बाढीपीडितलाई गाँसबाँसकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य
मोरङ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ । बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । उनीहरुले दिएको एउटा त्रिपालले श्रीमती र चार छोरालाई यही त्रिपालमुनि दैनिकी बिताउनु परेको उनी सुनाउँछन् । उनले भने, “रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौँ ।” बाढीका कारण विस्थापित भएकालाई फेरि पटकपटक पर्ने पानीले अझ त्रसित बनाउँछ । यसरी समस्यामा रहेकामा दिनेश मात्र छैनन्, उषा सहनी र रिङकुदेवी राय पनि यस्तै समस्यामा रहेको बताउँछन् । तीनसय बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उनीहरुको बिहान खाए साँझ के खाने समस्या छ । भएभरको सबै बाढीले बगाएपछि बिहान बेलुका के खाने भन्ने समस्यामा छन् । विराटनगर– ७ कै उषा सहनी भन्छन् “खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौँ । सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने रु ७० का बारेमा उनीहरुलाई केही थाहा छैन । पाएका पनि छैनन् अनि सोधीखोजीका लागि कोही पुगेको छैन । उनीहरु रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो भन्छन् । बाढीपीडित रिकु राय भन्छन्, “रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो, राति राम्रोसँग सुत्न पाउँथ्यौ कि ?” बाढी प्रभावितलाई राज्यले दिने तत्कालीन राहत पुगेपनि बाढीपछिको अवस्थाको बारेमा खासै ध्यान गएको देखिँदैन । विराटनगर महानगरपालिका भन्छ, हामीले राहत बाँडेका छौँ । तर कहाँ गयो त त्यतिका राहत, तैँ चुप मैचुपको अवस्थामा छन् राहत वितरण गर्ने । यसको सोधीखोजी अहिलेको आवश्यकताको विषय बनिनुपर्ने बाढीपीडितको भनाइ छ । कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ । बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन छन् । घर भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन् । तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ । महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ । उनले भने, “पुनःस्थापनाको काम चाँडै गर्छौं ।” एक करोड रुपैयाँ भन्दा बढीको राहत वितरण यसैबीच, सांसद एवं एमाले मोरङका सचिव ऋषिकेष पोखरेलले मोरङ क्षेत्र नं १ का बाढीपीडितलाई एक करोड रुपैयाँभन्दा बढीको राहत सामग्री वितरण गरेका छन् । गत साउन २७ र २८ गते आएको अविरल वर्षापछि आएको बाढीले विस्थापित तथा प्रभावितलाई सांसद पोखरेलले साउन ३० गते यता रु एक करोड बढीको राहत सामग्री वितरण गरेका हुन् । बाढीले जिल्लाका विभिन्न क्षेत्र डुबानमा थिए । तीमध्ये विभिन्न खोला छेउमा बसोबास गर्दैआएका सर्वसाधारण विस्थापित भएका थिए । सो क्रमसँगै मोरङको रतुवामाई नगरपालिका, आँपगाछी, डाइनिया, उर्लाबारी, राजघाटलगायतका स्थानमा सो रकम बराबरको चामल, चिउरा, दाल, नुन, तेल, त्रिपाल, झुललगायतका राहतका सामग्री उनले वितरण गरेका हुन । उनले विस्थापित भएकाका लागि आवास निर्माणको समेत योजना बनाएको बताए । बाढीपीडितलाई खाद्यान्नको अभाव भइरहेका बेला राहत पाएपछि सो क्षेत्रका बाढीपीडित निक्कै खुशी भएका स्थानीयवासीले बताएका छन् । रासस
बुधबार प्राइम लाइफ इन्स्योरेन्स र जेबिल्स फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन प्राइम लाइफ इन्स्योरेन्सको र जेबिल्स फाइनान्सको क्रमशः बोनस र हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ११७३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७० रुपैयाँ रहने भएको छ ।
युनिलिभरले प्रतिसेयर १२७० रुपैयाँ नगद लाभांश दिने
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले प्रतिसेयर १ हजार २७० सय रुपैयाँ नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट १ हजार १ सय र कम्पनी सञ्चालनको रजत वर्षको अवसर पारेर विशेष १७० रुपैयाँ थप नगद लाभांश दिने निर्णय गरेको युनिलिभरले जनाएको छ । प्रस्तावित लाभांश पारित गर्न युनिलिभरले २४ औ वार्षिक साधारणसभा असोज २० गते बोलाएको छ । गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ । गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो ।
दमकमा विश्व बैंकले ५ अर्ब लगानी गर्ने
दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि ५ अर्ब रूपैयाँ भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर लगानी िभत्राउने बताए । उहाँले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए । “हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भने, – “अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।” उहाँले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिए । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको छ । नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए। रासस
नेपाली रुपैयाँसंग डलर कमजोर, फाइदा बेफाइदा दुबै
