सेयर भर्न लाइन बस्नुपर्ने युगको समाप्ति, अब अनलाइनबाटै आवेदन
काठमाडौं । अब साधारण सेयर (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने मात्रै होइन बैंकमा जानुपर्ने अवस्थाको शुक्रबारदेखि अन्त्य भएको छ। सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सीआश्वा ) लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैंकमा धाउनुपर्ने बाध्यता सकिएको हो । यद्यपी अनलाईन पंहुच नभएको स्थानका लगानीकर्ताले आफनो पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट अनलाइनविनै सेयर भर्न पाउने छन् । ‘शुक्रबारदेखि सीआश्वा अनिवार्य भएको छ, अब घरमै बसेर आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न सकिन्छ’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवप्रकाश गुप्ताले भने । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का महाप्रवन्धक चन्द्रसिंह साउदले पनि सीआश्वासको अनिवार्य कार्यान्वयनले नेपालको सेयर बजारमा नयाँ युगको आरम्भ भएको बताए । मर्चेण्ट बैंकर्स एसोसियसनका अध्यक्ष ध्रुव तिमल्सिनाले पनि सी आश्वासले सेयर आवेदनका तमाम झण्झट अन्त्य गरेको धारणा राखे । हाल ६० वटा बैंक तथा वित्तिय संस्थाले सीआश्वाको सदस्यता लिएका छन् । अब सीआश्वाबाट मात्रै आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न पाइनेछ । सी आश्वामा दर्ता भएपछि प्राप्त हुने सी आस्वा रजिष्ट्रृेशन (सीआरएन ) नम्बरका आधारमा सेयर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । शुक्रबारबाट पुर्ण कार्यान्वयनमा आउने सीआश्वा प्रणालीले अनलाईनका माध्यमबाट देशका जुन सुकै कुनाबाट पनि आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न पाइनेछ । सीडीएसले सीआस्वालाई अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाले सुचना प्रकाशित गरी सीआस्वामार्फत सेयरको आवेदन दिन सीआरएन नम्बर लिन बोलाएका छन् । बैंकले खाता खोल्न, हितग्राही खाता (डीम्याट एकाउन्ट) र सीआरएन नम्बर लिन भनेका छन् ।
ओली सरकारले ६५ बर्षमै वृद्ध भत्ता नदिने
काठमाडौं । काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ६५ बर्षमै वृद्धभत्ता नदिने भएको छ । ओली सरकारकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले ६५ बर्षमै वृद्ध भत्ता दिने निर्णय खारेज गर्ने बताएका हुन् । उनले आफू वृद्धभत्ताको उमेर आधार वर्ष ७० नै सही भएको पक्षमा रहेको पनि बताउँदै भनिन,‘जेष्ठ नागरिकको उमेर ७० वर्ष नै सही छ ।’ निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले वृद्ध भत्ता पाउने उमेर ६५ बर्ष बनाउने निर्णय गरेका थिए । ओली सरकारले त्यसलाई खारेज गरेर ७० बर्ष नै बनाउन लागेको हो । उनले एनजिओ र आईएनजिओहरुको उद्देश्य पनि समाजमा टेवा पुर्याउने भए पनि लक्ष्य अनुसार उपलब्धि हाँसिल नभएको गुनासो पोखिन् । उनले भनिन्,‘गैरसरकारी संस्थाहरुको काम पारदर्शी हुनुपर्छ, केही केही कुरा पाएपनि, लक्ष्य अनुसारको उपलब्धि हाँसिल भएका छैनन् । उनले यसको लागि केही नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिईन् ।
पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी
काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५ दिनभित्रमा पार्टी एकताको खाकासहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकले दुई कार्यदल गठन गरेको थियो । दुवै कार्यदलले पार्टी एकताका लागि तय गरिएको सात बुँदे आधारलाई टेकेर काम गर्ने ज्ञवालीले बताए। राजनीतिक प्रतिवेदन तयार गर्नका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अन्तरिम विधान मस्यौदा गर्नका लागि माओवादी केन्द्रका नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी छलफल अगाडि बढाइएको बताए । रासस
