विकासन्युज

नेप्से १८ अंकले उकालो लाग्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ । बजारमा कुल १५८ कम्पनीको ४२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड २२ लाख, सानिमा बैंकको १ करोड ८६ र स्ट्याण्डार्ड चार्टर्ड बैंकको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो मध्ये सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन डिष्टीलरी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९४ र ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अघिल्लो दिनको तुलनामा ८.६६ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६१ अंकले बढेको छ । उत्पादनमूलक समूह सामान्य २.३९ अंकले अाेरालाे लागेकाे छ ।

उपत्यकाको फोहोर उठाउन २१९ रुपैंया, प्राकृतिक ग्याँससहित ५ मेगावट विद्युत उत्पादन गर्ने

काठमाडौं । नेपवेस्ट प्राइभेट लिमिटेडले उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्न प्रतिपरिवार २१९ रुपैंयामा उठाउने भएको छ ।  लगानी बोर्ड र नेपवेस्टबिच पीडीए फाइलमा हस्तारक्षर भएपछि फोहोर उठाउने सहमति भएको हो । बुधबार सहमति पत्रमा लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी र नेपवेस्ट प्राइभेट लिमिटेडकी संगिता श्रेष्ठबिच हस्तक्षर भएको हो । पीडीए फाइलमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख अधिकारीले लामो समयको कामपछि अब काठमाडौं उपत्याकाको वातावरण स्वच्छ हुने बेला आएको बताए । ‘उपत्यकामा धेरै स्थानीय सरकार रहेका छन्, सबैको राय लिन अब २ महिना लाग्छ, त्यसपछि फाइनल पत्रमा हस्ताक्षर गरी काम अघि बढ्छ, यसमा कुनैपनि निकायले कार्य सम्पादनमा ढिलाई गर्नु हुदैन’, अधिकारीले भने । सहमतिबाट आफ्नो कम्पनी खुशि रहेको बताउदै नेपवेस्टका अध्यक्ष श्रेष्ठले अब काम छिट्टै अगाडी बढ्ने बताए । सहमति अनुसार उपत्यकाबासीले अब प्रति घरपरिवार २१९ रुपैंया मासिक नेपवेस्टलाई तिर्नुपर्ने हुन्छ भने वार्षिक रुपमा २६२८ रुपैंया बुझाउनु पर्ने हुन्छ । फोहोर उठाउन नेपवेस्ट उपत्याकाबासीको घर-घरमा आउनेछ । फाइनल पत्रमा हस्ताक्षर भएपछि नेपवेस्टलाई प्रतिघर लाग्ने रकम उठाउने अधिकार हनेछ । घरपरिवारको निर्धारण तथ्यांक विभागले गरेअनुसार हुने परामर्शदाता आसिस गजुरेलले बताए । कुहिने र नकुहिने फोहोर मैला विभाजन गरी लिमिटेडले कम्पोष्ट मल, पेट्रोल, डिजल, ५ मेगावटसम्म विद्युत र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ । यस कार्यक्रम अन्तर्गत काठमाडौं महानगर, दक्षिकाली नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन कागेश्वरी मनहरा नगरपालिका र शंखरापुर नगरपालिका रहेका छन् । नेपवेस्टले यो कार्यक्रम गर्न ५० मिलियन अमेरिकन डलर खर्च लाग्ने बताएको छ । कार्यक्रम सुरु भएको २० वर्षपछि कम्पनीले फोहोरमैला व्यवस्थापन कार्यक्रम नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भको सेयर बाँडफाँड, २७ हजारले पाए १० कित्ता

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । उक्त आईपीओमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये २६ करोड १४ हजार ८८० कित्ता सेयर खरिदका लागि २६ करोड १४ लाख ८८ हजार बराबरको ४३ हजार ४५६ वटा आवेदन मेरो सेयर मार्फत प्राप्त भएको हो । यसमध्ये एक भन्दा बढी डिम्याट खाता प्रयोग गरी आवेदन गरिएका ३८५ वटा आवेदन रद्ध भएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ । सेन्ट्रलाइज्ड आस्वा अर्थात सी आस्वा प्रणाली सुरु भएपछि निष्काशन बन्द भएकाे छाेटाे अवधिमै सेयर बाँडफाँड भएकाे हाे । कम्पनीको गत सोमबार अर्थात फागुन २१ गते आईपीओको निष्काशन बन्द भएको थियो । भारतमा भन्दा चाँडोः कार्की कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भारतमा भन्दा पनि चाँडो सेयर बाँडफाँड को इतिहास रचेको बताए । भारतमा निष्काशन बन्द भएको ६ दिनभित्र सेयर बाँडफाँड गर्ने प्रचलन रहेको तर नेपालमा ३७ घण्टामै बाडफाँट गरेर इतिहास रचेको दावी उनको थियो । सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि प्राथमिक सेयरको आवेदन र बाँडफाँडमा नजिर स्थापित गरेको दावी गरेका थिए ।

