विकासन्युज

सेयर बजार नाटकीय रुपमा घट्दा लगानीकर्ताको भीड नेपाल इन्भेष्टमेन्ट र सानिमा बैंकमा, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेपनि आइतबार लगानीकर्ता नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकमा झुम्मिएका छन् । आइतबार नाटकीय रुपमा सेयर बजार घटेका बेला नेपाल इन्भेष्टमेन्ट र सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।   नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ देखि ६८७ रुपैयाँसम्म ४० हजार ९९५ कित्ता सेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्टको २ करोड ८१ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सानिमा बैंकको पनि प्रतिकित्ता ३७० रुपैयाँमा ७३ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ । सानिमाको २ करोड ७३ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दुई बैंकको मात्र ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कुल ५९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दुबै बैंकको वित्तीय अवस्था मजवुत हुदा लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । “बजार घटिरहेका बेला दीर्धकालमा राम्रो प्रतिफल दिने कम्पनी लगानीकर्ताको रोजाइ हुन्छ” ती ब्रोकरले भने । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट र सानिमाको वित्तीय अवस्था राम्रो भएकाले लगानीकर्ता आर्कर्षित भएको ती ब्रोकरको तर्क छ । आइतबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटका लगानीकर्ताले कमाएका छन् । बोटलर्सका लगानीकर्ताले प्रतिसेयर २८७ रुपैयाँ कमाएका छन् ।

अति कम विकसित मुलुकको सूचीबाट हट्न तयार छैनौं: डा.वाग्ले

संयुक्त राष्ट्र संघले नेपाललाई सन २०१८ को मार्च महिनादेखि अति कम विकसित मुलुकको सूचिबाट स्तरोन्नति गरेर विकाससिल राष्ट्रको सूचिमा पुर्याउने योजना राखेका छ । त्यसका लागि नेपाललाई आफ्नो धारणा राख्न बोलाईएको थियो । राष्ट्रिय योजना आयोगका सचिव सचिव बिष्णु प्रसाद लम्सालको नेतृत्वमा फेब्रुअरी १ र २ मा राष्ट संघको विज्ञ कमिटीमा हामीले आफ्नो धारणा राखेका छौं । हामीले सन २०१८ मै अति कम विकसित मुलुकबाट माथी उठ्न तयार नभएको स्पष्ट पारेका छौं । हामीले विज्ञ कमिटीमा आफ्नो अवस्था र त्यसलाई पुष्टि गर्न बिभिन्न तथ्यांकसहितका आधार पेश गरेका छौं । राष्ट्र संघको विज्ञ कमिटीका सदस्यहरुले अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि दबाव दिन विभिन्न तर्कहरु पेश गरे । हामीले तथ्य र तथ्यांकहरुसहित त्यसको खण्डन गरेका छौं । राष्ट्र संघले १२ वटा सूचांकहरु अघि सारेर नेपाललाई स्तरोन्नतिका लागि दबाव दिईरहेको छ । हामीले १५ मध्ये पाँच् वटा सूचांकमा हाम्रो अवस्था नाजुक छ भनेका छौं । भूकम्प, नाका बन्दी, तराई डुबान र राजनीतिक संक्रमणलाई कारण देखाएर हाम्रो वास्तविक अवस्थामा ठोस सुधार नभएको दावी गरिरहेका छौं । राष्ट्र संघले मार्चमा नेपाललाई अति कम विकसित मुलुकबाट विकाससिल बनाउने वा नबनाउने भन्नेबारे आफ्नो धारणा सार्वजनिक गर्नेछ । राष्ट्र संघले अफ्रिकी मुलुकहरुलाई आधार मानेर सन १९६० र १९७० को दशकमा अति कम विकसित मुलुकको मापदण्ड तयार पारेको थियो । ती अधिकांश मापदण्ड नेपालका सन्दर्भमा मेल खाँदैनन् । राष्ट्र संघले साक्षरता, पोषण, औषत आयुलाई तर्क अघि सारेको छ । त्यसमा नेपालले धेरै प्रगति गर्यो भनेको छ । हो, नेपालमा साक्षरताको दर बढेको छ, औषत आयु पनि बढेको छ, पोषणमा पनि सुधार आएको छ । यी त सब प्राथमिक तथ्यांक हुन् । हामीले हेर्नु पर्ने कुरा भनेको गुणस्तर हो । विद्यालय भर्ना भएका कति बालबालिकाले अध्ययनलाई निरन्तरता दिए ? भन्ने प्रमुख प्रश्न हो । नेपाली नागरिकहरुको बाच्ने तरिकामा कति सुधार भएको छ ? त्यो महत्वपुर्ण कुरा हो । उनीहरुले प्राथमिक तथ्यांकलाई आधार बनाएर हामीलाई दबाव दिईरहेका छन् । हामी गुणस्तरको सवाललाई प्रमुखताका साथ उठाईरहेका छौं र त्यसलाई पुष्टि हुने आधार पेश गरिरहेका छौं । संख्या बढ्यो तर गुणस्तर बढेन् भन्ने हाम्रो निष्कर्ष हो । बालबालिका विद्यालय गए तर सिकेनन् भन्ने हाम्रो दावी छ । राष्ट्र संघले मानव विकास सुचांकमा १२ वटा आधार तयार पारेको छ । तिनै सूचांकका आधारमा हामीलाई स्तरोन्नति हुन भनिएको छ तर हामीले पाँच वटा सूचांकमा प्रगति भएको छैन् भन्ने प्रमाण पेश गरिदिएका छौं । टर्कीको स्तानबुलमा सन २०११ सम्पन्न सम्मेलनले अति कम विकसित मुलुकको संख्या आधा घटाउने भन्ने लक्ष्य राखेको थियो । अन्तराष्ट्रिय समुदायलाई संसारमा गरिबी घटाएको श्रेय लिनुपर्ने दबाव छ । त्यसैले उनीहरु छिटो छिटो स्तरोन्नति गराउन चाहान्छन् । तर सन १९७१ मा अल्प विकसित मुलुकहरुको सूचि तयार भए यता जम्मा तीन चार वटा मुलुक मात्रै अति कम विकसितबाट विकाससिल मुलुक भएका छन् । अहिले दक्षिण सुडान पनि थपिएर अति कम विकसित मुलुकहरुको संख्या ५० वटा पुगेको छ । नेपाललाई पनि स्तरोन्नतिका लागि अन्तराष्ट्रिय दबाव छ तर हाम्रो अवस्था अझै सुध्रिएको छैन् । राष्ट्र संघले आफ्नो धारणा बनाउनु अघि नै हामीले युरोपियन युनियन लगाएतका दाताहरुसँग छुट्टा छुट्टै छलफल गर्नु पर्छ । अहिलेकै अवस्थमा स्तरोन्नति गरियो भने अति कम विकसित मुलुकहरुलाई दिइने पर्यावरण सहायता, व्यापार सहुलियत, अनुदान लगायतको सहयोगमा असर पर्छ । कर्मचारी, विद्यार्थी लगायतले पाउने छात्र वृद्धिमा पनि असर पर्छ । त्यसकारण सन २०१८ मै अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपाल तयार छैन् । सन २०२१ मा मात्रै हामी अति कम विकसित मुलुकबाट विकाससिल मुलुक बन्न तयार हुनेछौं । (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले व्यक्त गरेको विचारमा आधारित)

