विकासन्युज

महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध सदस्य आर्थिक रूपमा परिपक्व हुन थालेका छन् । सामुदायिक वनले घुम्ती कोष सञ्चालन गरी उपभोक्ताको आयस्तरमा सुधार ल्याउन थालेको हो ।  सामुदायिक वनअन्तर्गत तीन वटा टोल समिति गठन गरिएका छन् । टोल समितिपिच्छे सामुदायिक घुम्ती कोष सञ्चालन गरिएका छन् । सामुदायिक वनका कार्यालय सहायक वुद्धिबहादुर चौधरीका अनुसार उत्तर बन्जरिया टोल समिति, वसन्तपुर टोल समिति र दक्षिण बन्जरिया टोल समिति गरी तीन वटा टोल समिति छन् ।  प्रत्येक टोल समितिमा रु १० लाखको घुम्ती कोष सञ्चालित छ । टोल समितिमा आबद्ध उपभोक्तालाई बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, पशुपालन, बेमौसमी सागसब्जीखेती, माछापालन र किराना पसल सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य हुँदै आएको छ ।   'टोल संयोजकसहित समितिमा सात जना रहने व्यवस्था गरिएको छ', चौधरीले भने, 'समितिले आवश्यकता भएका विपन्न अवस्थाका उपभोक्ताको मागअनुसार ऋण परिचालन गर्दै आएको छ ।' एक जना उपभोक्तालाई एक पटकमा कम्तीमा रु ३५ हजारसम्म ऋण वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजमा लगानी गरिँदै आएको छ ।   तीन वटै टोल समितिमा २५४ घरधुरी आबद्ध रहेका छन् । जसमा महिला ५५७ र पुरुष ६०६ जना आबद्ध रहेका छन् । सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार टोल समितिको हिसाबकिताबलाई पारदर्शी र चुस्तदुरुस्त बनाउनका लागि आर्थिक वर्षको अन्त्यमा आर्थिक प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइ गरी अनुमोदन गर्ने गरिन्छ । प्रतिवेदनमा ऋण लगानी भएको रकम, वार्षिक प्राप्त ब्याज र बैंक मौज्दातबारे उल्लेख गरिएको हुन्छ ।  'आर्थिक प्रतिवेदन अनुमोदन गर्न आयोजना गरिने कार्यक्रममा टोल समितिमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार भए नभएकोबारे छलफल गर्छौं', उनले भने, 'ऋणको सही सदुपयोग भए नभएकोबारे विश्लेषण गर्छौं, विपन्नताको अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थालाई अझै सुधार गर्न के गर्न सकिन्छ त्यसबारे गहन छलफल गरी आगामी वर्षका लागि योजना बनाउँछौँ, लागू गर्छौँ ।'  घुम्ती कोष परिचालनका लागि भने सामुदायिक वनले विनियमनै तयार गरी त्यसैअनुरूप रकम परिचालन गर्दै आएको छ । आयआर्जनका कार्यक्रमसँगै वैदेशिक रोजगारीमा जानेलाई र उच्च शिक्षा अध्ययन गर्नेलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउने गरिन्छ ।  सामुदायिक वनमा आबद्ध उपभोक्ता कोषको रकम ऋणका रूपमा लिएर कुनै न कुनै व्यवसायमा संलग्न रहेका छन् । घुम्ती कोषअन्तर्गत एक उपभोक्तालाई निश्चित समयावधिका लागि दिएको ऋण अर्को उपभोक्तालाई दिइने गरिन्छ ।    कोषबाट ऋण लिएर फूलराम चौधरीले बाख्रापालनको कार्य गर्दै आएको छ । बाख्रापालन गरी उनले वार्षिक रूपमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् ।  सामुदायिक वनमा आबद्ध भएपछि घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरिएपछि वर्षभरिको घरखर्च सहज रूपमा चल्न थालेको चौधरीले बताए। पहिलोपटक लिएको ऋणको रकम बाख्रा बिक्री गरेर चुक्ता गरिसकेको उल्लेख गर्दै उनले थप ऋण लिएर उन्नत जातका बाख्रा थपेर व्यवसायलाई विस्तार गर्ने सोच रहेको बताए ।  समितिमा आबद्ध बुद्धिराम चौधरीले घुम्तीको कोषबाट लिएको ऋणको रकम परिचालन गरी दश कट्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जीखेती थालेका छन् । मौसमी र बेमौसमी सागसब्जीखेती गरी वर्षमा रु पाँच लाख जतिको आम्दानी हुने गरेको उनी बताउछन् । घुम्ती कोष सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट्याउँदै अध्यक्ष राजवंशी भन्छन्, 'विपन्नतका अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनु, लघु उद्यममार्फत उपभोक्तालाई आर्थिक रूपमा सवल बनाउनु र महिलालाई सशक्तीकरण गर्नु रहेको छ, जुन उद्देश्यका लागि घुम्ती कोष गठन गरी सञ्चालन गरेका छौँ, त्यसमा सफल हुँदै गएका छौँ ।' उनका अनुसार घुम्ती कोषको अर्को उद्देश्य गरिबी घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने समेत रहेको छ । सामुदायिक वनले पाँच वर्षअघिदेखि घुम्तीकोष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

हुम्ला । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरिरहँदा हुम्लाका नागरिकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन् ।  श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी मासिक दैनिक, प्रतिघण्टा तथा आंशिक समयमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी रहँदा यहाँका नागरिक त्यसको दोब्बरभन्दा कम ज्यालामा मजदुरी गर्न बाध्य छन् ।  श्रम ऐन २०७४ को दफा १०६ को उपदफा १ मा श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार यही साउन १ गतेदेखि चिया बगानबाहेकका श्रमिकको मासिक पारिश्रमिक रु १९ हजार ५५०, दैनिक रु ७५४, प्रतिघण्टा रु १०१ र आंशिक समयमा काम गर्ने कामदारको हकमा प्रतिघण्टा रु १०७ निर्धारण गरेको छ ।  तर यहाँका श्रमिकहरूले प्रतिदिन रु २०० देखि ५०० सम्म मात्र पाउने गरेका छन् । यता ज्यालादारीमा राखिएका कर्मचारीले मासिक रु छ, सात हजारदेखि १८ हजारसम्म मात्र पाउने गरेको बताएका छन् । कुनै पनि वकास निर्माणका कामहरूमा हरेक श्रमिकलाई उपभोक्ता समितिले घाटा लागेको भन्दै अधिकतम रु ५०० र न्यूनतम रु २०० सम्म दिने गरेको श्रमिकको भनाइ छ ।  यहाँका अधिकांश योजनाको भुक्तानी भइसके पनि योजनाको श्रमिकले पाउने रकम वितरण गर्नमा उपभोक्ता समितिले ढिलाइ गरिरहेका छन् । योजनाको घाटा फाइदा जेसुकै भए पनि गाउँमा जसले अगाडि पारिश्रमिक वितरण गर्‍यो उसैले दरभाउ लागू हुने गरेको छ । त्यसैले सबै योजनाको भुक्तानी भई रकम निकासासमेत गरिरहेको अवस्थामा श्रमिकले भने ज्याला पाउन नसकेको अदानुली–३ का नवराज कार्कीले गुनासो गरे । अधिकांश योजना घुस वा कमिसनकै भरमा ल्याउने भएकाले पनि श्रमिकको ज्याला न्यून भएको उनको अनुमान छ । कसैले पनि घुस दिएर ल्याएको हुँ भन्न नसक्ने तर घरभित्रका कोही न कोही वा आफ्नो जग्गाजमिनको नाममा योजनाको नाम राखेर सङ्घ र प्रदेशबाटै योजना ल्याउने प्रवृत्तिका कारण यस्तो भएको हुनसक्ने यहाँका श्रमिकको भनाइ छ ।  सरकारले तोकेअनुसारको ज्याला मात्र होइन यहाँका श्रमिकले समयमै ज्याला नपाएपछि आफ्नो घरपरिवारका लागि खरिद गर्नुपर्ने दैनिक उपभोग्य वस्तु पनि खरिद गर्न समस्या पर्ने गरेका यहाँका श्रमिक बताउँछन् । रासस

