सिटिजन लाइफले व्यतीत बीमालेख नवीकरण गरे १ सय प्रतिशत ब्याज छुट दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ । कम्पनीबाट जारी बीमालेखहरु चालु राख्न बीमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमा शुल्क तोकिएको समयमा भुक्तानी नभई व्यतीत भएका बीमालेख नवीकरण गरेमा विलम्ब शुल्क छुट दिने भएको हो । कम्पनीका अनुसार जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म व्यतीत भएका बीमालेख पुनर्जागरण गरेमा नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उप (२) र (३) को अधीनमा रही छुट प्रदान गरिनेछ । २ वर्षसम्म व्यतीत रहेका बीमालेखमा १ सय प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतीत बीमालेखमा ७५ प्रतिशत र ३ वर्षदेखि माथि व्यतीत रहेका बीमालेखमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा बीमा अवधि भरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा पुनर्जागरण गरेको २ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क (ब्याज) छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
फोहोरबाट ५० लाखसम्म कमाइ, 'पहिले कवाडी भनेर गिज्याए, अहिले खोज्दै आउँछन्'
काठमाडौं । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहोरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहोरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोरबाट मोहर खोज्दै आएका हुन् । पाल्पाको तानसेन बजारबाट दैनिक निस्कने फोहोरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोग विहीन वस्तुहरू सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् । तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन्, उमेशले बीएस्सी सकेर हाल एमए इकोनोमिक्स अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर, उनीहरूमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहोरमुक्त सहर बनाउने । सङ्कलित कवाडी वस्तुहरूको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, वीरगन्जलगायत ठूला शहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरू भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी सङ्कलनबाट वार्षिक ३० देखि ५० लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । सुरुमा पढेका युवाहरूले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन संझदै भन्छन्, ‘सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ पहिले-पहिले फोहाेर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्याएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवाडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगरपालिकालाई कर बुझाउँदै आएका छन् ।
शोधनान्तर साढे ३ खर्बले बचतमा, विदेशमा अध्ययन गर्न १ लाखले अनुमति लिए
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमो थियो । चालु आवको ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको ९ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको ९ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ५.९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो । गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।
लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं उडान अब सातामा ४ दिन हुने
काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरी स्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं हवाई सेवा पुनः सञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेसन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, ‘जहाज नियमित आउन थालेपछि काठमाडौं जान आउन ‘बीपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भर पर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।’ विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए ।
नयाँ गभर्नर आएपछि राष्ट्र बैंकको दाबी : अब अर्थतन्त्र थप सुधार हुन्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्थतन्त्र सुधार हुने दाबी गरेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको दिशामा रहेको र अब थप सुधार हुँदै जाने दाबी गरेको हो । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता यथेष्ट रहेको उल्लेख गर्दै कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको बताएको छ । उपर्युक्त पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने दाबी राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जानकारी दिँदै २०८१ असोजको बाढी÷पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा व्यवधान आउनुको साथैभारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप परेको बताएको छ । यसका कारण चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा मुद्रास्फीति केही उच्च रहन गएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनकोमूल्य घट्दै गएको र खाद्यान्नको मूल्यमा समेत कमी आएकालेचालु आर्थिक वर्षको तेस्रो त्रयमासमा मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको भनाइ छ । विश्व भूराजनीतिक तनाव यथावतै रहेको र पछिल्लो समय परिवर्तित अमेरिकी व्यापार नीतिका कारण मुद्रास्फीतिमा चाप पर्ने जोखिम देखिएतापनि पछिल्ला दिनहरुमा ठूला देशहरुबीच द्विपक्षीय व्यापार सम्झौतासमेत हुँदै गएको, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा कमी आइरहेको र भारतको थोक तथा खुद्रा मुद्रास्फीतिसमेत घटिरहेकाले चालु आर्थिक वर्षको वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने अनुमान राष्ट्र बैंकको छ । विगतमा अर्थतन्त्रमा चाप यथावत रहेको बताउँदै आएको राष्ट्र बैंकले नयाँ गभर्नर डा.विश्व पौडेल आएपछि भने अर्थतन्त्र सुधार हुने दाबी गरेको हो ।
राष्ट्र बैंकले नीतिगत र बैंकदर सम्बन्धि गर्यो यस्तो व्यवस्था
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकदर र नीतिगत दर सम्बन्धी पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो । ‘नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ ।
अब बैंकले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात राख्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वपर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ७० प्रतिशत राख्नुपर्ने व्यवस्था थियो । ‘विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ ।
आधा दर्जन बुँदामा आयो मौद्रिक नीतिको समीक्षा, के-के भयो परिवर्तन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुआर्थिक वपर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले ६ वटा नयाँ व्यवस्था गरेको हो । १. आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएकोछ । २. नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । ३. विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ । ४. विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ । ५. लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ । ६. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ ।