नेपाल टेलिकमको सेवा एक घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका कारण केही सेवा मंगलबार राति करिब एक घण्टा बन्द रहने जानकारी दिएको छ । टेलिकमका अनुसार राति ११:५५ बजेबाट एक घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ, प्याकेज सब्सक्रिप्सन लगायतका सेवाहरू प्रभावित हुन सक्छन् । यद्यपि, सो समयमा भ्वाइस, एसएमएस, डाटा तथा आइपीटीभी सेवा भने यथावत सञ्चालनमा रहनेछन् । कम्पनीले मर्मत कार्यका कारण असुविधा हुन सक्नेमा ग्राहकसमक्ष क्षमायाचना मागेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई टिका रिसोर्टमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र पोखराको लेकसाइडस्थित टिका रिसोर्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले टिका रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्य ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सिटिजन्स बैंकले समयसमयमा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै ग्राहकलाई सुविधाजनक अफरहरू उपलब्ध गराउँदै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।
संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त
काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्तले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी मंगलबारबाट सिलबन्दी बोलपत्र खुला गरेको हो । कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैंक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैकको न्यूनतम १ हजार कित्ताको लागि र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ । आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ-संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेपाल बैंकको सञ्चालक ध्रुव भट्टराईलाई काम नगराउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएर आएका ध्रुव भट्टराईलाई काम नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो । बैंक सञ्चालक समितिले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट कर्मचारी सञ्चय कोषका प्रतिनिधि ध्रुव भट्टराईलाई आगामी साधारण सभा नभएसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको छ । उक्त निर्णय नियमसंगत नरहेको भन्दै बैंकलाई विपक्षी बनाएर पूर्वसञ्चालक विवेकशमशेर जबराले रिट दायर गरेका थिए । उनको रिटको तर्फबाट बहस गर्दै अधिवक्ता लाेकभक्त राणाले निवेदकको माग बमोजिम आदेश जारी गर्नुपर्ने माग गरेका थिए । राणाले दिएको रिटमा के कसो भएको हो ? आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ । निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा निष्कर्षमा पुग्न असार ४ गते पेशी तोकि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै यस अवधिसम्मका लागि बैंकबाट कर्मचारी सञ्चय कोषलाई लेखी पठाएको वैशाख १० गतेको कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल बैंकको सञ्चालक समिति ७ सदस्यीय रहेको छ । जसमा संस्थापक सेयरधनी समूह (सरकार)बाट प्रतिनिधित्व गर्दै तीन जना, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै तीन जना र एक जना स्वतन्त्र विज्ञ सञ्चालक रहन्छन् । संस्थापक (सरकार) समूहबाट अर्थमन्त्रालयले प्रतिनिधि पठाएर सञ्चालक चयन हुने गरेको छ भने सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचनबाट हुने गरेको छ । विवेक सम्सेर राणाको कार्यकाल गत पुस मसान्तमा सकिएको थियो । पद सकिएपछि सञ्चालक समितिको निर्णयबाट साधारण सभासम्मका लागि अवधि लम्ब्याउन मिल्छ । तर, राणालाई तत्कालीन सञ्चालक समितिले निरन्तरता नदिएपछि उनी बैंकबाट बाहिरिए । सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डासहित बैंकले गत चैत ६ गते ६५औं वार्षिक साधारण बोलायो । सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने भन्दै राणाले पुनः बैंकको सञ्चालक पदका लागि उम्मेदवारी दिए । जबराले सञ्चालकबाट हटेको कम्तीमा ६ महिना समय व्यतीत नभई पुनः आवेदन दिएको हुँदा उम्मेदवारी खारेज हुनुपर्ने उजुरी परेपछि निर्वाचन अधिकृत विद्याकान्त अधिकारीले उनको उम्मेदवारी रद्द गर्यो । तर, जबराले भने आफूले कानुनी रूपमा सबै प्रक्रिया अपनाएर सञ्चालक पदका लागि उम्मेदवारी दिएको दाबी गर्दै नेपाल बैंकविरुद्ध अदालत पुगे । उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश जारी गर्दै सर्वसाधारण (ख) समूहका सेयरधनीको प्रतिनिधित्व गर्ने ३ पदको तत्काल निर्वाचन नगर्न/नगराउन भन्यो । उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला नेपाल बैंकले सञ्चालक समितिलाई पूर्णता दिने भन्दै कर्मचारी सञ्चय कोषका प्रतिनिधि ध्रुव भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गर्यो । ‘अर्काे निर्णय नआउञ्जेलसम्म निर्वाचन नगर्नु/नगराउनु भनेर आदेश दिएको छ । यसको अर्थ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगर भनेको हो । तर, बैंकले जबर्जस्ती सञ्चय कोषबाट सञ्चालक बनाएको छ,’ राणाले भने, ‘नेपाल बैंकमा कर्मचारी सञ्चय कोषको ५५ लाख कित्ता साधारण सेयर छ । जबकी सञ्चय कोष मुख्य सेयरधनी होइन । नेपाल बैंकको १० करोड सेयरमा ५ करोड सेयर भएको भए सञ्चय कोष मुख्य सेयरधनी हुन्थ्यो र समस्या आउँदैनथ्यो । तर कोषबाट जबर्जस्ती ल्याएर सञ्चालक बनाइएको छ ।’ अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समिति अध्यक्ष थानप्रसाद पंज्ञानी, सञ्चालक साधना घिमिरे, माया आचार्य रहेका छन् । त्यसपछि भट्टराईसहितको सञ्चालक समितिको निर्णयले स्वतन्त्र (विज्ञ) सञ्चालकमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ । ‘बैंकको पछिल्लो गतिविधिले सार्वजनिक संस्थाप्रति विश्वास घट्दै गएको, सेयर किनेर प्रतिफल नपाएपछि विश्वास घटेको, व्यवस्थापन र सञ्चालक समितिमा जबरजस्ति गर्दा लगानीकर्ता टाढिन्छन् । नेपाल बैंकको सञ्चालक समितिको सुशासन हेर्दा विश्व बैंक, आइएफसी पनि सशंकित भएका छन्,’ उनले भने, ‘बैंकका पूर्वअध्यक्षले घुस लिएको विषयले पनि भ्रष्टाचार गर्छन् भन्ने नकारात्मक सन्देश गएको छ ।’
रियल इस्टेटदेखि मोबाइलसम्म : ट्रम्प परिवारको नयाँ महत्त्वाकांक्षी योजना
काठमाडौं । ट्रम्प परिवारले नयाँ मोबाइल फोन कम्पनी सुरु गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो घोषणा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकालमा सुरु गरिएका धेरै व्यवसायमध्ये एक हो । कम्पनीको नाम ट्रम्प मोबाइल र फोनको नाम टीवान फोन राखिने भएको छ । ट्रम्प परिवारले नयाँ मोबाइल कम्पनी सुरु गर्नु मुख्य रूपमा ‘अमेरिका फर्स्ट’ भन्ने उनीहरूको राजनीतिक विचारधारा र पारिवारिक व्यापारिक हितबीच सम्भावित द्वन्द्वसँग जोडिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरामध्ये एक एरिक ट्रम्पले यो नयाँ कारोबार सम्हाल्ने जनाइएको छ । नयाँ मोबाइल कम्पनीको घोषणा पछिल्लो समय पश्चिम एसियामा भएका रियल इस्टेट सम्झौतापछि आएको हो । यसमा कतारमा गोल्फ विकास परियोजनाको घोषणा पनि समावेश छ, जुन अप्रिलमा गरिएको थियो । त्यसैगरी, भियतनाममा गोल्फ कोर्स, होटल र रियल इस्टेट परियोजनाहरू बनाउन १।५ अर्ब डलरको साझेदारीलाई गत महिना स्वीकृति दिइएको थियो । यद्यपि यसबारे छलफल ट्रम्प राष्ट्रपति बन्नुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । एप्पललाई निशाना ? गत महिना ट्रम्पले एप्पलको चर्को आलोचना गरेका थिए । उनले एप्पलले आफ्ना उत्पादन अमेरिकामै बनाउन सुरु नगरेमा मोबाइल फोनमा २५ प्रतिशत शुल्क लगाइने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यदि कम्पनीले आफ्नै देशमा उत्पादन सुरु गर्दैन भने मोबाइल फोनमा २५ प्रतिशत शुल्क तिर्नुपर्छ ।’ यसको अर्थ एप्पलले यदि अमेरिका बाहिर फोन बनायो भने त्यसलाई अमेरिका भित्र्याउँदा धेरै कर तिर्नुपर्नेछ । नयाँ मोबाइल फोन कम्पनीको उद्देश्य अमेरिकाभित्र रोजगारी सिर्जना गर्नु हो । एरिक ट्रम्पका अनुसार उनीहरूले अमेरिकामै फोन बनाउने र कल सेन्टरहरू पनि यही सञ्चालन गर्नेछन्, जसले धेरैलाई रोजगारी दिनेछ । तर केहीलाई चिन्ता छ कि ट्रम्प परिवारले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर आफ्नै व्यापारलाई फाइदा पुर्याउन सक्छ । त्यस्तै, पाकिस्तानसँग ट्रम्प परिवारको वित्तीय सम्बन्ध पनि चर्चामा रहेको छ । यसमा पाकिस्तानको क्रिप्टो लगानी पनि सामेल छ । ट्रम्प-पाकिस्तान क्रिप्टो जडान २६ अप्रिलबाट सुरु भएको हो । त्यस दिन क्रिप्टो एक्सचेन्ज फर्म वर्ल्ड लिबर्टी फाइनान्सियल इन्क (डब्ल्यूएलएफआई) ले नवगठित पाकिस्तान क्रिप्टो काउन्सिल (पीसीसी) सँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यस कम्पनीको स्वामित्व ट्रम्प परिवारसँगै रहेको छ । डब्ल्यूएलएफआईमा डोनाल्ड जुनियर, एरिक ट्रम्प र बैरोन ट्रम्प पनि नेतृत्व टोलीमा सामेल छन् । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६५६ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानीमा माइ हाइड्रोको भएको छ । सानिमाको ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, न्यादी गुप्रको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
गलकोट । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ-बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२र७३ मा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । उक्त दुई खण्डमध्ये बिहूँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसँग सम्झौता भए पनि कामले गति लिन सकेको छैन । बागलुङ बिहूँ खण्डको १३ किलोमिटरमध्ये जम्मा नौ किमी सडक कालोपत्र भए पनि अन्य सडक कालोपत्र हुन नसकेको हो । बागलुङ बिहूँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिनाअघि सडकमा हालेको बिटूमिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिइन् । 'निर्माण व्यवसायीको चरम लापरबाही छ, बागलुङ बिहूँ खण्डको १३ किमी सडक पाँचपटक म्याद थप गर्दासमेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुनः मर्मत गर्न आवश्यता छ,' मिश्रले भनिन्, 'बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक पाँचौँ पटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौँ, नयाँ निर्माण व्यवसायीको प्रगतिसमेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेक्का एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ ।' कालोपत्र भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छभने थुप्रै संरचना बनाउन आवश्यक देखिएको छ । पाँचपटक म्याद थप्दासमेत ठेक्का सम्पन्न नभएको बागलुङ बिहूँ खण्डको दुई किलोमिटरमा तीन महिनाअघि बिटूमिन छरेर निर्माण व्यवसायी फर्केको छैन । 'पछिल्लो पाँचौँ पटकको ठेक्का सम्झौताको म्याद समेत सकिएको चार महिना भयो, निर्माण व्यवसायी म्याद थप गर्नसमेत आएको छैन, कालोपत्र सम्पन्न नभइ भुक्तानी गर्न मिल्दैन,' मिश्रले भनिन्, 'निर्माण व्यवसायीले काम नगर्दा बजेट ‘फ्रिज’ हुने अवस्था छ, नयाँ ठेक्का लगाएको बिहूँ घोडाबाँधे खण्ड एक वर्षमा १० प्रतिशत काम हुँदा आयोजनाको चालु आर्थिक वर्षको बजेट अधिकांश फिर्ता पठाउने तयारी छ ।' बागलुङ–बिहूँको १३ किलोमिटर खण्ड २०७३ साल माघ १४ गते भारतरसिद्धिसाइसँग दुई वर्षमा सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाख रूपैयाँमा सम्झौता भएको थियो । सो ठेक्का पाँचौँ पटक म्याद थप्दा ७८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ठेकेदारले ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । साढे दुई करोड भुक्तानी लिन बाँकी भएकाले काम गर्न नसकिएको निर्माण व्यवसायी राजु गौतमले जानकारी दिए । उनले कालोपत्र गर्नका लागि छरेको बिटूमिन पानीले बगाएपछि झनै समस्या भएको बताए । बिहूँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष बित्दा कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ/रजिल भगवती जेभीसँग २१ करोड ४९ लाख रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको एक वर्षको प्रगति जम्मा १० प्रतिशत मात्रै भएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । रासस
नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध
मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।