विकासन्युज

चेम्बर र वेष्ट वंगाल ट्रेडबीच एमओयू, उद्योग र पर्यटनमा लगानी गर्न भारतलाई अनुरोध

नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । चेम्बरकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले पत्रमा हस्ताक्षर गरेको प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले जनाए । उनका अनुसार हस्ताक्षरपछि चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरेका थिए । उद्योग लगायत पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय पक्षसँंग उनको विशेष अनुरोध थियो । साथै उनले नेपाल र भारतबीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कलकत्तासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा जोड दिएका थिए । समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी भएको बताइएको छ । चेम्वरले हालसम्म ५६ मुलुकहरुसँंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको बताइएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकअस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंकअस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्सले हाल ४२ स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । न्यूनभन्दान्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु यस इन्स्योरेन्सको मुख्य उद्देश्य हो ।  

अजेय सुमार्गीले मुद्दा जिते, नेपाल स्याटलाइट र मुक्तिश्री सिमेन्टमा २ अर्ब लगानी गर्ने

काठमाडौं । सर्वोच्च अदालतले अजेयराज सुमार्गीको सवा २ अर्ब रुपैयाँ दिन आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले मंगलबार रकम दिन नेपाल राष्ट्र बैंकलाई आदेश दिएको हो । सर्वोच्चले व्यवसायी सुमार्गीले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो । सुमार्गीले राष्ट्र बैंकले गरेको नेपाल स्याटेलाइट टेलिकमको रोक्का फुकुवाको माग गर्दै आइतबार सर्वोच्च गएका थिए । सुमार्गीको पैसा राष्ट्र बैंकमा रोकिदा टेलिकम र सिमेन्टमा लगानी गर्न नपाउदा उनले दैनिक २८ लाख रुपैयाँ ब्याज नोक्सान व्योहर्दै आएका थिए । आदेशमा भनिएको छ, “बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।” अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

१७ आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति पाएका आयोजनाको क्षमता ७४१ मेगावाट रहेको छ । सरकारले हालसम्म कूल १५१ जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसरी अनुमतिपत्र दिइएका आयोजनाको क्षमता चार हजार ४३५ मेगावाट रहेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले जारी गरेको त्यस्तो अनुमतिपत्र पाएका अधिकांश आयोजनाले निर्माण शुरु गरिसकेका छन् । चालु आवमा अनुमतिपत्र पाएका आयोजनामध्ये अधिकांशले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी गरेका छन् । विभागका महानिर्देशक नवीनराज सिंहकाअनुसार यसवर्ष कोरियाली लगानी रहने माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले पनि उत्पादन अनुमतिपत्र लिएको छ । चालु आवमा अनुमतिपत्र लिने सबैभन्दा ठूलो आयोजनाको रुपमा सोही परियोजना रहेको छ । रसुवामा आयोजनास्थल रहेको उक्त आयोजना ‘नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ले प्रवद्र्धन गर्न लागेको छ । सो आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ । यस्तै १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनुमति लिएको छ । ‘नाशा हाइड्रोपावर कम्पनी’ले प्रवद्र्धन गर्ने उक्त आयोजना दोलखामा अवस्थित छ । ताप्लेजुङमा आयोजनास्थल तथा युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला, ३८ मेगावाटको निलगिरि खोला, ४० मेगावाटको सुपर न्यादी, ५० मेगावाटको मर्स्याङदीबेँसी तथा ४५ मेगावाट क्षमताको कसुवा खोला आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन् । यस्तै १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनालाई पनि उत्पादन अनुमति दिइएको छ । चितवनको दारेचोकमा आयोजनास्थल रहेको सो आयोजनाको प्रवद्र्धकका ब्लू इनर्जी रहेको छ । हिमस्टार ऊर्जाले प्रवद्र्धन गर्न लागेको पाँच मेगावाट क्षमताको बुकु, ३ दशमलव ५ मेगावाट क्षमताको सेती खोला, ४ दशमलव ८ मेगावाट क्षमताको पदम खोला, १ दशमलव ४ मेगावाट क्षमताको तल्लो सेलाङ तथा १ दशमलव ५ मेगावाट क्षमताको स्टुल खोलाले पनि उत्पादन अनुमतिपत्र लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)काअनुसार विद्युत् उत्पादन अनुमति लिएका धेरैजसो आयोजना निर्माणको क्रममा छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् भने पाँच हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपिए)को प्रतिक्षामा छन् । सरकारले दश वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा प्राधिकरणले थप तीन हजार मेगावाट क्षमताका आयोजनासँग पहिलोचरणमा पिपिए गर्ने तयारी गरेको छ । नदी प्रवाही भन्दा पनि अर्धजलाशय र जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले २०७२ फागुन ६ गते जारी गरेको ऊर्जा संकटकालीन कार्ययोजनामा कूल विद्युत् उत्पादन तर्फ ३० प्रतिशतको हाराहारीमा मात्रै नदी प्रवाही आयोजनासँग पिपिए गर्ने उल्लेख गरेको छ । सोही आधारमा पिपिएको तयारी गरिएको प्राधिकरणले जनाएको छ । नौ प्रसारण लाइनलाई निर्माणको अनुमति यस्तै विभागले विभिन्न नौ प्रसारण लाइन निर्माणको अनुमति चालु आवको ६ महिनामा प्रदान गरेको छ । एक सय ३२ केभी क्षमताको नयाँ मोदी लेखनाथ र कुशाहा विराटनगर १३२ केभी क्षमताका प्रसारण लाइन छन् । कापडीगाड ३३ केभी, माथिल्लो खोरुङ्गा ३३ केभी, बागमती कुलेखानी ६६ केभी, तामाकोशी काठमाडौँ ४०० केभी, चौतारो लामो साँघु ३३ केभी र माथिल्लो हेवा खोला ३३ केभी क्षमताका प्रसारण लाइनले निर्माणका लागि विभागबाट अनुमति लिएका छन् । विभागबाट हालसम्म ९२ वटा प्रसारण लाइन निर्माणको अनुमति लिएका छन् । रासस

सिद्धार्थ फाउन्डेसनद्धारा जेष्ठ नागरिक आश्रमलाई २ लाख बराबरको आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुको सहयोगार्थ २ लाख ११ हजार १११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा माघ २१ गते बैंकका संचालक विरेन्द्रकुमार शाहाले गलेश्वरधाम वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष्य रुद्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने जानकारी दिएको छ ।

सी-आस्वा फागुन ११ गतेदेखि लागू, अनलाईन र बैंक दुबैबाट सेयर भर्न सकिने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा ) आउदो फागुन ११ गतेदेखि लागु गर्ने भएको छ । नियामक धितोपत्र बोर्डले फागुन ११ गतेदेखि सीआस्वा कार्यन्वयनमा ल्याउन सीडीएसलाई मंगलबार निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले समय मागेपछि बोर्डले सीआस्वाको काम १ महिना रोक्न सीडीएसलाई निर्देशन दिएको थियो । आउदो फागुन ११ गतेदेखि सीआस्वा लागु गर्न निर्देशन दिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनले सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । “सीआस्वा प्रणालीअन्र्तगत अनलाईनबाट मात्र सेयर भर्ने बुझिएको पाइयो” उनले भने “अहिलेको जस्तै बैंकबाट पनि सीआस्वामार्फत सेयर भर्न पाइने छ । अनलाई सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ ।” सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ ।सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो । यसअन्र्तगत लगानीकर्ताले खाता भएको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा सीआस्वा रजिष्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरिएको गिरीले जानकारी दिए । सो नम्बर लिएर घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सीआस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको थियो । सीआस्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।

महालक्ष्मी विकास बैंकद्धारा वृद्धाश्रमलाई ३० हजार बराबरको खाद्यान्न वितरण

काठमाडौं । महालक्ष्मी बिकास बैंकको महाराजगंज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित एक कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् । उक्त आश्रमले आफ्नो घरपरिवारबाट अवहेलीत ६० वर्ष देखी ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ । बैंकले गरेको सहयोग प्रति आश्रमका वृद्धाहरुले खुशी ब्यक्त गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

१० कित्ता मात्र पाइने लगानीकर्तामा मनोवैज्ञानिक प्रभावले बीपीसीको एफपीओका लागि १ अर्ब १८ करोड मात्र आवेदन

काठमाडौं । १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा आधा भन्दा केही बढी मात्र आवेदन परेको छ । सोमबारसम्म बीपीसीको १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको ८० हजार १३९ वटा एफपीओ खरिदका लागि आवेदन परेको छ । आइतबारको तुलनमा सोमबार बीपीसीको एफपीओका लागि ३ करोड रुपैयाँ मात्र थप आवेदन परेको देखिएको छ । १० कित्ता मात्र एफपीओ पाउने मनोवैज्ञानिक असर वीपीसीको एफपीओमा परेको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरे बताउछन् । “८३ हजार बढी आवेदन पर्दा १ अर्ब १८ करोड रुपैयाँ मात्र परेको छ” उनले भने “ धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ताको मात्र आवेदन हालेको देखिन्छ ।” १० कित्ता मात्र आवेदन दिनेले थप्न माग गरेको उनले सुनाए । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपीओ आब्हान हुदा ५ गुणा आवेदन परेको थियो । गत साता प्रिमियरको एफपीओ बाँडफाँड गर्दा १० कित्ता मात्र परेको उनले सुनाए । “बीपीसीमा धेरै रकमको आवेदन पर्ने अनुमान सबैले गर्दा यसको असर परेको देखिएको छ” उनले भने “यस विषयमा सोच्नु पर्ने अवस्था आएको छ ।” यता नियामक धितोपत्र बोर्ड पनि थोरै पर्ने भएपछि लगानीकर्ताले कम रकमको मात्र आवेदन हालेको देखिएको बताएका छन् । विकास न्युजसंग कुरा गर्दै बोर्डका निर्देशक निरन्जय घिमिरेले १० कित्ता मात्र पाइने संभावनाका आधारमा सबैले कम आवेदन दिएको अनुमान गरिएको बताए । यता बीपीसीका वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठ पनि ठुलो परिमाणमा आवेदन परेपनि सबैले कम रकमको एफपीओ भर्दा निर्धारित समयमा बिक्री नभएको बताउछन् । ८० हजार बढीको आवेदन पर्दा रकमका आधारमा आधा भन्दा केही बढी देखिएको उनको भनाई छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबार नै सकिएको छ । हालसम्म २३ लाख ७० हजार ५९ कित्ता एफपीओ बिक्री भएको एनएमबी क्यापिटलले जनाएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । अझै ८७ करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५७ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।