विकासन्युज

एनआईसी एशिया बैंकमा झै स्वीफ्ट सर्भर ह्याक जुनसुकै बैंकमा हुनसक्छ-लक्ष्मण रिसाल

लक्ष्मण रिसाल-प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक लिमिटेड एनआईसी एशियाको स्वीफ्ट सर्भर ह्याक र पैसा चोरी भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पायो । तर बैंकले औपचारिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया जनाएन नि, किन ? यो विषयमा हाल अनुसन्धान भईरहेको छ । विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ । अझै एक÷दुई हप्तापछि मात्र वास्तविक रिपोर्ट आउने विज्ञहरुले बताउनु भएको छ । कसरी र कहाँबाट भयो ? भन्ने विषय बस्तुपरक तथ्य विज्ञहरुको अनुसन्धान रिपोर्टमा आएपछि मात्र बैंकले बोल्न उपयुक्त हुन्छ । अनुसन्धान भईरहेको विषयमा बैंकले अहिले नै बोल्न उपयक्त हुन्न भन्ने हाम्रो धारणा हो । तर समयमा नै थाहा पाएर तत्काल एक्सन लियौं । त्यसैले भुक्तानीका अर्डरहरु मध्ये अधिकांशलाई रोक्न वा पैसा फिर्ता गराउन हामी सफल भएका छौं । ह्याकरले कति रकम निकाल्ने प्रयास गरेको रहेछ ? कति रकम चोरी भयो ? त्यसमा ३१ वटा एटेम्ट (प्रयास) भएको देखिन्छ । ९ वटा प्रयासलाई हाम्रो आफ्नै सफ्टवेयरले रोकेको छ । २२ वटा भुक्तानी अर्डर नै भएको देखिन्छ । २२ वटामध्ये १२ वटा अर्डर रोक्न हामी सफल भएका छौं । दुई वटाको भुक्तानी भईसकेको पनि फिर्ता भयो । बाँकी अर्डरबाट भुक्तानी भएको करिव ६ करोड रुपैयाँ छ त्यो रकम पनि फिर्ता गराउने प्रयास जारी छ । ह्याकरले गरेको ३१ वटा प्रयास कहाँबाट भएको देखिन्छ ? बैंकभन्दा बाहिरबाट भएको छ । कुन ठाउँबाट भयो भन्ने विषयमा विज्ञहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको छ । ३१ वटा भुक्तानी अर्डरबाट कति रकम भुक्तानी चोरी गर्ने खोजिएको रहेछ ? करिव ४६ करोड रुपैयाँको अर्डर भएको रहेछ । यो फिगर हामीले राष्ट्र बैंकलाई दिएका थियौं, राष्ट्र बैंक मार्फत पत्रपत्रिकामा प्रकाशित नै भएको छ । हाम्रो सफटवेयरले ९ वटा अर्डर रोक्दा १२ करोड रुपैयाँ रोकियो । ३४ करोड रुपैयाँ भुक्तानी अर्डर बाहिर गएकोमा करिव २८ करोड रुपैयाँ भुक्तानी रोक्न हामी सफल भयौं । मोटामोटी ६ करोड जति बाँकी छ । केही फिर्ता प्रक्रियामा छ । कति रकम गुम्ने नै भयो ? यति नै भन्न सकिने अवस्था छैन । ६ करोड भुक्तानी भईसकेको देखिएको छ । त्यो रकम पनि फिर्ता गराउने प्रयास हुनेछ । ह्याकरले स्वीफ्ट सर्भर अक्रमण गरेको र पैसा चोरी भईरहेको जानकारी बैंकले कसरी जानकारी पायो ? लक्ष्मी पूजाको दिनको कुरा हो । सार्वजनिक विदा भए पनि बैंकको केही अर्जेन्ट (जरुरी) भुक्तानी गर्नु पर्ने भएकोले साथीहरु बैंकमा आउनु भएको थियो । त्यतिबेला स्वीफ्ट सर्भर चलेन । हेर्दै गर्दा सर्भर क्र्यास गराइएको भेटियो । त्यसपछि स्वीफ्ट सर्भरको सर्पोट लियौं र अर्को सर्भरमा रिस्टोर गर्यौं । रिस्टोर भएपछि हेर्दा शंकास्पद कारोबार देखियो । हामीलाई नै शंकास्पद लागेपछि अनुसन्धान शुरु भएको हो । स्वीफ्ट सर्भर कसरी ह्याक गरियो ? प्रारम्भिक जानकारीहरु के छन् ? यूजर नेम र पासपोर्ट चोरी भएको देखिएको छ । त्यो पनि मालवेयरबाट चोरी भएको देखिन्छ । त्यो भनेको ह्याकरले कुनै इमेल पठाउँछ, त्यो इमेल खोल्ने बित्तिकै यताको सूचनाहरु अटोमेटिक उता जाने हुँदो रहेछ । त्यसमा शंका छ । बास्तविक कुरा त अनुसन्धान रिर्पोटमा आउला । पासपोर्ट चारी हुनुमा बैंकका कर्मचारीको संलग्नता देखिन्छ कि देखिन्न ? यो विषयमा अहिलेसम्म कुनै रिपोर्ट आएको छैन । यो घट्नाबाट बैंकले के सिक्यो ? सिक्ने कुरा धेरै छन् । एनआईसी एशियामा जुन घट्ना भयो त्यो नेपालका र संसारका कुनै पनि बैंकमा हुन सक्ने घट्ना हो । एनआईसी एशियामा भएको एक हप्तापछि ताईवानमा पनि यस्तै घट्ना भयो । सूचना प्रविधि अर्थात आईटीको प्रयोग हामी सबै गर्छौ तर यसको जोखिमबारे, डिजिटल डाटाको सुरक्षाको बारेमा हामी जति होसियार, चनाखो हुनु पर्नेमा त्यति भएका छैनौं । जस्तै हामी अपरिचित इमेल नखोल्न, डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन भनेका थियौं । तै पनि अपरिचित इमेल खोलिने, हेरिने हुँदो रहेछ । इमेल पनि एक दमै जेन्युअन खालका देखिन्छ तर त्यो मालवेयर हुनसक्छ । यसमा हामी थप चनालो हुनुपर्ने देखियो । आईटी सेक्यूरिटीलाई अपग्रेड गर्दै जानु पर्ने देखिन्छ । सिस्टमलाई बलियो बनाउँदै जाने हो । फूल प्रुफ सिस्टम त कही पनि हुँदैन । यस्तो जोखिमकाे बीमा भएको हुन्छ ? नेपालमा यस्तो जोखिमको बीमा उपलब्ध छैन । स्वीफ्ट सर्भर ह्याकपछि बैकिङ क्षेत्र त्रसित र चिन्तित पनि देखियो । यो घट्नापछि सरोकार निकायबाट कस्तो सहयोग तथा प्रतिकिया पाउनु भयो ? खासगरी