ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट, गुराँस लघुवित्तमा नकारात्मक
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६७४ बिन्दुमा झरेको छ । आज ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ । सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ५६ करोड, युनिभर्सल पावर कम्पनीको ४५ करोड, कुमारी बैंकको २१ करोड, कुमारी बैंकको २१ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड रुपैयाँको कारोबार भएको छ । आज ओम ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त
काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् । अध्यक्ष नियुक्त भएका डा भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।
आर्थिक गतिविधि बढाउन नसके आर्थिक मन्दी शुरु हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने काम नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै गए आर्थिक मन्दी हुने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । उनले उद्योग व्यवसायका लागि ऋण लिँदा एक प्रतिशत भन्दा बढी सेयर भएको व्यक्ति वा उद्योग व्यवसायका लागि ऋण लिन नपाउने व्यवस्था राख्दा अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना हुने बताए । आगामी दिनमा रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने र व्यावसायिक क्रियाकलाप बढाउने कुरा गरिरहँदा यसमा निषेध गरे भने रिजल्ट कस्तो आउँछ भनेर विचार गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो । मस्यौदामा लेखिएको विषयमा जाने हो भने अर्थतन्त्रमा ठूलो संकट आउने स्पष्ट पारे । उनले भने, ‘हामी इकोनोमिक एक्टिभिटि बढाउने हिसाव नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै जाने हो भने डिजास्टर हुन्छ । वास्तवमा यसले पार्ने प्रभावको अध्ययन नगरी यो ड्राफ्ट बनाइएको हो ? बैंकमा एक प्रतिशत भन्दा बढी सेयर भएको व्यक्तिले कुनैपनि उद्योग व्यवसायमा ऋण लिन नपाउने हो भने अथवा ऋण लिएको छ भने एक प्रतिशतभन्दा बढी सेयर विक्री गर्नुपर्ने हुन्छ त्यसमा पनि त्यो शेयर परिवार अथवा नजिकका कम्पनीहरुलाई बेच्न नपाइनेछ । हामीले कुनैपनि कानुन बनाउँदा र त्यो कानून आइसकेपछि त्यसबाट पर्ने प्रभावलाई ऐन आउनुअघि नै अध्ययन हुनुपर्ने देखिन्छ ।’ उनले कुनैपनि कानून बनाउँदा र कानून आइसकेपछि त्यसबाट पार्ने प्रभावलाई कानून आउनुअघि नै अध्ययन गर्नुपर्नेमा जोड दिए ।
काँक्रा बेचेर मासिक १ लाख कमाउँछन् गुल्मीका युवा
तम्घास । देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसामा छलाङ मारेका हुन् । खर्ज्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन् । खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो । विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गरेका भण्डारीले गत वर्ष मात्रै ७ लाखको काँक्रा बिक्री गरे । सुरूवाती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन् । ‘गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,’ उनले भने, ‘यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।’ दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो । तर गत वर्ष मूल्य बढेर रु एक सय ४० सम्म पुग्यो । जसले गर्दा उनको आम्दानी पनि बढेको छ । गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए । यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन् । गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए । अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसकेका छन् । अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँ–तिहारको समयमा अचारको लागि बिक्री गर्ने उनले बताए । दसैँ–तिहारमा पनि बिक्री नभए बीउको लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ । भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन् । उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने सुनाए । अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ । आगामी असार महिनासम्म काँक्रो बिक्री हुने सिजन छ । गर्मी सिजन सुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन। जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक रहेको छ । काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ । भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन् । उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने गरेको छ । उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ। घर परिवारका चार जनाबाहेक थप चारजनालाई मासिक तलबमा रोजगारी समेत दिएका छन् । पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ। तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन् । भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ। ‘गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,’ भण्डारीले भने । राज्यले टनेल दिए हुन्थ्यो काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुल्ला चौरमा उत्पादन गर्दै आएका छन् । वडा कार्यालयमा थुप्रै पटक टनेलको लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए । ‘थुप्रै पटक धाएँ, पाइन,’ उनले भने, ‘मकै शत प्रतिशत, नभए ५० प्रतिशतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ ।’ टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए । सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन् । ‘अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेसा सहायक हुन्,’ भण्डारीले भने, ‘यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ ।’ रासस
ग्यास लिक भएर आगलागी हुँदा दाजु-बहिनीको निधन
कृष्णनगर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको निधन भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए ।
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण, कमलादीबाट सेवा सुरु
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको प्रमुख आतिथ्यमा जेठ १० गते वैदिक सनातन विधिअनुसार पूजा-अर्चना गरी उक्त भवनको समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय कमलादीमा सारिएको हो । अबदेखि प्रमुख कार्यकारी अधिकृत, अन्य कार्यकारी अधिकृतहरू तथा विभिन्न विभागहरू यही भवनबाट सेवा प्रवाह गर्नेछन् । कार्यालय स्थानान्तरणसँगै ग्राहकहरू र सरोकारवालाहरूले बैंकका सम्पूर्ण सेवा तथा सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
कांग्रेसको निष्कर्ष : भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको ठहर गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि कांग्रेसले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए । भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको उनले स्पष्ट पारे । भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको उनले बताए । ‘गृहमन्त्रीज्यूले अहिले जुन विषय सार्वजनिक रूपमा, मिडियामा आएको छ । त्यस सम्बन्धमा उहाँले स–विस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै कमीकमजोरी गल्ती गरेको छैन भनेर स–विस्तार कुरा राख्नुभयो,’ उनले भने, ‘ हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्यौं । उहाँको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर, जो संलग्न छन्, ती माथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन । जहाँसम्म गृहमन्त्रीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।’ उनले छानबिनको दायरामा नभएपछि गृहमन्त्रीलाई दोषी भन्न नमिल्ने जिकिर गरे ।
इयुमाथिको धम्कीपूर्ण ५०% भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली संघ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् । यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोन वार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई उनी ‘गम्भीर वार्तामा जान चाहन्छु’ भनेका थिए । वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो ।' शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयुका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए । ती भन्सार शुल्क जुन १ देखि लागू हुने थिए । तर भोन डेर लेयनसँगको फोनवार्ताले कमसेकम अहिलेका लागि तनावलाई सहज बनाएको देखिन्छ । 'म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो', ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा भने । 'इयु र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्', आफ्नो पक्षबाट भोन डेर लेयनले भने, 'युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न, हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।' रासस