विकासन्युज

वर्ल्डलिंकको एकछत्र राज : टेलिकमदेखि डिस मिडियासम्म कसको ग्राहक कति ?

काठमाडौं । ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिस्पर्धामा रहेको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका आधारमा सरकारी कम्पनीलाई समेत उछिन्दै इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । कम्पनीका इन्टरनेट सेवाका ग्राहक संख्या १० लाख ३ हजार ९ सय ४९ पुगेका छन् । घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा दिइरहेको वर्ल्डलिङ्क दुई वर्षअघि विदेशी लगानी समेत भित्र्याएको थियो । जुन नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो । सो कम्पनीले ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी ल्याएको थियो । ग्राहक संख्या आक्रामक तवरले बढाइरहेको वर्ल्डलिङ्कले व्यापार पनि उत्तिकै गरिरहेको छ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४)  मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ७.७० प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ । हाल वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया सहर केन्द्रित छ । ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ । सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ग्राहक संख्या ३ लाख ५१ हजार ९ सय १२ छ ।  नेपाल टेलिकममा सरकारको लगानी पनि छ । सरकारी लगानी भएपनि यो कम्पनी पहिलो बन्न सकेको छैन । नेपाल टेलिकमको वित्तीय अवस्था हेर्ने हो भने सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउनेमा पहिलो स्थानमा देखिन्छ । हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो । यद्यपि सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने पछिल्ला वर्षमा गिरावट आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो ।  अर्को इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन् । यस्तै, सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २ सय ९४ छ भने भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक २ लाख ४५ हजार ९४५ छन् । अर्को इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.को ग्राहक संख्या वैशाख मसान्तसम्म १ लाख ८२ हजार ९ सय ८६ पुगेका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । वेबसर्फरका ग्राहक अहिले १ लाख ७६ हजार ६९ छन भने टेकमाइण्ड्स नेटवर्क प्रा.लि.को ग्राहक ८५ हजार ८ सय ९१ रहेका छन् । त्यस्तै, चौधरी ग्रुपले सञ्चालन गरिरहेको सीजी कम्युनिकेसन लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । सिजिका ग्राहक अहिले ८० हजार ८५४ रहेका छन् भने बजारमा सस्तो नेट दिएको भनेर प्रचार धेरै गर्ने वाइफाइ नेपाल प्रा.लि.ले समेत ७४ हजार २९ ग्राहक बनाइसकेको छ ।  बजेटमा यी १० कम्पनी बाहेक अरुले पनि सेवा दिइरहेका छन् । खासगरी ब्रोडलिंक, फाइबर वल्र्ड कम्युनिकेशन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क लगायतले सेवा दिइरहेका छन् । उनीहरुको ग्राहक संख्या धेरै ठूलो छैन तर पनि आफ्नो उपस्थिति जमाएकै छन् । बजारमा वर्ल्डलिङ्क सहितका दर्जनौं कम्पनीहरूले सेवा दिइरहँदा इन्टरनेटको गुणस्तरीयतामाथि बारम्बार प्रश्न उठ्न गरेको छ । खासगरी इन्टरनेट स्लो चलेको, भनेको भन्दा कम एमबीपीएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । उपभोक्ताले त्यस्ता गुनासाहरू पटकपटक इन्टरनेट कम्पनीलाई गराउँदा समेत चासो नदेखाउने गरेको बताउँदै आएका छन् । नियामक दूरसञ्चार प्राधिकरणले ग्राहकलाई हैरानी दिने सेवाप्रदायकमाथि कारबाही गर्न नसकेकोप्रति पटकपटक प्रश्न समेत उठ्ने गरेको छ । 

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार परिवर्तन गर्दै अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी सम्पूर्ण सेवा, जस्तै नामसारी, रोक्का, दाखिलारखारेज तथा लगत अद्यावधिक अब हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने भएको छ । यस सम्बन्धमा विराटनगरस्थित गार्डिन माइक्रो लाइफको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहमा दुवै पक्षबीच औपचारिक सम्झौता भएको हो । सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र हिमालयन इन्भेष्टमेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जव राणाले हस्ताक्षर गरेका थिए । कम्पनीले उक्त परिवर्तनको जानकारी सम्पूर्ण सेयरधनी र सरोकारवालालाई सार्वजनिक रूपमा गराएको छ ।

