विकासन्युज

सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, सामान्य प्रशासन मन्त्री गुप्ताले निजामती विधेयक पेस गर्ने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।  यसैगरी आजै राष्ट्रिय सभाको बैठक १ः१५ मिनेटमा बस्दैछ । राष्ट्रिय सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सहकारी प्राधिकरणको अध्यक्ष बने डा. शर्मा, को हुन् उनी ?

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । शर्मा तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।   लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले शर्मासागै अर्जुनप्रसाद पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको थियो ।  प्राधिकरणको अध्यक्ष बन्नका लागि ६ जनाको आवेदन दिएका थिए । जसमध्ये तीन जनाको नाम सर्टलिष्ट गरी सिफारिस गरेको थियो ।   

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्राधिकरणका अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बित भएका हुन् ।  साथै, पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले बताए । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।  

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले सोमबारआयोजना गरेको  ‘विपद् व्यवस्थापन स् चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उनले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरेका हुन् ।  मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।  कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उनको जोड थियो ।  संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताए ।  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागू गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उनको धारणा छ ।    अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले उल्लेख गरे। यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने बताए। मधेस प्रदेशमा पानी नपरेका कारण धान रोप्न नपाएको उल्लेख गर्दै महामन्त्री थापाले कलको पानी पनि सुक्दा तराईवासी समस्यामा परेको बताए। तीनै तहका सरकारले खुला ठाउँ छोड्न नचाहँदा विपद्का बेला समस्या हुने गरेकाले बेलैमा ध्यान दिन उनले सचेत गराए।    कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख डा. डिला सङ्ग्रौला र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापाले विपद्सम्बन्धी अन्तरदेशीय सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने सुनाए।  विपद्का बेला ६० प्रतिशत क्षति जल उत्पन्न प्रकोपका कारण हुने भएकाले बर्सातमा सचेत हुन पनि उनीहरुले  आग्रह गरे । 

प्रतिनिधिसभामा मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता प्रस्तुत

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभा बैठकमा ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ पेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्झौता प्रस्तुत गर्दै समुद्री जैविक स्रोतको अनुचित दोहन रोक्नु र सामुद्रिक माछाको दिगो उपयोग सुनिश्चित गर्नु यस सम्झौताको मुख्य उद्देश्य भएको जानकारी दिए । ‘सम्झौताअनुसार समुद्रमा अवैध रूपमा माछा मार्ने तथा त्यस्ता क्रियाकलापलाई सहयोग पुर्‍याउने अनुदान निषेध गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘समुद्रको तटीय राष्ट्र तथा क्षेत्रीय मत्स्य व्यवस्थापन संगठनको क्षेत्राधिकारबाहिर माछा मार्ने कार्य वा त्यसका लागि दिइने अनुदानसमेत निषेध गरिएको छ।’ उहाँले सन् २०२२ मा स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न विश्व व्यापार संगठनको १२ औँ मन्त्रिस्तरीय सम्मेलनबाट उक्त सम्झौता पारित भएको बताए ।  त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र सभामा वाचन गरेका थिए । 

शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव सम्पन्न, नयाँ भवन र अत्याधुनिक एमआरआई सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले एक विशेष समारोहबीच आफ्नो ४३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसरमा विस्तारित सेवा भवनको उद्घाटन गर्नुका साथै १५ शय्याको ’इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याइएको छ । समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ’रेडियोथेरापी’, ’बोनम्यारो प्रत्यारोपण’ र फार्मेसी सेवा विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सुरु गर्ने लक्ष्य रहेको बताए ।  डा. आचार्यले गत आर्थिक वर्ष वि.सं. २०८० वैशाखदेखि चैतसम्म) को तथ्याङ्क प्रस्तुत गर्दै उक्त अवधिमा ५ लाख ३२ हजार ४२० जनाले ओपिडी सेवा र ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएको जानकारी दिनुभयो। सोही अवधिमा २१ हजार १०६ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन् । उनका अनुसार अस्पतालमा दैनिक २ हजार २ सय देखि २ हजार ५ सय बिरामी ओपिडीमा र १ सय ४० देखि १ सय ५० जना आकस्मिक कक्षमा आउने गरेका छन् । हालसम्म ९ सय  मिर्गौला र १९ वटा कलेजो प्रत्यारोपण भइसकेको छ । अस्पतालमा हाल ५८ आईसीयू, ९७ एचडियुसहित कुल १,०५० शय्या सञ्चालनमा छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ शय्या निःशुल्क छुट्याइएको छ भने वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिइरहेका छन् ।  वि.सं. २०३८ मा स्थापित त्रिवि शिक्षण अस्पतालले २०४० असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । 

नेपालमा आयो पेट्रोल र ब्याट्री दुवैबाट चल्ने सस्तो ईभी, मूल्य १० लाख ९० हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा मिनी इलेक्ट्रिक भेहिकल (ईभी) खोज्नेहरूका लागि अर्को एक आकर्षक विकल्प थपिएको छ । हिमालयन ईभी प्रालिले १० लाख ९० हजार रुपैयाँमै खरिद गर्न सकिने ‘एनयू सनसाइन’ नामक नयाँ मिनी कार सार्वजनिक गरेको हो । सहरी यात्राका लागि उपयुक्त यो कार पेट्रोल र ब्याट्री दुवैबाट चल्ने कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले जानकारी दिए ।  उनका अनुसार यो मिनी कारमा अन्य प्रतिस्पर्धी मोडलमा जस्तो ३ ढोकाको सट्टा ५ वटा ढोका दिइएको छ, जसले पछाडिको सिटमा बस्न सहज बनाउँछ ।  चालकसहित ४ जनाले आरामले यात्रा गर्न सक्ने यो कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम रहेको छ ।  यसमा १९३० एमएमको ह्वीलवेस, १२ इन्चको ह्वील र १५० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले सामान्य नेपाली सडकमा चलाउन सहज बनाउँछ । ब्याट्री, मोटर र पर्फर्मेन्स एनयू सनसाइनमा १० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६ किलोवाट–आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसको अधिकतम गति ४८ किलोमिटर प्रतिघण्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यो कारको सबैभन्दा पृथक विशेषता भनेको यसमा रहेको पेट्रोल जेनेरेटर हो । यात्राको क्रममा ब्याट्री सकिएमा चिन्ता लिनु पर्दैन । कारमा उपलब्ध ४ लिटरको फ्युल ट्याङ्क भएको पेट्रोल जेनेरेटर चलाएर ब्याट्री चार्ज गर्न र गाडीलाई निरन्तरता दिन सकिन्छ। यसले गर्दा यो कारलाई ’रेन्ज एक्सटेन्डर’ हाइब्रिड गाडी पनि भन्न सकिने कम्पनीले जनाएको छ ।  यात्रुको सुरक्षा र सुविधाका लागि कारको चारै चक्कामा डिस्क ब्रेक, रियर ह्वील ड्राइभ, इन्डिपेन्डेन्ट सस्पेन्सन र एयर कन्डिसन (एसी) जस्ता विशेषताहरू दिइएको छ । वारेन्टी र अफर कम्पनीले मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३०,००० किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ । लान्समेन्ट अफरअन्तर्गत कम्पनीले एक वर्षको निःशुल्क बीमा (इन्स्योरेन्स), एक वर्षको सडक कर (रोड ट्याक्स) र स्क्र्याच कुपनमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट सुविधाहरू पनि दिने घोषणा गरेको छ ।