विकासन्युज

गृहमन्त्रीले आफूलाई चोख्याउन पत्रकार सम्मेलनमा गरेका ७ तर्क

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलनको आयोजना गरे । भिजिट भिसा प्रकरणमा मुछिएका उनको राजीनामा माग गर्दै अहिले प्रतिनिधिसभा बैठक अवरुद्ध छ । मंगलबारदेखि अवरुद्ध बैठक बुधबार पनि चल्न सकेन । गृहमन्त्री लेखकले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखे पनि प्रतिपक्ष दलले उनको निरन्तर राजीनामा माग गरिरहेका छन् ।  यही बिचमा लेखकले बुधबार एक्कासि पत्रकार सम्मेलन कार्यक्रम राखे । धेरैले अब उनले राजीनामा दिन सक्ने अनुमान गरेका थिए । तर, उनले आफूमाथि अन्याय भएको धारणा राख्दै न्यायको माग राखे ।  ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रह, प्रतिसोध र नियोजित ढंगले प्रेरित छ,’ उनले भने ।  अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका विषयप्रति दुःख व्यक्त गर्दै उनले आफ््नो कुनै संलग्नता नभएको धारणा राखे ।  उनले पत्रकार सम्मेलनमा बोल्दै केही महत्वपूर्ण विषय उठान गरेका छन् । उनले उठान गरेको पहिलो विषय हो, ‘एक जना कर्मचारीले गरेको गलत कार्य र अपराधमा विभागीय मन्त्री नै जिम्मेवार हुनुपर्ने तथा राजीनामा दिनुपर्ने हो भने यो देशमा कत्ति मन्त्री चाहिएलान् ।’  उनले फेरि अहिले बाहिरिएको कर्मचारी आफू मातहतको नरहेको सुनाए ।  यस्तै, उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषय उठान गर्दै उनीविरुद्द जाहेरी परेकोले संसदीय छानबिन समितिको माग गरेको र  राजीनामा माग नगरेको सुनाए । उनले भने, ‘उहाँको विरुद्द प्रहरीमा जाहेरी परेको थियो, उहाँ स्वयम् नै संलग्न हुनुहुन्थ्यो तर अहिले कर्मचारीले गरेको गल्तिमा मलाई मुछ्न मिल्दैन, राजीनमा माग गर्द उचित हुँदैन ।नमा माग गर्द उचित हुँदैन ।’ उनले आयोग एउटा संवैधानिक निकाय भएकोले सो निकायले मेरो आफूले भनेको नटेर्ने र स्वतन्त्र भएर काम गर्ने भएकोले अनुसन्धानमा पनि कुनै असर र प्रभाव नपर्ने जानकारी दिए ।  उनले विगतको उदाहरण पनि सुनाउँदै भने, ‘यसअघि अख्तियारले अध्यागमन विभागकै महानिर्देशकमाथि अनुसन्धान गरेको थियो । तर, मन्त्रीले राजीनामा दिनु परेन ।’ उनले मन्त्रीले सरुवा गरेकै आधारमा कर्मचारीले गरेको अपराध मन्त्रीले बोक्ने नसक्ने धारणा राखे । ‘लोकसेवा आयोगले सयौं कर्मचारी सरुवा गर्छ, खटाउँछ त्यसको कुनै कर्मचारीले अपराध गर्यो भने आयोगले जिम्मेवारी लिन्छ र, उनले भने, ‘जसले अपराध गर्छ, उसैले जिम्मेवारी बहन गर्छ । उसको अपराध अरुले बोक्दैन ।’ संवैधानिक निकायको अनुसन्धानको निश्कर्षमा हामी सबैले पर्खिनु पर्ने उनको धारणा छ । उनले संसदमा आफ्नो कुरा राख्ने समय नदिएकोले अब सञ्चारकर्मीले न्याय दिने अपेक्षा रहेको सुनाए ।   

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका प्लेटिनम डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पामा सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यो सहकार्यले ग्राहकहरूलाई सेवा शुल्कमा राहत दिने मात्र होइन, नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । बैंकले यस्तो किसिमको सहकार्य डिजिटल बैंकिङको प्रवर्द्धन, ग्राहक सुविधा विस्तार र डिजिटल कारोबारको संस्कृति निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।

