सामसुङ ग्यालेक्सी जे२ ४जी नेपाली बजारमा, मूल्य ११ हजार २९० रुपैयाँ मात्र
काठमाडौं । नेपालमा मोबाइल बेच्दै आएको सामसुङ कम्पनीले ग्यालेक्सी जे२ ४जीको नयाँ संस्करण बजारमा ल्याएको छ । सार्वजनिक गरिएको जे २ ४जीमा ४.७ इन्चको फुल एचडी स्क्रिनको प्रयोग गरिएको छ । यस मोबाइलमा ५ मेगाफिक्सल र २ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि सजिलै फोटो खिच्न सक्छ । १ जीबी र्यामको यस मोबाइलमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ, जसले सहज ढंगबाट मल्टी टास्किङ्कको काम गर्न सक्ने कम्पनीले जनाएको छ । गोल्ड र कालो कलरमा उपलब्ध रहेकोे जे२ ४जी फोनको बजार मूल्य ११ हजार २ सय ९० रुपैंया रहेकाे कम्पनीले जनाएकाे छ ।
रिलायवल माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्ने
काठमाडौं । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ । नाम परिणत पश्चात यस संस्थाको स्टक सिम्बोल जीआईएलबी हुने छ ।
उपत्यकामा हाउस पुलिङका माध्यमबाट पुनःनिर्माण गरिने
काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालको नेतृत्वमा बुधबार बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण (हाउस पुलिङ) प्रणालीका माध्यमबाट बस्ती विकास गर्ने निर्णय गरेको हो । भूकम्पले उपत्यकामा १ लाखभन्दा बढी घर भत्किएका थिए । हालसम्म २० प्रतिशत पुनःनिर्माण मात्र शुरु भएको छ । थोरै जग्गामा घर बनेका कारण ८० प्रतिशत घरको पुनःनिर्माण शुरु भएको छैन । संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे दुवै महानगरपालिकाका प्रमुखसहितको बैठकले जग्गा एकीकरण प्रणालीमा जाने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए। “बैठकले यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदललाई उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ”– उनले भने । दुवै महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा शहरी विकास तथा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त सांगाछँले सहयोग गर्नेछन्। कार्यदलले उपत्यकाभित्र जग्गा एकीकरणको माध्यमबाट कुन कुन ठाउँमा नमूना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले बताए। बैठकमा उपत्यकामा जग्गा एकीकरण प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रुपमा आमन्त्रण गरिएका विभागका पूर्वमहानिर्देशक सांगाछेँले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए। रासस
एनआईसी एशिया बैंकद्धारा सी-आस्वा सेवा सञ्चालनमा, अनलाइनबाटै सेयर भर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी-आस्वा (सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अागामी फागुन ११ गतेबाट अनिवार्य रुपमा सी–आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिँदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकहरुलाई समयमै सी–आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो । अब यस बैंकका ग्राहकहरुले बैंकको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन बैंकले जनाएको छ । यसैगरि, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
टाटा मोटर्सकाे सात नयाँ रेन्जका गाडीहरुको बिक्री शुरु, मूल्य १७ लाख ५० हजार रुपैयाँ
काठमाडौं । नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको व्यवसायिक बिक्री शुरु गरेको छ । कम्पनीको साना तथा मझौला गाडीहरु जस्तै एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ को हालैदेखि बिक्री शुरु भएको हो । कम्पनीका अनुसार यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल ईन्जेक्सन (सिडिआरआई) ईन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाईन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन् । यी मोडेलका शुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, यी गाडीहरु लाईट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले भने, “यी मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् । नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।” बिक्री शुभारम्भमा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशा लाग्दा विशेषताहरुले गर्दा टाटा मोटर्स प्रति हाम्रो थप विश्वास जागेको छ । विविध प्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतम प्रतिफलले गर्दा नेपाली ग्राहकहरु माझ यी गाडीहरुको विश्वसनियता छ ।” नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु : पावर: नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ माजिबिएस ४० जडित छ । जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायती हुने तथा आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ । त्यस्तै, जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाख कि.मी. सम्म वा ३ वर्षसम्म पाईन्छ । यी मोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमता भएका छन् । एनभिएच लेभल कम गर्न सिआर ईन्जिनमा भिस्कस फ्यान प्रविधि जडित रहेको कम्पनीले जनाएको छ । परफरमेन्स: कम्पनीका अनुसार यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजा भित्री सजावटहरुका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् । बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्ने कम्पनीले जनाएको छ । आम्दानी: वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।
८ वटा नयाँ जीवन बीमा कम्पनीको प्रीमियम ६७ करोड, कसको बजार कति ?
काठमाडौं । लाइसेन्स लिएर धमाधम बजार विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको वित्तिय विवरण पेश गरेका छन् । ती कम्पनीहरुले सेवा आरम्भ गरेदेखि पुस मसान्त अवधीमा ६७ करोड ८७ लाख ६ हजार प्रीमियम संकलन गरेका हुन् । कम्पनीहरुले हालसम्म जम्मा ७२ हजार १ सय १९ वटा बीमा गराएका छन् । बीमा समितिमा पेश गरेको विवरण अनुसार युनियन लाइफ आक्रामक बजारीकरणमा लागेको छ भने आईएमई, सन नेपाल, रिलायबल, सिटिजन लगायतका कम्पनीले पछ्याईरहेका छन् । युनियन लाइफले पुस मसान्त अवधीमा २५ करोड ३८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेको छ भने आइएमई लाइफले ११ करोड ४९ लाख प्रिमियम संकलन गरेको देखिन्छ । त्यस्तै, सन नेपाल लाइफले पनि १० करोड २७ लाख रुपैंयाँ प्रीमियम संकलन गरिसकेको छ । रिलायबलले ९ करोड २८ लाख प्रीमियम संकलन गर्दा सिटिजनले ७ करोड ६१ लाख प्रीमियम संकलन गरेको छ । सानिमा लाइफले भने जम्मा १६ लाख ३२ हजार रुपैंयाँ मात्रै प्रीमियम संकलन गर्न सफल भएको छ । सानिमाले म्यादी जीवन बीमा गराएको छैन् भने शाखा सञ्जाल पनि हालसम्म विस्तार गरेको छैन् । युनियन लाइफले देशभर ३६ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ भने आईएमईले ४० वटा र ज्योती लाइफले ३८ वटा शाखा विस्तार गरेका छन् । सिटिजनले २५ वटा शाखा खोल्दा रिलायबलले पनि २४ वटा शाखा पुर्याएको छ । करिब ३५ हजार पोलिसी बेचेपछि मात्रै बीमा कम्पनीहरु नाफा घाटा बराबरको अवस्थामा आईपुग्ने बताइन्छ ।
६ मेडिकल कलेजले डाक्टर पढ्ने विद्यार्थी पाएनन्, फेरी भर्ना खुलायो
काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को कोटा अनुसार विद्यार्थीहरु भर्ना हुन नआएपछि मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका छन् । नेशनल मेडिकल कलेज वीरगंज, जानकी मेडिकल कलेज जनकपुर लगायतका मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका हुन् । आइओएमले लिएको परिक्षामा पास भएका ३ हजार ३ सय मध्ये ओपन हाउस काउन्सिलिङमा १ हजार ६ सय विद्यार्थीलाई बोलाएको थियो । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ८ मेडिकल कलेज मध्ये विद्यार्थीहरुको राोजाइमा महाराजगंज मेडिकल कलेज र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान परेपछि बाँकी ६ वटा मेडिकल कलेजमा विद्यार्थीहरुले खासै रुचि देखाएका छैनन् । यसअघि खुलाएको भर्नामा नेशनल मेडिकल कजेजमा १ जना पनि भर्ना हुन नआएपछि पुन भर्ना खोलेको छ । ७२ जना कोटा रहेको जानकी मेडिकल कलेजमा पनि २ जनाले मात्र भर्ना गरेपछि पुन भर्ना खुलाएको छ । त्यसैगरी युनिभर्सल मेडिकल कलेज भैरहवामा ९० कोटा रहेकोमा २४, किष्ट मेडिकल कलेजमा ८१ कोटा मध्ये ३४, चितवन मेडिकल कलेजमा ८१ कोटा मध्ये ६२ जनाले भर्ना गरेका छन् भने ८१ जना कोटा रहेको गण्डकी मेडिकल कलेजमा ७ जनाले मात्र भर्ना गरेका छन् । यसअघि डिनको कार्यलयले मेडिकल कलेजहरुलाई तोकिएको मापदण्ड भन्दा बढी शुल्क असुलेको तथ्य भेटेपछि विज्ञप्ती नै निकालेर बढी शुल्क नलिन चेतावनी दिएको थियो ।
नेपाल बैंकले पौने २ अर्बको एफपीओ निष्कासन गर्ने, प्रिमियम आम्दानी २ अर्ब नाघ्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८७ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ हुने छ । एफपीओ पछि सेयर संरचनामा पनि परिर्वतन हुने छ । बैंकका अध्यक्ष जर्नादन आर्चायका अनुसार सरकारको सेयर ५१ प्रतिशत हुनेछ भने सर्बसाधारणको सेयर ४९ प्रतिशत हुनेछ । हाल बैंकको पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यसमा नेपाल सरकारको ६२ प्रतिशत र सर्बसाधरणको ३८ प्रतिशत सेयर रहेको छ । एफपीओ निष्कासनबाट कम्तिमा २ अर्ब रुपैयाँ प्रिमियम आम्दानी हुने र बैंकको संचित नोक्सान पूर्ती भई बैंक पूर्ण स्वस्थ बन्ने अध्यक्ष आर्चायले बताए । सञ्चालक समितिकाे प्रस्ताव साधारणसभाबाट अनुमाेेदन भएपछि वित्तीय विश्लेषण पछि प्रिमियम निर्धारण गरिने उनले बताए । उत्त निर्णय सार्वजनिक भए लगत्तै बैंककाे सेयर मूल्यमा गिरावट देखिएकाे छ ।