नेपाल राष्ट्र बैंकबाट ठूलो सहयोग पायौं । विदाको दिन, राती पनि राष्ट्र बैंकको टिमबाट अत्यन्तै राम्रो सहयोग पायौं । भईसकेका अडरहरुको भुक्तानी रोक्न पनि राष्ट्र बैंकको महत्वपूर्ण सहयोग रह्यो । अहिले बैंकका सबै सेवा नियमित भएका छन् वा गडबढी बाँकी नै छ ? सबै सेवा नियमित भएको छ । शुरुमा हामीलाई पनि ठूलो डर थियो । जोखिम पनि ठूलो देखियो । जब जोखिम एउटा साईजमा आयो तब हामी सहज रुपमा बैंक चलाउने अवस्थामा फर्कियौं । बैंकको असोज मसान्तमा रिपोर्ट कस्तो आयो ? गएको त्रैमासमा बैंकको निक्षेप र कर्जाको वृद्धिदर राम्रो छ । निक्षेप १ खर्ब ४ अर्ब र कर्जा लगानी साढे ८८ अर्ब रुपैयाँ भएको छ । पछिल्लो तीन महिनामा निक्षेप १६ अर्ब रुपैयाँ वृद्धि भएको छ । कर्जा करिव १५ अर्ब रुपैयाँ बढेको छ । खुद नाफा पौनै २८ करोड रुपैयाँ भएको छ । नाफा गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा करिव १ करोड मात्र बढी देखिन्छ । यसका कारण के हो भने गत आर्थिक वर्षको अन्तिम तीन महिनामा र चालु आर्थिक वर्षमा हामीले धेरै स्थानमा नयाँ शाखाहरु विस्तार गर्यौ । त्यसमा खर्च धेरै भएको छ । नयाँ शाखाहरुले नाफा दिन करिब ६ महिना लाग्ने भएकोले नयाँ शाखा विस्तारले हाम्रो निक्षेप र कर्जा विस्तार उल्लेख्य भएको छ तर नाफामा वृद्धि कम देखिएको छ । एनआईसीको शाखा संख्या १३४ पुगेको छ । यस वर्ष पनि शाखा विस्तार गर्दै छौं । खराब कर्जा अनुपात (एनपीए) पनि घट्दै गएको छ । समग्रमा बैंकले उत्साहपूर्वक प्रगति गरिरहेको छ । एनआईसी एशिया बैंक निकै आक्रामक देखिएको छ, तपाईको रणनीति के हो ? हामी नयाँ तरिकाबाट अघि बढिरहेका छौं । संस्थागत निक्षेप प्रतिको निभरर्ता घटाउने र साना निक्षेपको कम्पोनेन्ट बढाउने रणनीतिमा छौं । त्यस्तै कर्जामा पनि साना तथा मझ्यौला कर्जाको हिस्सा बढाउने र कर्पोरेट कर्जाको हिस्सा घटाउने हाम्रो रणनीति हो । सोही रणनीतिअनुसार शाखा विस्तारलाई जोड दिएको छौं । सन् २०२० सम्म ३०० शाखाहरु खोल्ने भन्ने हाम्रो पाँच वर्षे योजना हो । हामी सोही अनुसार काम गरिरहेका छौं । शाखा विस्तार सँगै ती शाखाहरुको काम मनिटर तथा कन्ट्रोल गर्नको लागि क्षेत्रीय कार्यालयहरु खोलेका छौं । लोकल लेबलको कन्ट्रोल र सपोर्ट रिजनल अफिसले गर्छ । शाखाहरुको साईट भिजिट, अडिट, कन्ट्रोल, सपोर्ट सबै काम क्षेत्रीय कार्यालयबाट हुन्छ । धेरै शाखा भए, सिईओले ती सबै शाखाहरु कसरी हेर्छ भनेर मानिसहरुले प्रश्न गर्छन । छिमेकी देशमा एउटै बैंकको ६/८ हजार शाखाहरु छन् । त्यहाँ कसरी काम भएको छ ? हामीले हेर्नु र सिक्नुपर्छ । आलोचना गरेर मात्र हुँदैन । हामीले सेवा विस्तारसँगै जोखिम न्यूनकरण गर्नको लागि आवश्यक संरचनाहरु बनाएको छौं । त्यसतर्फ हामीले धेरै लगानी गरेको छौं । आन्तरिक लेखा प्रणालीलाई निकै बलियो बनाएका छौं । हरेक शाखा खोलेको ३ महिनामा लेखापरीक्षण हुन्छ । फेरी ६ महिनामा लेखापरिक्षण हुन्छ । दुई पटकको लेखापरिक्षण रिपोर्टका आधारमा ६/६ महिनामा वा हरेक वर्ष लेखापरीक्षण हुन्छ । सीईओको तहबाट मैले ३/४ जनासँग रिपोटिङ लिईरहेको हुन्छु । जो–जोसँग मैले रिपोर्टिङ लिन्छु, ती साथीहरुले ८/९ जनासँग रिपोटिङ लिनुहुन्छ । त्यस्तै ती ८/९ जनाले फेरी १५/१६ जनासँग रिपोट लिनुहुन्छ । त्यो हिसावले संरचना बनाएको छौं । एनआईसी एशियाले पटक पटक रोजगारी खुलाउदै आएको देखिन्छ । अरु बैंकबाट पनि धेरै कर्मचारी यस बैंकमा आएको भन्ने सुनिएको पछि छ, बैंकमा कर्मचारीको टर्नओभर बढी भएकाे हो ? शाखा विस्तार गर्दा नयाँ कर्मचारी चाहिन्छ । एउटा शाखा खोल्दा ५/६ जना कर्मचारी चाहिन्छ । १० वटा शाखा खोल्दा ५० जना चाहियो । त्यसलाई मोनिटरिङ गर्न केन्द्रमा वा क्षेत्रमा ५/६ जना चाहियो । त्यो हिसावले मान्छे चाहिन्छ, अझ धेरै शाखा विस्तार गर्दै छौं, थप मान्छे चाहिन्छ । स्टाफ टर्नओभर त सबै बैंकमा बढी नै छ । दुई/चार वटा पुराना बैंकमा मात्र टर्नओभर कम देखिन्छ । अर्को ख्याल गर्नु पर्ने पक्ष के हो भने १२/१५ प्रतिशत कर्मचारी टर्नअभोर हुनु संस्थाको लागि पनि राम्रो मानिन्छ । त्यसले नयाँ सोच र जाँगर भएका मान्छेलाई कम्पनी भित्र्याउने अवसर दिन्छ । हाम्रो बैंकमा करिव १७०० कर्मचारी छन् । यो संस्थामा वर्षमा १०० जना कर्मचारीले छोडे वा त्यसको सट्टामा बैंकले अरु संस्थाबाट नयाँ सोच र जाँगर भएका कर्मचारी आए भने त्यसले संस्थालाई फाइदा नै पुग्छ । बैंकमा कर्मचारी मात्र अस्थिर छैनन् । बैंकले ग्राहकलाई दिने सेवा पनि धेरै अस्थीर छ । निक्षेप वा कर्जाको ब्याज पनि निकै अस्थिर छ । बैंकहरु अल्पाकालिन सोचमा हिडेको, त्रैमासिक रिपोर्ट कसरी राम्रो बनाउने भन्ने होडमा हिडेकोले यस्तो समस्या आएको हो ? हामीकहाँ प्रक्षेपण,अनुमान र ट्रेन एनलाईसिस गरेर काम गर्ने संस्कृतिको कमी छ । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् र चर्को प्रतिस्पर्धा हुँदा तत्कालिन फाइदा हुने निर्णय हुने गरेका छन् । त्यसको असर कर्मचारीमा पनि परेको छ, ग्राहकको सेवामा पनि परेको छ । जीडीपीको करिव २२ प्रतिशत राजश्व सरकारले संकलन गर्छ । सानो अर्थतन्त्र भएको देशमा जीडीपीको २२ प्रतिशत सरकारी राजश्व संकलन हुनु भनेको अर्थतन्त्रमा सरकारी खर्चको प्रभाव पनि ठूलो हुनु हो । सरकारीले राजश्व संकलन जसरी नियमित रुपमा गरेको देखिन्छ, खर्च त्यसरी नै नियमित भएको छैन । त्यसको असर बैकिङ तरलता र व्याजदरमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । ऐतिहासिक तथ्याङ्कहरुको आधारमा भविष्यबारे प्रक्षेपण गरिन्छ । तर सरकारी खर्चमा भएको अस्थिरताले र अर्थतन्त्रले लिने फरक ट्रेनले पनि हाम्रो प्रक्षेपणहरु फेल खाईरहेका छन् । एनआईसी एशिया अल्पकालिन सोचमा चलेको छैन, हामी पाँच वर्षे रणनीतिका साथ काम गरिरहेका छौं । पाँच वर्षे रणनीति र योजनाअनुसार काम भएको छन् भन्नु भयो, दीर्घकालिन सोचकोे रिफ्लेक्सन कहाँ देखिएको छ ? दीर्घकालिन सोच, योजना, रणनीतिको रिफ्लेक्सन हाम्रो शाखा विस्तारमा देखिएको छ, बैंकको वासलातमा देखिएको छ, वासलातको कम्पोनेन्टमा देखिएको छ । डिजिटल बैकिङ सेवामा रिप्लेक्सन देखिएको छ । पाँच वर्षे रणनीतिक योजनाका आधारमा हाम्रा वार्षिक कार्यक्रमहरु बनेका छन् । वाह्य कारणका कारण समय सापेक्ष नीति पनि लिनु परेको छ । निक्षेप र कर्जाको ब्याजदर घट्न थालेको हो ? मुद्दती निक्षेप ब्याज घट्न थालेको छ । तर बचत खाताको ब्याज घटेको छैन । बैंकहरुको आधार दर अझै उच्च रहेकोले कर्जाको ब्याज घट्न सकेको छैन । गत वर्ष बैंकहरुले पुस र माघमा उच्च ब्याजदरमा धेरै निक्षेप मुद्दतीमा लिएका छन् । त्यो निक्षेप परिपक्व हुन अझै ३/४ महिना लाग्छ । चैत मसान्तपछि मात्र बैंकहरुको बेसरेट घट्ने र त्यसपछि कर्जाको ब्याजदर घट्ने सम्भावना हुन्छ । केन्द्र र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचित भईसकेकोले स्थानीय तहमा गएको बजेट समयमा नै खर्च हुने आशा गरिएको छ । निर्वाचनमा राम्रै खर्च भयो र स्थानीय बजेट खर्च भयो भने निक्षेपमा पनि वृद्धि हुन्छ, कर्जा लगानी पनि विस्तार हुन सक्छ । तर राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क उत्साह जनक छैन । आयात बढेको छ । निर्यात वृद्धि हुन सकेको छैन । रेमिट्यान्स आम्दानी पनि घट्न थालेको छ । प्रत्यक्ष विदेशी लगानी तथा दातृ निकायले दिने अनुदानमा पनि उत्साहजनक वृद्धि छैन । शोधानान्तर ऋणात्मक भएको छ । निक्षेप वृद्धिको लागि आवश्यक स्रोतहरु सुक्दै गएका छन् । गत वर्ष निक्षेपमा ब्याजदर वृद्धि हुँदा धेरै बचतकर्ताले लाभ पाए । तर बैंकका ऋणिलाई कर्जाको ब्याजदरले धेरै गाह्रो पनि बनायो । केही बैंकले आफ्ना ऋणिलाई ब्याज ७ बाट बढाएर ८ प्रतिशत बनाए भने केहीले ऋणीको ब्याज ७ बाट बढाएर १४÷१५ बनाए । यस्तो किन भयो ? ७ को ८ मात्र बनाएको भन्ने कुरा नहोला । सबै बैंकहरुको पुँजिगत लागत बढेकै देखिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च नै सबैको बढेको देखिन्छ । यसको अर्थ बैंकहरुले निक्षेप ब्याजमा बढेको भार सबै ऋणिलाई पासअन गरेका छैनन्, बैंकमा पनि राखेका छन् भन्ने देखिन्छ । समग्रमा बैंकहरुले ऋणिलाई सहुलियत नदिएका होइनन् र ? एनआईसी एशियाले नयाँ ग्राहकलाई होम लोन १०.८ प्रतिशतमा दिइरहेको छ, बेसरेट १०.७ प्रतिशत छ । यसमा बैंकलाई कति फाइदा छ ? बेसरेट भनेको लागतमा करिव ३ प्रतिशत स्प्रेड जोडिएर आएको हुन्छ । अर्थात हामीले अहिले ल्याएको होम स्कीममा करिव ३ प्रतिशत स्प्रेडदर छ । होम लोन भनेको निकै सुरक्षीत कर्जा हो । हामीले रिटेल बैंकिङको हिस्सा बढाउने र कर्जाको जोखिम कम गर्ने रणनीतिमा यो प्रडक्ट तयार गरेका हौं । जहाँ जोखिम कम छ त्यहाँ कम मार्जिनमा काम गर्ने बैंकको नीति पनि हो । नयाँ ग्राहकलाई १०.८ प्रतिशत ब्याजमा कर्जा दिँदा पुराना ग्राहकको व्याजदर कति छ ? अहिले कर्जाको व्याजदर बेसरेटमा लिङ गरिएको छ । बेसरेट घट्दै जाँदा पुराना ग्राहकको पनि ब्याजदर घट्दै जानेछ । जोखिम बढी भएको प्रडक्टमा ब्याज बढी हुन्छ । जुनसुकै बैंकले पनि क्रेडिट कार्डमा बढी ब्याज लिन्छ । बैंकले आगामी दिन सेयरधनीलाई कति सम्म लाभांश दिन सक्छ ? पहिला जस्तो उच्च दरमा लाभांश पाउने सम्भावना त सकियो नै भन्छु म । विगतमा बैंकहरुले दिएको बोनस सेयर र हकप्रद सेयरले सेयरधनीलाई लगानी विस्तारको अवसर दियो । अब त्यो अबसर छैन । बैंकहरुको सेयर मूल्यले पनि त्यो संकेत गरिरहेको छ ।

सामाजिक सेवामा ४५ करोड खर्च गर्ने योजना बनाउँदै बाणिज्य बैंकहरु

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरु यतिबेला ४५ करोड २५ लाख रुपैंया खर्च गर्ने योजना बनाउन तल्लिन छन् ।  नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ मार्फत नाफाको न्यूनतम एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष मार्फत खर्च गर्नुपर्ने व्यवस्था ल्याएपछि बैंकहरु योजना निर्माणमा जुटेका हुन्। कुन बैंकले कति खर्च गर्दैछन्? गत आर्थिक बर्षमा २८ वटा बाणिज्य बैंकहरुले ४५ अर्ब २५ करोड नाफा कमाएका थिए । सो नाफाको एक प्रतिशत वापत हुने ४५ करोड २५ लाख रुपैंयाँ संस्थागत सामाजिक दायित्वको क्षेत्रमा खर्च गर्नुपर्नेछ । एकिकृत निर्देशिकामा बैंक तथा वित्तिय संस्थाले आफ्नो कुल मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायीत्व कोष खडा गरि वार्षिक रुपमा खर्च गर्नुपर्ने र सो को विवरण नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । ‘बैंकले यस अघि पनि संस्थागत सामाजिक उत्तरदायित्वका लागि काम गरेका थिए, तर त्यो एक प्रतिशत बराबरको रकम थिएन, अब भने न्यूनतम एक प्रतिशत अनिवार्य भएको छ’, बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले भने । राष्ट्र बैंकले सामाजिक परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक सम्वद्र्धन, दुर्गम क्षेत्रमा पुर्वाधार सुधार, पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तिय साक्षरता, ग्राहक संरक्षण लगायतका काममा बिशिष्टकृत संस्थाहरुबाट सार्वजनिक सूचना मार्फत प्रस्ताव माग गरेर काम गर्नुपर्ने उल्लेख छ । प्रत्यक्ष अनुदान खर्चका लागि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यमा हुने खर्च व्यहोरीदिने गरि हुने प्रत्यक्ष अनुदान वा त्यस्ता काममा क्रियाशिल संघ संस्थाहरुको भौतिक संरचना निर्माणमा उपलब्ध गराउन सकिने व्यवस्था छ । त्यस्तै, दिगो विकास लक्ष्य(२०१६–३०) ले पहिचान गरेका १७ वटा क्षेत्रमा तोकिएको लक्ष्यहरुको प्राप्तिमा सहयोग गर्न सकिनेछ भने बैंक तथा वित्तिय संस्थाले आफ्नो संस्थामा क्रियाशिल कर्मचारीका सन्तानहरुका लागि बाल हेरचार केन्द्र व्यवस्थापन गर्न पनि सक्नेछन् । ‘नाफा कमाउने कम्पनीहरुले सामाजिक उत्तरदायित्वका लागि पनि आफ्नो आम्दानीको न्युनतम एक प्रतिशत खर्च गर्नुपर्छ भनेर अनिवार्य व्यवस्था ल्याएका हौं’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । उनले बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषमा रकम जम्मा गरेर कार्यान्वयनको योजना बनाईरहेको र खर्चको विवरण आर्थिक बर्षको अन्तिममा बुझाउने स्पष्ट पारे । बैंकर्स संघका अध्यक्ष शाहले बैंकहरुले कर्मचारीहरुको सलंग्नतामा फाउण्डेसनहरु बनाएर धमाधम खर्च गर्ने अभियान चलाईसकेको दावी पनि गरे । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने योजना बनाईरहेको बताए । ‘हामीले यस अघि ७०÷७५ लाख रुपैंयाँ सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएका थियौं, अब एक करोड २५ लाख जति पुग्ने अवस्था छ, हामी धमाधम कार्यक्रम बनाईरहेका छौं’, दाहालले भने ।

अब सेयर बजार धेरै घट्ने संभावना छैन, लगानी गर्ने उपयुक्त मौका यही हो : नन्दकिशोर मुन्दडा

२०२६ सालमा विदेशी सामानको व्यापारबाट औपचारिक रुपमा व्यापारमा प्रवेश गरेका नन्दकिशोर मुन्दडाले अहिले सेयर बजार, जुट मिल, स्कुल र जलविद्युतमा आफनो लगानी विविधिकरण गरेका छन् । व्यापार थालेको झण्डै ३ दशकपछि सेयर बजारमा प्रवेश गरेका मुन्दडाले ०५५ सालमा बाबा जुट मिलको स्थापना गरेका थिए । त्यसपछि उनको देवेन्द्र समूह औपचारिक रुपमा उद्योगमा प्रवेश गरेको हो । पछिल्लो समयमा साढे ३ मेगावाटको चर्नावती र २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा लगानी गरेका छन् । जुट उद्योग र स्कुल व्यवसाय भाइले सम्हालेका छन् । मुन्दडा अहिले सेयर र जलविद्युत व्यवसाय सम्हाल्दै आएका छन् । उद्योगबाट भन्दा सेयरमा बढी नाफा पाइने बताउने मुन्दडासँग विकासन्युजले गरेको कुराकानीको अंश : यहाँ सेयर बजारमा कसरी प्रवेश गर्नुभयो ? २०५१ सालमा नेपालमा सेयर बजारमा ब्रोकरका लागि लाइसेन्स खुल्दै छ भनेर भारतबाट आफन्तको फोन आयो । आफन्तले जानकारी दिएपछि मैले सेयर ब्रोकरको रुपमा काम गर्नका लागि निवेदन दिएको थिए । ०५२ सालमा ब्रोकरको लाइसेन्स पाएको हो । हालसम्म सेयर बजारमा काम गरिरहेको छु । ब्रोकर व्यवसाय र उद्योग दुबै सञ्चालनमा छन् । यी दुई मध्ये सबैभन्दा बढी प्रतिफल कुनमा पाउनु भएको छ ? सेयर बजारबाट बढी फाइदा भएको छ । सुरुमा सेयर बजार नेपालका लागि नयाँ थियो तर उद्योग नयाँ थिएन । हामी दुई ठुला देशका बीचमा छौ । यहाँ उद्योग सञ्चालन गर्न ठुलो चुनौति छ । प्रतिस्पर्धाबाट कमाउन गाह्रो छ । उद्योग आफनो हिसावले सञ्चालन भइरहेको छ । सेयर बजारमा जो पहिला प्रवेश गरेको थियो उसले राम्रो कमाएको छ । २० वर्ष अघिको अवस्था राम्रो थियो तर अहिले छैन । कही वर्षअघिसम्म कुनै कम्पनीको प्राथमिक सेयर (आईपीओ) आउदो आवेदन दिने सबैलाई पथ्र्यो तर अहिले १० कित्ता भन्दा बढी पाइन्दैन् । लगानीकर्ता धेरै आएकाले प्रतिफल भने घटेको छ । बजारमा कमाउने क्षमता कम हुदै आएको छ । लगानीकर्ता धेरै भएपछि कमाई बाँडफाँड भएर कम देखिएको हो । बजारमा कमाउने क्षमता कम भयो । लगानीकर्ता बढेकाले भएको कमाई बाँडियो । सेयर बजारबाट वर्षमा २५ प्रतिशत प्रतिफल पाए धेरै राम्रो हो । यो प्रतिफल पाउने संभावना अझै छ । बैंकको ब्याज भन्दा बढी आम्दानी सेयर बजारबाट जहिले पनि हुन्छ । बैंकमा राखेको भन्दा बढी प्रतिफल पाएको छन् । सेयर बजारलाई बढाउन के गर्नुपर्छ ? विदेशी लगानी नेपालमा आए सेयर बजार झनै राम्रो भएर जाने छ । यसका लागि विदेशी लगानी आवश्यक छ । बजारमा विभिन्न किसिमका पुँजी आवश्यक पर्छ । त्यही पुँजीले बजारलाई गति दिन्छ । अहिले बैंकमा गएर १२ प्रतिशत ब्याजमा कर्जा पाइन्छ । मैले लिदा पनि त्यही हुन्छ । एकै किसिमको लगानीको प्रतिफल एउटै हुन्छ । जस्तै विदेशी लगानी आयो भने १ प्रतिशत ब्याज दरमा लगानी ल्याएको हुन्छ । २ प्रतिशत ब्याज ल्याउदा प्रतिफल २५ हुदा २३ प्रतिशत सिधै पाउने हुन्छ । यसले बजार बढाउछ । अर्को कुरा बजार जहिले पनि तलमाथि भइरहन्छ । यसमा लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्छ । लगानीकर्ताको मनोविज्ञानलाई देशको राजनीतिक घटना, बजारको अवस्था र अन्तराष्ट्रिय घटनाले लगानीकर्ताको मनोविज्ञानमा सिधा असर गर्दा बजार बढ्छ कित घट्छ । यसको प्राकृतिक गुण हो । बजारका लगानीकर्ताले सेयरबाट कतिको कमाएका छन ? केही वर्षयता लगानीकर्तालाई कमाउन गाह्रो भएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले बजारलाई अस्थिर बनाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने योजना आउदा सेयर बजार बढ्ने गरेको छ । पुँजी वृद्धिको योजना सकिएपछि बजार पुनः घट्ने गरेको दुई दशकको घटनाक्रमले देखाउछ । सुचक ५ सय पुगेर १ सयसम्म आएका थियो भने १ हजार १७५ अंकमा पुगेर २८० मा झरेको थियो । गत वर्ष १ हजार ८८१ अंकमा पुगेर हाल १ हजार २ सय पुगेको हो । अहिले १ हजार ५ सयको हारहारीमा छ । यस्तो हुनुको मुल कारण मौद्रिक नीति नै हो । नेपालको सेयर बजारमा एक नासका लगानीकर्ता मात्र भए बजार बढाउन विभिन्न किसिमका लगानीकर्ता आएनन् । एक किसिमको पुँजीले गर्दा बजार एकनासले चलेको हो । सरकारले गैरआवासिय नेपालीलाई पुँजीबजारमा ल्याउने भनेको छ । गैरआवासिय नेपालीको लगानी आएपछि बजारको अवस्था कस्तो हुने देख्नुहुन्छ ? सबै लगानी आउनु सेयर बजारका लागि राम्रो हो । भारतमा पनि १९९० सम्म त्यहाँ बजारको अवस्था राम्रो थिएन् तर पुँजीबजारमा विदेशी लगानी खुला गरेपछि बजार परिसुचक ३३ हजार पुगिसक्यो । विदेशी लगानी र गैरआवासियको लगानी खुल्यो भने बजार धेरै माथि जान्छ । सकेसम्म सार्क मुलुकको लगानी खुला गरे बजार धेरै माथि जाने संभावना छ । हाम्रो सालभरीको कारोबार विदेशमा ३ घण्टाको हो । हाम्रो बजारको मूल्य धेरै कम छ । भारतमा १० रुपैयाँको सेयरको मूल्य ५ हजार बढी पनि छ । भारतमा विदेशी पुँजी र बैंकको ब्याजदरबीचको ग्यापका कारण बजार माथि गएको हो । पुँजीबजार १ हजार ८८१ माथि जान सकेन र घटदै गएको छ, यो हुनुको मुल कारण के हो ? यसको मुल कारण मौद्रिक नीति नै हो । बैंकहरुको पुँजी वृद्धिको काम सकियो । सबैले ८ सय करोड रुपैयाँ पुर्याउनु थियो त्यो पुरा भइसकेको छ । अब बजारमा बीमा कम्पनीको बाँकी छ । पुँजी वृद्धि योजनाले बैंक तथा वित्तीय संस्थाको संख्या सोचेअनुसार नघटेपछि फेरी पुँजी वृद्धिको योजना आउने बजारमा हल्ला छ । बैंकको संख्या १० मा झर्ने योजना छ । पुँजी बढाउने योजना आयो भने सेयर बजार फेरी बढ्ने संभावना छ । अहिले बोनसले बजार बढाउन सकेको छैन् । कम्पनीले धमाधम लाभांश घोषणा गरेको बेला बजार घटेको छ, यसको कारण के हो ? पुँजी वृद्धिको योजना भएका बेला बोनसको आर्कषण थियो र बजार बढेको हो । पुँजी बढाउने यो अन्तिम वर्ष भएकाले लगानीकर्ताको मनमा नगद लाभाँश मात्र पाउने होकी भन्ने चिन्ता पनि छ । नगदमा धेरै प्रतिफल आउदैन । लगानीकर्ताको आकर्षण बोनस सेयरमा छ । बैंकले मार्जिन कर्जा लिन बोलाउदा पनि बजार बढ्न सकेन नी, महंगो ब्याज दर भएर हो ? अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छ । बजार दरमा ४ प्रतिशतको प्रतिफल मात्र आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ । अब बजार धेरै घट्ने संभावना छैन् । १५ प्रतिशत माथि र तल हुन्छ । पुँजीवृद्धिको योजना र अनलाईन ट्रेडिङ आएपछि बजार बढ्छ । अनलाइन सेयर बजारको हर्ट(मुटु) हो । नेपालको पुँजीबजारमा बैंक तथा वित्तीय संस्था, बीमाको मात्र बढी हिस्सा छ, सिमेन्ट, डण्डीलगायत अन्य उत्पादनमुलक क्षेत्रको प्रवेश किन नभएको हो ? उद्योगको पारदर्शीताको समस्याले होला जस्तो लाग्छ । उद्योग खोल्दा मेहनत र समय लाग्छ । धरै मेहनत र समय लागेपछि त्यसको मूल्य त हुनुपर्छ । त्यो मूल्य प्रणाली नेपालमा छैन् । भारतमा बढी छ र त्यहाँ धेरै उद्योग पब्लिकमा गएका छन् । भारतमा कुनै उद्योगको सेयरको फेसभ्यालु १० रुपैयाँ छ भने उसले १ सय रुपैयाँको प्रिमियम दरमा सेयर निष्कासन गर्न पाउने व्यवस्था छ । दूई दशक बढी लगाएर बनाएको उद्योग १ सय रुपैयाँ फेसभ्यालुमा आउने संभावना छैन् । अहिले फेसभ्यालुको ५ गुणासम्म सेयर जारी गर्न पाउने व्यवस्था छ । ३ वटा सिमेन्ट उद्योग पुँजी बजारमा आउदैछन् । आगामी दिनमा जलविद्युत, सिमेन्ट, डण्डी र चाउचाउ जस्ता वास्तविक क्षेत्रको आईपीओ आउने संभावना देखिएको छ । आगामी दिन बजार वास्तविक क्षेत्रकै हुने छ । बैंकको पुँजीवृद्धिपछि सुनौला दिन गइसकेका छन् । बजारमा यस्ता लगानीकर्ता पनि हुन्छन जसले बजारको भविष्य हेरेर लगानी गरेका हुन्छन् । बैंकको सेयर मूल्य बढेको बेला बेचेर बाहिरिसकेका छन् । उनीहरुले बोनस आउछ भनेर पर्खिन्दैनन् । बजारको हटकेक कुन क्षेत्र हो ? १५ प्रतिशत प्रतिफलका लागि सबै अहिले सबै क्षेत्र हटकेक हुन् । यहाँ लामो समय यही क्षेत्रमा बिताउनु भएको छ, यहाँसंग यस विषयमा धेरै अनुभव पनि छ । लगानीकर्तालाई यहाँ के सुझाव दिनुहुन्छ ? सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने हो । अहिले नै बजारमा लगानी सुरु गर्नुपर्छ । २५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ । एकैपटक लगानी गर्नुहुदैन् । इन्डेक्सअनुसार बजार नघटेपनि स्क्रप्टवाइज बजार घटिसक्यो । सेयर किन्ने उपर्युक्त मौका हो तर एकैपटक हाल्ने हैन् । बजार मूल्य पनि राम्रो छ । आगामी दिनमा धेरै आर्कषण छैन् । आर्कषण पनि हुन सक्छ । यसरी पोर्टफोलियो बनायो भने घाटा हुदैन् । यो बेला लगानी गरेको आधा अंश फिक्समा लगाउनुस र आधाको ट्रेडिङ गर्नुपर्छ । मानौ १० हजारको सेयर किन्नुभयो भने ५ हजारको सेयर राख्नुस र ५ हजारको सेयर बजारमा खेल्नुस । बढेको बेला बेच्ने र घटेको बेला किन्दा नाफा हुन्छ । यहाँको लगानी भएको मोदी जलविद्युतका आईपीओ कहिले आउछ ? पुससम्म हाम्रो तर्फबाट काम सक्ने छौ । त्यसपछि मात्र निष्कासनको अवस्था बारे थाहा हुने छ । पहिला स्थानियबासिन्दालाई निष्कासन गर्ने छौ । ३० प्रतिशत निष्कासन गर्ने योजना छ । आउदो पुसमा आयोजना सम्पन्न हुने छ । त्यसपछि आईपीओमा जाने छौ ।

