काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको अभियोगमा मृत्युदण्ड सुनाएको छ ।
ती नेताहरूमाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसात्मक गतिविधिको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लागेको थियो ।
उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ ।
तीन सदस्यीय ट्रिब्युनल ९आईसीटी–२०को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए ।
सातै जना अभियुक्तविरुद्ध उनीहरूको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । अदालतले उनीहरूलाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।
मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम तथा सूचना तथा प्रसारण मामिलाका पूर्व राज्यमन्त्री मोहम्मद अली अराफात रहेका छन् ।
त्यस्तै, अन्य चार अभियुक्तमा जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेका छन् ।
अदालतले सातै जना अभियुक्तका तर्फबाट प्रतिरक्षा गर्न सरकारी वकिलहरू नियुक्त गरेको थियो ।
यो फैसला सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा आएको हो ।
करिब १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइएको थियो ।