विकासन्युज

विद्या भण्डारीलाई राष्ट्रपति दोहोर्याउने एमालेकाे निर्णय, मध्यरातमा के के भयो बालुवाटारमा ?

काठमाडौं । नेकपा(एमाले)ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई दोश्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनाउने निर्णय गरेको हो । पार्टी बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै भण्डारीले शितल निवासको दोश्रो इनिङ पक्का गरेकी हुन् । खनाल यस अघि पनि राष्ट्रपतिका आकांक्षी थिए । आजै राष्ट्रपतिका लागि भणडरीको मनोनयन दर्ता हुनेछ भने २९ गते निर्वाचन हुनेछ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी थिइन् । मध्यरातमा के के भयो बालुवाटारमा ? राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि स्थायी कमिटीको बैठक डाकिएको थियो । तर बैठक भने ढिलो गरि ६ बजे मात्रै सुरु भयो । भण्डारीलाई राष्ट्रपति बनाउने ओली पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुषालले असहमति जनाए । त्यसपछि बैठक लम्बियो । पटक पटक बिभिन्न कोणबाट सहमतिको प्रयास भयो । भ्mलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका बामदेव गौतम मौन बसे । माधव नेपाल, गोकर्ण विष्ट र योगेश भट्टराईहले मध्यमार्गी धारणा राखे । त्यसपछि झलनाथ खनालले आफ्नो पक्षमा सहमति नहुने बुझेपछि स्थायी कमिटीमा निर्वाचन गराउने मनसाय व्यक्त गरेका थिए । तर बामदेव गौतमले नै साथ छाडेपछि स्थायी कमिटीमै अल्पमतमा पुगेको देखेपछि उनी पछि हटे र विद्या भण्डारीको शितल निवासमा दोश्रो इनिङ पक्का भयो । ‘पटक पटक छलफल भयो तर सहमति जुटेन, स्थायी कमिटीमै चुनाव गराउन खोज्दा पनि बामदेव गौतम लगायतले साथ छाडेपछि अल्पमतमा परिने स्पष्टै थियो, त्यसैले जेएन कमरेड पछि हट्नुभयो’, एमाले उच्च श्रोतले भन्यो ।

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् कर्णालीको समृद्धि हो – मन्त्री भण्डारी

दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताए। उनले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दिगो विकासका लागि जुनसुकै नागरिकले दिएका राम्रा सुझाव र सल्लाह सहजै ग्रहण गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ । कर्णाली प्रदेशको समृद्धिका लागि पहिलो काम दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् भएको उनले उल्लेख गरेका छन् । शपथ ग्रहण गरेको चौथो दिनमै शान्ति सुरक्षाको खाका तयार पारेर यो अभियान प्रदेशभर लैजाने सिलसिलामा पहिलो कार्यक्रम दैलेखमा गरिएको भण्डारीले स्पष्ट पारे । उनले भने – ‘कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्छौं । ठूला आयोजनाको जिम्मा लिएकाहरुले ढिलाइ गरे कालोसूचीमा राख्छौं ।’रासस

प्रदेश १ को सरकारद्वारा १०० दिने कार्यक्रम सार्वजनिक, गुनासो सुन्नेदेखि आयआर्जनको नीतिसम्म

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुस्त एवम् प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको स्पष्ट पारेका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारको सय दिनको कार्यक्रमलाई सार्वजनिक गर्दै मन्त्रालयको भौतिक संरचना, वित्तीय साधनस्रोत र मानव संसाधनको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै सरकारको आवश्यक कानून, अल्पकालीन नीति तथा रणनीति तयार पारी सोको कार्यान्वयन गर्ने जानकारी दिए। उनका अनुसार प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरुमा गुनासो सुन्ने अधिकारी, नागरिक हेल्प डेस्क, वडापत्र, विद्युतीय डिस्प्ले सूचना बोर्ड र सूचना केन्द्र स्थापना गर्नुका साथै महिनामा एकपटक नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने छ । सरकारको सय दिने कार्यक्रममा जग्गामा चक्लाबन्दी नीति, उत्पादकत्व वृद्धि, कृषि, मासु, अण्डाको बजारीकरण, सहकारीको माध्यमबाट आयआर्जनको नीतिको अवलम्बन गरिने उल्लेख छ । ग्रामीण क्षेत्रमा चिकित्सकलाई बस्न प्रोत्साहन गर्ने, स्वास्थ्य शिविरको सञ्चालन गर्ने, विद्यार्थी भर्ना शतप्रतिशत पुर्याउने, दक्ष जनशक्ति उत्पादनमा जोड दिने, प्रत्येक जिल्लामा एक–एक प्राविधिक शिक्षालयको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सबै रीतिरिवाज र भाषा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम पनि समेटिएका छन् । रासस  

कृषकका समस्या हल गर्न ‘कृषकसँग मन्त्री कार्यक्रम’