३ महिनामा बैंक अफ काठमाण्डुको नाफा ५ करोड घट्यो

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको नाफा ५ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले २२ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २७ करोड ९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.९२ रुपैयाँमा झरेको छ । गत असारमा बैंकको ईपीएस २२ रुपैयाँ थियो । चालु आवको ३ महिनामा खराब कर्जा बढेर २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.४६ प्रतिशत थियो । यस्तै बैंकको लागत ७.७८, सीडी रेसियो ७७.३९, आधार दर १०.६८ र स्प्रेड दर ३.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंक निक्षेप झण्डै ३ अर्ब रुपैयाँ घटेर ६९ अर्ब १५ करोडमा सीमित भएको छ । गत असारमा निक्षेप ७२ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि घटेको छ । असोजसम्म बैंकले ६२ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ६२ अर्ब ५४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

सेयर भर्न घण्टौं लाइन बस्नुपर्ने दिन अब सकियो

सीडीएसले सेयर भर्न र सेयरको खाता कारोबारको बारेमा जानकारी दिन नयाँ प्रविधिको विकास गरी सञ्चालनमा ल्याइसकेको छ । अब प्राथमिक सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) भर्न पहिला लाइन लाग्नु पथ्र्यो भने अब यस्तो अवस्था छैन्, यसबाट साना लगानीकर्तालाई राम्रो भएको छ । जुन बैंकमा खाता छ, त्यहाँ गएर लगानीकर्ताले दर्ता गर्नुपर्छ किनभने बैंकसंग भएको ग्राहकको पहिचान (केवाइसी) र हामीसंग भएको बीओआइडीसंग मिल्नुपर्छ । दुबैको नाम मिलेपछि पैसा फिर्ता हुन्छ । जस्तो कसैले १ सय कित्ता सेयरका लागि आवेदन दिएकोमा ९० कित्ताको मात्र पर्यो भने बाँकी पैसा फिर्ता जान्छ । यसका लागि ग्राहक दर्ता गरेपछि बैंकले एउटा एप्लिकेसनलाई ७ मिनेटसम्म लगाएको छ, त्यसलाई हाम्रो एप्समार्फत ३० सेकेन्डमा झारेका छौ । एकपटक दर्ता भएपछि सकियो, फेरी बैंक धाइरहनु परेन । त्यसपछि सीआएन कोड हुन्छ त्यो दिएपछि पुग्छ । देवप्रकाश गुप्ता, सिइओ, सिडिएस एण्ड क्लियरिङ लिमिटेड यस्तै बैंकले आफनो प्रणालीमा रेकर्ड राख्छ, हाम्रो डेटाबाट पुल गरेर डेटावेस प्रणालीमा हाल्छ त्यसपछि खाता पनि ब्लक हुन्छ । यसमा पहिले ७० दिन लाग्थ्यो भने अब इस्युम्यानेजरले यो प्रणालीबाट उसले प्रमाणित डेटानै पाउने भयो । यसपछि इस्युम्यानेजरलाई सहज भयो, हाम्रो खाताबाट फाइल तानेर हेर्न सक्ने भयो । बाँटफाँड प्रक्रिया छिटो भयो भने बाँडफाँड बन्द भएको केही दिनमा पैसा पनि फिर्ता पाइने भयो । यो बैंकमा गएर एकपटक निवेदन दिएपछि सकिन्छ । सीडीएसले आफनै मेरो सेयर भन्ने एप्लिकेसन बनाएको छ । हितग्राही खाताको विवरण र पोर्टफोलियो हेर्ने कुरा राखेको छ । त्यो भन्दा पनि सहज के हुने छ भने घरमा बसेर निवेदन दर्ता गर्न पाउने भयो । अब अर्को पटकदेखि बैक जानु पर्देन । यो एप्लिकेसनको सबैभन्दा राम्रो पक्ष हो । धितोपत्र बोर्ड (सेवन) लाई रिपोर्ट चाहियो भने इस्युम्यानेजरमा निर्भर हुनुपर्ने, हामीलाई रिपोर्ट चाहियो भने बैंक र इस्युम्यानेजरमा निर्भर हुनुपर्ने र इस्युम्यानेजरलाई केही डेटा चाहियो भने बैंकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सबै कुरा केन्द्रीयकरण भएर आउने छ । डेटाको दर्ता समयमा हुन्छ र चाहिने सबै प्रकारका डेटा हामी उपलब्ध गराउने छौ । सीआस्वा हाल १६ वटा बैंकले प्रयोग गरिरहेका छन् । यो अनिवार्य हुने क्रममा छ । यस विषयमा सेवोनले छलफल अघि बढाएको छ, सायद छिट्टै कार्यन्वन होला । यसबाट फाइदा भनेको लगानीकर्ता बैंकमा धाइरहनु परेन । अर्कोकुरा अनलाईनबाट गर्न सकिने भएकाले बैंक जाने समयको वचत पनि भयो । ग्राहकले घरमा बसिबसी गर्न पाउने भएकाले लाभ नै भयो । यस्तै इस्युम्यानेजरलाई पनि फिल्टर भएर डेटा आउने भएकाले केलाइ रहनु परेन । सेवोनले रियल टाइम डेटा पाउने भयो । कुन मितिमा कुन बैंकको कुन शाखाबाट कतिजनाले कति पैसाको र कति कित्ताको सेयर भेर र पछि पाए भन्ने त्यो सबै जानकारी हुन्छ । इस्युम्यानेजरले जुन बाँटफाँडको फाइल दिन्छ त्यसका आधारमा रकम तुरन्त हितग्राहीको खातामा हाल्न पाउने छौ । यो बढी इफिसियन्सी भएको प्रणाली बनाएका छौ । हामीलाई आइटी सुरक्षामा समस्या छैन् । हामी भीपीएनमा काम गरिरहेका छौ । हामीकहाँ इन्टरनेट प्रणाली छैन हाम्रो सेयर बेग्लै भयो । त्यहाँ पढ्न र हेर्न मात्र मिल्छ । कपी पेस्ट र लेख्न