मीनबहादुर गुरुङले गरे आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद, भाटभटेनी सञ्चालनको तयारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले काठमाडौंको नयाँ बानेश्वरस्थित आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद गरेका छन् । २०७६ सालदेखि सञ्चालनमा रहेको मलको बहुमत सेयर आपसी समझदारीमा खरिद भएको भाटभटेनीले जनाएको छ । हाल खरिद मूल्य सार्वजनिक नगरिए पनि छिट्टै मूल्य खुलासा गर्ने तयारीमा भईरहेको भाटभटेनीका एक कर्मचारीले जानकारी दिए । कर्मचारीका अनुसार सेयर खरिदसँगै आवश्यक प्रक्रियाहरू अघि बढाइ सकिएको छ ।  कर्मचारीले भने, ‘आइप्लेक्स मलको केही भागमा भाटभटेनी सुपरमार्केट सञ्चालन गर्ने प्रोसेसमा भाटभटेनी छ । तर मल हाल पूर्ण रूपमा भाडामा रहेकाले तत्कालै सुपरमार्केट सुरु गर्न समय लाग्ने देखिन्छ । गुरुङको सोच भाटभटेनी राख्ने नै हो, तर टुंगो लागेको छैन ।’ नयाँ बानेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्र आसपास हालसम्म भाटभटेनी सञ्चालनमा छैन । सोही क्षेत्रका लागि ठाउँ खोजिरहेको अवस्थामा आइप्लेक्स मल बिक्रीमा आएको र त्यसपछि सेयर खरिदको निर्णय भएको बताइएको छ ।  हालसम्म आइप्लेक्स मलमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितका दुई सिनेमा हल समेत रहेको यो मल करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।  कोभिड र पछिल्लो आर्थिक मन्दीका कारण मलको व्यापार कमजोर हुँदै गएको छ। यस्ता परिस्थितिमा भाटभटेनी ग्रुपको प्रवेशले मलको पुनरुत्थान हुने अपेक्षा गरिएको छ। गुरुङले पछिल्लो समय तिनकुनेमा निर्माणाधीन एक अस्पतालको सेयर खरिद गरिसकेका छन् भने दरबारमार्गमा पाँचतारे होटल, चितवनमा कोल्डस्टोर, काठमाडौंको चुच्चेपाटीमा अपार्टमेन्ट निर्माणका साथै विराटनगरमा होटल खरिद गरिसकेका छन् ।  

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे । 'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।' सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।' डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ। रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफू विरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए । ‘सबैभन्दा पहिलो जसरी यो विषय मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हो, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा निवेदन गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने ।  गृहमन्त्री लेखकले आफू विरुद्ध नियोजित र षड्यन्त्र पूर्वक ढंगले आक्रमण गरिएको यो आक्रमण राजनीतिक पुर्वग्राहले प्रेरित भएको र यो क्रम जारी भएको बताए ।‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्र पूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’ उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणको लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल निकाय अख्तियार दुरुपयोग गर्ने कुनै पनि कारबाहीलाई खुला मुखले स्वागत गर्ने बताएका छन् ।

जेठ १८ गतेदेखि अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम गर्न बैंकहरूलाई निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम कायम राख्नुपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ १८ गतेदेखि अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।  ‘बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दात बापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा यस बैंकमा राख्नु पर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।  यसअघि अनिवार्य नगद मौज्दातको न्यूनतम् ७० प्रतिशत कायम गरे हुन्थ्यो ।  यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार १ सय प्रतिशत कायम राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था थियो । 

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट, डिजिटल कारोबारलाई प्रोत्साहन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले गोल्डेन हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ । साथै, नगद कारोबारलाई घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो सहकार्य उपयोगी हुने बैंकको भनाइ छ । सिटिजन्स बैंकले समय–समयमा ग्राहकलाई लक्षित गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट र सुविधाहरू दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । बैंकले डिजिटल बैंकिङ सेवा विस्तारमार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा सहज पहुँचको वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ ।