विकासन्युज

एसबीआई बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा न्युन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपाल एसबीआई बैंकको नाफा ९ करोड रुपैयाँ बढेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणमा खराब कर्जा अनुपात ०.१३ प्रतिशत रहेको देखाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १८ पैसा छ । असारमा बैंकको ईपीएस ३० रुपैयाँ ६२ पैसा छ । बैंकको पुँजीगत लागत ५.१९, कर्जा निक्षेप अनुपात ७६.३७ र आधार दर ९.३२ प्रतिशत छ । कर्जा निक्षेप ब्याज अन्तर ४.८१ पैसा छ । समीक्षा अवधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा बैंकले ८१ अर्ब ६६ करोड रुपैयाँ थियो । बैंकले ३ महिनामा झण्डै ६ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।यस्तै कर्जा लगानी बढेर ६७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ६३ अर्ब २ करोड रुपैयाँ थियो । ३ महिनामा कर्जा लगानी ५ अर्ब रुपैयाँ बढेको छ । संचित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

३ महिनामा सिद्धार्थ बैंकको नाफा १५ करोड घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा १५ करोड रुपैयाँ घटको छ ।  चालु आवको ३ महिनामा बैंकले २१ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २ प्रतिशत नाघेको छ । गत असारमा बैंककको यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ७.३२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत छ । बैंकको आधार दर १०.२८ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । ३ महिनामा बैंकले ५० करोड रुपैयाँ मात्र निक्षेप बढाएको छ । असोजसम्म बैंकको निक्षेप परिचालन बढेर ७७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ थियो । यस्तै असोजसम्म बैंकले ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ६६ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी झण्डै ३ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ८४ करोड रुपैयाँ छ ।

तीन वर्षभित्रै काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्रै, कहाँ पठाउने ८ लाख गाडी ?

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले आगामी तीन बर्षभित्रै काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्रै गुड्न पाउने व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संयुक्त घोषणा पत्र तयार पारेका यी दुई दलले आगामी तीन वर्षभित्रै उपत्यकामा विद्युतिय सवारी साधन मात्रै गुड्न पाउने कार्ययोजना लागु गर्ने घोषणा गरेका हुन् । हाल बागमति अञ्चलमा १० लाख ४२ हजार ८ सय ५६ वटा सवारी साधन दर्तामा रहेका छन् । तीमध्ये ८ लाख भन्दा बढि सवारी साधन काठमाडौं उपत्यका भित्र नै गुड्ने गरको अनुमान छ । त्यस बाहेक बागमति अञ्चल बाहिर दर्ता भएका थुप्रै सवारी साधन उपत्यकामा गुडिरहेका छन् । बाम गठबन्धनले उपत्यकामा तीन बर्षभित्रै विद्युतिय सवारी साधन मात्रै गुड्ने कार्ययोजना लागु गर्ने भनेपनि कसरी कार्यान्वयन गर्ने भन्नेबारे केहि उल्लेख गरेको छैन् । गठबन्धनले २ बर्षभित्रै सबै नेपालीका घरमा विद्युतिकरण गरिसक्ने महत्वकांक्षी योजना पनि घोषणा पत्रमा अघि सारेको छ । प्रमुख २ बाम पार्टीको गठबन्धनले आगामी निर्वाचनमा सरकार बनाउन पुग्ने जनमत प्राप्त गर्ने सर्वेक्षणहरुले दखाईरहेका छन् । बाम गठबन्धनले बहुमत ल्याएपछि गठन हुने सरकारले कसरी तीन बर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै गुडाउने योजना कार्यान्वयनका लागि पर्याप्त विद्युत, चार्ज स्टेशन, अहिले गुडिरहेका सवारी साधनको व्यवस्थापन लगायतका बारेमा गहिरो अध्ययन आवश्यक पर्छ ।

ग्लोबल आईएमई बैंकको नाफा ७ करोड घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकको खुदनाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा घटेर ३५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको अपरिष्कृत वित्तीय विवरणमा नाफामा गिरावटसगै प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत घटेर १७.४८ प्रतिशतमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २५ रुपैयाँ २२ पैसा थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५७ प्रतिशत पुगेको छ । बैंकको पुँजीगत लागत बढेर ७.२३ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) ७७.३५, आधार दर १०.५४ प्रतिशत रहेको छ । कर्जा निक्षेपबीचको औसत ३.२५ पैसा रहेको बैंकले जनाएको छ । असोजसम्म बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएर १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा लगानी बढेर ८८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ८० अर्ब ८१ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले कर्जा लगानी ८ अर्ब रुपैयाँ बढाएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको संचित कोष बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

इन्भेष्टमेन्ट बैंकको नाफा ९१ करोड , धेरै बैंकको नाफा घट्दा यस बैंकको १८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँले बढी हो । अधिकांश वाणिज्य बैंकहरुको नाफामा सुस्तता देखिएको समयमा यस बैंकको नाफा १८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा यस बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको थियो । यस बैंकको चुक्ता पुँजी १० अर्ब २६ करोड रुपैयाँ छ । संचित कोषमा ९ अर्ब ११ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी १ खर्ब ७ अर्ब रुपैयाँ प्रवाह गरेको छ । बैंकले विभिन्न क्षेत्रमा ३० अर्ब लगानी गरेको छ । बैंकको सीडी रेसियो ७५ प्रतिशत रहेको छ भने क्यापिटल एडेक्वसी १२.७८ प्रतिशत रहेको छ । कष्ट अफ फण्ड ६.०८ प्रतिशत छ भने बेसरेट ८.९१ प्रतिशत रहेको छ । बैंकको आरोइ १८.४६ प्रतिशत छ भने पीई रेसियो ३४.३१ रहेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ भने विहीबार यस बैंकको सेयर ६२८ रुपैयाँमा किनबेच भएको छ ।

ठूला कम्पनीले नाफाको १ प्रतिशत रकम कहाँ खर्च गर्ने ? नियमावली नबन्दा व्यवसायी तनावमा

