चनौलीमा लोडसेडिङ नभएको प्राधिकरणको स्पष्टीकरण, ‘भ्रामक समाचारले अन्यौलता बढायो’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली क्षेत्रमा लोडसेडिङ सुरु भएको भन्ने हल्ला र समाचारको खण्डन गरेको छ । प्राधिकरणले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चनौलीमा देखिएको समस्या लोडसेडिङ नभई पूर्णतः प्राविधिक भएको स्पष्ट पारेको छ । चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको ‘लोड व्यवस्थापन तालिका’ लाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालले ‘लोडसेडिङ तालिका’ को रूपमा प्रचार गरेपछि सर्वसाधारणमा अन्योल छाएको थियो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले उक्त कार्यलाई अनुचित र भ्रामक भनेको छ । प्राधिकरणका अनुसार, वर्षायाममा पर्याप्त पानी नपरी खडेरीको अवस्था आएकाले सिँचाइका लागि विद्युतको माग अत्यधिक बढेको छ । चनौली ३३-११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने ३३ केभी लाइनमा बढेको अत्यधिक लोड व्यवस्थापन गर्न विद्युत लाइन तथा ट्रान्सफर्मरहरू अदलीबदली गर्नुपरेको हो । सोही मर्मत कार्यका लागि केही समय लाइन अवरुद्ध हुने तालिका मात्र सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले समाचारको भित्री अंशमा प्राधिकरणकै पदाधिकारीले ‘यसलाई लोडसेडिङ भन्न मिल्दैन’ भनेको कुरा उल्लेख भए पनि शीर्षकमा ’लोडसेडिङ’ राख्नु दुःखद् र अन्यायपूर्ण भएको बताएको छ । दीर्घकालीन समाधान अन्तिम चरणमा चनौली क्षेत्रको विद्युत आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन बसेनी १३२ के.भी. सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ के.भी. प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ । सो लाइन निर्माण सम्पन्न भएपछि हालको समस्या स्थायी रूपमै समाधान हुने विश्वास व्यक्त गरिएको छ । प्राधिकरणले विज्ञप्तिमार्फत आम उपभोक्तालाई आश्वस्त पार्दै भनेको छ, ‘लोडसेडिङ नेपालको लागि इतिहास भइसकेको छ र यो फर्किने अवस्था छैन । चनौलीमा देखिएको समस्या प्राविधिक मात्र हो र प्राधिकरणको टोली यसको समाधानका लागि अहोरात्र खटिएको छ । दुई/तीन दिनभित्रै समस्या समाधान गरी निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरिनेछ ।’ प्राधिकरणले गलत आशयका साथ फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छ : ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
काठमाडौं । विपद् संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिंचाईका लागि ३ सय वटा डिप बोरिङ खनिएको भएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको देखिएको छ । विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायीत्वको समस्या देखिएको हो । मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आज प्रारम्भीक जानकारी गराउने क्रममा यस्तो बताएको हो । त्यसैगरी विभिन्न स्थानमा सिंचाई प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिंचाई हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ । मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोली सहित सबै मन्त्रालयका सचिवहरुसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भीक जानकारीबारे छलफल गरेका छन् । छलफलपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे उहाँले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्शनमा जाने बताए । उनले भने ‘सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशन बमोजिम हामीले मधेस प्रदेशमा खटाईएको टिमहरुको प्रारम्भीक प्रतिवेदन बुझ्ने काम भएको छ । चैत्र वैशाखदेखि ८ वटा जिल्लामा ३ सय वटा डिप बोरिङ खनिसकिएको भन्ने रिपोर्ट छ । छिटै जोड्ने काम हुन्छ । हामी सम्बन्धित मन्त्रालयका सचिवज्युहरुलाई राखेर छिटै नै काम अघि बढ्छ ।’ सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोलि खटाएको थियो । खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोलि समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ । सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराएको छ । साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरुसंग पनि छलफल गरेका छन् ।
नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको मेगा अफर
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष ’टोयोटा मेगा अफर’ ल्याएको छ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा टोयोटाले आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनाहरू सार्वजनिक गरेको हो । कम्पनीका अनुसार एक्स्पोमा टोयोटाका कुनै पनि गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले ’मेगा डिस्काउन्ट’ प्राप्त गर्नेछन् । यसका साथै, उनीहरूले विशेष ’प्ल्याटिनम कार्ड’ र खरिद गरिएको गाडीका लागि ’आजीवन निःशुल्क पिकअप तथा ड्रप’ को सुविधा पनि पाउनेछन् । यो सुविधाले गाडी सर्भिसिङका लागि लैजाने र ल्याउने झन्झटबाट ग्राहकलाई मुक्त गर्ने कम्पनीको विश्वास छ । एक्स्पोमा टोयोटाले आफ्ना दुई चर्चित मोडलहरू प्रदर्शनमा राख्नेछ। जसमा हालै बजारमा चर्चामा रहेको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक र प्रतिष्ठित ल्यान्ड क्रुजर २५० समावेश छन् । यी गाडीहरूले आगन्तुकहरूलाई टोयोटाको नवीनतम प्रविधि र डिजाइन अनुभव गर्ने अवसर प्रदान गर्नेछन् । यसका साथै, एक्स्पोमा टोयोटाको स्टलमा अवलोकनका लागि आउने हरेक आगन्तुकले आकर्षक ’टोयोटा गिफ्ट ह्याम्पर’ प्राप्त गर्नेछन् । कम्पनीले यो विशेष ’मेगा अफर’ नाइमा मोबिलिटी एक्स्पो २०२५ मा गाडी बुकिङ गर्ने ग्राहकका लागि मात्र सीमित रहने स्पष्ट पारेको छ ।
भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने
काठमाडौं । इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा दिनको १० घण्टाका लागि लडाइँ रोक्ने र निराश प्यालेस्टिनीहरूलाई सहायता वितरणका लागि सुरक्षित मार्गहरू खोल्ने बताएको छ । यो २१ महिनाको युद्धमा इजरायलको आचरणलाई लिएर अन्तर्राष्ट्रिय आलोचनाको लहरको सामना गर्दा क्षेत्रमा बढेको भोकमरीलाई सम्बोधन गर्ने उद्देश्यले लिइएका कदमहरूको शृङ्खला हो । सेनाले ठूलो जनसङ्ख्या भएको क्षेत्रका तीन क्षेत्र गाजा सहर, देइर अल–बलाह र मुवासीमा ‘मानवीय सहायताको मात्रा बढाउन’ क्षेत्रमा प्रवेश गर्न ‘रणनीतिक विराम’ सुरु गर्ने बताएको छ । यो विराम आइतबारदेखि सुरु भएर अर्को सूचना नभएसम्म हरेक दिन स्थानीय समयअनुसार बिहान १०ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म हुनेछ । सेनाले आइतबार गाजामा सहायता एयरड्रपहरू गरेको पनि बताएको छ, जसमा पिठो, चिनी र डिब्बाबन्द खानाको साथ सहायताको प्याकेजहरू समावेश थिए । खाद्य विज्ञहरूले गाजामा अनिकालको जोखिमका लागि महिनाौँदेखि चेतावनी दिएका छन् । हमासले आफ्नो शासनलाई बलियो बनाउन मद्दत गर्न सामानहरू चोर्ने गरेको बताउँदै त्यहाँ इजरायलले सहायतामा प्रतिबन्ध लगाएको छ । हालैका दिनहरूमा गाजाबाट देखिएका कमजोर बालबालिकाका तस्बिरहरूले नजिकका सहयोगीहरू लगायत इजरायलको विश्वव्यापी आलोचनालाई बढावा । उनीहरूले युद्ध र यसले जन्माएको मानवीय विपत्तिको अन्त्यको आह्वान गरेका छन् । इजरायलले अन्य क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राख्दै नयाँ उपायहरू अपनाइरहेको बताएको छ । इजरायल र हमासबीचको युद्धविराम प्रयासहरू शङ्कास्पद देखिएको केही दिनपछि स्थानीय लडाइँमा विराम लागेको हो । शुक्रबार इजरायल र अमेरिकाले हमासलाई दोष दिँदै आफ्ना वार्ता टोलीहरूलाई फिर्ता बोलाए र इजरायलले लडाकू समूहसँग युद्धविराम वार्ताका ‘वैकल्पिक विकल्पहरू’ बारे विचार गरिरहेको बताएको छ । मार्चमा पछिल्लो युद्धविराम समाप्त भएपछि इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले गाजामा खाना, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवेश अढाई महिनाका लागि पूर्ण रूपमा बन्द गरेको थियो । अन्तर्राष्ट्रिय दबाबमा इजरायलले मेमा नाकाबन्दीलाई अलिकति सहज बनायो । त्यसपछि उसले संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता समूहहरूलाई वितरण गर्न करिब चार हजार पाँच सय ट्रकलाई प्रवेशको अनुमति दिएको छ । तथापि दैनिक औसत ६९ ट्रक संयुक्त राष्ट्रसङ्घले भनेअनुसार गाजाका लागि आवश्यक दैनिक पाँच सयदेखि छ सय ट्रकभन्दा धेरै कम छ । संयुक्त राष्ट्रसङ्घले भोकाएका भीड र गिरोहहरूले आउने ट्रकहरूबाट अधिकांश लिएका कारण धेरै सहायता वितरण गर्न नसकेको बताएको छ । संयुक्त राष्ट्रसङ्घबाट सहायता वितरणलाई डाइभर्ट गर्ने तरिकाका रूपमा इजरायलले अमेरिकामा दर्ता भएको गाजा मानवीय फाउन्डेसनलाई समर्थन गरेको छ । उक्त फाउन्डेसनले मे महिनामा खाद्यान्न आपूर्तिको बाकसहरू वितरण गर्ने चार केन्द्र खोलेको थियो । मे महिनादेखि इजरायली सेनाले खाना प्राप्त गर्न खोज्दा प्रायः नयाँ सहायता साइटहरू नजिकै एक हजारभन्दा बढी प्यालेस्टिनी मारिएको राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले जनाएको छ । इजरायलले प्रमाण प्रदान नगरी राष्ट्रसङ्घविरुद्ध उसको प्रणालीले युद्धभरि हमासलाई सहायता चोर्न अनुमति दिएको भन्दै आलोचना गरेको छ । संयुक्त राष्ट्रसङ्घले उक्त दाबीलाई अस्वीकार गर्दै उसको वितरण संयन्त्र प्यालेस्टिनीहरूलाई सहायता पुर्याउने उत्तम तरिका थियो भनेको छ । सेनाले संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय समूहहरूको समन्वयमा नयाँ कदम चालेको बताएको छ । जमिनका साना–साना भागहरूमा लडाइँ गरेर दबाएको गाजाको धेरैजसो जनसङ्ख्या अहिले सहायतामा निर्भर छ । सन् २०२३ अक्टोबर ७ मा एक हजार दुई सय मानिसको हत्या र दुई सय ५१ जनालाई बन्धक बनाउँदै दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि युद्ध सुरु भएको हो । हमासले अझै पनि ५० बन्धकलाई समातेर राखेको छ । तीमध्ये आधाभन्दा बढी मरेको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाबी आक्रमणमा ५९ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । यसको गणनाले आतङ्कवादी र नागरिकबीचको भिन्नता देखाउँदैन, तर मन्त्रालयले मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको बताएको छ । यो मन्त्रालय हमास सरकारको अधीनमा रहेको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई हताहतको तथ्याङ्कको सबैभन्दा भरपर्दो स्रोतको रूपमा हेर्छन् । रासस
शिक्षा विधेयकमार्फत आफ्ना माग सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरूको चेतावनी
काठमाडौं । नेपाल राहत शिक्षक राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकका मागहरू समावेश नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई पेशागत निरन्तरता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकहरूका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने माग राखे । उनले खाली राहत दरबन्दीलाई स्वतः स्वीकृत दरबन्दीमा परिणत गरी खुला प्रतिष्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने तथा शिक्षक सेवा आयोगका सबै खुला प्रतिष्पर्धामा कार्यरत राहत शिक्षकहरूका लागि उमेर सीमा हटाई सहभागी हुने व्यवस्था गरिनुपर्ने माग पनि राखे । उनले समितिले आफ्ना राहत शिक्षकका मुद्दाहरू शिक्षा ऐनमा समावेश गराउन महासंघमार्फत सरकारलाई दबाब दिने समेत बताए । समितिले शिक्षक महासंघले राहत शिक्षकको पक्षमा आवाज नउठाएमा र विधेयकमा व्यवस्थापन नगरेमा देशभर सरकार प्रमुखको पुत्ला दहन गर्ने, विधेयकको प्रतिलिपि जलाउने, विधेयक पास भएको भोलिपल्ट कालोपट्टी बाँधेर पढाउने तथा शिक्षक महासंघको नाममा एक छाक नुन बार्ने लगायत आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि...
काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडिन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन् । जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेर्स्याए । उनले सबै जवाफ दिइन् । एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मनलाग्यो र किन भनेर साेधिन् । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो । ‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ’, उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’ तर, जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एकपटक काठमाडौं आउनुहुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो कि भन्ने भयो । उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौंका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन् । ‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।’ कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको हो । ‘स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’ उनको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमानसँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमानले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ । यद्यपि, भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्यो । धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका– ६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमानले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि, महिला स्वयंसेविकाका रुपमा थोरै भएपनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् । गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो । खाडीको चर्को गर्मीमा श्रीमानले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमानलाई देशमै जागिर गर्न सुझाव दिइन् । ‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍यौँ’, उनले विगत सम्झिँदै सुनाइन् । तर, भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो । ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । ९ लाख रुपैयाँमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर, त्यहाँ पनि भने जस्तो काम पाएनन् । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ’, उनले भनिन् । बहराइनमा श्रीमानको शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा १५/२० हजार रुपैयाँ पठाइरहन्छन् । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताइन् । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ । प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन् । ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमानलाई नेपालमै राखेर दुवै जना काम गर्छौं’, उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ । रासस
बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ : नीलम ढुङ्गाना
काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औंल्याएकी छन् । आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आइतबार यहाँ आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफलमा उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।’ इमानका अध्यक्ष रोयल आचार्यले बैंकिङ प्रणालीको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने बताउँदै सबैले आफ्ना भूमिका निष्पक्ष भएर निर्वाह गर्नुपर्ने बताए । इमान संवादले नीति निर्माता, नियामक निकाय र सरोकार भएका निकायबीच पुलको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गरे । इमानद्वारा आयोजित ‘इमान संवाद’ लाई आगामी दिनमा अर्थतन्त्रका विविध पक्ष समेट्दै नियमित सञ्चालन गरिने जनाउँदै उनले कार्यक्रममार्फत अर्थसम्बन्धी विभिन्न क्षेत्रका समस्या तथा समाधानका उपायसहित आवश्यक सुझाव आदानप्रदान गर्ने मञ्चका रूपमा विकास गर्दै जाने बताए । आज बैंकिङ प्रणालीको भविष्य, डिजिटल प्रविधि र वित्तीय सुरक्षाबारे छलफल गर्नुका साथै अर्थतन्त्रका विविध पक्षका बारेमा सुझाव आदानप्रदान गरिएको थियो ।
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए । दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिवन्ध नभए पनि नेताहरुलाई जेल हाल्नुभएको स्मरण गर्नुभयो । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध । अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिवन्ध नभए पनि प्रतिवन्ध त लागेकै थियो, नेताहरुलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने ति काम त मान्छेलाई, नेताहरुलाई मुद्दा लगाउनका लागि एउटा शाही छानविन आयोग की के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो ।’ प्रधानमन्त्री ओलीले विपी कोईरालाका धेरै आयामहरु रहेको बताए ।