विकासन्युज

लोप भैसकेको कम्युनिष्ट व्यवस्था नेपालमा स्वीकार्य छैन : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा. रामशरण महतले बर्षौं लगाएर स्थापित गरिएका जनताका अधिकार रक्षा गर्ने बाम गठबन्धन प्रमुख खतरा भएको दावी गरेका छन् । सुन्दरादेवी नुवाकोट–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको आसन्न चुनावसम्वन्धी कार्यक्रममा बोल्दै उनले सो खतरा औल्याएका हुन् । “एमाले तथा माओवादी संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन र यो लोकतन्त्रका लागि ठूलो खतरा हो” उनले भने । जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग र बलिदान गरेको उल्लेख गर्दै उनले यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी १० बर्षभित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने, “जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्य छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिदैनन् ।” डा महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । “सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं” उनले भने “हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ ।” ०४८ सालमा वार्षिक १२ अर्ब रुपैयाँको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको उनले बताए । ०४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको उनको भनाई थियो । जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव महतको दावी थियो ।  

पाटन दरबार क्षेत्रमा पुनःनिर्माण आधा सम्पन्न

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ । सुन्दरीचोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ । काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको हो । कोषले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने  “दुई वर्ष पहिले काम शुरु गरेकामा अब डेढदेखि दुई वर्षमा सकिने देखिएको छ ।” कोषले पाँच वर्षसम्ममा काम सक्ने लक्ष्य लिएको थियो । उत्तरी मणिमण्डपको काम सकिने चरणमा छ । कृष्ण मन्दिरको भित्री भागको काम अन्तिममा पुगेको छ । हरिशंकर मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपको काम अहिले भइरहेको छ । यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त स्मारक पुनःनिर्माणको काम कोषले गरिरहेको छ । भूकम्प आउनु पहिले पनि कोषले यस क्षेत्रमा काम गरिरहेको थियो । सरकारी पहलमा भने दरबार क्षेत्रभन्दा बाहिर काम भइरहेको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोषले गरिरहेको काममा हामीले समन्वय गरिरहेका छौँ भने नगरका अरु स्मारकमा विभागमार्फत हामीले पुनःनिर्माणको काम गरेका छौँ ।” रासस

पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरणकाे २८ बुँदे घोषणापत्र

काठमाडौ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित जिल्लाका पीडितले घर भत्किएको स्थानमा कुनै कारणले बनाउन नसक्ने भए अर्को जोडिएको जिल्लाको स्थानीय तहमा मात्र बनाउन पाउने घोषणा गरेको छ । घोषणामा भूकम्पपीडित लाभग्राहीको खातामा रकम हाल्न तोकिएका बैंकलाई चेक प्राप्त भएको दुई दिनभित्र पैसा जम्मा गरिसक्नुपर्नेलगायत २८ बुँदा छन् । अन्तरक्रियामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउँदो वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई स्थायी घरको छानामुनि ल्याउने लक्ष्य भए पनि स्थानीय तह र कर्मचारीलाई ८० प्रतिशत नाघ्ने गरी काम गर्न अनुरोध गरे । रासस

निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

चितवन  । निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ । सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्काेतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको सडक फराकिलो छ, एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ ।” भित्तो काट्नु पर्ने ठाउँमा भने बीचबीचमा केही समय सवारी रोकेर काम गर्न सकिने उहाँले बताउनुभयो । आयोजनाले यसअघि झै दैनिक छ घण्टा पूरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलोपालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताउनुभयो । आउँदो मंगलबार ठेकेदार, परामर्शदाता कम्पनी, आयोजना र स्थानीय प्रशासनका बीचमा छलफल गरी यातायात सञ्चालन गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिने उहाँले बताउनुभयो । एउटा समयमा मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी सञ्चालन गर्न दिइने र ती सवारी कटेपछि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीलाई छाडिने छ । भित्तो काटिसकेको ठाउँमा सडको चौडा नौदेखि ११ मिटर फराकिलो भएकाले एकातर्फ सवारी गुड्दा पनि काम प्रभावित नहुने स्थानीय प्रशासनको ठम्याइ छ । प्रमुख जिल्ला अधिकारी भट्टले निर्वाचनको समय भएकाले निर्वाचन सामग्रीदेखि मतदाता, कर्मचारीको आवतजावतमा कठिनाइ नहोस् भन्नका लागि यो प्रस्ताव गरिएको बताउनुभयो । यसरी काम प्रभावकारी भएमा निर्वाचनपछि पनि सडक रोक्नुको साटो आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने उहाँले बताउनुभयो । सडकखण्डको विभिन्न ठाउँमा गरेर करिब ८०० मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको ठेकेदार कम्पनीले बताएका छन् । सडकको नौ किलोमिटर क्षेत्रको एकातर्फ भागमा एक तह कालोपत्रे सकेर दोस्रो तह कालोपत्रे गर्ने काम भइरहेको छ । ठेकेदार कम्पनीलाई आगामी फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षात्मा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने आयोजना प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको छ । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ । भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायतका कारण शुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पु¥याइँदैछ । यसअघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षात्, निर्वाचनलगायतका समयमा रोकिएको कामको मिति थपिएको थियो । हालसम्म ५८ प्रतिशत मात्रै काम भएको उहाँले बताउनुभयो । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उहाँले बताउनुभयो । फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । सडकको नारायणगढबाट १६ किलोमिटरमा ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने खनालले बताउनुभयो । सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षात् अघिसम्म भने काम सकिने बताउनुभयो । उहाँले भन्नुभयो “आउँदो वर्षात्मा यो सडकका कारण जनताले दुःख पाउँदैनन् ।” नारायणगढ मुग्लिन सडकखण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ । रासस

