एमएडब्लुले दियो नेपाल प्रहरीलाई दुई वटा स्कुटर, सबै ब्रान्डका स्कुटरलाई ‘फ्रि वास’ सर्भिस
काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । स्कुटर डेको अवसरमा नेपाल ट्राफिक प्रहरीका एसएसपी उमेश रञ्जितकार (बायाँ)लाई विशेष यामाहा स्कुटर हस्तान्तरण गर्दै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले व्यापक सहभागिता जनाएका थिए । ‘पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरुलाई निशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरुबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं,’ एमएडब्लुका सर्भिस हेड शरद मिश्रले भने, ‘नेपालभरका यामाहा सर्भिस सेन्टरबाट विस्तृत विवरण आइनसके पनि हजारौंको संख्यामा राइडरहरु आफ्नो स्कुटर धुलाउन आएको जानकारी पाएका छौं ।’ बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटरहरुको पनि भीड लागेको थियो । ‘हामीले फेसबुकबाट फ्रि वास अफरबारे सूचना पाएका थियौं । पहिला त हल्ला जस्तो मात्र लागेको थियो तर यामाहाले वास्तवमै फ्रिमा वास गरिरहेको रहेछ,’ यामाहाको त्रिपुरेश्वस्थित सर्भिस सेन्टरमा साथीहरुसँग स्कुटर वास गराउन आएका लक्ष्मण व्यञ्जनकारले भने, ‘मेरो लागि यो अनौठो अनुभव भयो ।’ ट्राफिकलाई दुई वटा स्कुटर यसैबीच, ‘स्कुटर डे’कै अवसरमा एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा साइरनजडित यामाहा स्कुटर हस्तान्तरण गरेको छ । एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ट्राफिक एसएसपी उमेश रञ्जितकारलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमाबाइल कम्पनीहरुले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले दैनिक दर्जनौं दुर्घटनाहरु हुन्छन् । यसलाई रोकथाम गर्नमा अटोमोबाइल कम्पनीहरुको भूमिका हुन्छ,’ उनले भने, ‘तपाईंहरुले पनि चालकहरुलाई कसरी सुरक्षित यात्रा गर्ने भन्ने सिकाउन सक्नुहुन्छ ।’ एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्वप्रति सदा प्रतिबद्ध रहेको बताए । ‘हामीले विगत केही वर्षदेखि युवालाई लक्षित गरी यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाइरहेका छौं । यामाहाबाट तालिमप्राप्त हाम्रा प्रशिक्षकहरुले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघसंस्थामा गएर सुरक्षित यात्राबारे तालिम दिइरहेका छन्,’ उनले भने । वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको पनि उनले जानकारी दिए । यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै अग्रणी, सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर यामाहा स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
पैसा मात्र बाँडेर सामाजिक सुरक्षा हुन्न; बीमा, आवास, शिक्षा, खाद्यान्न सुरक्षाकाका कार्यक्रम बनाउँछाैं – अर्थमन्त्री खतिवडा
सीमित स्राेतका बावजुद असीमित दायित्वको चाङमा बसेर अर्थतन्त्रलाई सुधार गर्ने र उच्च आर्थिक वृृद्धिका लागि साधन परिचालन गर्ने तथा आर्थिक अनुशासनका माध्यमबाट करदाताले कर तिरेको रकम विकासमा खर्च भएको अनुभूति दिलाउने जिम्मेवारी हाम्राे काँधमा अाएकाे छ । अर्थमन्त्रालय भनेको असीमित दायित्व व्यवस्थापन गर्ने मन्त्रालय जस्तो पनि देखिएको छ । हामीले स्राेत नभएका आयोजनालाई कार्यान्वयनमा पठाएका रहेछौं । स्राेतै नभएका कार्यक्रमलाई पनि बजेट दिने भनेका रहेछौं । पछि सिर्जना भएका दायित्वका हिसाब गर्ने हो भने डेढ खर्ब रहने देखिन्छ । चारदेखि पाँच खर्बको दायित्व यो आर्थिक वर्षमा व्यहोर्नुपर्ने देखिएको छ । गत वर्ष उच्च आर्थिक वृद्धि भएकाले यसपाली राजश्व अझै उच्च दरमा बढाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तर चुनावका बहानामा राजश्व प्रशासन अलि खुकुलो भएको अनुभूति भएको छ । यतिबेला हामी तिनै खुकुला नटबोल्टहरु कसिलो बनाउने अभियानमा जुटिसकेका छौं । अहिले जुन ढंगले आयात भैरहेको छ त्यो ठिक छ कि छैन भनेर हेर्ने र सो अनुरुप राजश्व संकलन भएको छ कि छैन भनेर