विकासन्युज

ट्रम्पको पुटिनलाई चेतावनी : यदि म हुँदैनथें भने रूसमा धेरै नराम्रा कुरा हुन्थे

काठमाडौं । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन् । ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ । हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ । 'भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !', ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने । ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पारेनन् ।  तर वाल स्ट्रिट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यो हप्ता नै नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहेको बताएका छन् । ट्रम्पले आइतबार पत्रकारहरूलाई ‘पूर्ण रूपमा’ यस्तो कदम तौलिरहेको बताए । ह्वाइट हाउसले ट्रम्पले ‘सबै विकल्प’ खुला राखेको बताएको छ । 'यो युद्ध जो बाइडेनको गल्ती हो र राष्ट्रपति ट्रम्प वार्ताको शान्ति सम्झौता हेर्न चाहेकामा स्पष्ट हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले बुद्धिमानीपूर्वक सबै विकल्पहरू टेबलमा राख्नुभएको छ', प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने । ट्रम्पका डेमोक्रेटिक पूर्ववर्ती बाइडेनले रुसको आक्रमणपछि व्यापक प्रतिबन्धहरू लगाएका थिए । ट्रम्पले अहिलेसम्म रुसी बैंकहरूमाथि आफूले भनेअनुसार ‘विनाशकारी’ प्रतिबन्ध लगाउनसक्ने कुरालाई बेवास्ता गरेका छन् । तर ट्रम्पका हालका फटकारहरूले पुटिनप्रतिको उनको पहिलेको मनोवृत्तिबाट तीव्र परिवर्तन देखाएको छ । ट्रम्प प्राय पुटिनका बारेमा प्रशंसाका साथ बोल्छन् । आफूले २४ घण्टाभित्र समाधान गर्न सक्छु भनेको युद्ध अन्त्य गर्न असफल भएकोमा उनको निराशा सप्ताहन्तमा रुसको ड्रोन आक्रमणले कम्तीमा १३ जनाको ज्यान लिएपछि फुटेको थियो । 'मेरो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैँ राम्रो सम्बन्ध रहेको छ तर उहाँमा केही भएको छ । उहाँ पूर्ण रूपमा पागल हुनुभएको छ !', ट्रम्पले पोस्ट गरे । पुटिन तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको भन्दै ट्रम्पले आठ दिनअघि फोन गरे पनि रुसले आक्रमण जारी राखेको छ । मस्कोले मङ्गलबार ट्रम्पको टिप्पणीमा प्रतिक्रिया दिएन, तर यसले पहिले गतिरोधका लागि युक्रेनलाई दोष दिन खोज्यो । 'किएभले केही युरोपेली देशको समर्थनमा रुसले सुरु गरेको वार्तालाई विफल पार्न शृङ्खलाबद्ध उत्तेजक कदम चालेको छ', रूसी रक्षा मन्त्रालयले भन्यो । युक्रेनी ड्रोन हमलामा महिला र बालबालिका सहित नागरिकहरू घाइते भएका छन् । रूसी हवाई सुरक्षाले मे २० देखि २७ को बीचमा दुई हजार तीन सय ३१ युक्रेनी ड्रोन नष्ट गरेको छ । बुधबार राति पनि नयाँ ड्रोन आक्रमणहरू रिपोर्ट गरिएको थियो । रुसी अधिकारीहरूले करिब एक सय ५० युक्रेनी ड्रोनहरू रोकेका थिए । तीमध्ये ३३ मस्कोतर्फ जाँदै थिए ।  युक्रेनले नागरिकहरूलाई लक्षित गर्ने रुस नै भएको बताएको छ ।  'हामीले यो अनन्त प्रतीक्षा अन्त्य गर्नुपर्छ - रुसलाई थप प्रतिबन्धहरू चाहिन्छ', युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले मङ्गलबार टेलिग्राममा भने । अमेरिकी सांसदहरूले ट्रम्पलाई रुसमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । वरिष्ठ रिपब्लिकन सिनेटर चक ग्रास्लीले पुटिनलाई ‘खेल समाप्त’ भएको जानकारी गराउन कडा उपायहरू अपनाउन आह्वान गरे । अन्य दुई सिनेटर रिपब्लिकन लिन्डसे ग्राहम र डेमोक्रेट रिचर्ड ब्लुमेन्थलले पनि रूसी तेल, ग्यास र कच्चा माल खरिद गर्ने देशहरूमा भारी ‘द्वितीयक’ प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । ट्रम्पका युक्रेन दूत किथ केलोगले फक्स न्युजलाई भने, 'रुस र युक्रेनबीचको अर्को शान्ति वार्ता, यदि हुन्छ भने, सम्भवतः जेनेभामा हुनेछ किनभने मस्कोले भ्याटिकनलाई स्थानका रूपमा अस्वीकार गरेको छ ।' त्यसपछिको लक्ष्य ट्रम्प, पुटिन र जेलेन्स्कीलाई सँगै ल्याएर ‘यो कुरालाई समाधान गर्ने’ हुने उनले बताए । स्विस सरकारले वार्ताको आयोजना गर्ने पुष्टि गरेको छैन । 'स्विट्जरल्यान्ड आफ्नो राम्रो कार्यालयहरू प्रस्ताव गर्न तयार छ', विदेश मन्त्रालयले भने, 'यो सबै पक्षहरूसँग सम्पर्कमा छ ।' रुस र युक्रेनले मे महिनाको सुरुमा इस्तानबुलमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता गरेका थिए । रासस

महिन्द्र, बीवाइडी र एमजीका नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा, मोबिलिटी एक्स्पोमा टेस्ट ड्राइभको मौका

काठमाडौं । महिन्द्र, बीवाइडी र एमजीले नयाँ ब्राण्डका गाडी नेपाल ल्याएका छन् । यी तीन ब्राण्डका ४ वटा नयाँ मोडेलका गाडीहरू केही दिन अगाडी नेपाली बजारमा आएका हुन् । नयाँ मोडेलका गाडी साउनको २१ देखि सुरु हुने एक्स्पोमा राखिने बताइएको छ ।  चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा ल्याएको छ । उक्त मोडेल नाइमा मोबिलिटी एक्स्पोमा राखिनेछ ।  यसैगरी मोबिलिटी एक्स्पोमा महिन्द्राको आधिकारिक बिक्रेता अग्रि इन्कर्पोरेटले महिन्द्राको बीई ६ र एक्सयुभी ९ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको कम्पनीले जनाएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको समेत कम्पनीको भनाइ छ ।  दुवै गाडीमा ९९ किलोवाटको मोटर रहेको छ भने एक्स एभी ९ इको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ । कम्पनीले दुवै एसयुभीमा ५९ किलोवाट तथा ७९ ब्याट्री व्याक उपलब्ध गराएको छ ।  यसैगरी एमजीको विन्डसर विद्युतीय कार (इभी) पनि नेपाली बजारमा आएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही साता नेपाल भित्रिएको र सरकारले बजेट ल्याएपछि बिक्री थाल्ने जनाएको छ ।  भारतमा उत्पादन भएको उक्त लग्जरी मोडलको इभी एक्साइट, एक्सक्युलुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । यी नयाँ विद्युतीय कार इभी मा ३८ किलोवाट आवर युनिटको ब्याट्री प्याक जडान गरिएको छ । जसले एक पटको फुल चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ । एक सय किलोवाट मोटर जडान गरिएको गाडीले १३४ बीएचपी र २ सय एनएम टर्कजनेरेट गर्ने कम्पनीले जनाएको छ । 

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्कीको फुलिबाङ  आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।  

वित्तीय बजारमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ८० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ८० अर्ब खिच्ने भएको छ । बजारमा स्थायी निक्षेप सुविधामार्फत निक्षेप संकलन दरमा नियमित रूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन उपकरण बोलकबोल गरेको हो । बुधबार २१ दिन अवधिका लागि बोलपत्र गरिएको छ । वित्तीय बजारमा अधिक तरलताको स्थितिमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकताअनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो । ४ असारमा नै सावाँ र ब्याज भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड रूपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।  त्यसैगरी, ओभरनाइट तरलता सुविधावापत २ अर्ब ७० करोड उपभोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक नीतिका विभिन्न उपकरणमार्फत खुद ७६६ अर्ब १९ करोड तरलता प्रशोचन भएको थियो ।  बैंक तथा वित्तीय संस्थाहरू बीचको भारित औसत अन्तरबैंक दर २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ । २०८० चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत रहेको थियो ।    

क्याटल र फोटोन मोटरबीच सम्झौता, विद्युतीय व्यावसायिक सवारी विकासमा सँगै अघि बढ्ने

काठमाडौं । क्याटल र फोटोन मोटरले व्यावसायिक सवारी साधनलाई विद्युतीकरण गर्न दीर्घकालीन सहकार्य गर्ने भएका छन् । यसै सन्दर्भमा दुवै कम्पनीबीच चालु वर्षको फेब्रुअरी ८ मा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित समारोहमा १० वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार दुवै कम्पनीले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्याट्री सेवा तथा सवारीसाधन विद्युतीकरणको सम्पूर्ण प्रणालीमा सहकार्य गर्नेछन् । यसले ८८हरित ऊर्जा (ग्रीन इनर्जी)८८मा आधारित भविष्य निर्माणमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ । फोटोन मोटर, सन् १९९६ मा स्थापना भएको र चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो । सन् २०२१ सम्ममा कम्पनीले एक करोडभन्दा बढी गाडी बिक्री गरिसकेको छ । लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बिक्री गर्ने र १५ वर्षदेखि सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रूपमा फोटोन चिनिएको छ । अर्कोतर्फ, क्याटल विश्वमै अग्रणी ब्याट्री प्रविधि कम्पनी हो, जसले न्यू इनर्जी सोलुसनका क्षेत्रमा प्रभुत्व जमाएको छ । यसको टेकट्रान्स ब्रान्डमार्फत क्याटलले बस, ट्रक, लजिस्टिक्स र निर्माण उपकरणहरूका लागि लामो दूरी, द्रुत चार्जिङ र दीर्घायु ब्याट्री सेवा प्रदान गरिरहेको छ । दुवै कम्पनीको यो सहकार्य चीनको नवप्रवर्तनशील औद्योगिक सोच र अन्तर्राष्ट्रिय बजार रणनीतिको उदाहरण हो । साथै, भविष्यमा क्याटलले अन्य उद्योगहरूमा पनि प्रविधि साझेदारीको विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

सुनको मूल्य तोलामा १६ सयले घट्यो, चाँदीको बढ्यो

काठमाडौं । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच रुपैयाँ निर्धारण भएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   

काठमाडौंको सुक्खा फोहर विक्री गर्न वार्षिक ६ करोडमा ठेक्का

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ ।  क्षेत्र नम्बर ७ बाट २०८२ वैशाख महिनाभरिमा १ लाख १ हजार ३५५ किलोग्राम सुक्खा फोहर संकलन भयो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् । सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । वैशाख महिनाको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८२७ किलोग्राम र सबैभन्दा कम भएका दिन २ हजार ५३४ किलोग्राम फोहर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ ।  चैत महिनामा ११ गतेदेखि फोहर संकलन थालिएको थियो । त्यस दिन १ हजार ३७७ किलाग्राम फोहर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलोग्राम संकलन भएको थियो । यसमहिनामा ६० हजार ६६० किलोग्राम फोहर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।  घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरपालिकाले आय ठेक्का कार्यविधि २०७९ वमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रुपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहर संकलन हुने अनुमान गरिएको छ ।  क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसनले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपैयाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा. लि. ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ ।   क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल उर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कवोल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ ।  इञ्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम कर बाहेकको हो ।   

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बिहान बसेको बैठकले ८ प्रतिशतका दरले लांभाश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण बमोजिमको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने कम्पनीका सचिव ईश्वर कुमार सेडाईले जानकारी दिए ।