बीपीसीको १ अर्ब २० करोडको मात्र एफपीओ बिक्री, लाभांशले पनि लोभ्याएन लगानीकर्तालाई, सेयर मूल्यमा निरन्तर गिरावट
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री खुलेको १० दिनमा आधा भन्दा केही बढी रकमका लागि मात्र आवेदन परेको छ । माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ । हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । यस्तै १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले पनि एफपीओमा कम दरको आवेदन मात्र परेको देखिएको छ । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५४९ रुपैयाँमा झरेको छ । बिहीबार मात्रै बीपीपीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
सर्पोट माइक्रोफाइनान्सको ६ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थानको ६ लाख कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । हाल यस संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ ।
प्राइम लाईफ इन्स्योरेन्सले ३२ प्रतिशत बोनस सेयर दिने, हकप्रद भर्नेले पनि पाउने
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३२.५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट असार मसान्तसम्मको चुक्ता पुँजीको सो मात्रा अर्थात १९ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यसमा ३२.५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको पुँजी ८१ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सो बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागी आवश्यक रकम नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौँ, आठौँ, नवौँ र दशौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियाे । हाल कम्पनी सो मात्राको हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने पुँजीमा उक्त बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनेले पनि ३२.५ प्रतिशत बोनस सेयर पाउने इन्स्योरेन्सले जनाएको छ ।
तीन रोगका बिरामीले मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला, यस्तो छ कार्यविधि
काठमाडौं । सरकारले मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीहलाई मासिक ५ हजार रुपैंया दिने कार्यविधि जारी गरेको छ । स्वास्थ्य सेवा विभागले कार्यविधी जारी गर्दै तीनै रोगीका पीडीतलाई मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला गरेको हो । कार्यविधी हेर्न यहाँ क्लिक गर्नुहोस विभागले सार्वजनिक गरेको कार्यविधी अनुसार मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका पीडीतले भत्ता पाउन सम्बन्धित रोगको डाक्टरको सिफारिस लिनु पर्नेछ । मृगौलाका बिरामीले मृगौला प्रत्यारोपण गर्नु पर्ने भनी चिकित्सकले प्रदान गरेको कागज वा मृगौला प्रत्यारोपण गरी बेरोजगार भई काम गर्न असमर्थ रहेका व्यक्तिले भत्ताका लागि आवेदन दिन सक्नेछन् । क्यान्सर रोगीका बिरामीले नियमित आइआर्जन गर्न नसकी उपचार गराइरहेको भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ता पाउन सक्नेछन् । त्यसैगरी स्पाइनल इन्जुरीका बिरामीले अस्पतालमा उपचार गराइरहेको र नियमित आइआर्जन गर्न नसक्ने भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ताका लागि आवेदन दिन सक्दछन् । तर भत्ता लिनको लागि भने तीनै रोगका बिरामीले गरिबी तथा विपन्न नागरीकको प्रमाण पत्र लिएको हुनुपर्नेछ । यसअघि सरकारले ०७४ पुुस २८ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार तीनै रोगका बिरामीलाई जिवन सहज बनाउन भन्दै मासिक ५ हजार दिने निर्णय गरेको थियो । यसैगरी वितरण गरिने भत्ता रकम सरकारले स्वास्थ्य कर कोषमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको अन्तशुल्क कर बढाई आर्थिक स्रोतको व्यावस्था गर्ने भएको छ ।
मेलम्चीको सुरुङ अब ३५० मिटर मात्रै बाँकी, आउला त नयाँ बर्षमा पानी ?