पनि हेर्दैछौं । आयात व्यापारमा भएको वृद्धिलाई राजश्वले पनि प्रतिबिम्बित गर्नुपर्छ । हामीले निर्धारण गरेको राजश्व संकलनको लक्ष्य भन्दा माथि जानु पर्ने छ । लक्ष्य भनेको न्यूनतम आधार मात्रै हो । हामीले कर भन्सार प्रणालीलाई सुधार गर्ने अभियान थालिसकेका छौं । यो सुधारको कुरा सेयर बजारको जस्तो गलत हल्ला होइन, हामीले सुधार नै थालिसकेको कुरा हो । हामीले चुनावमा केहि प्रतिवद्धता गरेका छौं । ती प्रतिवद्धता मार्फत अघि सारिएका महत्वकांक्षाहरु पूरा गराउनु पनि हाम्रो मुल दायीत्व नै हो । अघिल्लो सरकारले बनाएको बजेटको अर्धबार्षिक समिक्षामा छौं र हामीसँग ठूलो दायित्व छ । भुक्तानी सन्तुलन घाटामा, चालु खाता घाटामा, केन्द्रिय बजेट घाटामै छ । बैंकको ब्याजदर उच्च छ । लगानीकर्ताहरु उच्च ब्याजदरमा लगानी गर्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा हामीले ७.८ प्रतिशत आर्थिक वृद्धिदर कायम गराउने हो भने बाह्य पुँजी परिचालन अनिवार्य छ । बाह्य पुँजीले आन्तरिक लगानीलाई कुनै असर गर्दैन् । बाह्य लगानीले आन्तरिक लगानीलाई प्रतिस्थापन गर्दैन, बरु प्रवद्र्धनमै सघाउँछ । प्रत्यक्ष विदेशी लगानी र आन्तरिक लागनीबीच परिपूरक भूमिका रहन्छ । त्यसकारण हाम्रो निजी क्षेत्रले बढि लगानी गर्ने अवसर पाउँछ । तरलता घटाउन, ब्याजदर स्थिर बनाउन र उच्च आर्थिक वृद्धिदर कायम गर्न बाह्य लगानीले सघाउँछ । उच्च आर्थिक वृद्धिदर हाम्रो आन्तरिक पुँजीले मात्रै सम्भव हुन्न । त्यसकारण बैंक तथा वित्तिय संस्थाहरुले विदेशबाट पैसा ल्याएर काम गर्न सक्छन् भने त्यो अवसर पनि खोलौं भन्ने हो । हाम्रा बैंकहरुले बाहिर पार्किङ गरेको स्राेत छ भने पनि ल्याउन वातावरण बनाऔं भनेर राष्ट्र बैंकसँग मैले कुरा गरिसेको छु । स्राेत सुनिश्चित नभएका आयोजनाहरुको अवस्था हेरेर पूनमुल्यांकन गरिन्छ । आयोजनाहरु प्रारम्भिक चरणमै छन् भने खारेज गरिन्छ । कार्यान्वयनको चरणमा छन भने परिमार्जन गरेर सहि ढंगले अघि बढाउँछौं । हिजो अस्वभाविक ढंगले स्वीकृत गरिएका आयोजनाहरुको लिगेसी बोकेर यो सरकार चल्दैन। हामी श्वेतपत्र मार्फत आफ्ना योजना अघि सार्ने सोँचमा पनि छौं । स्थानीय तहको पैसा खर्च हुने वित्तिकै तरलताको समस्या समाधान हुन्न । हाम्रो तरलताका समस्या अलि दीर्घकालिन प्रकृतिको हुनेछ । हामीले उच्च दरको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेका छौं । हाम्रो स्राेतले मात्रै तरलताको समाधान सम्भव हुन्न । खुद पुँजी प्रवाहका सबै अवयव चलायमान बनाउनुपर्छ भन्ने मेरो धारणा हो । हामी भन्सार प्रणाली सुधारको अभियानमा छौं । हामी दरको बिषयमा कुरा गर्दैनौं, दायराको कुरा गर्छाै । सन्दर्भ पुस्तकलाई अघि बढि जोड दिन्छौं । भन्सारमा कम मूल्यांकन गरेर छोडिदिने र दरबार मार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । हामी मुहान नै सफा गर्ने अभियानमा छौं । हामी भन्सार देखि बजारसम्म अनुगमन गर्छाै । सामाजिक सुरक्षाका विभिन्न आयामहरु हुन्छन् । सामजिक सुरक्षा भनेको पैसा मात्रै हो भन्ने स्थापित हुन खोजिरहेको छ । नगद प्रवाहमा आधारित सामाजिक सुरक्षामा पूनमुल्यांकन हुनेछ । स्वास्थ्य बीमा, आवास, शिक्षा, खाद्यान्न लगायतका अवसरहरुमा यसलाई जोड्नु आवश्यक छ । यी कुराहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने हो । सामाजिक सुरक्षाका नाममा हामीले नगद मात्रै प्रवाह गरिरहेका छौं । त्यसले केहि विकृति ल्याएको छ, त्यसलाई हामी व्यवस्थित गर्छाै । (चालु आर्थिक बर्षको बजेटको मध्यावधि समिक्षामा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)
एभरेष्ट बैंकले मनायो १०८ औं महिला दिवस
काठमाडौं । १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ । बैंकले नर्भिक अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा २०० जना मानिसले विभिन्न विषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिक लगायतका रोग विषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए । अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा)ले गरेका थिए । उनले कार्यक्रममा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने विषयमा जानकारी दिएका थिए । बैंकले हालसम्म ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।
निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न निर्देशन दिइसकेको छु- गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डा. गर्भनर चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको बताए । चालु आर्थिक वर्षको २०७४/७५को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. गर्भनर नेपालले सो कुरा बताएका हुन् । उनले उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव देखिएको बताएका छन् । नेपाल राष्ट्र बैंकमा रहेको २८५ अर्ब रुपैयाँ बजारमा गएपछि लगानी योग्य पुँजीको समस्या समाधान हुने उनले बताए । कार्यक्रममा डा. गर्भनरले हाल वित्त प्रणालीमा सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिएका छन् । एक सय ५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जानकारी दिँदै उनले भने, ‘ठूलो मात्रामा वैदेशिक लगानी आउँदै छ । पुँजीगत खर्च पनि बढेपछि लगानीयोग्य पुँजीको समाधान हुनेछ ।’
नेपाल भोली स्कटल्याण्डसँग भिड्दै, के इतिहास रोकिएला ?
काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाली क्रिकटको इतिहासमा नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको छ । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराइसकेको छ । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक÷एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।
हेर्नुहोस्, आरम्भ माइक्रोफाइनान्सको सेयर कसले कति कित्ता पाए ?
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको आईपीओेको बुधबार बाँडफाँड भएको छ । कुल एक लाख ८६ हजार ३८ आवेदक मध्ये २७ हजार ४८ जनाले मात्र १० कित्ता सेयर पाएका छन् । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) कुल आवेदन परेको मध्ये ३८५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ ।
रुकुमको दुर्गम बस्तीमा एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्देश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तर्गत वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले वित्तीय पहुँचबाट बञ्चित समुदायका १४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको थियो । वित्तीय संस्थाले लघुवित्त कार्यक्रमका साथसाथै सदस्यहरुलाई उद्यमशील बनाउनको लागि क्षमता अभिवृद्धिका तालिम, सीप विकास तालिम र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने शिलशिलामा उक्त तालिमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले बचत किन गर्ने, कसरी बचत गर्न सकिने रहेछ भन्ने कुरा जान्न पाएको प्रतिक्रिया दिए । आजको सानो सानो बचतले पनि भविष्यमा ठुलो काम गर्न सकिने कुरा सिक्न पाएको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुले गाउँ ठाउँमै केही गर्छु भन्ने आँट भएका तर लगानी गर्न पैसा नभएका समुदायहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने र मासिक रुपमा वचत र किस्ता संकलन गर्न घरदैलोमै कर्मचारीहरु आउने भएकोले काम गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिएका छन् । २ दिनसम्म संचालन भएको उक्त तालिममा बचतको अर्थ, बचतको महत्व, वचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढी भन्दा बढी फाइदा लिने उपायहरु समेटिएको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले के कस्ता सेवा सुविधाहरु प्रदान गर्दछन् भन्ने कुराको जानकारीका साथै बीमा र बिप्रषणको बारेमा जानकारी गराईएको थियो ।
सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवनबीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ६७ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।