सिद्धार्थ बैंकको शाखा सर्लाहीको लालबन्दीमा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो शाखा सर्लाहीको लालबन्दीमा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा आइतबारदेखि उक्त स्थानमा स्थापित शाखा सञ्चालनमा ल्याएको हो । यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै, यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यस शाखाबाट स्थानीय स्तरमा बैंकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पहुँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ । यो शाखा सहित बैंकले हाल देशभर ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा , १०५ एटीएम र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेप्सेमा सूचिकृत २०६ कम्पनी मध्ये ११० वटा कम्पनी ‘क’ वर्गमा, हेरौँ कुन कुन परे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कूल २०६ वटा कम्पनीहरु मध्ये ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकरण भएका छन् । उक्त वर्गीकृत कम्पनीमध्ये वाणिज्य बैंक समूहबाट २७, माइक्रोफाइनान्स वित्तीय समूहबाट २६, विकास बैंक समूहबाट २१, बीमा समूहबाट १६, वित्त समूहबाट ११, जलविद्युत समूहबाट ५, होटल समूहबाट २ र अन्य समूहबाट २ वटा कम्पनीहरु ‘क’ वर्गमा परेका हुन् । नेप्सेले आर्थिक वर्ष २०७३/२०७४को अन्तसम्ममा सूचिकृत कूल कम्पनीहरु मध्ये उक्त कम्पनीहरुलाई प्रावधान अनुरुप चालु आवमा ‘क’ वर्गमा वर्गीकरण गरेको हो । (कुन कुन कम्पनी ‘क’ वर्गमा परे, हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) नेप्सेले धितोपत्र सूचिकरण विनियमावली अनुसार चुक्ता पूँजी २ करोड, साधारण सेयरधनीहरुको संख्या कम्तिमा हजार नाघेको, कम्तिमा ३ वर्षदेखि लगातार मूनाफा रहेको, सेयर किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण पेश गरेकाले ११० कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गराएको हो । गत आवको तुलनामा यस वर्ष ‘क’ वर्गमा पर्ने कम्पनीको संख्या घटेको छ । गत आवमा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका थिए भने चालु आवमा जम्मा ११० कम्पनीहरु ‘क’ वर्गमा परेका नेप्सेले जनाएको छ ।

लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार ११ अंक घट्यो

काठमाडौं । आइतबार नाटकीय रुपमा सेयर बजार घटेको छ । कारोबार सुरु भएपछि लगातार सेयर बजार २० अकंले बढेकोमा पछि ओरालो लागेर नेप्से परिसुचक १ हजार ४१३ अंकमा झरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको दिन बिहीबार ३६ अंक बढेको बजार सेयर बजार आइतबारको सुरुवातीमा शुभ संकेत देखिएको थियो । सुरुमा बढेपनि पछि बजार घट्यो । लगानीकर्तामा आत्मविश्वास नबढ्दा वृद्धीले निरन्तरता नपाएको लगानीकर्ताको भनाई छ । लगातार बढेको सेयर बजार आईतबार ११ अंकले घट्यो । बजारमा अझै लगानीकर्ताको विश्वास बढ्न नसक्दा घटेको एक ब्रोकरले बताए । बिहीबार एकाएक बढेको बजार आइतबार घट्नु भनेको लगानीकर्ताको विश्वास नबढेको हो ती ब्रोकरले भने । आइतबार उत्पादनमुलक बाहेक सबै क्षेत्रको मूल्य घटेर राताम्य भएको छ । आइतबार ५९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

महिन्द्राको नयाँ शोरुम सङ्खुवासभामा, थ्री एसको सेवा दिने

काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । महिन्द्रा गाडीहरुको हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो । उक्त शोरुमको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यज्यूले सामुहिक रुपमा गरेका हुन् । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीले ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ विशेष ध्यान दिएको छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ । साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले गरे राजीनामाको घोषणा

काठमाडौं । सरकार परिवर्तनपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामाको घोषणा गरेका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिने घोषणा गरेका हुन् । उनले आइतबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउने जानकारी दिए । पत्रकार सम्मेलनमा ६ महिनाको प्रगति विवरण पनि सार्वजनिक गरेका थिए ।

महासंघका अध्यक्षमा पून: नरेश कटुवाल, उपाध्यक्षमा १३ जना चयन

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा पूनः नरेश कटुवाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, प्रथम उपाध्यक्षमा नैनबहादुर पण्डित निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा सरोजकुमार थापा, माधवप्रसाद खरेल, नरेन्द्र शाक्य, हेमबहादुर क्षेत्री, शशीभूमि श्रेष्ठ, रुक्मणी सेडाई, मनोजबाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भिमभक्त श्रेष्ठ र युवराज न्यौपाने निर्विरोध रुपमा चयन भएका छन् ।  त्यस्तै महासविचमा टेकबहादुर शाक्य(अन्जन), उप-महासचिवमा बिजयकुमार महर्जन, हरिबहादुर गौतम र रीता पुरी लगायत ६३ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष नरेश कटुवालले तत्काल व्यवसायीक मैत्री कर नीति ल्याउन राज्यसंग माग गरेका छन् । अध्यक्ष कटुवाले अब मझौला तथा निम्न व्यवसायीहरुको आवाजलाई पुरा गर्न महासंघले जस्तोसुकै परिस्थितिमा पनि पछि नपर्ने बताएका छन् । उनले सम्पूर्ण व्यवसायीहरु मर्यादीत र इमान्दारिताकासाथ राज्यको नीति नियममा रहि काम गर्न तयार रहेको बताउँदै भने,‘ व्यवसायीहरुले १२ घण्टा भन्दा बढि धुलो धुवा खाई दुःख पीडा सहेर राज्यलाई कर तिरेका छौं । तै पनि राज्यले कालोबजारी भन्नु हामीलाई सह्य छैन । आज सम्म राज्यले साना तथा मलौला व्यवसायीको आवाजलाई कुन्ठित गरेको छ उनले भने, हाम्रो सामु गहन जिम्मेवारी आएको छ ।’ यसलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै काठमाडौं महानगरपालकिाको प्रमुख विद्या सुन्दर शाक्यले सरकार नीजि क्षेत्रको प्रतिष्पर्धी होइन अभिभावक भएको बताउँदै भने ‘काठमाडौं सुन्दर र शान्त स्मार्ट सिटि बन्दै छ । यसमा तपाईहरु विश्वस्त हुनुस् । नगरपालीकाले आगामी वर्षको नीति निर्माण र विकासका बारेमा कार्ययोजना बनाउने क्रममा छौं । यसमा व्यवसायीको समस्याहरुको पनि सल्लाह र सुझावको आवश्यक छ ।’ उनले थपे क्लिन द सिटि ग्रिन द सिटि भन्ने मुल नारा सहित सुन्दर काठमाडौं निर्माण अभियन हुँदैछ । यसमा व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका छन् ।