विकासन्युज

पर्यटन मन्त्रालयको बजेट १३.२८ अर्ब रुपैयाँ, कृषिको साढे ५७ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिए ।  उनका अनुसार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।   

फलफूल, मासु तथा खाद्यान्न बिक्री पहिले विषादी परीक्षण गरिने

काठमाडौं । सरकारले फलफूल, मासु तथा खाद्यान्न बिक्री हुनुभन्दा पहिले अनिवार्य विषादी परीक्षण गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै विषादी परीक्षण गर्ने बताएका हुन् ।  थोकबजार केन्द्रमा द्रूत विषादी परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । विषादी परीक्षणका लागि जनशक्ति र प्रविधिका लागि आवश्यक बजेट व्यवस्था गरिने जनाइएको छ ।

अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचीमा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानूनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचीमा परेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् ।  अर्थमन्त्री पाैडेलले भने, 'समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचीमा परेको छ ।' उनले परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्युन रहेको बताए ।  नवप्रवर्द्धन र प्रविधि उपयोगको कमी, न्यून उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादनमुलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरूप हुन नसकेको बताए । समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पनि बताउनु भयो । भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्वित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न नसकेको बताए ।  अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिँचाई लगायतका क्षेत्रमा बढ्दै गइरहेको पनि बताए ।

प्लाष्टिकका झोला प्रयोगमा रोक, मंसिरदेखि लागू हुने

काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् ।  उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन् । 

दमकको औद्योगिक पार्क प्रविधियुक्त बन्ने, चामल उत्पादनमा आत्मनिर्भरता लक्ष्य

काठमाडौं । सरकारले झापाको दमकस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई आधुनिकीकरण गरी विकास गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो औद्योगिक पार्कलाई आधुनिक प्रविधियुक्त बनाइने जानकारी दिएका हुन्। साथै मन्त्री पौडेलले आगामी दुई वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको घोषणा गरे ।

उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरे निशुल्क लिजमा जग्गा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरेर निःशुल्क जग्गा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताए ।  राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहित गर्न उपत्यकाभित्र रहेका उद्योग स्थानान्तरण गरे निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए । 

स्टार्टअपका लागि ७३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले स्टार्टअपलाई ७३ करोड सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आव २०८२/०८३ को बजेट भाषणका क्रममा स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने जानकारी दिए । त्यसका लागि सरकारले ७३ करोड बजेट विनियोजन गरेको छ । 

युवा लक्षित  रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् ।  उनले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित  रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताए । सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकल्पित रहेको बताए । प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको जानकारी दिए ।