झापामा सुरु भयो ठुटेवर मेला, साँस्कृतीक झांकीका साथै स्थानीय उत्पादनको प्रदर्शनी

झापा । कात्तिक पूर्णिमा अघिल्लो दिनदेखि पाँच दिनसम्म चल्ने ठुटेवर मेला सुरु भएको छ । ‘धर्म, संस्कृती र संस्कार: ठुटेवर पर्यटन विकासको आधार’ भन्ने नारा सहित ठुटेवर संरक्षण तथा विकास समितिले शुक्रबारदेखि यो मेला आयोजना गरेको हो । ईलाम र झापाको सिमानामा पर्ने ठुटेवर बजारमा सुरु भएको मेलामा ९५ वटा स्टल रहेका छन् । मेलामा उखु, सुन्तला, डोको जस्ता स्थानीय उत्पादनका सामग्री प्रदर्शनीमा राखिएको छ । मेलामा प्रदर्शनीमा भारतको नक्सालका व्यापारीले पनि भाग लिएका छन् । राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै दौड प्रतियोगिता र रोमाञ्चक कार्यक्रम आयोजना गरिएको छ । यो मेला हरेक वर्ष बैशाख र कात्तिक पूर्णिमाको एक दिन अगाडीदेखि ५ दिनसम्म मेला आयोजना हुने गरेको छ । मेलामा ईलाम र झापाबाट करिब २१ जनाले दौडमा भाग लिएका छन् भने अन्य खेलको कार्यक्रम नियमित जारी रहनेछ । आयोजक ठुटेवर संरक्षण तथा विकास समितिका प्रचार संयोजक विष्णूप्रसाद लामिछानेका अनुसार मेलाको अन्तिम दिनमा दौड प्रतियोगिताको घोषणा गरिनेछ । विजयी हुनेलाई अर्को वर्षको मेलामा सभापति बन्ने व्यवस्था गरिएको उनले बताए । उनले झापा र ईलाम मात्रै नभएर छिमेकी मुलुक भारतबाट पनि हजारौं मानिसहरु मेलाको अवलोकन गर्न आउने भएकाले ठुटेवर पर्यटकीय गन्तव्य बनेको उनले बताए । बुद्धशान्ती गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित ठुटेवर परापूर्व कालदेखि नै मेलाको लागि प्रख्यात छ । मेलामा राई, लिम्बु लाप्चा जस्ता जातजातीको परम्परालाई झल्काउने किसिमका झाँकीहरु प्रदर्शन गरिनेछ।

सनराइज बैंकको नाफा ५ करोड घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च गरेको देखिन्छ । सनराइज बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ९.९९ रुपैंयाँ तथा प्रति सेयर नेटवर्थ १२१.०६ पैसा रहेको छ ।

बहालवाला सिडिओदेखि पूर्वसहसचिवसम्मको ‘जिएम’ मोह, को बन्ला खाद्य संस्थानको महाप्रबन्धक?

