विकासन्युज

तल्लो लिखु आयोजनामा ५ बैंकको ४ अर्ब १९ करोड लगानी, ४ वर्षमा सकिने

काठमाडौं । सानिमा ग्रुपले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको अगुवाईमा कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको लगानी हुने भएको छ । आयोजनामा लक्ष्मीले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभुले ४० करोड र जलविद्युत लगानीको ८० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । प्रवद्र्धक श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र बैंकबीच ऋण लगानी सम्झौता भएको छ । आयोजनाको कुल लागत ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्ने छन् । लगानी जुटेकाले आयोजना निर्माण हुने निश्चित भएको छ । श्वेत गंगा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत विकास विभागले पनि विद्युत उत्पादन अनुमतिपत्र पनि दिइसकेको छ । श्वेत गंगालाई सानिमा ग्रुप र डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको हो । आयोजनाबाट वार्षिक १७ करोड ८४ लाख युनिट बिजुली उत्पादन हुने भएको छ । आयोजना २०७८ साल मंसिरमा संचालनमा आउन श्वेत गंगाले जनाएको छ । सानिमा ग्रुपले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याककेड, साढे २ मेगावाटको सुनकोसी आयोजना सम्पन्न गरेको छ । यस्तै ५२ मेगावाटको मध्यतमोर आयोजना पनि निर्माण गर्न लागेको छ । ६० मेगावाटको जुमखोला आयोजना निर्माणका लागि अध्ययन सुरु भइसकेको छ ।

लक्ष्मी बैंकको सि–आस्बा प्रणाली  सुरु

काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा प्रणालीको सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । बैंकले शुक्रबारबाटै सो प्रणालीको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ठेकेदार फेरी सुस्तायो

चौतारा । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामाग्रीको अभाव रहेको भन्दै काममा ढिलाई गरेको हो । ठेकेदारले कुनै दिन कामै नगर्ने र कुनै दिन एक मिटर मात्र सुरुङ खन्ने गरेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले बताए । आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२७ किमी सुरुङ सम्पन्न भइसकेको छ । सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते सम्पन्न भएको थियो । ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ । सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।-रासस

दाेस्रो पटक बने विष्णु रिमाल ओलीको राजनीतिक सल्लाहकार

काठमाडौँ । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाल दाेस्रो पटक ओलीकाे राजनीतिक सल्लाहकारमा  नियुक्त भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक लगत्तै अहिले नेकपा माओवादी केन्द्रसँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो ।-रासस

राष्ट्र बैंकले खुलायो १५१ जनालाई जागिर, चैत १ गतेसम्म फारम भर्ने म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको हो । विभागले सहायक निर्देशकमा ४५ जना , सहायक द्धितीयमा ९६ जना र सहायक द्धितीय सूचना प्रविधीमाा १० जना माग गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति हुने पदको परिक्षामा भाग लिनको लागि आवश्यक कागजात पुरा गरी अनलाईन दरखास्त दिन सकिनेछ । बैंकले दरखास्त दिने अन्तिम मिती चैत १ गते सम्म तोकेको छ । सहायक निर्देशक पदमा दरखास्त भर्न चाहने व्यक्तिको उमेर २१ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यसैगरी सहायक पदमा दरखास्त दिनको को लागि १८ वर्ष पुरा भई ३५ वर्ष र महिलाको हककमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । तर बहालवाला कर्मचारीको हकमा भने उमेरहद नलाग्ने बैंकले जनाएको छ ।