पोखरा । प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पुर्याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री कार्यक्रम’ अघि सारिएको बताए । प्रेस क्लब पोखराद्वारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उनले कृषिप्रतिको अनिच्छालाई कम गराउँदै यसलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न उक्त कार्यक्रम आवश्यक भएको बताए । कृषकसँग मन्त्री कार्यक्रमअन्तर्गत कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने उनको भनाइ छ। ‘कृषिको व्यावसायिकीकरणका माध्यमबाट यसतर्फ सर्वसाधारणलाई आकर्षित गरी बाँझो जमिनलाई उत्पादनमुखी बनाउनु आवश्यक छ’, उहाँले भने, ‘कृषिको विकासलाई लक्षित गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।’ प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उनको जोड छ। प्रदेश सभा सदस्य कुमार खड्काले प्रदेश नं ४ लाई पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने धारणा राख्दै रोजगारीको खोजीमा विदेशिएका युवालाई यही नै रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए। अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश नं ४ मा प्रकृति पदत्त स्रोत साधनको संरक्षण र विकास गर्दै त्यसैका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । प्रदेश सभा सदस्य हरिशरण आचार्यले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्नेमा जोड दिएका थिए। रासस

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड

भक्तपुर । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको मंगलबार उद्घाटन गरेका छन् । अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उनले सो वार्डको उद्घाटन गरेका हुन् । सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्चना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताएका छन् । अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताए । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ । प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् । रासस

मानव संसाधनलाई संस्थागत परिवर्तनका लागि दुई दिने सम्मेलन हुने

काठमाडौं । ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औ संस्करण ‘एच् आर मिट २०१८’ आगामी चैत ५ र ६ गते आयोजना गर्ने भएको छ । सेलर्सले मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित उक्त दुई दिने सम्मेलन गर्न लागेको हो । ‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाक्न सक्छ’ भन्ने भावको उक्त सम्मेलनमा, मानव संसाधनका विषयमा आफ्ना सत्रहरू प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरू हुनेछन् । वक्ताहरूले आफ्ना सत्रहरू दि डिजाइन थिन्किंग वे (रुपरेखा सोच्ने तरिका) र एम्प्लोई इंगेजमेन्ट (कर्मचारी संलग्नता) विषयक प्रस्तुती दिनेछन् । २५० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरूलाई लक्षित यस कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, समानान्तर सत्रहरू, प्यानल अन्तरवार्ता र तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू रहेका छन् । यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरू बीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना गरेको छ । आयोजकहरूका अनुसार, अघिल्लो वर्षको कार्यक्रममा ठुला व्यवसायिक प्रतिष्ठान, ब्यांकिंग, उत्पादन, सुचना प्रविधि, संस्थान, अरगैसस र देश भरका विभिन्न क्षेत्रका २ सय ६० जतिको सहभागिता रहेको थियो र यस संस्करणका लागि पनि यतिकै अपेक्षा राखिएको छ । मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरूले यस भेलामा भाग लिन सक्नेछन् । त्यसैगरि, आयोजकले सेजोनका सदस्यहरूका विकासका लागि आफ्नो वार्षिक प्रतिवद्दता अनुरूप मानव संसाधन भेलाको शुल्कबाट छुट्याइएको २५ हजार रुपैयाँ आर्थिक पत्रकार समाजको खातामा जम्मा गरेको छ ।

अन्तःशुल्कको नक्कली स्टिकर बोक्ने तीनजना जरिवाना तिरेर रिहा

लहान । अन्तःशुल्कको नक्कली स्टिकरसहित प्रहरीले पक्राउ गरेका तीनजनालाई आन्तरिक राजश्व कार्यालय लहान सिरहाले आज बिगो बमोजिमको जरिवाना तिराएर रिहा गरेको छ । नक्कली स्टिकरसहित पक्राउ परेका लहान नगरपालिका–८ निवासी सुमितचन्द्र देव, लहान नगरपालिका–५ निवासी आनन्द साह र लहान नगरपालिका–३ निवासी सत्यनारायणलाई स्टिकरवापतको बिगो कायम गरी सो बमोजिमको जरिवाना तिराएर रिहा गरेको आन्तरिक राजश्व कार्यालय लहान सिरहाका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । अन्तःशुल्क ऐन, २०५८ अनुसार तीनैजनामाथि मुद्दा चलाइएको र सोही ऐनअन्तर्गत बरामद भएको स्टिकरको बिगो कायम गरी जरिवाना तिराएर तत्कालका लागि रिहा गरिने निर्णय लिइएको प्रमुख अधिकारीले बताए । सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले अन्तःशुल्कको नक्कली स्टिकरसहित सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाको बयानका आधारमा प्रहरीले लहान नगरपालिका–३ निवासी सत्यनारायण साहलाई पनि सोही दिन पक्राउ गरेको थियो । सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीको बडहरीगाउँ हुँदै स७प ५५५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैजनालाई रोकेर झोलाको तलाशी लिँदा अन्तःशुल्कको नक्कली स्टिकर पाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले बताए । कर्मचारी अभावका कारण राजश्वको कर्मचारी अनुपस्थित हुने भएपछि सक्कलीमै मिसाएर नक्कली स्टिकर टाँस्न तस्करमार्फत नक्कली स्टिकर नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेका तीनैजनाले नक्कली स्टिकर सीमावर्ती भारतीय बजार पिप्राहीबाट झोलामा हालेर ल्याएको बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।-रासस

सरकारमा सहभागी हुने फोरमको निर्णय

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको बैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणाम स्वरुप अहिले वैचारिक रुपमा राजनीतिक सफलता प्राप्त भएको ठहर फोरमले गरेको छ । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रसँग छलफल हुने छ । पार्टीले सरकार तथा दुबै दलका शीर्ष नेतासँग केही दिनदेखि अनौपचारिक रुपमा वार्ता गरीरहेको थियो । सो दलको प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धनको सरकार यही फागुन ३ गते गठन भएको थियो । रासस