काठमाडौं । पछिल्ला केही महिनायता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर हुदै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा तोकेको छ । एक महिनाको अवधिमा नेपाली रुपैयाँसंग डलर झण्डै २६ पैसाँ कमजोर भएको छ । गत साउनको दोस्रो साता १ डलर बराबर १०३ रुपैयाँ थियो । भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बुधबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ २१ पैसा थियो । सन् २०११/०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो । डलर कमजोर हुनुमा भारतीय र अमेरिकी अर्थतन्त्रबीचको सम्बन्ध रहेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । विकास न्युजसंग कुरा गर्दे शर्माले भने “भारतीय अर्थतन्त्री मजवुत भएको कारण भारु बलियो हुन गई डलर कमजोर हुदा यसको असर नेपालमा परेको हो ।” डलर कमजोर हुदा फाइदा र वेफाइदा दुबै हुने उनको तर्क छ । डलर कमजोर हुदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोत्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । गत आवमा डलर कमजोर हुदा पेन्सन आप्रवाह घटेको थियो । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । जसले निकासी व्यापारलाई कमजोर बनाउछ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा कमी हुन्छ ।
केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० र २१ गते
काठमाडौं । सरकारले केन्द्र र प्रदेशको निर्वाचन २ चरणमा गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैंठकले एकैचरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको थियो । हिमाली तथा दुर्गम पहाडी जिल्लामा १० र सुगम जिल्लामा २१ गते हुने छ । निर्वाचन आयोगबाट एकैचरणमा गर्दा समस्या आउने भनेपछि सरकारले निर्वाचन २ चरणमा गर्न निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतले जानकारी दिए ।प्रदेश प्रमुख र राजधानी राजनीतिक सहमतिका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी िदए । यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्ने, विद्युत प्रसारणलाइन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब ४० करोड रुपैयाँ ऋणलाई स्वीकार गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ । यस्तै केही सचिवको सरुवा गरेको मन्त्री वस्नेतले जानकारी दिए ।
रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड
उर्लाबारी (मोरङ) । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दशैँअघि नै स्थानीयवासीलाई विद्युत् उपलब्ध गराइनेछ । मिक्लाजुङ गाउँपालिकामा मोरङ जिल्लामै पहिलोपटक मिनी सोलार ग्रिडबाट विद्युत् उत्पादन गर्न लागिएको हो । १ करोड ७० लाख रूपैयाँको लागतमा निर्माण भइरहेको सोलार ग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला समन्वय समिति, मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीबाट संकलन गरिएको थियो । विद्युत् उत्पादन शुरु भएपछि सो क्षेत्रका ५० घरपरिवार लाभान्वित हुनेछन् । यसैगरी, सो सोलार ग्रिडबाट विद्यालयका २५ वटा कम्प्युटर, वडा कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत सञ्चालन हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । रासस
तामाकोसीमा पानी मिसाउन रोल्वालिङ डाइभर्सनका लागि रोप वे निर्माण हुदै
काठमाडौं । माथिल्लो तामाकोसीबाट थप बिजुली उत्पादन गर्न अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोलामा डाइभर्सन निर्माण गर्ने भएको छ । रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप बिजुली उत्पादन गर्न कम्पनीले काम अघि बढाएको छ । रोल्वालिङमा डाइभर्सन निर्माणका लागि निर्माण उपकरण ठुवानी गर्न अपरतामाकोसीले रोप वे बनाउने भएको छ । सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै दोलखाको छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो रोप वे निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनौटको प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रस्ताव आब्हान गर्दा मापदण्ड धेरै कडा भएपछि यसलाई सच्याएर पुनः प्रस्ताव आब्हान गरेको छ । आउदो असोज ३ गते प्रस्ताव पेश गर्ने मिति तोकेको छ । डाइभर्सनका लागि निर्माण समाग्री तथा उपकरण लैजान रोप वे निर्माण गर्न लागेको प्रवद्र्धक अपर तामाकोसीका प्रवक्ता गणेश न्यौपानेले बताए । डाइभर्सन निर्माणका बेला निर्माण सामाग्री र उपकरण ढुवानीका लागि रोप वे का रुपमा सञ्चालन हुने र पछि केवल कारमा रुपान्तरण हुने उनले जानकारी दिए । डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । रोल्वालिङको पानी थप भएपछि तामाकोसीबाट सुख्खायाममा १२० मेगावाटसम्म बिजुली उत्पादन गर्ने छ । रोल्वालिङ डाइभर्सनमा २२ मेगावाटको अर्को आयोजना सम्पन्न भएपछि थप १५ करोड ७० लाख युनिट बिजुली थप हुने छ । माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट र रोल्वालिङमा नयाँ आयोजना विकास गरी थप १५ करोड ७० लाख गरी माथिल्लो तामाकोसीबाट वार्षिक बिजुली उत्पादन २ अर्ब ६२ करोड युनिट नाघने छ । माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरेपनि माघ र फागुनमा घटेर ९० मात्र सिमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीको काम साढे ९० प्रतिशत सकिएको छ । अब साढे ८ प्रतिशत सक्न बाँकी छ । रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनो विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ ।