पद छोड्नु चार दिनअघि न्यायाधीश बेल्बासेलाई बढुवा
काठमाडौं । न्यायपरिषद्ले मंगलबार उच्च अदालतमा तीनजना न्यायाधीशको सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह रहेका छन् । प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि कार्यान्वयन हुने यो निर्णयमा न्यायाधीश बेल्बासेको सिफारिस भने निकै अनौठो र चर्चाको विषय बनेको छ । वरिष्ठताक्रममा १३ औं स्थानमा रहेका बेल्बासेलाई उनीभन्दा अगाडिका १२ जना न्यायाधीशहरूलाई पन्छाएर सोझै उच्च अदालतमा बढुवाका लागि सिफारिस गरिएको हो । संवैधानिक व्यवस्था अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशको ६३ वर्षे उमेरहद रहने भएकाले आगामी असोज ४ गते उनी अवकाश पाउँदैछन् । ६३ वर्ष पुरा हुन चार दिन मात्र बाँकी रहँदा गरिएको यस सिफारिसले गर्दा उनलाई कास्कीबाट रमाना लिएर काठमाडौंबाट नियुक्ति पत्र बुझ्ने र नयाँ कार्यक्षेत्र उच्च अदालत जनकपुर पुगेर इजलासमा बस्न समेत समयको ठूलो अभाव हुने देखिन्छ । न्यायपरिषद्को निर्णयको माइन्यूटमा १३ औं वरीयताका बेल्बासेलाई अरू १२ जना वरिष्ठ न्यायाधीशहरूलाई छाडेर सिफारिस गर्नुको कुनै विशिष्ट कारण वा आधार खुलाइएको छैन । वि.सं. २०५२ मंसिरमा न्यायसेवामा प्रवेश गरी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश बनेका उनले यो अल्पकालीन पदोन्नतिपछि उच्च अदालतको न्यायाधीशको हैसियतमा पेन्सन लगायतका विशिष्ट सुविधाहरू प्राप्त गर्नेछन् । कास्की जिल्ला अदालतमा कार्यरत रहँदा न्यायाधीश बेल्बासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा महत्त्वपूर्ण आदेश दिएको थियो । महान्यायाधिवक्ता कार्यालयको निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले दिएको निवेदन अनुसार उनको इजलासले लामिछाने विरुद्धका मूल तथा पुरक अभियोगहरूबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाई सहकारी ठगीको अभियोग मात्र कायम रहने गरी अभियोगपत्र संशोधनको आदेश जारी गरेको थियो ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न भोलि (बुधबार) शीर्ष राजनीतिक नेतृत्वको सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेका बेला विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक तहबाटै समन्वय र पहल आवश्यक रहेको भन्दै रास्वपाले सर्वदलीय बैठक बोलाएको हो । रास्वपाका अनुसार बैठकमा शीर्ष राजनीतिक नेतृत्वको सहभागिता रहनेछ ।
एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौं । जापानको आइची–नागोयामा हुने एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् । एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ । नेपालले प्रतियोगितामा बलियो टोलीसहित सहभागिता जनाउँदै क्रिकेटमा एसियाली मञ्चमा आफ्नो प्रभाव देखाउने लक्ष्य राखेको छ ।
बाढीले भत्काएका सडक-पुल जोड्दै बागमती सरकार, वैकल्पिक मार्गमा जोड
काठमाडौं । विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन बागमती प्रदेश सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिएको जनाएको छ । बाढीले मुख्य सडक तथा पुलमा क्षति पु‍र्‍याएपछि तीन जिल्लाका विभिन्न बस्तीको यातायात सम्पर्क प्रभावित भएको थियो । त्यसपछि प्रदेश सरकारले सडक खुलाउने, क्षतिग्रस्त पुल मर्मत गर्ने, वैकल्पिक पुल निर्माण गर्ने काम अघि बढाएको जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरतबहादुर केसीका अनुसार मुख्यमन्त्री किरण थापाको प्रत्यक्ष निगरानीमा प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना गर्ने काम भइरहेको छ । प्रदेश सरकारले काठमाडौं–रसुवा जोड्ने टोखा–छहरे–चौघडा–बाहुनबेँसी–लाच्याङ सडक सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, बाढीका कारण अवरुद्ध गल्छी–त्रिशूली सडक सफा गरी यातायात सञ्चालनमा ल्याइएको मन्त्री केसीले बताए । मुख्य सडक सञ्चालनमा आए पनि बाढीले पुल तथा अन्य संरचनामा क्षति पु‍र्‍याएपछि कतिपय क्षेत्रमा आवागमनको समस्या कायमै रहेको मन्त्री केसीले जानकारी दिए । त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले वैकल्पिक पुल निर्माणलाई प्राथमिकता दिएको छ । मन्त्री केसीका अनुसार श्रमथली–पाटीखर्क–पाँचाङ पुल प्रदेश सरकारको अग्रसरतामा निर्माण भइरहेको छ । त्यस्तै, सूर्यगढी गाउँपालिका–२ बाट नौकुण्ड गाउँपालिका जोड्ने ३२४ मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी अघि बढाइएको छ । फलाँखु खोलामा पनि बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको छ । हेटौंडामा तयारी अवस्थामा रहेको बेलिब्रिजलाई प्रभावित क्षेत्रमा लैजाने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए । बाढीपछि रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा फलाँखुमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको केसीले वताए । प्रदेश सरकारले बाढीबाट प्रभावित जोखिमपूर्ण आवागमनका साधनलाई समेत विस्थापन गर्ने योजना बनाएको छ । त्रिशूली, देविघाट र धुन्चेमा रहेका म्यानुअल तुइनलाई मोटरेबल संरचनामा रूपान्तरण गर्ने तयारी भइरहेको मन्त्री केसीले बताए । धादिङतर्फ पनि क्षतिग्रस्त संरचनाको मर्मतलाई अघि बढाइएको छ । घाटबेँसीमा रहेको झोलुङ्गे पुल मर्मत गर्नुका साथै गल्छीबाट जिल्ला सदरमुकाम धादिङबेँसी जाने पुल मर्मत गरी सदरमुकामलाई राजमार्गसँग जोड्ने काम गरिएको प्रदेश सरकारको भनाइ छ । बाढीले क्षति पु‍ङयाएको पूर्वाधार पुनःनिर्माणमा सडक र पुलसँगै खानेपानीलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । नुवाकोटको विदुर नगरपालिकामा बाढीपछि देखिएको खानेपानी समस्या समाधान गर्न त्रिशूली क्षेत्रमा भूमिगत पानी निकाल्ने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए । मन्त्री केसीका अनुसार डिप बोरिङमार्फत भूमिगत पानी निकालेर खानेपानी आपूर्ति गर्ने योजना अघि बढाइएको छ । प्रदेश सरकारका अनुसार अहिलेको प्राथमिकता बाढीबाट अवरुद्ध भएको यातायात र आधारभूत सेवा पुनः सञ्चालनमा ल्याउनु हो । त्यसपछि क्षतिग्रस्त संरचनालाई स्थायी रूपमा पुनःनिर्माण गर्ने योजना अघि बढाइनेछ । भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ । संघीय सरकारले समेत बाढीबाट भएको समग्र क्षतिको पुननिर्माणका लागि ठूलो रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । बाढीपछि राहत र उद्धारको चरण पार गर्दै प्रभावित क्षेत्रमा अब पुनःस्थापना र पुनर्निर्माणको चरण सुरु भएको मन्त्री केसीले बताए । बागमती प्रदेश सरकारले सडक, पुल, बेलिब्रिज, झोलुङ्गे पुल र खानेपानीका योजनामार्फत प्रभावित बस्तीलाई पुनः सहज यातायात र आधारभूत सेवासँग जोड्ने काम अघि बढाएको जनाएको छ ।
बंगलादेशमा शेख हसिनाको पार्टीका ७ वरिष्ठ नेतालाई मृत्युदण्ड
काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको अभियोगमा मृत्युदण्ड सुनाएको छ । ती नेताहरूमाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसात्मक गतिविधिको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लागेको थियो । उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ । तीन सदस्यीय ट्रिब्युनल ९आईसीटी–२०को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए । सातै जना अभियुक्तविरुद्ध उनीहरूको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । अदालतले उनीहरूलाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो । मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम तथा सूचना तथा प्रसारण मामिलाका पूर्व राज्यमन्त्री मोहम्मद अली अराफात रहेका छन् । त्यस्तै, अन्य चार अभियुक्तमा जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेका छन् । अदालतले सातै जना अभियुक्तका तर्फबाट प्रतिरक्षा गर्न सरकारी वकिलहरू नियुक्त गरेको थियो । यो फैसला सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा आएको हो । करिब १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइएको थियो ।
बाढीले भत्काएका झोलुंगे पुल असोज २० गतेसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ । क्षतिग्रस्त भएकामध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ । धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन् । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको छ । यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ । मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ । यसबाहेक उक्त करिडोरमा मर्मत नै हुन नसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ’बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।
प्रभु बैंकको रक्तदान कार्यक्रमबाट ३२१ पिन्ट रगत संकलन
काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बुधबार २०८३ भदौ ३० गते एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयसहित सातै प्रदेशका आठ शाखा सहभागी भएका थिए । बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न प्रदेशबाट गरी ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । प्रभु बैंकले यसअघि पनि बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत कोषमा सहयोग गरिएको बैंकले जनाएको छ । यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो । प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विमानस्थल छिर्न खोज्ने जिसी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कै व्यक्तिको प्रवेश पास प्रयोग गरी प्रवेश गर्न खोज्ने एक व्यक्ति नियन्त्रणमा परेका छन्। मंगलबार विमानस्थल सुरक्षा जाँचका क्रममा नागरिक उड्डयन प्राधिकरणबाट जारी भएको शशी थापाको प्रवेश पास लिएर विमानस्थलभित्र प्रवेश गर्न खोज्ने प्रशान्त जिसी पक्राउ परेका हुन् । प्रहरीका अनुसार जिसीले प्रवेश पास नम्बर ०६४१६ प्रयोग गरी विमानस्थलभित्र प्रवेश गर्न खोजेका थिए। शंका लागेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको टर्मिनल ड्युटी अधिकृतको कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । जिसी कीर्तिपुर नगरपालिका–६ का रहेको प्रहरीले उल्लेख गरेको छ ।