कामना सेवा विकास बैंक ‘बिपिए गोल्ड अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त गरेको हो ।  नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा सेयरधनी तथा  सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  काठमाडौंको होटल र्यारडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि माननिय महालेखापरिक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत स्वतः मनोनित हुनेछ ।  गत वर्ष बैंकको वार्षिक वित्तीय विवरण चार्टड एकाउन्टेन्ट संस्था, नेपालबाट प्रदान गरिने 'बिपीए अवार्ड सिल्भर' र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने 'सर्टिफिकेट अफ मेरिट अवार्ड' बाट सम्मानित भएको थियो । बैंकिङ क्षेत्रमा उक्त अवार्डहरुलाई अति प्रतिष्ठित अवार्ड मानिने गरिएको छ । 

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।  आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माननीय महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।  

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि …

भोजपुर, साउन ३ । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उनको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए । 'सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ' वडाध्यक्ष नेपालले भने, 'सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।' सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए । टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ । कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ । 'यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहिन काम भएको अवस्था छ' वडाध्यक्ष खड्काले भने, 'कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहिन काम गर्नेलाई कारवाहीको माग गरेका छौँ ।' सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताए । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ । 'सडक निर्माणको अवस्था बेहाल छ” उनले भने, “कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ । दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रशको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।' ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ । रासस 

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्। प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे। ‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रुु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने। उनले जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समधानका लागि लाग्ने भन्दै गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन नसक्ने समेत बताए। उनले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’ उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरुलाई सरकारले ग्रहण गर्ने विश्वास समेत दिलाए।

वैदेशिक रोजगारीमा तीव्र वृद्धि: एक वर्षमै ८ लाख ३९ हजारले लिए श्रम स्वीकृति, पुरुषको संख्या हाबी

काठमाडौं । गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए । उनले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उनका अनुसार वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उनले जानकारी दिए । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए । उनले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिए । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले बताए। उनले वैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिए । यस्तै वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ। यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ । 

ललितपुरमा जग्गाको मूल्य २५ हजारदेखि ३९ लाखसम्म, कुन ठाउँमा कतिमा पाइन्छ ?

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरले चालु आव २०८२/८३ को लागि जग्गाको न्यूनतम्  मूल्यांकन तोकेको छ । ललितपुरमा मुख्य सहर बजारदेखि ग्रामीण क्षेत्रहरू छन् । त्यसैले ललितपुरमा जग्गाको मूल्य प्रति आना २५ हजार रूपैयाँदेखि प्रति आना ३९ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुरको मुख्य बजार मानिने कुपण्डोलदेखि लगनखेल, सातदोबाटोसम्मको जग्गाका मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कुपण्डोल सानेपा हुँदै पुरानो शान्त भवनसम्मको पिच सडकसम्म जोडिएको जग्गाको मूल्य प्रति आना १७ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती फाँट जग्गा एकीकरण आयोजनाको घडेरीको जग्गाहरूको मूल्यांकन प्रति आना १४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुर महानगर चक्रपथ भित्र र बाहिरको जग्गाहरूको मूल्य तीन लाख रूपैयाँदेखि १९ लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । च्यासलबाट बालकुमारी मन्दिर हुँदै चक्रपथ बाहिर कर्मनासा पुलसम्मको मुल पिच सडकसम्म जोडिएका दायाँबायाँको जग्गाको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कृष्ण मन्दिरबाट शंखमुल जाने पिच मोटरसँग जोडिएका जग्गा प्रति आना ११ लाख ५० हजार मूल्यांकन गरिएको छ । चक्रपथ तारबारसँग जोडिएको जग्गाको मूल्य प्रति आना २६ लाख रुपैयाँ तोकिएको छ भने गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना ५ लाख १० हजार रुपैयाँ नै उपलब्ध रहेका छन् । बाटो नभएका जग्गाहरू भने प्रति आना ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ बाहिरका जग्गाहरूमा पिच सडकसँग जोडिएका छन् भने त्यसको मूल्य प्रति आना १२ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कच्चा सडकसँग जोडिएको जग्गाहरूको मूल्यांकन प्रति आना ७ लाख ९० हजार तोकिएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बुङ्गमतीमा प्रति आना एक लाख पाँच हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । बुङ्गमतीमा मुख्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ८ लाख रुपैयाँ, अन्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ५ लाख  १० हजार रुपैयाँ, कच्ची सडक ४ लाख रुपैयाँ, गोरेटो  बाटो २ लाख ४० हजार र बाटो नभएको एक लाख ५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । खोकना क्षेत्रतिर जग्गाको मूल्य प्रति आना १ लाख २५ हजार रूपैयाँदेखि ८ लाख ९० हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । जहाँ बाटो नभएको ठाउँका जग्गाहरू १ लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् भने गोरेटो बाटो भएको ठाउँको जग्गाको मूल्य प्रति आना २ लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँमा १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । हरिसिद्धिमा जग्गाको मूल्यांकन प्रति आना १ लाख ८० हजार रूपैयाँदेखि १२ लाख २० हजार रूपैयाँसम्म गरिएको छ । मुल पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको छ । बाटो नभएको ठाउँको जग्गा भने १ लाख ८० हजार रुपैयाँमा उपलब्ध रहेका छन् । सुनाकोठीमा चापागाउँ जाने मूल पिच जोडिएका जग्गाको मूल्य प्रति आना १४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कच्ची सडक जोडिएका जग्गाहरू ६ लाख ५० हजार, गोरेटो बाटो जोडिएका जग्गा ३ लाख २५ हजार र बाटो नभएका जग्गाहरू १ लाख ७० हजार रुपैयाँमा उपलब्ध छन् । महालक्ष्मी नगरपालिकामा जग्गाको मूल्य महालक्ष्मी नगरपालिका इमाडोलमा प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि ९० हजार रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । इमाडोल क्षेत्रमा मुल पिच सडक जोडिएको जग्गा प्रति वर्गमिटर ७० हजारदेखि ८० हजार रूपैयाँसम्म, सहायक सडक जोडिएको जग्गाको मूल्य प्रति वर्गमिटर ५० हजारदेखि ६५ हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । कच्ची सडकतिर भएको जग्गाको मूल्य ४० हजारदेखि ४५ हजार रूपैयाँसम्म, गोरेटो बाटो भएको जग्गाको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म तोकिएको छ । महालक्ष्मी नगरपालिका टिकाथलीमा मुल पिच सडक जोडिएको जग्गाको मूल्यांकन ५० हजार रूपैयाँदेखि ६५ हजार रूपैयाँसम्म निर्धारण गरेको छ । सहायक पिच सडकसँग जोडिएको जग्गा प्रति वर्गमिटर ४५ हजार रूपैयाँसम्म, कच्ची सडकमा रहेको जग्गाको ३० हजार, गोरेटो बाटो भएको १५ हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको ७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।  सानागाउँमा जग्गाको मूल्यांकन प्रति आना साढे १ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु जाने पिच सडक जोडिएका जग्गाको मूल्य प्रति आना ९ लाखदेखि साढे १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै अन्य पिच सडक जोडिएको जग्गा प्रति आना ७ लाख २० हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म तोकिएको छ । गोरेटा बाटो भएका जग्गाको मूल्य प्रति आना साढे तीन लाखदेखि चार लाख रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य साढे एक लाख रुपैयाँ निर्धारण गरिएको छ । लुभुतिरको जग्गाको मूल्य १ लाख ९० हजार रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु नगर विकास आयोजनाका विकसित घडेरीको मूल्य १० लाख रूपैयाँसम्म तोकिएको छ । त्यस्तै मूल पिच सडक जोडिएको जग्गाको मूल्य प्रति आना ६ लाख ७५ हजार रुपैयाँ, कच्ची सडक भएको तिर प्रति आना ५ लाख २० हजार, गोरेटो बाटो भएको ठाउँमा तीन लाख ५० हजार रुपैयाँ र बाटो नभएको जग्गाको १ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि २५ हजार रूपैयाँदेखि जग्गा उपलब्ध छन् । लामाटारमा मूल पिच सडकसँग जोडिएको जग्गा प्रति आना ७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सहायक पिच सडक जोडिएको जग्गाको मूल्य ५ लाख ६० हजार, कच्ची सडक जोडिएको जग्गाको मूल्य चार लाख, गोरेटो बाटो जोडिएको जग्गाको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बाटो नभएको १ लाख २५ हजार रुपैयाँ रहेको छ । लामाटारकै लाकुरी भञ्ज्याङभन्दा बाहिर पर्ने जग्गाको मूल्य कच्ची सडक भएको ठाउँमा भएकोलाई प्रति आना एक लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको मूल्य २५ हजार निर्धारण गरिएको छ ।