नवलपुरमा थपियो स्तरीय रिसोर्ट: आइएमईको 'इला होटल' भोलिदेखि सञ्चालनमा आउँदै
काठमाडौं । देशको अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा अत्याधुनिक ‘इला होटल एन्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ । सोमबार विशेष समारोहबीच औपचारिक उद्घाटनपछि यो होटल तथा रिसोर्ट आम सेवाग्राहीका लागि खुला हुने बताइएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित यो होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । ६५ वटा सुइट र डिलक्स कोठा, एक हजार जनाको क्षमतासहितको भव्य बैंक्वेट तथा सम्मेलन हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र आधुनिक जिमजस्ता सुविधासहितको यो रिसोर्ट मौलाकाली क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । केबलकारसँगैको संरचना भएकाले यो परियोजनाले नारायणी, देवघाट, त्रिवेणी लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूप्रति आकर्षण बढाउनुका साथै प्राकृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ । आइएमई ग्रुपले हाल देशका सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका पर्यटकीय पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा आइसकेका छन् भने दुई प्रदेशमा होटलसहितको परियोजना पूर्णरूपमा सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेशको बसन्तपुरमा लुम्बिनी केबलकारको टप स्टेशनमा होटल निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा केबलकार, होटल तथा रिसोर्ट एकसाथ निर्माण भइरहेका छन् । त्यहाँ एक वर्षभित्र केबलकार सञ्चालनमा आउने तथा त्यसपछि होटल तथा रिसोर्ट पनि सेवा दिन सुरु गर्ने योजना रहेको छ । यसैबीच पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा समेत केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ, जसले धार्मिक पर्यटनमा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकको पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरे । ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता अनुरूप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, 'नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं ।’ 'ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौं,’उनले थपे । नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ । नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ । नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
तथ्याङ्कमा देशको अर्थतन्त्र ठीकठाक
काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार देशको अर्थतन्त्र ठीकठाक रहेको राष्ट्र बैंकले जनाएको छ । विगत लामो समयदेखि दबाब र समस्यामा रहेको अर्थतन्त्र पछिल्लो समय भने लयमा फर्किएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १० प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ । नेपाल सरकारको खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । २४.२६ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । जबकि गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकि २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग चैतसम्म ५०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । ९ महिनामा भित्रियो १२ खर्ब रुपैयाँ रेमिट्यान्स ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । जुन गत वर्षको तुलनामा १० प्रतिशत बढी रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो। चालु खाता २१० अर्बले बचतमा गत चैतसम्म देशको चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षा अवधिमा १ अर्ब ५५ करोड डलरले बचतमा पुगेको छ । त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) पनि ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँले बढी हो । शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडको बचतमा देखिएको छ । जुन अघिल्लो वर्षको २ अर्ब ७५ करोडको तुलनामा केही घटेको हो । मूल्यवृद्धि ३.३९ प्रतिशतमा सीमित राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा ४.६१ प्रतिशत मूल्य वृद्धि थियो । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहमा २.४५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहमा ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यिनै समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत थियो । खाद्य समूहभित्र घ्यू-तेलको मूल्य ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल-गेडागुडीको ६.५८ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेका छन् । तरकारीको मूल्य ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत, र मासु-माछाको ०.८९ प्रतिशतले घटेको देखिएको छ । गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ८.६९ प्रतिशतले, कपडा-जुत्ता ७.०१ प्रतिशतले, मदिराजन्य पेय ६.०७ प्रतिशतले, फर्निचर तथा घरेलु उपकरण ५.५९ प्रतिशतले, र सुर्तीजन्य वस्तु ४.८३ प्रतिशतले बढेको छ । क्षेत्रगत रूपमा, ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.७८ प्रतिशत र शहरी क्षेत्रमा ३.२५ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा, सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.९१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा २.८० प्रतिशत देखिएको छ । भौगोलिक रूपमा काठमाडौं उपत्यकामा मुद्रास्फीति २.९५ प्रतिशत, तराईमा ३.३१ प्रतिशत, पहाडमा ३.४६ प्रतिशत, र हिमाली क्षेत्रमा ४.४७ प्रतिशत रहेको छ । थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पनि घट्दै गएको छ । चैतमा थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९४ प्रतिशत थियो । उपभोग्य वस्तु समूहमा थोक मुद्रास्फीति ९.८३ प्रतिशत, मध्यवर्ती वस्तुमा १.०८ प्रतिशत, र पुँजीगत वस्तुमा ३.०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण सामग्रीको थोक मुद्रास्फीति २.५२ प्रतिशतले बढेको छ । सरकारको खर्च १० खर्ब रुपैयाँ, आम्दानी ८ खर्ब ३१ अर्ब रुपैयाँ चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ गरेको छ । समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २ खर्ब १७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ७ खर्ब ४४ अर्ब १५ करोड रुपैयाँ र गैर कर राजस्व ८७ अर्ब २५ करोड रुपैयाँ परिचालन भएको छ । चैत मसान्तमा सरकारका विभिन्न खातामा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।
बजेटका सिद्धान्त र प्राथमिकता : कर सहुलियत र नाफा फिर्तालाई विशेष जोड {पूर्णपाठ}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिने उल्लेख गरेका छन् । यस्तै, वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ, विश्वासिलो र भरपर्दो बनाइने, नियामक निकायहरूको संस्थागत सुदृढीकरण र काम कारवाहीमा पारदर्शिता अभिवृद्धि गरिनेछ । वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरिनेछ उल्लेख छ । वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नीतिगत तथा संरचनागत सुधार, गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापन र मौद्रिकीकरणका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने र डिजिटल बैंक स्थापना गरिने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पुँजी बजारको संरचनागत सुधार गरी गतिशील तुल्याइने, सम्वत् २०८३ भित्र मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारणको विस्तृत अनुगमन सूचीबाट बाहिर ल्याइने उल्लेख छ । यस्तो छ पूर्णपाठ :
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स अस्पताल लिमिटेडबीचको समझदारी भएकाे छ । समझदारीअनुसार अब आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ह्याम्स अस्पतालमा उपचार सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, र अभिकर्ता तथा कर्मचारीहरूले आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले यो सहकार्यले व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउने विश्वास लिएको छ भने बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवामा निरन्तर लाभ पुर्याउने अपेक्षा गरिएको छ । भविष्यमा सेवा झन् प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले प्रिभिलेज कार्ड पनि ल्याउने योजना बनाएको छ ।
चिकित्सकको ड्युटी, बिदा र सुविधा निर्धारणका लागि कार्यदल बन्यो
काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठान गर्ने सहमति भएको थियो । सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्य दल गठन गरेका हुन् । गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् । यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् । कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ । यसैगरी, यससम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ । कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ प्रवक्ता बुढाथोकीले भने ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न २८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश पारित गरिएको हो । सभाले गत वर्षको वित्तीय विवरण र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरेको छ । साथै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । साथै कम्पनीले चालु आवमा २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । जबकी गत वर्ष २.३८ अर्ब रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।
९ महिनामा निर्यात ६५ प्रतिशतले बढ्दा मूल्य सूचकाङ्कमा सामान्य गिरावट
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको निर्यात ६५.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा आयात पनि १२.२ प्रतिशतले वृद्धि भएको छ । तर, मूल्यको हिसाबले हेर्दा वार्षिक विन्दुगत आधारमा २०८१ सालको चैत महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.० प्रतिशतले र आयातको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको देखिएको छ । यस अवधिमा व्यापारको शर्तमा पनि १.७ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । आयातको तुलनामा निर्यातको मूल्यमा केही कमजोरी देखिएको छ ।