काँग्रेस नेत्री राईद्धारा राष्ट्रपतिमा उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्। यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाए । महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उनीविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रासस

राष्ट्रपति भण्डारीद्धारा दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले बुधबार उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्। राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेकपा (एमाले) ले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रासस

रानीपोखरी पुननिर्माणमा महानगरपालिकाले पुरातत्व विभागलाई पत्र काट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई ड्रोइङ, डिजाईनिङ र स्टमेटको लागि पत्र पठाएको छ । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोप सहित फौज्दारी मुद्दा दर्ता गरे पछि महानगरले पत्र काटेकाे हाे । पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने, “रानीपोखरीको काम पटक पटक विवादमा आइरहेको थियो । बिचमा बालगोपालेश्वर मन्दिर र छेउमा सौन्दर्यकरण गरि दुई पार्टमा काम सञ्चालन भैरहेको थियो । बालगोपालेश्वर मन्दिर पनि पहिले काठमाडौं महानगरपालिकाले काम गरेको थियो पछि विवाद आएर पुरातत्व विभागले गरेको हो र अहिले काम सञ्चालन भैरहेको पनि छ ।” उनले भने, “सौन्दर्यकरणको काम काठमाडौं महानगरपालिकाले सम्झौता गरेको हो । अहिले त्यहिनै विवादमा आएको हो । पुरातत्व विभागले सौन्दर्यकरणलाई कुनै किसिमको सम्झौता दिएको छैन । अहिले सौन्दर्यकरणमा आरसीसी प्रयोग गरीयो भनेर विवादमा आएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकारणसँगको छलफलमा नै हाम्रो मैलिकता झल्कने र बलियो पनि हुने गरि पुनःनिर्माण गर्ने छलफल भएको छ ।” मुद्दा हाल्दा पनि पहिले पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्रधिकारणमा हाल्नु पर्ने हो तर त्यसो नभैकन महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको छ ।  

वैशाख २२ मा सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय

जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा प्रतिबद्धता व्यक्त गरेको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकारी उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गर्दै बैठकले महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । बैठकले स्वास्थ्य बीमाको थप योजना अघि बढाउने निर्णय गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने उल्लेख छ । आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बैठकले केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गरेको छ । बैठकले आफैँ श्रमजीवी आफैँ सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न सरकारसँग माग गरेको छ । पे्रस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दै राज्यका सबै निकायमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न आग्रह बैठकले गरेको छ । प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठकले माग गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुका साथै जनकपुरधामका ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि जनकपुर–अयोध्या परिपथ निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यान आकृष्ट गराउने निर्णय गरेको छ । महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशमा क्रमशः इ-ल्याब्रेरीको स्थापना गर्ने निर्णय बैठकले गरेको छ । विभिन्न सञ्चार माध्यममा लामो समयदेखि कार्यरत स्टिकरलाई प्रक्रिया पुर्याएर चाँडो स्थायीका लागि सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण पनि बैठकले गरेको छ । बैठकले महासंघलाई ट्रेड यूनियन संस्थाका रूपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गर्दै प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गीकरणमा विभेद र पूर्वाग्राही नहुन माग गरेको छ । रासस

नेपालको एक्ला खर्बपति विनोद चौधरी फोर्ब्सकाे सूचीमा ६ स्थान सुधार गर्दै १५६१ औं स्थानमा

काटमाडौं । नेपालका खर्बपति बिनोद चौधरीले अमेरिकी पत्रिका फोर्ब्सले निकालेकाे सूचिमा ६ स्थान सुधार गरेका छन् । २०१७ मा फोर्ब्सको सूचिमा १५६७ औं स्थानमा रहेका चौधरी ०१८ मा १५६१ औं स्थानमा आइपुगेका हुन् । तीन सन्तानका पिता चौधरी नेपालमा चौधरी ग्रुपको अध्यक्ष रहेका छन् । उनी फोर्ब्सको सूचिमा पर्ने एक्ला नेपाली उद्यमी हुन् । फोर्ब्सले निकलेको नयाँ सूचि अनुसार उनको कुल सम्पति १.५२ बिलियन अमेरिकी डलर रहेको छ । नेपालको प्रतिनिधि सभाको सदस्य समेत रहेका चौधरीले नेपाल, भारत, चीन र दुबैमा होटल सञ्चालन गरिरहेका छन् । चौधरी ग्रुपले उत्पादन गरेको खाद्य बस्तु, इलेक्ट्रोनिक समाग्री, होटल व्यावसाय मध्ये सबैभन्दा लोकप्रिय वाइवाइ चाउचाउ बनेको छ । वाइवाइ चाउचाउ नेपाल सहित भारत, बंगादेश, पाकिस्तान, सर्बिया लगायत देशमा लोकप्रिय बन्दै आएको छ । ६२ वर्षिय चौधरीको गत वर्ष १.३ बिलियन अमेरिकी डलर रहेको थियो ।