काठमाडौं । उच्च तहका निजामती कर्मचारीले पनि नेपाल खाद्य संस्थानको महाप्रबन्धक (जिएम) बन्न आवेदन दिएका छन् । अहिले नेपाल खाद्य संस्थानको महाप्रबन्धकको पद खाली छ । संस्थानका महाप्रबन्धक बन्न पुर्वसहसचिवदेखि बहालवाल प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले पनि आवेदन दिएको पाइएको छ । संस्थानको महाप्रबन्धक बन्न पूर्व सहसचिवदेखि, पूर्व महाप्रबन्धक र सीडीओबीच नै प्रतिस्पर्धा भइरहेको छ । सबै प्रतिस्पर्धी संस्थानमा महाप्रबन्धकका लागि लबिङ गर्ने दौडधुपमा व्यस्त छन् । संस्थानले माग गरेको विज्ञापनको अन्तिम मितिसम्म ८ जनाले आवेदन दिएका थिए । मन्त्रालयले सबैजनाबाट ३ जनाको नाम सिफरिस गर्छ । त्यसै सिफारिसको आधारमा प्राविधिक टोलीले महाप्रबन्धकको नियुक्ति गर्छ । पूर्व सहसचिव र सिडिओको ’जिएम’ मोह त्यस्तै अर्का सहसचिव पदबाट निवृत भइसकेका गोकुल धितालले पनि आवेदन दिएका छन् । उनी आपूर्ति विभागमा महानिर्देशकका रुपमा कार्यरत थिए । शिवहरि श्रेष्ठलाई निकालेपछि धिताललाई नै महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो । धितालले आफ्नो कार्यकालमा खाद्य संस्थानमा निकै सुधार ल्याएको दाबी गर्छन् । उनले भने, ’मेरो कार्यकालमा संस्थानमा कुहिएर बसेका बंगलादेशी चामललाई लिलाम गरेर तह लगाएको थिए । छोटो अवधीमा संस्थानको व्यवस्थापकीय पाटोमा सुधार ल्याउन महत्वपूर्ण योगदान गर्छ ।’ त्यस्तै कृष्णबहादुर घिमिरे पनि महाप्रबन्धकको दौडमा सहभागी बनेका छन् । उनी प्युठानका बाहालवाला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पदमा कार्यरत छन् । जीएममा के छ आकर्षण ? महाप्रबन्धक—निजामती सेवामा विशिष्ट श्रेणीको पद मानिन्छ । महाप्रबन्धकले पाउने सेवा सुविधाका कारण यसमा आकर्षण रहेको अधिकारीहरु बताउँछन् । आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलका अनुसार संस्थानको मासिक तलबभत्ता १ लाख रुपैयाँसम्म रहेको छ । उनले भने, ’जिएमको तलबभत्ता नै १ लाख रुपैयाँ हुनआउँछ । त्यसमा पनि गाडी, तेल, आवास सबै कुराको राम्रो सूविधा पनि हुन्छ ।’ खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाकाले संस्थानको विनियमावलीमा महाप्रबन्धकको मासिक तलब ५३ हजार रुपैयाँ मात्र रहेको बताउँछन् । ’तलब मात्र यसको आकर्षण होइन । जिएमले नियमित गाडी, तेल, आवासको व्यवस्था लगायतका विभिन्न सेवा उपभोग गर्न पाउछन् ’उनले भने, ’एउटा जिएमले देशैभरका शाखाहरु लगायत केन्द्रिय कार्यालयमा पनि नेतृत्व गर्ने अवसरका साथै यहाँका कर्मचारी सरुवा, बढुवा, नियुक्ति लगाउत अन्य व्यवस्थापकीय जिम्मेवारी हुन्छ ।’ मैदानमा असक्षम् पात्र महाप्रबन्धकको दौडमा यसअघि नै संस्थानका महाप्रबन्धक भइसकेका शिवहरि श्रेष्ठले समेत आवेदन दिएका छन् । श्रेष्ठ २०७१ सालमा श्रेष्ठको कार्यसम्पादन मूल्यांकन कमजोर भएको ठहर गर्दै मन्त्रालयले उनलाई कारबाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो । यद्दपी सरकार परिवर्तनपछि त्यो कुरा सेलायो । त्यसपछि चार वर्षसम्म कार्यकाल चलाएका उनलाई तत्कालिन मन्त्री दिपक बोहराले संस्थानमा काम गर्न ’असक्षम’ ठहर गर्दै मन्त्रालय तानेका थिए । मन्त्रालयमा उपसचिवको रुपमा कार्यरत श्रेष्ठले अवकाश पाइसकेका छन् । मन्त्रीको ’प्रिय’ पात्र सिचाईं मन्त्रालयका ईञ्जिनियर भगवान झाले महाप्रबन्धकमा आवेदन दिएका छन् । झालाई मन्त्री शिवकुमार मण्डलले सोझै नियुक्त गर्न सिफारिश गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ’मन्त्रीले जिम्मेवारी छाड्नु अगाडी सोझै नियुक्तीका लागि भगवान झालाई सिफारिश गरेका थिए,’ती अधिकारीले भने, ’उनी सामान्य अन्तरवार्ताबाट फालिएका थिए ।’ अन्तरवार्ताबाट फालिएपछि पनि झाले आवेदन दिएका छन् । उनलाई नियुक्त गर्न पटक(पटक दबाव आइरहेको स्रोतले जानकारी दिएको छ । यसरी छानिन्छ महाप्रबन्धक नेपाल खाद्य संस्थानका महाप्रबन्धक नियुक्तिका लागि सरकारले छनोट तथा सिफारिश कार्य्विधि २०७४ तयार गरेको छ । गत असोज २७ मा महाप्रबन्धक छनौटका लागि मन्त्रालयले निर्वाचन आयोगसँग स्वीकृती लिइसकेको छ । सुरुमा आवेदन दिनेमध्ये ५ जना उत्कृष्ट आवेदकलाई प्रारम्भिक छनौट गरिन्छ । व्यवसायीक कार्ययोजना मूल्यांकनमा कम्तिमा २० अंक भन्दा बढी ल्याउने पाँच जनालाई चयन गरिन्छ । सबैबाट उत्कृष्ट तीन जनालाई मन्त्रालयले सिफारिश गर्छ र प्राविधिक टोलीले ती तीनजना मध्ये एक जनालाई जिएमा नियुक्त गर्छ । व्यवस्थापनमा ५ वर्षको अनुभव भएको उम्मेदवारले स्नातक उत्तिर्ण गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

मधेशका छोरा, पहाडका ज्वाई

काठमाडौं । ‘म मधेशको छोरा हुँ, पहाडको ज्वाई हुँ, सारमा म सच्चा नेपाली हुँ’, यो भनाई हो रौतहटको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्रको । उनले आफुलाई मधेशको छोरो र पहाडको ज्वाई दावी गर्नुको पछाडी बिशेष कारण छ, मिश्र मधेशकै छोरा हुन र पहाडका ज्वाई नै हुन । अर्थात उनले पहाडकी छोरी दुर्गा खड्कासँग २०४४ साल फागुन २९ मै लगन गाँठो कसे । उतिबेलै पहाड र मधेश जोड्ने सेतुका रुपमा वैवाहिक जीवन आरम्भ गरेका मिश्र यतिबेला फेरी मधेश र पहाड जोड्न तम्सिएका छन् । ‘म मधेश र पहाडलाई जोड्न रौतहट क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेको हुँ, मैले सच्चा राष्ट्रवाद र समृद्धिको रेखा कोर्ने कसम खाएको छु’, डा. मिश्रले सुनाए । उनी यतिबेला रौतहट क्षेत्र नम्बर ४ मा पर्ने गाउँ र बस्तीहरुमा चुनावी अभियानसहित भेटघाटमा छन् । पेशाले चिकित्सक रहेको डा. मिश्रलाई रौतहट क्षेत्र नम्बर ४ का नागरिकले २०४८ सालमै एक पटक सांसद निर्वाचित गरिसकेका थिए । २०५६ सालमा भने उनी तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचत भएका थिए । २०६१ सालमा स्वास्थ्य राज्यमन्त्री भएका मिश्रसँग शासन प्रशासनको पनि राम्रो ज्ञान छ ।‘रौतहटका नागरिकसँग मेरो नङ र मासु जस्तै सम्बन्ध छ, दुई पटक प्रत्यक्ष र एक पटक समानुपातिक प्रणालीबाट जनप्रतिनिधी बनेको छु, राज्य मन्त्री भएर शासन प्रशासनको ज्ञान पनि लिएको छु, यहि शिप र कौशलले रौतहटको माटोलाई सिञ्चत गर्ने योजना छ’, डा. मिश्रले सुनाए । पहाडी र मधेशी समुदायको मिश्रित बसोबास रहेको रौतहट क्षेत्र नम्बर ४ मा उनले आफु सिंगो नेपालको प्रतिनिधीका रुपमा चुनावी मैदानमा उत्रिएको बताईरहेका छन् । रौतहटका सैयौं युवालई रोजगारी दिलाएको, केन्द्रियस्तरमा सहज पहुँच भएको र विकास निर्माणका ठुला योजनाका लागि लबिङ गर्न सक्ने क्षमताकै कारण मिश्रको जित सहज रहेको सो क्षेत्रका एमाले कार्यकर्ताहरु बताउँछन् । रौतहटबाट उपचारका लागि काठमाडौं आइपुग्ने हरेक नागरिकलाई भेटेर सहयोग गर्ने बानीका कारण पनि उनलाई रौतहटबासीबिच लोकप्रिय बनाएको छ । उनले मधेश र पहाडी मुलका सबै नागरिकको मत पाउने दावी समेत गरे । उनी भन्छन–म दुई समुदाय जोड्ने सेतु हुँ, पहाड र मधेशको अन्योन्याश्रित सम्बन्धले नै देशको विकास सम्भव छ ।’