हितेन्द्रदेव शाक्य भन्छन्: अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन् । हिजो (बिहीबार) बेलुका बिजुली झ्याप्प-झ्याप्प गएको विषयमा प्रष्टीकरण दिँदै शाक्यले यस्तो बताएका हुन् । अब लोडसेडिङ नहुने बताउँदै उनले इन्भर्टर र मैनबत्ती प्रयोग गर्न बाध्य नबनाइने बताए । उनले भने, ‘ लोडसेडिङ सुरू भयो भनेर सामाजिक सञ्जालमा गरिएको प्रचार गलत हो । हिजो ढल्केबर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ । करिब २ घण्टापछि त्यो समस्या समाधान भयो । त्यसपछि बिजुली आएको हो । अब लोडसेडिङ हुँदैन । इन्भर्टर र मैनबत्ती प्रयोग नगर्दा हुन्छ । ’ विद्युत आपूर्ति बन्द हुनासाथ आफैं विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगेको र भारबारे जानकारी लिएको उनको भनाइ छ । आगामी दिनमा यस्ता समस्या नदोहोरिन र दीर्घकालीन योजना बनाइने समेत उनले बताए ।
लक्ष्मी सनराइज बैंक एनपीएस-एनसीएस कार्ड स्वीच र नेपाल पे कार्डमा आवद्ध, लागत घट्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंक एनपीएस-एनसीएस कार्ड स्वीच र नेपाल पे कार्डमा आबद्ध भएको छ । एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको सदस्यका लागि लक्ष्मी सनराइज बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट खुद्रा तथा वित्तीय सेवा प्रमुख दिपेश अमात्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरको छ । सोही अनुरुप बैंक तथा वित्तीय संस्थाहरू एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा एक्वायर गर्न सक्नेछन् । एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआवद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम् उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर-बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस-एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरूमध्येको लक्ष्मी सनराइज बैंकले देश भरी रहेका २५४ वटा शाखा÷ २७ विस्तारित काउण्टर तथा ३२९ एटीएम टर्मिनल मार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल-११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका लागि नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गरेको छ । यस्तै, कम्पनीको सभाले सामाजिक उत्तरदायित्त्वअन्तर्गत भएको खर्च र सञ्चालकहरूको सेवा-सुविधासम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
पर्यटन बोर्डको सदस्यमा कुमारमणि थपलिया र नरेन्द्र देव भट्ट नियुक्त
काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्ट र थपलियालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट आगामी तीन वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ । बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डका यसअघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि गत फागुन ६ गते सकिएको थियो । थपलिया नेपाल नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) अध्यक्ष हुन् भने भट्ट पर्यटन व्यवसायी हुन् ।
ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण
काठमाडौं । ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टाण्डर्ड प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टाण्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ। नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राखिनुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
१३ जना अमेरिकनले आरोहण गरे सोक्ला रक क्लाइम्बिङ्ग
चरिकोट । अमेरिकन पर्यटकहरूले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ्ग गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरूको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ्ग आरोहण गरेका हुन् । सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङ्गमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्रोफेसर सहितको टिमले रक क्लाइम्बिङ्ग गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । युनिभर्सिटीका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल ,एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगायतको टिमले रक क्लाइम्बिङ्ग गरेका हुन् । दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्बिङ्गको प्रवर्द्धन गरिरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाई छ । इलाम माईपोखरीका गाइड अमरदीप वान्तवाले अमेरिकन नागरिकहरूलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन् । उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङ्गपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए । ‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्बिङ्ग गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्याम्पसम्म जाँदैछु ।’ उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चट्टान चढ्न सजिलो भयो ।’ सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्बिङ्गको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामाकोशी र गौरीशंकर हिमालको श्रृंखला देख्दा अचम्म लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ती, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन ।’ अमेरिकाको युनिभर्सिटीमा रक क्लाइम्बिङ्गको लोगो अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङ्गको लोगोसहितको मायाको चिनो राखिने प्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटीमा राख्ने छु ।’ अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडमीका ३९ जना विद्यार्थीहरूले रक क्लाइम्बिङ्ग गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रीतिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सोक्ला रक क्लाइम्बिङ्ग फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत रक क्लाइम्बिङ्ग गरेका थिए । सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटक आर्थिक विकासको लागि रक क्लाइम्बिङ्ग कोशेढुंगा हुने बताए । साथै उनले रक क्लाइम्बिङ्गमा सहभागी अमेरिकी नागरिकहरू र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका थियो ।
फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन
काठमाडौं । सहकारी संस्थाहरूबीच लोकप्रिय रहेको फिनएक्स सहकारी सफ्टवेयरले प्रयोगकर्ताको राय सुझाव संकलन तथा नयाँ सुविधाबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको छ । सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा ‘क्लाइन्ट मिट’ कार्यक्रम चितवनबाट सुरु भएको हो । चितवनको मिड टाउन होटलमा आयोजित कार्यक्रममा जिल्लाभित्र फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकको सहभागिता रहेको थियो । ‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० वटा मोड्युलहरू उपलब्ध छन् । कार्यक्रममा प्रयोगकर्ताबाट नयाँ मोड्युलहरूका लागि सुझावहरू संकलन गरिएको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले गर्नु फिनएक्सले हाल प्रदान गर्दै आएका सेवा र थप गर्न लागिएका सुविधाबारे जानकारी गराइन् । यसैगरी प्रशिक्षकद्धय अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर (केवाईएम) मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण प्रदान गरे । जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै आएको छ । सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोर्टिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लीकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि-२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचीकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् । यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् । संस्थाले चालु आर्थिक वर्षभित्र उर्लाबारी, इटहरी, सुर्खेत, दाङ, बुटवललगायतका स्थानहरूमा पनि यस्तो कार्यक्रम गर्ने जानकारी दिएको छ ।
कांग्रेस-माओवादीबीच सत्ता समीकरण हल्ला मात्रै हो: अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’ अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए । अध्यक्ष दाहालले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए। पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाउँदै सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे। ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन,’ उनले भने । अध्यक्ष दाहालले कांग्रेस-माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेललगायतको उपस्थिति रहेको थियो ।