काठमाडौं । वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगले नाफाको १ प्रतिशत रकम व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) मा खर्च गर्नु पर्ने वाध्यकारी नियम छ । यो व्यवस्था औद्योगिक व्यवसाय ऐन २०७३ को परिच्छेद ९ को दफा ४८ मा उल्लेख छ । त्यसको उपदफा २ नम्बरमा सबै उद्योगले सो प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा भएको कारोबारको रकम तथा आर्थिक वर्षका लागि सिएसआर अन्तर्गतको योजना तथा कार्यक्रमको प्रगति विवरण तीन महिनाभित्र सम्बन्धित निकायमा पेश गर्नुपर्ने उल्लेख छ । उक्त कानुन लागू भईसकेको छ । वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने सबै कम्पनीहरुले असोज मसान्तभित्र गत आर्थिक वर्षको नाफाको १ प्रतिशत रकम कहाँ र कुन क्षेत्रमा खर्च गर्ने भनेर उद्योग विभागलाई जानकारी गराउनु पर्ने हो । तर एनसेल बाहेक अरु कुनै पनि कम्पनीले यस्तो विवरण उद्योग विभागलाई बुझाएका छैनन् । ‘कानुन अव्यवहारिक भयो, कम्पनीले आफ्नो नाफाको १ प्रतिशत सामाजिक हितमा खर्च गर्न पनि सरकारसँग सहमति लिनु पर्ने, विवरण बुझाउनु पर्ने व्यवस्था ठिक भएन’ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष उमेशलाल श्रेष्ठ भन्छन्–‘सरकारले व्यवसायीलाई विश्वास गर्नुपर्छ र यस्तो खर्च गर्न व्यवसायिलाई स्वतन्त्र छोडिदिनुपर्छ ।’ औद्योगिक व्यवसाय ऐन बन्नुपूर्व निजी क्षेत्रले सामाजिक उत्तरदहित्वको क्षेत्रमा नाफाको २ प्रतिशत खर्च गर्नु पर्ने व्यवस्था गर्न माग गरेको उनले बताए । ‘खर्च पनि कम गर भन्ने, त्यसमा पनि नियन्त्रण गर्न खोज्ने ?’ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै व्यवसायीप्रति सरकारले विश्वास गर्नु पर्नेमा उनले जोड दिए । के हो सिएसआर ? सिएसआरले कुनैपनि उद्योगको समाजप्रतिको उत्तरदायित्वलाई बुझाउने उद्योग विभागका निर्देशक भूसालले बताए । समुदायको विकास र संरक्षण नभई व्यवसायी र व्यवसायको पनि विकास र उन्नति हुँदैन भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै व्यवसायीक सामाजिक जिम्मेवारी (सीएसआर) को अवधारणा विकास भएको उनी बताउछन् । ‘समग्र व्यवसायको सुरुवात, वृद्धि र विकासमा सबै पक्षहरूको आ–आफ्नै भूमिका रहेको हुन्छ, उनले भने, ‘व्यवसायसँग सरोकार राख्ने सबै पक्षलाई उनिहरुको भूमिकाको आधारमा व्यवसायले दिने प्रतिफल नै सिएसआर हो । सीएसआरलाई औद्योगिक व्यवसाय ऐन, २०७३ ले केहि हदसम्म संस्थागत गर्ने प्रयास गरेको छ।’ ऐन आएपछि बन्नु पर्ने नियमावली नबन्दा सिएसआरलाई कार्यान्वयनमा ल्याउन कठिनाई भइरहेको उद्योग विभागका निर्देशक दुर्गाप्रसाद भूसालले बताए । उनका अनुसार नियमावली बनाउनका लागि उद्योग मन्त्रालयमा गृहकार्य चलिरहेको छ । ऐनमा सिएसआरका लागि छुट्याइएको रकम योजना तथा कार्यक्रम बनाई तोकिए बमोजिमका क्षेत्रमा खर्च गर्न उल्लेख छ । योजना तथा कार्यक्रम नबनेकाले कार्यान्वयनमा समस्या देखिएको भूसालले बताए । उनले भने, ’ऐनले उद्योगलाई मुनाफाको १ प्रतिशत सिएसआरमा खर्च गर्नु त भन्या छ । तर सिएसआर अन्तर्गत कस्ता कार्यक्रमहरु हुन्छन् भन्ने बारे बुझिएको छैन । यसलाई नियमावलीले मात्र प्रस्ट्याउनेछ । हालसम्म नियमावली बनेको छैन् ।’ ऐनमा ‘मूनाफाको १ प्रतिशत’ भनिएता पनि इंकित गर्न खोजिएको नाफाबारे स्पष्ट नभएको उनले जानकारी दिए । उनले भने, ‘ऐनमा उल्लेख भएको मुनाफा भनेको खुद मुनाफा वा मुनाफा कुन हो स्पष्ट पारिएको छैन । यसलाई पनि नियमावलीले सम्बोधन गर्नुपर्ने देखिन्छ ।’ कानुन अनुसार नियावली नबनाउँदा व्यवसायीहरु अन्यौलमा मात्र परेका छैनन, कानुनको उक्त दफा पालना नगरेको भनेर सरकारले उद्योगलाई दिन सक्ने चिन्ता व्यवसायीहरुले व्यक्त गर्न थालेका छन् ।

प्राधिकरणले रत्नपार्कमा बनायो विद्युतीय सवारीको चार्जिङ स्टेशन, शुल्क तिरेर चार्ज गर्न सकिने

काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर छ ।  आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाइ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले परीक्षणको रुपमा बिजुलीबाट चल्ने गाडीको ब्याट्रीलाई चार्ज गर्न केन्द्रीय कार्यलय रत्नपार्कमा सःशुल्क चार्जिङ स्टेशन बनाएको छ । मिटर समेत जडान गरेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको छ । एउटा गाडीको ब्याट्री चार्ज हुन ४५ मिनेटको समय लाग्ने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । बिजुली खपतका आधारमा चार्जिङ शुल्क तिर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको छ । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा तयार पारिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयारी गरेको छ । विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ । काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो । वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।  

माछापुच्छ्रे बैंकको थप २ शाखा सञ्चालनमा, रियल टाइममा नै खाता खोल्न मिल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो थप २ शाखा रहित बैकिङ्ग सेवा दाङको कालाकाँटे र सतबरीयामा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गरेको हो । यी दुई शाखा सहित माछापुच्छ्रे बैंकको हालसम्म ६ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको बताएको छ । यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।