काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ३५० मिटर मात्रै बाँकी रहेको छ । मेलम्ची खानेपानी खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तका अनुसार हाल दैनिक औषतमा ४ देखि पाँच मिटर सुरुङ खन्ने काम भैरहेको छ ।
सोही गतिमा सुरुङ खन्ने हो भने आगामी ७० दिन भित्र मेलम्चीको सुरुङ ब्रेक थ्रु हुनेछ । तर बिचमा सुरुङ खन्ने गति बढ्न सक्ने सम्भावना पनि रहेको उनले बताए । ‘चट्टान कमजोर भएकाले दैनिक औषत ५ मिटर खन्ने काम भैरहेको छ, यो गति केहि बढ्न पनि सक्छ, त्यस्तो भयो भने अलि चाँडो ब्रेक थ्रु पनि हुन सक्छ’, मेलम्ची आयोजनाका प्रवक्ता पन्तले भने ।

बैशाखामा उपत्यका बासीका धारामा मेलम्चीको पानी वितरण गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । उपत्यका भित्र खानेपानीको पाइप बिछ्याउने काम अब ७० किलोमिटर मात्रै बाँकी रहेको छ । सुरुङ फिनिसिङको काम पनि धमाधम अघि बढेको छ । त्यसका लागि ८ वटा अत्याधुनिक टान्जिट मिक्स्चर ल्याइएको छ । हालसम्म ३ किलोमिटर सुरुङ फिनिसिङ सम्पन्न भएको छ । ग्याल्थुमदेखि अम्बाथानसम्मको ८ किलोमिटर खण्डमा सुरुङ सफा गर्ने काम सम्पन्न भएको छ र आगामी एक महिना भित्रै फिनिसिङ सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिवद्धता रहेको उनले जानकारी दिए ।
मुहानमा पानी छेक्न निर्माण गरिने इन्टेक ड्यामको काम अघि नबढेकाले तत्कालका लागि अस्थायी ड्याम बनाएरै भएपनि बैशाखमा पानी ल्याउने गरि काम अघि बढाएको पनि प्रवक्ता पन्तले जानकारी दिए ।
यांग्री र लार्केमा एक्सेस रोड
दोश्रो चरणको कामका रुपमा थप ३४ करोड पानी उपत्यका ल्याउने योजना अन्तर्गत यांग्री र लार्केे नदिसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम अघि बढाउन बजेटको अभाव देखिएको छ । अर्थमन्त्रालयले १० करोड बजेट नदिँदा सडक विभागले निर्माण गर्ने भनेको १५ किलोमिट पहुँच मार्गको काम रोकिएको छ । आयोजनाले मुआब्जाका लागि छुट्याएको ३० करोड रुपैंयाँबाट केहि रकम झिकेर १० किलोमिटर पहुँच मार्ग निर्माण गर्ने सोँच बनाएको छ ।