काठमाडौं । माथिल्लो तामाकोसीबाट थप बिजुली उत्पादन गर्न अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोलामा डाइभर्सन निर्माण गर्ने भएको छ ।
रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप बिजुली उत्पादन गर्न कम्पनीले काम अघि बढाएको छ । रोल्वालिङमा डाइभर्सन निर्माणका लागि निर्माण उपकरण ठुवानी गर्न अपरतामाकोसीले रोप वे बनाउने भएको छ ।
सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै दोलखाको छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो रोप वे निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनौटको प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रस्ताव आब्हान गर्दा मापदण्ड धेरै कडा भएपछि यसलाई सच्याएर पुनः प्रस्ताव आब्हान गरेको छ । आउदो असोज ३ गते प्रस्ताव पेश गर्ने मिति तोकेको छ ।
डाइभर्सनका लागि निर्माण समाग्री तथा उपकरण लैजान रोप वे निर्माण गर्न लागेको प्रवद्र्धक अपर तामाकोसीका प्रवक्ता गणेश न्यौपानेले बताए । डाइभर्सन निर्माणका बेला निर्माण सामाग्री र उपकरण ढुवानीका लागि रोप वे का रुपमा सञ्चालन हुने र पछि केवल कारमा रुपान्तरण हुने उनले जानकारी दिए ।
डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । रोल्वालिङको पानी थप भएपछि तामाकोसीबाट सुख्खायाममा १२० मेगावाटसम्म बिजुली उत्पादन गर्ने छ ।
रोल्वालिङ डाइभर्सनमा २२ मेगावाटको अर्को आयोजना सम्पन्न भएपछि थप १५ करोड ७० लाख युनिट बिजुली थप हुने छ । माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट र रोल्वालिङमा नयाँ आयोजना विकास गरी थप १५ करोड ७० लाख गरी माथिल्लो तामाकोसीबाट वार्षिक बिजुली उत्पादन २ अर्ब ६२ करोड युनिट नाघने छ ।
माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरेपनि माघ र फागुनमा घटेर ९० मात्र सिमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीको काम साढे ९० प्रतिशत सकिएको छ । अब साढे ८ प्रतिशत सक्न बाँकी छ ।
रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनो विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ ।