विकासन्युज

नाइमा अटो एक्स्पोमा अल्ट्राभायोलेटको एफ ७७ मार्च २ सार्वजनिक

काठमाडौं । अल्ट्राभायोलेट नेपालले नाइमा अटो मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल एफ ७७ मार्च २ सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार एफ ७७ मार्च २ ले एल्भिओन-प्रेरित डिजाइन, १५५ किमी र घण्टा गति, १०० एनएम टर्क र रिर्कन भेरियन्टमा ३२३ किमी सम्मको दायरा प्रदान गर्छ। यसमा पहिलोपटक १ लाख किमी वा ५ वर्षको ब्याट्री वारेन्टी, १० स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४- स्तरको ट्र्याक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, स्विचेबल डुअल-च्यानल एबीएस, हिल-होल्ड र ५ इन्चको टीएफटी डिस्प्ले जस्ता अत्याधुनिक सुविधा समावेश छन् । यसको एसआरबी १० ब्याट्री प्याक ६ लाख किलोमिटरभन्दा बढीको वास्तविक यात्रामा परीक्षण गरिएको हो, जसमा पाँच तहको सुरक्षा प्रणाली र भ्वाइलेट एआइ स्मार्ट टेक इकोसिस्टम (मुभमेन्ट अलर्ट, टोइङ अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन र रियल-टाइम डायग्नोस्टिक्स) जस्ता स्मार्ट सुविधा छन् । एफ ७७ मार्च २ पछि कम्पनीले दुई नयाँ मोडेलको तयारीसमेत घोषणा गरेको छ । टीसइरेक्ट, उच्च प्रदर्शन र शैली चाहनेका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर, र सकवेभ, साहसिक तथा टिकाउ अफ-रोड इलेक्ट्रिक डर्ट बाइक। यी मोडेलहरू २०२६ को पहिलो चौमासिकमा नेपालमा आउनेछन् ।

डिशहोम र लेक साइड रिट्रिबीच साझेदारी, ग्राहकलाई आवास र खानेकुरामा छुट

काठमाडौं । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग साझेदारी गरेको छ । यस सहकार्यमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास र फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुटको सुविधा पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दै आएको छ । यस साझेदारीसँगै डिशहोमका ग्राहकले यहाँको भ्रमणलाई अझ किफायती र स्मरणीय बनाउन सक्नेछन् । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकन क्लिक गरी प्राप्त कार्ड देखाएर छुट लिन सकिन्छ । डिशहोमका अनुसार यो सहकार्य केवल इन्टरनेट वा टेलिभिजन सेवाभन्दा बाहिरका जीवनशैलीका फाइदा, बचत र अनुभव ग्राहकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धताको हिस्सा हो ।

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । इलामको रोङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए । गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ । जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए । उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ । 'गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ', उनले भने, 'हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।' भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ । रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । रासस

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए । अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क-दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान-चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । यस वर्षको साउनको पहिलो सोमबारदेखि चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् । गोकर्णेश्वरमा पनि भक्तजनको घुइँचो यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा बिहानैदेखि मन्दिरमा भक्तजनको चाप देखिएको हो । गोकर्णेश्वरमा पनि बिहान ३ बजेदेखि भक्तजनका लागि ढोका खुला गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका– ४ का अध्यक्ष जयराम महतले जानकारी दिए। वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । आइतबार बोलबम काँवरिया सङ्घमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए । यी भक्तजनले आज बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका छन् । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाइको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख, शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ । यसैगरी राजधानीका अन्य शिवालय वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत स्थानमा पनि भक्तजनको घुइँचो छ ।

पिपुल्स पावरको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ ।  असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले ​​​​​​आज साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रधानमन्त्रीको भ्रमणमा नेपालगञ्ज-दिल्ली उडान मुद्दा राख्नुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज काठमाडौंमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज-दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे । सन् २०१८ मा नेपालगन्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।  त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधि लगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरूको भनाइ छ । उडान स्थगित हुनेमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ । छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा धवलशमशेर राणा, शक्ति बहादुर बस्नेत, सूर्य ढकाल, महेश्वर जङ्ग गहतराज, दीपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खान लगायतले नेपालगञ्ज-दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्व अध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज-दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।  पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।  सांसद सञ्जय गौतमले नेपालगन्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्त्वपूर्ण चरण हुने बताए । सांसद अब्दुल खानले नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सांसद धवल शमशेर राणाले भने, ‘जुन दिन नेपालगञ्ज-दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।’ सांसद शक्ति बहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाए । 

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा(चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म लगानी गर्न पाउने

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म लगानी गर्न पाउने भएका छन् । गत असार २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।