् आज सुमन धामने हरेक हप्ता धेरै भिडियो बनाउँछिन् । उनले इन्टरनेट र सामाजिक सञ्जालबारे धेरै कुरा सिकेकी छन् । डिजिटल दुनियाँमा उनको प्रवेश परिवारको सहयोगकै परिणाम हो । यशले उनलाई युट्युब च्यानल सुरु गर्न सहयोग गरे र प्रविधिका कुरा सिकाए । सुमनले यो नयाँ यात्रा आत्मसात गरिन् र आफ्नो पकाउने सीप तथा परम्परागत महाराष्ट्रीयन रेसिपीहरूलाई विश्वसँग बाँडिन् । सबैलाई मन पर्‍यो उनकै शैली 'आपली आजी' च्यानल छिट्टै चर्चित बन्यो । यसको कारण थियो सुमन धामनेको सरलपन, माया भरिएको बोली र परम्परागत खाना बनाउने शैली । उनले घरेलु मसलाहरू प्रयोग गरेर बनाएका परिकारहरूले दर्शकलाई वास्तविक र पोषिलो खाना कस्तो हुन्छ भन्ने सम्झाए । पाव भाजी, करेलाको तरकारी, पारम्परिक मिठाइहरूजस्ता स्वादिला रेसिपीहरूले उनीलाई मन जिताउने हजुरआमा बनाइदियो । उमेरले अर्थ राख्दैन आज सुमन धामने केवल युट्युब स्टार होइनन्-  उनी प्रेरणाको स्रोत हुन् । उनले प्रमाणित गरिन् कि सफलताका लागि उमेर बाधक हुँदैन । च्यानलको सफलताले उनलाई व्यावसायीक अवसरहरू पनि दिलाएको छ । उनले आफ्ना परम्परागत मसलाहरू पनि बेच्न थालिसकेकी छन् ।  उनको कथा हामी सबैलाई सिकाउँछ- परिवर्तनलाई स्वीकार गर्नुपर्छ, परिवारको साथ अमूल्य हुन्छ र डिजिटल दुनियाँमा अनगिन्ती सम्भावना छन् । उनको सफलताले देखाउँछ- शिक्षा होस् या पहुँच, सबैभन्दा महत्त्वपूर्ण कुरा हो दृढ इच्छाशक्ति ।