१५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी । यहाँको बेनी नगरपालिका- १ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ ।  जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ ।  उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए ।  'कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,' उनले भने, 'गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।' चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।  यसअघि विसं २०५१/५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए ।   आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।  महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।  

ग्राहकलाई ठगी गर्ने बैंकलाई कारबाही गरिने गभर्नर पौडेलको चेतावनी

महेन्द्रनगर (धनुषा) । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्‍याउनेमा आफ्नो ध्यान रहेको बताए । ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनको भनाइ छ । धनुषाका व्यापारीहरुले विगतमा बैङ्कहरूले धितो राखी ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् । सो छलफलमा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए । धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ ।  'मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,' उनले भने, 'त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।' बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।  छलफलमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए ।  

नेपालमा वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य जोखिम, जीडीपीको ६ प्रतिशत बराबरको आर्थिक क्षति

काठमाडौं । वायु प्रदूषण नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको बताउँदै  विश्व बैंकको नयाँ प्रतिवेदनले यस समस्यालाई समाधान गर्न सबै क्षेत्रमा मिलेर काम गर्नुपर्ने सुझाव दिएको छ । विश्व बैंकले ‘नेपाल स्वच्छ हावातर्फ लाभ, प्रदूषणका स्रोतहरू र समाधानहरू’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो ।  नेपाल र इन्डो-गङ्गेटिक समथरभूमि तथा हिमाली फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्याङ्कन प्रस्तुत गरेको छ।  प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३.४ वर्षले घटेको छ भने वार्षिक झन्डै २६ हजार मानिसको असामयिक मृत्यु भइरहेको छ। काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणका ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा सुधारका प्रयास भए पनि परिणाम खासै देखिएको छैन । कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र विमानन क्षेत्रलाई समेत नोक्सान पुर्याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकले जनाएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण नियन्त्रण र आर्थिक विकास परस्पर विरोधी होइनन् भन्ने धारणा व्यक्त गरे । उनले भने, ‘स्वच्छ हावा पाउनु नेपालीको अधिकार हो । अहिले नै ठोस कदम चाल्न सके खर्च कम लाग्छ, ढिला गरे झन् महँगो पर्नेछ । सरकारले कडा उत्सर्जन मापदण्डदेखि विद्युतीय सवारीसाधन प्रवर्द्धनसम्मका कदम अघि बढाएको छ ।’ वायु प्रदूषण नियन्त्रणका लागि सवारीसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुल्हो सुधार, जङ्गल आगलागी नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने विश्व बैंकले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ । नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाले घेरेको काठमाडौं उपत्यकाले वायु प्रदूषणलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने, ‘स्वास्थ्य र समृद्धिका लागि सफा हावा अत्यन्तै महत्त्वपूर्ण छ । विश्व बैंकले आफ्नो वैश्विक ज्ञान र अनुभव प्रयोग गरी नेपाललाई वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिमार्फत साथ दिन निरन्तर प्रतिबद्ध छ ।

‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’

काठमाडौं । पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरूले बताए ।  कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताए । उनकाअनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको जानकारी दिए ।  धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रिने गरेको छ । खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना  छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।  तरकारी व्यापारी चेतबहादुर थिङले भने–‘धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यती छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।’ व्यापारीहरूका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरूलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ । कालिमाटीमा व्यापार गर्दै आएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताए । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको जानकारी दिए ।  उनले भने–‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीक स्टलहरु पनि ठाउँठाउँमा भए । तहातही स्टलहरु छन् । सस्तो भएपछि मान्छेले खान मनपराउँदैनन । त्यही भएर होला तरकारी नबिकेको ।’ देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ । तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरूको भनाई रहेको छ ।  कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलवारका लागि लोकल गोलभेंडा २९, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँया तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ ।   त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।

यी हुन् विश्वका सुरक्षित १० एयरलाइन्स

काठमाडौं । अहिलेको समयमा हवाई यात्रा विलासिता होइन, आवश्यक भएको छ । वैश्विक जडानका लागि हवाई यात्रा अत्यन्तै आवश्यक छ । यसले लामो दूरी चाँडै पार गर्न सहयोग गर्नुका साथै व्यापार र पर्यटनलाई समेत प्रोत्साहन दिन्छ । गत बिहीबार अहमदाबाददेखि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटना भएपछि मानिसहरूले अहिले एयरलाइन्स छान्दा सुरक्षालाई नै बढी प्राथमिकता दिन थालेका छन् । हवाई यात्रा गर्दा यात्रुले राम्रो अनुभव पाउन आराम र सुविधा चाहिन्छ । तर त्यसभन्दा महत्त्वपूर्ण कुरा विमान र यात्रुको सुरक्षा हो । एयरलाइन सञ्चालन गर्ने कम्पनीको यो सबैभन्दा ठूलो जिम्मेवारी हो । विश्वका एयरलाइन्सको सुरक्षा र सेवा गुणस्तरको मूल्याङ्कन गर्ने एक वेबसाइट छ- एयरलाइनरेटिङ्ग डट कम । यसको दाबी अनुसार यो क्षेत्रमा हरेक वर्ष केही मापदण्डका आधारमा एयरलाइन्सलाई रेटिङ गर्ने एकमात्र साइट हो । हामी यहाँ वर्ष २०२५ को रेटिङबारे जानकारी दिँदैछौं ।  रेटिङ कसरी गरिन्छ ? एभियसन क्षेत्रमा दुई प्रकारका सेवा हुने गर्छन्- एक फुल(सर्भिस एयरलाइन्स र अर्को लो- कस्ट वा बजेट एयरलाइन्स । एयरलाइनरेटिङ्ग डट कमका अनुसार यी एयरलाइन्सको हरेक वर्ष मूल्याङ्कन गरिन्छ । यसमा हेरिन्छ- पछिल्ला दुई वर्षमा कुनै ठूलो घटना भए वा भएनन्, दुर्घटना दर कस्तो छ, कम्पनी कति नाफामा छ, आईओएसए प्रमाणपत्र छ कि छैन, आईसीएओ देशको अडिट पास छ कि छैन, पाइलट कति दक्ष छन् र उनीहरूको तालिम कस्तो छ लगायतका कुरामा ध्यान दिइन्छ । २०२५ का लागि टप १० फुल-सर्भिस एयरलाइन्स: एयरलाइनरेटिङ्ग डट कमले सन् २०२५ का लागि सबैभन्दा सुरक्षित फुल-सर्भिस एयरलाइन्सको सूची सार्वजनिक गरेको छ । यो सूची ३८५ एयरलाइन्स मध्येबाट बनाइएको हो । टप १० फुल(सर्भिस एयरलाइन्स यस्ता छन् : एयर न्यूजिल्याण्ड क्वान्टास क्याथे प्यासिफिक कतार एयरवेज एमिरेट्स भर्जिन अष्ट्रेलिया एतिहाद एयरवेज एएनए ईभीए एयर कोरियन एयर अलास्का एयरलाइन्स टर्किश एयरलाइन्स विश्वका सबैभन्दा सुरक्षित लो-कस्ट एयरलाइन्सको सूची पनि सार्वजनिक भएको छ । एचके एक्सप्रेस जेटस्टार ग्रुप रायनएयर ईजीजेट फ्रन्टियर एयरलाइन्स एयर एशिया विज एयर वियतजेट एयर साउथवेस्ट एयरलाइन्स वोलारिस फुल-सर्भिस एयरलाइन्स भन्नाले के बुझिन्छ ? यात्रा गर्दा आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुने एयरलाइन्सलाई फुल-सर्भिस एयरलाइन्स भनिन्छ । एयर इन्डिया, कतार एयरवेज, एमिरेट्स, सिंगापुर एयरलाइन्स आदि यस श्रेणीमा पर्छन् । लो-कस्ट एयरलाइन्स भन्नाले के बुझिन्छ ? लो-कस्ट एयरलाइन्स भन्नाले कम भाडामा हवाई यात्रा गराउने कम्पनीहरूलाई जनाइन्छ । यी कम्पनीहरूले टिकटको मूल्य सस्तो राख्छन् तर केही सेवामा कटौती गर्छन् । आवश्यक भएमा ती सेवा थप शुल्क तिरेर मात्र पाउन सकिन्छ । अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार​​​​​​ टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु  

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।  प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । दाहालले भने, 'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाइहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।' यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।    यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।'   प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।' अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।