केवाइसी विवरण अद्यावधिक गर्न बैंकको ताकेता, विवरण नबुझाउनेको बैंक खाता रोक्का हुदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक नगर्नेको ग्राहकको खाता रोक्का गर्ने भएका छन्  ।नेपाल राष्ट्र बैंकले केवाइसी विवरण अद्यावधिक नगर्नेको खाता रोक्का गर्न निर्देशन दिएपछि बैंकहरुले प्रक्रिया अघि बढाएका हुन् ।   पटकपटक जानकारी गराउदा पनि विवरण नपाएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम सुचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न आउन भनेका छन् । बैंकले केवाइसी विवरण उपलब्ध गराउन खातावालसंग आग्रह गरेका छन् । सम्पत्ति शुद्धिकरण निवारण ऐन र नियमावली बमोजिम राष्ट्र बैंकले ग्राहकको केवाइसी विवरण राख्न गत साउनमा एकिकृत निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकले पुनः निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले केवाइसी विवरण उपलब्ध गराउन ताकेता गर्न थालेका हुन् । सिद्धार्थ बैंक, मेगा बैंक, एभरेष्टलगायत सबै बैंकले केवाइसी विवरण अद्यावधिक गर्न आफना आग्रह गरेका छन् । समयमा केवाइसी विवरण उपलब्ध नगराउनेको खाता रोक्का गर्ने बैंकले जानकारी दिएका छन् । यस्तै बैंकहरुले एउटै प्रकृतिको एउटा भन्दा बढी खाता खोल्न र डेविट तथा क्रेडिट कार्डको प्रयोग गर्न नपाइने जानकारी गराएका छन् । एक भन्दा बढी खाता भए बन्द गर्न बैंकले आफना ग्राहकलाई अनुरोध समेत गरेका छन् । यस्ता खाता बन्द नभए बैंक तथा वित्तीय संस्थाले रोक्का गर्ने भएका छन् ।

भैरहवाको टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियाको सिल्भर हेरिटेजले किन्यो, थप साढे ५ अर्ब वैदेशिक लगानी ल्याउदै

काठमाडौं । अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुप लिमिटेडले भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको सम्पुर्ण स्वामित्व खरिद गरेको छ । सिल्भर हेरिटेजले नेपालमा टाइगर वान प्रालिमार्फत रिसोर्टको सम्पुर्ण स्वामित्व खरिद गरेको हो । सिल्भर हेरिटेज अष्ट्रिेलियन सेक्युरिटीज एक्सचेन्जमा सूचिकृत कम्पनी हो । ग्रुपले नेपालका विभिन्न आयोजनामा ५ करोड ५० लाख डलर अर्थात साढे अर्ब रुपैया बढी थप लगानी गर्ने जनाएको छ । यो लगानीबाट नेपालमा थप १ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य हेरिटेजको छ । सिल्भर हेरिटेज अष्ट्रेलियामा १०० प्रतिशत स्वामित्व रहेका कम्पनी हो । नेपालमा लगानी भित्राउन ब्रिटिस भर्जिन आइसल्याण्ड हङकङ हुदै नेपालमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । सो कम्पनीले नेपालमा टाइगर वान, टाइगर टु र एसएचएल म्यानेजमेन्ट सर्भिसेज काठमाडौं प्रालि गठन गरेको छ । एसएचएलमा नेपालका व्यवसायी राजेन्द्र बजगाई र नवराज बजगाईको ५/५ प्रतिशत स्वामित्व रहेको छ । टाइगर प्यालेस रिसर्टमा १ सय कोठा र स्वीट, १० हेक्टरमा फैलिएका २ वेड रुपमा भिल्ला, आधुनिक स्पा, जिम, पुल, ६ वटा बैठक कक्ष, ५ वटा रेष्टुरेन्टलगायत अत्याधुनिक सेवा रहेको छ ।

ओम डेभलपमेन्ट बैंकले धितोविनै १५ लाख कर्जा दिने

  काठमाडौं । ओम डेभलपमेन्ट बैंकले धितो विनानै १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले डाक्टर, इन्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएकालाई दिने गरी ओम प्रोफेसनल लोन योजना ल्याएको छ । मासिक तलवका आधारमा बैंकले कर्जा दिने भएको छ । राम्रो जागिर भएकाले धितो भने राख्नु नपर्ने बैंकले जनाएको छ । बैंकले ब्याजदर भने खुलाएको छैन् । यसअघि कैलाश विकास बैंकले पनि व्यसायीक व्यक्तित्वका लागि यही योजना ल्याएको थियो ।