शुक्रबारदेखि भृकुटीमण्डपमा बृहत हिमाली कृषि प्रदर्शनी, याकको चिजदेखि कर्णालीको स्याउसम्मका ७५ स्टल राखिने
काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म राजधानीको भृकुटीमण्डपमा ‘ तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्धन प्रदर्शनी –२०७४ ’ हुने भएको छ । हिमाली जिल्लाका उत्पादित कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्धन गर्ने उद्वेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले उक्त वृहत्त प्रदर्शनी गर्न लागेको हो । आयोजकका अनुसार प्रदर्शनीमा संखुवासभा, सोलुखम्बु, दोलखा, रसुवा, मनाङ्ग, मुस्ताङ्ग डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका ५१ वाटा तथा अन्य २४ गरी जम्मा ७५ वटा स्टल रहनेछन् । जसमा याकको चीज, छुर्पी, राडीपाखी, तरकारीको बीउदेखि कर्णलीको सिमी, स्याउ, जुस, ओखर चिराईतो लगायत मूख्य आकर्षण हुने आयोजकले अपेक्षा गरेको छ । समग्रमा प्रदर्शनीमा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादन सम्पूर्ण रहने आयोजकको दावी छ । त्यस्तै आयोजकले उक्त प्रदर्शनीको अवसरमा हिमाली व्यवसायी र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारीहरुबीच दिर्घकालीन व्यापारिक सम्झौता समेत हुने अपेक्षा गरेको छ ।
भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म
काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पमा परेर हजारौं नेपालीले ज्यान गुमाए, खर्बाैंको भौतिक सम्पति नोक्सान भयो । त्यतिबेला सात समुन्द्र पारीका फुटबलर मेस्सीदेखि रोनाल्डोसम्मले सहयोगको घोषणा गरे । तर रोटी र बेटीको सम्बन्ध भएका छिमेकी मुलुक भारतका सुपरस्टार सलमान खान भने त्यतिबेला सहयोग नगरेको र नगर्ने घोषणा गरिरहेका थिए । रोनाल्डोले ८० करोड सहयोग गर्दा मेस्सीले ५१ करोड सहयोग गरे । रोनाल्डोले सेभ द चिल्ड्रेन युके र मेस्सीले युनिसेफ मार्फत नेपाली बालबालिकाका लागि सहयोग गरेका थिए । बार्सीलोनाले खेल मैदानमै मौनधारण गर्यो भने रोनाल्डोले नेपाल र पोर्चुगलको झण्डा लिएर फोटो खिचे । संसारभरबाट नेपाल र नेपालीको दुःखमा साथ सहयोग प्राप्त भैरहेका बेला भारतीय सुपरस्टार सलमान खानले पनि सहयोग घोषणा गरेको चर्चा शिखरमा पुग्यो । तर सलमानले आफ्नो फेसबुकमा लेखे–हामीले भूकम्प पीडित नेपालीलाई सहयोग गरेका छैनौं र सहयोग गर्ने तत्काल कुनै कार्यक्रम पनि छैन् । सहयोग गर्नु नगर्नु खानको व्यक्तिगत अधिकारको कुरा हो । तर उनले सहयोग नगरेको घोषणा गरिरहँदा सहानुभूतिका दुई शब्द समेत खर्चने प्रयास गरेनन् । खानले ‘हामी सहयोग गर्न असमर्थ छौं तर नेपाल र नेपाली प्रति आईपरेको विपत्तिमा दुःखी भएका छौं ।’ भन्न सक्थे । तर उनका तर्फबाट त्यति शब्द पनि निस्केनन् । मेस्सी र रोनाल्डोमा मानविय सम्वेदना देखिँदा सलमानले सहयोग नगर्ने घोषणा गरे तर दुःख पनि व्यक्त गरेनन् । यतिबेला उनै भारतीय सुपरस्टार सलमान खान रक्सीको प्रमोशनका लागि नेपाल आउँदैछन र हामी नेपाली उनका लागि १० औं हजारको टिकट किन्न तयार भएका छौं । भूकम्पले सिंगो नेपाल शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त गर्न पनि नसक्ने खानका लागि हामी १० औं हजार खर्चन कसरी तयार भयौं ? यो गम्भिर प्रश्न हो । विईङ ह्युमन फाउण्डेसन सञ्चालन गरिरहेका सलमानले सहानुभूति समेत नदेखाएका हामी नेपाली आज उनका लागि रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा जम्मा हुन तयार भएका छौं किन ?