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ३५० मिटर मात्रै बाँकी रहेको छ । मेलम्ची खानेपानी खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तका अनुसार हाल दैनिक औषतमा ४ देखि पाँच मिटर सुरुङ खन्ने काम भैरहेको छ । सोही गतिमा सुरुङ खन्ने हो भने आगामी ७० दिन भित्र मेलम्चीको सुरुङ ब्रेक थ्रु हुनेछ । तर बिचमा सुरुङ खन्ने गति बढ्न सक्ने सम्भावना पनि रहेको उनले बताए । ‘चट्टान कमजोर भएकाले दैनिक औषत ५ मिटर खन्ने काम भैरहेको छ, यो गति केहि बढ्न पनि सक्छ, त्यस्तो भयो भने अलि चाँडो ब्रेक थ्रु पनि हुन सक्छ’, मेलम्ची आयोजनाका प्रवक्ता पन्तले भने । बैशाखामा उपत्यका बासीका धारामा मेलम्चीको पानी वितरण गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । उपत्यका भित्र खानेपानीको पाइप बिछ्याउने काम अब ७० किलोमिटर मात्रै बाँकी रहेको छ । सुरुङ फिनिसिङको काम पनि धमाधम अघि बढेको छ । त्यसका लागि ८ वटा अत्याधुनिक टान्जिट मिक्स्चर ल्याइएको छ । हालसम्म ३ किलोमिटर सुरुङ फिनिसिङ सम्पन्न भएको छ । ग्याल्थुमदेखि अम्बाथानसम्मको ८ किलोमिटर खण्डमा सुरुङ सफा गर्ने काम सम्पन्न भएको छ र आगामी एक महिना भित्रै फिनिसिङ सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिवद्धता रहेको उनले जानकारी दिए । मुहानमा पानी छेक्न निर्माण गरिने इन्टेक ड्यामको काम अघि नबढेकाले तत्कालका लागि अस्थायी ड्याम बनाएरै भएपनि बैशाखमा पानी ल्याउने गरि काम अघि बढाएको पनि प्रवक्ता पन्तले जानकारी दिए । यांग्री र लार्केमा एक्सेस रोड दोश्रो चरणको कामका रुपमा थप ३४ करोड पानी उपत्यका ल्याउने योजना अन्तर्गत यांग्री र लार्केे नदिसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम अघि बढाउन बजेटको अभाव देखिएको छ । अर्थमन्त्रालयले १० करोड बजेट नदिँदा सडक विभागले निर्माण गर्ने भनेको १५ किलोमिट पहुँच मार्गको काम रोकिएको छ । आयोजनाले मुआब्जाका लागि छुट्याएको ३० करोड रुपैंयाँबाट केहि रकम झिकेर १० किलोमिटर पहुँच मार्ग निर्माण गर्ने सोँच बनाएको छ ।
आरएमडीसीको नाफा ११ करोड २१ लाख, ईपीएस ३० रुपैयाँ
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सेन्टरले ११ करोड २१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सेन्टरले ८ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । सेन्टरले बिहीबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै लगानी मौज्दात, आम्दानी र तरलताको अवस्था राम्रो रहेको जानकारी दिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८७ पैसा छ । १ अर्ब २८ करोड रुपैयाँ संचित कोषमा रहेको छ । हाल सञ्चालनमा रहेका कर्जा १४ करोड बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको सेन्टरले जनाएका छ । ६ महिनामा सेन्टरले ३८ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
तङग्रीदै वेष्ट फाइनान्स, ६ महिनामा ३ करोड ५९ लाख नाफा
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ ।समस्याग्रस्त अवस्थाबाट मुक्तभई एक वर्षअघि मात्र पुनः सञ्चालनमा आएको फाइनान्सले चालु आवको ६ महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा फाइनान्स ६८ लाख ६९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा कर्जा असुली तथा ब्याज आम्दानीबाट नाफा बढेको जानकारी दिएको छ । वेष्टको खराब कर्जा अझै ७२ प्रतिशत छ । निक्षेप लागत १०.६५ र आधार ब्याजदर १६.३५ प्रतिशत रहेको फाइनान्सले जनाएको छ । फाइनान्स अझै ८ करोड ४४ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप परिचालन १७ करोड ३६ लाख रुपैयाँ छ । यस्तै कर्जा लगानी २० करोड ४९ लाख रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५४ पैसा छ । वेष्टले चुक्तापुँजी बढाउन सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जेबिल्स फाइनान्सको १११ रुपैयाँमा ३ लाख ७२ हजार कित्ता हकप्रद लिलामी
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद सेयर ४८ जनाले पाएका छन् । फाइनान्सको प्रतिकित्ता १११ रुपैयाँमा ३ लाख ७२ हजार ४२७ कित्ता बाँडफाँड भएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन निष्कासन गरेको तर आवेदन नपरेका संस्थापक समूहतर्फको २ लाख ९८ हजार २०६ र साधारणतर्फ ७४ हजार २२० कित्ता लिलामीका लागि बोलपत्र आब्हान गरेको थियो ।