मिल्दैन् । त्यहाँबाट हामी कारोबार गर्देनौ हेर्नलाई मात्र हो । त्यो बाहेक ४ तहको सुरक्षा प्रणाली राखिएको छ । एउटा भीपीएन हो भने अर्को मेरो सेयरको इन्टरनेटबाट जति ट्राफिक आउछ, त्यसलाई राउट गरेर फेरी फाइल हालेर प्रणालीमा आवद्ध गर्छौ । हामीसंग सुरक्षाका चार चरणहरु छन् । कारोबार गर्ने बैंकबाट हो, बैंक पनि भर्चुअल प्राइभेट नेटवर्क भीपीएनमा छन् । गडबढी तुरुन्त थाहा हुन्छ । बैंकमा भएको जस्तो आइटी ह्याक हुने जोखिम हामीसंग हुदैन् । स्वीफ्ट भनेको अर्काको प्रणाली हो किनभने स्वीफटमा जो पनि प्रवेश गर्न सक्छ हाम्रोमा यो संभावना छैन । भीभीएन हाम्रो प्रणाली हो । हामीले प्रत्येक ट्रान्सफरको बढी शुल्क भयो भन्ने कुरा आइरहेको छ । एक ट्रान्सफरको २५ रुपैयाँ लिइरहेका छौ तर यो अन्तराष्ट्रिय स्तरको भन्दा हाम्रो सस्तो हो । हामीले धेरै शुल्क लिएका छैनौ । सीडीएसका नयाँ योजना बीआइडी लागु गर्ने सोचमा छौ । दुईटा खातालाई म्यापिङ गरेर डुप्लिकेसन हटाउने तयारी गरिरहेका छौ । अब हकप्रद सेयर भर्न पनि हितग्राही बैंकमा जानुपर्देन घरबाट भर्न सकिने छ । हकप्रद सेयर निष्कासन गर्दा ७, ८ वटा मात्र संकलन केन्द्र हुन्छ उपप्त्यका बाहिरका हितग्राही सेयर भर्न पाउदैन् । धनगढीमा १० कित्ता भन्र्नेले १० हजार रुपैयाँ खर्च गरेर यहाँ आउदैन् । त्यसलाई यही प्रणालीमा ल्याएर सबैलाई समान अवसर दिने भएका छौ । जुन स्थानमा भएपनि अनलाईनबाट सेयर भर्न पाइने छ । हकप्रद लिलामीमा आउनु केही कारणहरु छन । जस्तै भर्न नपाएर होला जस्तो लाग्छ भने अर्को कुरा हकप्रद खुलेका सुचना प्रभावकारी रुपमा नपुगेको हुनुपर्छ भने सेयरहोल्डर विदेशमा भएकाले हकप्रद भर्न यही आउनु पर्ने भएकाले उनीहरु अबसरबाट बञ्चित भएका हुन सक्छन् । कुनै व्यक्ति अमेरिकामा छभने उसले सेयर भर्न पाउने अवस्थ हुदैन त्यसैले लिलामीमा आउने गरेको छ । डिम्याटमा डुप्लिकेसन हटेको छ । धेरै खाता बन्द भएका छन् । अब दोहोरो खाता हुनै छन् । १ लाख जति दोहरो खाता बन्दा भएको छ । हामीले ट्रयाक गरेर वन्द गर्न लगाएका छौ । कसैले सेयर राखेर कर्जा लिएको छ भने तिनीहरुको खाता बन्द हुदैन भने अन्यको बन्द भएको छ । अब डिम्याट डुप्लिकेसनको संभावना छैन् । हालसम्म ९ लाख २२ हजार २२५ डिम्याट खाता रहेका छन् । एकल खाता कार्यन्वयन गरेका छन् । अहिले पोर्टफोलियो कारोबार भएकाले मात्र दोहोरो खाता पाउनुहुन्छ । बैंकमा गएर सीआरएन नम्बर लिएपछि आईपीओ र एफपीओ जहाँबाट पनि भर्न पाउने व्यवस्था भइसकेको छ । सीआरएन नम्बर लिएपछि डीपीमा गएर मेरो सेयरको खाता नम्बर लिनुपर्छ त्यसपछि नेपालमा मात्र हैन विदेशमा भएकाले पनि सेयर भर्न पाउने व्यवस्था गरेका छौ । यो प्रणाली ४ महिनादेखि सञ्चालनमा ल्याएका छौ । अहिले पनि परीक्षणको रुपमा छ । मोडिफिकेसन गरेर सञ्चानलमा ल्याएका छौ । यो प्रणालीबाट ७८ हजारले आवेदन दिएका छन् । हिमाल पावर पार्टनरको ७३ हजार जनाले आवेदन दिएका थिए यो प्रणालीबाट । अब बजारमा गएर सेयर भर्न कसले लाइन बस्ने, बैंकमा गएर किन लाइन बस्ने ? अनिवार्य भएपछि यो प्रणाली सञ्चालन आएपछि यहीबाट हुन्छ । राइट पानि यो प्रणालीबाट भर्ने व्यवस्था गर्नुपर्छ । – गुप्तासँग गरिएको कुराकानीमा आधारित)

युनाइटेड मोदी हाइड्रोपावरको खुदनाफा ४ गुणा बढ्यो, ईपीएस ३.६४ रुपैयाँ मात्र

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नाफा ४ गुणा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा युनाइटेडको नाफा १ करोड १० लाख रुपैयाँ मात्र थियो । मोदीखोलामा पानीको बहाव राम्रो भएकाले बिजुली उत्पादन बढेपछि नाफा पनि वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६४ पैसा मात्र रहेको जानकारी दिएको छ । समीक्षा अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड १७ लाख रुपैयाँ मात्र थियो । कम्पनीले १० मेगावाटको मोदी २ जलविद्युत आयोजना निर्माण थालेको छ । हाल युनाइटेडले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ ।  

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट । नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् ।  रासस

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

डोटी । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरुमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जिप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा आज दुर्घटना भएको थियो ।  रासस