ज्ञानेन्द्रलाल प्रधान भन्छन–एनआरएनको लगानी खुला र अनलाइन कारोबार नभएसम्म सेयर बजार बढ्दैन
काठमाडौं । अझै घट्ने लगानीकर्ताको मनोविज्ञानले गर्दा सेयर बजारमा निरन्तर गिरावट आएको छ । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएपछि सेयर लगानीकर्ताले निरन्तर गुमाउदै गएका छन् । नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको दिन ३६ अंक बढे बाहेक अन्य दिन बजार निरन्तर घट्दै गएको छ । बजारमा नयाँ राहतको प्याकेज नल्याएसम्म बजार बढ्ने संभावना नदेखिएको लगानीकर्ताको भनाई छ । बैंकको महंगो ब्याजदर, हकप्रद, साधारण सेयर (आईपीओ) र एफपीओको बाढीले आपूर्ति बढेपछि बजार माथि उठ्न नसकेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउछन् । अहिले बैंकसंग सेयरमा लगानी गर्न लगानीयोग्य पुँजी नभएका बेला बढ्दो सेयर आपूर्तिलाई खरिद गर्नका लागि ठुलो लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न नसकेको उनको तर्क छ । गैरआवासिय नेपाली (एनआरएन) र वैदेशिक लगानी खुला गरे मात्र बजार माथि जाने उनको विश्लेषण छ । सरकारले गैरआवासिय र वैदेशिक लगानी खुला र अनलाईन सेयर कारोबार सुरु भएपछि बजार बढ्ने उनको तर्क छ । पछिल्लो समयमा ठुला लगानीकर्ता धमाधम बजारबाट बाहिरिन थालेको उनका भनाई छ । बजार बढाउन सेयरमा ठुलो लगानी आवश्यक भएको उनको तर्क छ । सरकारले राहतको कार्यक्रम नल्याएसम्म बजार नबढ्ने एक ब्रोकर बताउछन् । बैंकको महंगो ब्याजले पनि बजारलाई प्रभावित पारेको ती ब्रोकरको तर्क छ । अहिले बैंकबाट महंगोमा कर्जा लिएर लगानी गर्दा प्रतिफल आउनुको सट्टा घाटा हुने भएपछि विशेष गरेर बैंकको ऋणबाट सेयर किन्ने ठुला लगानीकर्ता बजारबाट बाहिर रहेको उनको भनाई छ । बिहीबार पनि बजार बढ्न सकेन । बजार निरन्तर घट्दै गएर नेप्से परिसुचक १ हजार ३ सय ८७ मा झरेको छ । बिहीबार साढे ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक, वित्त र उत्पादनमुलक बाहेक अन्य क्षेत्रको सेयर मूल्य घटेको छ । सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ । नेपाल लाइफको ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै ओम डेभलपमेन्ट बैंकको बुक क्लोजको समय आएकाले लाभांश पाउने आशामा बढी कारोबार भएको छ । बिहीबार ओम डेभलपमेन्टको प्रतिकित्ता २३१ मा ३ करोड ६० लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न सर्वोच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको छ । प्रधानन्याधिश गोपालप्रसाद पराजुलीको एकल इजलासले बिहीबार अन्तरिम आदेश जारी गरी तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको हो । भरत बस्नेतले दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीशले रोक्नका लागि अन्तरिम आदेश दिएका हुन् । तत्कालका लागि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न नपाइने भएको छ । यातायाता व्यवस्था विभागले यसलाई अनिवार्य गरी कार्यन्वयनमा ल्याएको थियो ।
रसुवागढी र साञ्जेनको साढे २ अर्बको आइपिओ शुक्रबारदेखि बिक्री हुँदै
काठमाडौँ । धितोपत्र बजारमा शुक्रबारदेखि २ अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले शुक्रबारदेखि एकै पटक आईपीओ बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर निष्कासनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सहायक कम्पनीका रुपमा रहेका साञ्जेन रसुवागढीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ । ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने २ हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । रसुवागढीले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् । रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी १ अर्ब ७५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । आयोजनाको निर्माण चाइना वाटर एण्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ । १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३.५ प्रतिशत एवं सञ्चयकर्ताको १९ .५ प्रतिशत लगानी रहनेछ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ शुक्रबारदेखि बिक्री गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । आयोजना प्रमुख किरण श्रेष्ठले सबै तयारी सकिएकाले अब शुक्रबारदेखि आईपीओ बिक्री गरिने जानकारी दिए। एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनी लागेपछि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचनामार्फत आग्रह गरिरहेका छन् । दुवै कम्पनीको शेयर सी आश्वा’ प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाइएको छ । शेयर बजारका बारेमा विश्लेषण गर्दै आएका विश्लेषक निरव पुडासैनीका अनुसार पूँजी बजारको विविधीकरणका लागि ठूलो मात्रामा साधारण शेयर आउनु सकारात्मक देखिन्छ । उनले केही समयपछि बजारमा उक्त कम्पनीमा लगानी गरिएको रकमसमेत आउने भएकाले त्यसले लगानीका लागि थप अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे। रासस