छुट्याएको १० करोड रुपैयाँ फिर्ता, निर्देशन दिँदा समेत भएन काम
काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार ८३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी ७ करोड ३४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोड रुपैयाँमध्ये ६ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा ३ करोड २० रुपैयाँ फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २.४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए । ‘हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । तर, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हुँदा बजेट फिर्ता भयो,’ उनले भने । हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्ट भेञ्चरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरि सक्नुपर्ने छ । हालसम्म रङ्गशालामा ५ हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्को दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । २ वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्कोको भूइँको काम भइरहेको छ । यसैगरी दुई सय मिटर नालीको ढक्कन राख्ने, १५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई ५ सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत काम सम्पन्न गर्न आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक कर्मचारी निर्माण स्थल पुगेर निर्माण व्यवसायीलाई काम छिटो गर्न आग्रह गरिएको थियो ।
६ घण्टे लोडसेडिङको तालिका खारेज, विद्युत आपूर्ति सुचारु
काठमाडौं । चौतर्फी आलोचनापछि नेपाल विद्युत प्राधिकरणले ६ घण्टे लोडसेडिङको तालिका खारेज गरेको छ । मर्मतको लागि भन्दै सार्वजनिक गरेकाे लोडसेडिङ तालिका काम सम्पन्न पछि विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु भएको प्राधिकरणले जनाएकाे छ । पछिल्लो समय विद्युत आपूर्तिको विषयलाई लिएर सर्वसाधारणमा फैलिएको अन्योललाई चिर्दै नेपाल विद्युत प्राधिकरणले आपूर्तिलाई नियमित बनाएको जनाएकाे छ । प्राधिकरणका अनुसार मर्मतको लागि सार्वजनिक गरिएको तालिकाअनुसार काम सकिएसँगै विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु गरिएको प्राधिकरणका बिलिङ महाशाखाका प्रमुख रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार यो लोडसेडिङ नभई प्रणाली मर्मतका लागि गरिएको ‘सटडाउन’ थियो । करिब १२/१३ घण्टा लगाएर गरिएको मर्मतको काम बेलुका ६ बजे नै सम्पन्न भएको उनकाे भनाइ छ । उनले प्राधिकरणका उप-कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ आफैँ बिहान ६ बजेदेखि फिल्डमा खटिएर मर्मतको कामको अनुगमन गरेको बताए । के-के भयो मर्मत र सुधार ? प्राधिकरणले नयाँ फिडर थपेर दुईतर्फी लाइनबाट विद्युत आपूर्ति सञ्चालनमा ल्याएको छ । जसले प्रणालीलाई थप भरपर्दो बनाएको छ । यसअघि लोड बढी हुँदा लाइन आफैँ काटिने (ट्रिप हुने) समस्यालाई पनि समाधान गरिएको जनाएको छ । यति मात्र नभई प्राधिकरणले प्रणालीलाई थप सुदृढ बनाउन भोलि अर्को ट्रान्सफर्मर थप्ने योजना बनाएको छ । साथै, हालको ११ हजार भोल्टको सब स्टेसनलाई स्तरोन्नति गरी ३३ हजार भोल्टको बनाउने काम पनि अघि बढाइएको छ, जसले भविष्यमा आउन सक्ने समस्यालाई न्यूनीकरण गर्ने श्रेष्ठले बताए । किन भयो ६ घण्टे तालिका ? प्राधिकरणका अनुसार नियमित मर्मत-सम्भार (जस्तै: ट्रान्सफर्मर वा ब्रेकर फेर्ने) को लागि वेबसाइटमार्फत सूचना प्रकाशित गर्ने गरिन्छ । सोहीअनुसार प्रकाशित सूचनालाई सर्वसाधारणले लोडसेडिङको रूपमा बुझ्दा अन्योल सिर्जना भएको श्रेष्ठले बताए । उच्च भोल्टेजमा काम गर्दा सुरक्षाका लागि लाइन काट्नुपर्ने भएकाले केही समय आपूर्ति बन्द गरिए पनि त्यो लोडसेडिङ नभएको प्राधिकरणले स्पष्ट पारेको छ । अहिले मर्मतको काम सकिएर आपूर्ति पूर्ण रूपमा सुचारु भइसकेकाले अब घोषित वा अघोषित रूपमा लोडसेडिङ नहुनेमा प्राधिकरणले विश्वस्त पारेको छ ।
नेपालको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स अपरिहार्य: कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले नेपालको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अपरिहार्य रहेकोमा जोड दिएको छ । कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको एक विशेष कार्यक्रममा विज्ञहरूले एआई प्रविधिको सही सदुपयोगमार्फत देशले विकासमा फड्को मार्न सक्ने धारणा राखेका हुन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको ‘आर्टिफिसियल इन्टेलिजेन्स फर नेपाल’स डेभलपमेन्टः अ होलिस्टिक एप्रोच’ शीर्षकको उक्त कार्यक्रममा एआईका विभिन्न आयामबारे बृहत् छलफल भएको थियो । विभागकी प्रमुख सुशीला मिश्र भट्टका अनुसार अहिलेको युग ‘एज अफ एआई’ भएकाले नेपालले यसलाई बेवास्ता गर्न नसक्ने बताइन् । उनले भने, ‘अहिलेको युवा पुस्ता (जेनजी) एआई प्रविधिसँग अभ्यस्त भइसकेको छ । देशको समग्र विकासका लागि हामीले पनि यो प्रविधिलाई आत्मसात् गर्नैपर्छ ।’ कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालको अध्यक्षतामा विशेष प्यानल छलफल आयोजना गरिएको थियो । जसलाई उज्ज्वल कोइरालाले सहजीकरण गरेका थिए । प्यानलमा काठमाडौं विश्वविद्यालयका प्रोफेसर सुधान झा, प्रधानमन्त्री कार्यालयका डिजिटल मामिला विज्ञ दिपेश बिष्ट, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव आदेश खड्का र प्रविधि उद्यमी सजना महर्जनले एआईका विभिन्न पक्षमाथि प्रकाश पारेका थिए । किसानदेखि नीति निर्माणसम्म एआईको भूमिका छलफलमा एआईलाई कृषि क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे उदाहरणसहित प्रस्तुत गरिएको थियो । ‘अब एक किसानले आफ्नो मोबाइलबाटै माटोअनुसार कस्तो मल हाल्ने वा बालीमा लागेको रोग के हो भनेर पत्ता लगाउन सक्ने प्रविधि एआईले दिन्छ,’ विभाग प्रमुख भट्टले भनिन् ‘यस्ता अनेकौं अवसरहरूबाट हामीले फाइदा लिनुपर्छ ।’ कार्यक्रममा एआईका अवसरसँगै चुनौतीका विषयमा पनि छलफल भएको थियो । एआईको प्रयोगबाट फैलिन सक्ने फेक न्यूज (गलत सूचना), यसको नैतिक प्रयोग र आवश्यक नीतिको अभावजस्ता विषयमा विज्ञहरूले चिन्ता व्यक्त गरे । उनीहरूले एआईको प्रयोगमा इमान्दारिता र सही सदुपयोग आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा सहभागीहरूको उल्लेख्य र सक्रिय सहभागिता रहेको र उनीहरूले राखेका जिज्ञासामाथि पनि छलफल भएको भट्टले जानकारी दिइन् ।
सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमुखीकरण तालिम
काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करिअर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२ को परीक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमुखीरण तालिम दिएको हो । विद्यार्थीहरूलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो । यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जीपीटी, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बैङ्क्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सुन्न पाउँदा खुसी व्यक्त गरेका थिए । कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लियो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ । काठमाडौं इन्टरनेशनल कलेजका सीईओ प्रतापराज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् । विद्यार्थी अभिमुखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।
हेनरी भोल्ट्सको ‘मोडेल सी प्रो’ विद्युतीय गाडी नाइमा अटो शोमा सार्वजनिक हुँदै
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेन्री भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ को सार्वजनिक घोषणा गरेको छ । सन् २०२२ देखि नेपालमा हेन्री भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेलको शुभारम्भ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गर्नेछ । मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरूसहित बजारमा प्रवेश गर्न लागेको हो । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । यसमा ३५ किलोवाट मोटर, ११० एनएम टर्क र हिल होल्ड असिस्ट जस्ता विशेषताहरू छन् । काठमाडौंको साँघुरा गल्ली र ट्राफिकलाई ध्यानमा राखेर यसको ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ। यस मोडेलमा लेमन ग्रीन, चेरी रेड, रुबी ब्ल्याक, र कोकोनट ह्वाइट जस्ता आकर्षक रंग विकल्प, ९ इन्च टचस्क्रिन, ७ इन्च इन्स्ट्रुमेन्ट डिस्प्ले, र स्मार्ट सेफ्टी फिचरहरू जस्तै एबीएस,ईबीडी, आईएसओ‌ फिक्स र रिभर्स क्यामेरा उपलब्ध छन् । ‍धेरै अपग्रेड र फिचरका बाबजुद पनि कम्पनीले यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने बताएको छ । हेनरी भोल्ट्सको विशेषता रहेको डोरस्टेप सर्भिसिङ यो मोडेलमा पनि उपलब्ध हुने एस क्युब इन्टरप्राइजेजले जनाएको छ ।
शंकर र अम्बे ग्रुपको लगानी रहेको रिद्धिसिद्धिले ४ अर्बको सिमेन्ट बेच्यो
काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको मुख्य लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा ४ अर्ब रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको छ । रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (सन् २०२५) मा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको हो । मकवानपुरको हेटौंडामा सन् २०१३ मा स्थापित रिद्धिसिद्धि सिमेन्टले सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको सिमेन्टको कारोबार गरेको थियो । क्लिंकर र सिमेन्ट उत्पादन बिक्री वितरण गरिरहेको यस कम्पनीले वार्षिक ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको रहेको छ भने, ०.८४ मिलियन मेट्रिक टन क्लिंकर उत्पादन क्षमता छ । क्लिंकरको करिब ८४ प्रतिशत सिमेन्ट उत्पादन गर्छ । कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ दीर्घकालीन ऋण र ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । दीर्घकालीन ऋणका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सले त्रीपल बी माइनस रेटिङ र अल्पकालीन ऋणका लागि एथ्री रेटिङ प्रदान गरेको छ । त्रिपल बी माइनस रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम स्तर र एथ्री रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ ।
मधेसका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने
जनकपुर । मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना राहत र सहयोग कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो । खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लागू हुने उक्त कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुने मधेश प्रदेशका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । परियोजनाबाट आठ हजार ३५५ घरका करिब ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । कार्यक्रमका लागि कुल रु दुई करोड ६० लाख ३३ हजार ४७६ बजेट विनियोजन गरिएको छ । कार्यक्रमलाई तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरणमा खडेरीग्रस्त क्षेत्रमा आपत्कालीन रूपमा पानी वितरण, दोस्रो चरणमा गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, सिँचाइ प्रणालीको सुधार तथा दिगो पानी प्रणाली निर्माणमा जोड दिइनेछ । तेस्रो चरणमा जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकता दिइने र यसअन्तर्गत ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत तथा वैकल्पिक बाली प्रवद्र्धनमा प्राविधिक सहयोग प्रदान गर्ने जानकारी आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले बताए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न
काठमाडौं । पोखरा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारी लगायतकाहरूको उपस्थिति रहेको थियो । यसैगरी, देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, विभागीय प्रमुख, उच्च व्यवस्थापन लगायत सञ्चालक समितिका पदाधिकारीसहितको उपस्थित रहेको थियो । इन्स्योरेन्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ह्वी क्यान थीमलाई मूलमन्त्रका रूपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एकजुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेको छ । उक्त कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० वर्षभन्दा बढीको अनुभव बाँडेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे । साथै कम्पनीका चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले कम्पनीको वार्षिक व्यवसायिक समीक्षा र आगामी रणनीतिका बारेमा प्रष्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरूलाई प्रेरित गरे । बेस्ट इम्प्लोइ अफ द इयर अन्तर्गत ५ विधामा क्रमशः प्रदेश प्रमुखबाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजर अन्तर्गत सू।प। हिलबाट रामप्रसाद उपाध्याय, ब्रान्च म्यानेजर अन्तर्गत दैलेख ब्रान्च बाट रविन्द्रप्रसाद शर्मा, ब्रान्च अपरेशन अन्तर्गत नयाँ बानेश्वर शाखाबाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिव अन्तर्गत बुटवल पाल्पारोड शाखाबाट सन्तोष ज्ञवाली देशभरिका कर्मचारीहरूमध्ये सर्वोत्कृष्ट भए । कम्पनीले नविनतम प्रविधिमा जोड दिँदै समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति ई- कर्जा र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ । कम्पनीको हाल चुक्ता पूँजी ५०१ करोड, कुल लगानी ४ हजार ६०० करोड, जीवन बीमाकोष ४ हजार २०० करोड, नेटवर्थ ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको छ ।