नेप्से परिसूचक १४९६ अंकमा, ६३ करोडको सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले ओरालो लागेको छ । होटल र फाइनान्स समूह क्रमशः ९ र ६ अंकले घटेका छन् । ट्रेनिङ समूहको परिसूचक २ अंकले उकालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले राताम्मे भएका छन् ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफरको आठौँ हप्ताको बिजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको आठौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा निर्मल सापकोटा, कमला भण्डारी, प्रेम बहादुर नेपाली, दिवस भट्टराई, छबिलाल थापा, मदन कुमार राई र चेत कुमारी सिग्देल छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा रुपन्देहीका जय लाल न्यौपाने छनोट भएका छन् ।
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने बाम गठबन्धनको प्रतिबद्धता
काठमाडौं । दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) संयुक्तपमा जनतामा गएको छ । वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, “पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइनेछ । सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिनेछ ।” कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै उत्पादनमा ठूलो मात्रामा अनुदान लगानी गरिने प्रतिबद्धता जनाइएको छ । कृषि भूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गरिने योजना अगाडि सारिएको छ । कृषि फार्ममा डेरी, पोल्ट्री, पशुपक्षी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन गर्ने र बीउ सुरक्षा कार्यक्रम लागू गरिने प्रतिबद्धतासहित जनताका घरदैलोमा जान पार्टीले निर्देशन दिएको अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले बताए । कृषि उत्पादनलाई औद्योगीकरण गर्ने र विभिन्न क्षेत्रमा कृषि बजारमा आधारित आधुनिक औद्योगिक शहर विकास गरिने योजना कार्यान्वयन गरी ग्रामीण क्षेत्रका जनतालाई यिनै शहरमा पुनःस्थापित गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधि प्रयोगका साथै यान्त्रिकीकरण गरिने र सबै किसिमका खाद्य तथा अखाद्य कृषि बाली तथा पशुपक्षी व्यवसायमा बीमा व्यवस्था लागू गरिने गठबन्धनले उल्लेख गरेको छ । बजारमा बिक्री हुन नसकेका व्यावसायिक उत्पादन सरकारले खरिद गरी जैविक विद्युत् उत्पादनमा प्रयोग गर्ने तथा हरेक स्थानीय तहका उत्पादन क्षेत्रमा सरकारबाट मान्यता प्राप्त कृषि तालीम केन्द्रका साथै कृषि बजार, कृषि उपचार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्र स्थापना गरिने बताइएको छ । जनशक्ति विकास गर्न आवश्यक संख्यामा व्यावसायिक र प्राविधिक स्कुल, कलेज, तथा तालीम केन्द्र स्थापना गरिने वाम गठबन्धनको योजना रहेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए । यिनै विषयलाई जनतामा लिएर जान आफ्नो पार्टीले निर्देशन दिएको उनले उल्लेख गरे । नेपालको हिमाली क्षेत्रमा प्राकृतिक शीतभण्डार निर्माण गरिने छ र ती शीत भण्डारलाई राजमार्गसँग जोडिने र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन प्राङगारिक मलमा आधारित गराइने प्रतिबद्धता गरिएको सो घोषणापत्रमा भनिएको छ, “रासायनिक किटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गरिने छ । आगामी १० वर्षमा नेपाललाई प्राङ्गारिक मुलुक घोषणा गरिने छ ।” कृषि भूमिमा पानीः सिँचाइमा लगानी पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने उल्लेख गरिएको घोषणपत्रमा ठूला सिँचाइ आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाइएको छ । गठबन्धनले तराई–मधेस र भित्री तराईको कृषि भूमि सिँचाइ गर्न तमोर–मोरङ डाइभर्सन, सुनकोशी–कमला र सुनकोशी–मरिन–वागमती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिमसेती–कैलालीजस्ता नदी डाइभर्सन योजना अगाडि बढाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । पुराना सिँचाइ प्रणालीलाई मर्मतसंभार तथा पुनःनिर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरिने र चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछापालन कार्यक्रम लागू गरिने घोषणापत्रमा जनाइएको छ । त्यसैगरी वर्षात्को पानीसमेत उपयोग गरी राष्ट्रव्यापीरूपमा ताल र साना ठूला पोखरी निर्माण गरी डढेलो नियन्त्रण, चरिचरण र अन्य सिँचाइमा सदुपयोग गरिने भनिएको छ । भूमिगत सिँचाइ सम्भाव्य भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भू–भागमा अवस्थित समथर भू–भाग, बेँसी तथा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । आकाशे पानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लाष्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने पनि घोषणापत्रमा जनाइएको छ ।
अपडेटः सेयर बजार राताम्मे, बीमा समूह २०१ अंकले ओरालो
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार राताम्मे भएको छ । बजार खुलेको करिब तीन घण्टाको अवधिमा नेप्से परिसूचक ३०.२५ अंकले घटेर १४९२.५६ अंकमा झरिसकेको छ । सो अवधि सम्ममा बजारमा १४७ कम्पनीको ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी आइतबार कारोबारमा आएको ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २०१ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स समूह ६ अंक र बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । सो अवधिसम्म कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
सिर्जना फाइनान्सले ३२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने
काठमाडौं । सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको(कर प्रयोजनको लागि नगद लभांश सहित) बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक ६ गते बसेको कम्पनीको १७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । जसमा ३२.५० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ नाघ्ने छ ।
बामपन्थी घोषणा-७० प्रतिशत विद्यार्थीले प्राबिधिक बिषय पढ्नै पर्ने
काठमाडौं । बामपन्थी गठबन्धनले आगामी २ बर्षभित्रै ७० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा प्राबिधिक बिषय अध्ययन गर्नै पर्ने घोषणा गरेका छन् । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्रमा ७० प्रतिशत व्यवसायिक तथा प्राबिधिक ३० प्रतिशत गैर व्यवसायिक शिक्षा प्रदान गर्ने उल्लेख गरेका हुन् । ‘आफ्नै अनुभवहरुको समिक्षा गर्दै र संसारभरिका नमुना शिक्षा प्रणालीहरुको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्माणका लागि आगामी २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गरिनेछ । गैरप्राबिधिक बिषयमा ३० प्रतिशत र व्यवसायिक तथा प्राबिधिक बिषयमा ७० प्रतिशत जनशक्ति विकास गर्ने गरि शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरुप साधन श्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिनेछ’, बामपन्थी घोषणा पत्रमा लेखिएको छ । अब बामपन्थीहरुको सरकार गठन भएको २ बर्षपछि अध्ययन गर्नेमध्ये ७० प्रतिशत विद्यार्थीले व्यवसायीक तथा प्राबिधिक शिक्षा लिनै पर्नेछ । ३० प्रतिशत विद्यार्थीले मात्रै प्राबिधिक बिषय अध्ययन गर्न पाउनेछन् । नेपालमा मानविकी, शिक्षा लगायतका संकायलाई गैर प्राबिधिक मानिन्छ । बामपन्थी गठबन्धनले तयार पारेको घोषणा पत्रमा राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत बजेट शिक्षामा अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने पनि उल्लेख छ । त्यस्तै, गुरुकुल, बिहार, गुम्बा, मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने दावी गरिएको छ । २ बर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने र पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने अठोट पनि घोषणा पत्रले कसेको छ । बामपन्थीहरुले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त गराउने तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउने पनि बताएका छन् । त्यस बाहेक दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासिय शिक्षाको व्यवस्था गर्ने, कक्षा ३ सम्मको शिक्षा मातृ भाषामा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँडेलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । उनी यसअघि पनि साे बैंकको अध्यक्ष थिए । उनी यस बैंककाे तथा प्रमुख सेयर हाेल्डर हुन् । उनी लामाे समय यस बैंककाे कार्यकारी अध्यक्ष थिए ।
माथिल्लो त्रिशूली थ्री ए आयोजना १ वर्षभित्र सक्न विद्युत् प्राधिकरणको ताकेता
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना तोकिएको समय अघिनै सम्पन्न गर्न ताकेता गरेको छ । ऊर्जासचिव एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहितको टोलीले शनिबार स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन हुने गरी काम गर्न निर्देशन दिएका हुन् । टोलीले आयोजनास्थलमै ठेकेदार कम्पनी, भूकम्प र पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच छलफल गरेको थियो । टोलीले तोकिएको समयभन्दा अगाडिनै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने र ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ‘माथिल्लो त्रिशुली थ्री एलाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयभन्दा अघि नै आयोजनाको निर्माण सकिनु पर्छ’, सचिव उपाध्यायले भने,‘निर्माण आउने अवरोध तथा समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सँधै तयार छ ।’ भुकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद ०७६ बैशाख १७ गतेसम्म अर्थात (३० अप्रिल २०१९) सम्म थप गरेको छ । प्रसारण लाइन निर्माण सहितको समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग ०६८ जेठ अर्थात सन् २०११ जुनबाट कार्यान्वयमा आएको थियो । ३५ महिनामा काम सक्ने गरि सिजिजिसीस“ग ठेक्का सम्झौता भएको थियो । समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि २०७३ असार १६ गतेसम्म म्याद थपिएको थियो । भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । ठेकेदार कम्पनीले अहिले करिव ३ सय जना कामदार परिचालन गरी काम गरिरहेको छ । मुख्य संरचना, प्रसारण लाइन, भूकम्प र पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम तथा सडक मर्मतको काम एकसाथ भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको कामलाई तिब्रता दिन अहिले कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैकले ऋणको अवधि थप भइसकेको छ,सेनाले पनि काम सुरु गरिसकेको छ’,उनले भने,‘अर्को वर्षको फेब्रुअरीभित्र विद्युत उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट विजुली ल्याउनु पर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’ घिसिङले निर्माणमा थप जनशक्ति परिचालन गर्न र निर्माणको समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीबीच हरेक हप्ता बैठक बसी समस्या समाधान गर्न निर्देशन दिए । आयोजनाले निर्माण गरिहेको त्रिशली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये अहिलेसम्म ९१ वटाको जग हालिएको छ । लाइन निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन सुरक्षाकर्मी समेत परिचालन गरिने कार्यकारी निर्देशक घिसिङले बताए । आयोजना सरकार तथा प्राधिकरणको लगानी र चीनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । आयोजनाको काम नसकिदै ५ वर्षको ब्याज तिर्नु नपर्ने अवधि (ग्रेस पिरियड) सकिएर ऋण तिर्ने समय सुरु भएको थियो । एक्जिम बैकले केही अघि म्याद थप गरेको थियो । आयोजनाका लागि चीनले एक्जिम बैंकमार्पmत ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो । पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत आगामी चैत्रभित्रमा सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ ।