विकासन्युज

डलर र सुन कारोबारमा राष्ट्र बैंकलाई २७ अर्ब ६३ करोड घाटा, जोखिम व्यहोर्न हेजिङ फण्ड

काठमाडौं । विदेशी विनिमय र सुनको मूल्यमा भएको घटबढले नेपाल राष्ट्र बैंकले अर्बौ रकम गुमाएको छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्रा र सुन कारोबारमा सामान्य घटबढ हुँदा मात्रै २७ अर्ब ६३ करोड रुपैयाँ गुमाएको हो । यसले बैंकको वित्तीय अवस्थामा ठुलो असर गरेको देखिन्छ । महालेखा परिक्षकको कार्यालयका अनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड र सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएकोे छ । विदेशी मुद्रा र सुनको कारोबारमा भएको घटबढले राष्ट्र बैंकले अर्बो रुपैयाँ गुमाएको भन्दै महालेखाले यस्तो क्षति न्युनिकरण गर्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग फण्ड उपकरणको प्रयोग गर्न केन्द्रीय बैंकलाई सुझाएको छ । हेजिङ फण्ड उपकरण प्रयोग नगरे आगामी दिनमा थप दायित्व बढ्ने सुझाएको छ । यता विदेशी प्रवद्र्धंकसंग अमेरिकी डलरमा बिजुली खरिद (डलर पीपीए) गर्दा नेपाल विद्युत प्राधिकरणलाई अर्बो रुपैयाँ दायित्व थप भएको र आगामी दिनमा यसलाई व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले हेजिङ फण्ड स्थापनको प्रक्रिया अघि बढेको छ । हेजिङमा प्रवद्र्धक र विद्युत प्राधिकरणले जोखिम ब्योहर्ने गरी हेजिङ फण्ड स्थापनाको तयारी भइरहेको छ ।  

नेपाल सेवा लघुवित्तको आईपीओ बैशाख १२ देखि खुला, न्युनतम ५० र बढीमा ९०० कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।  

कुलेखानी सिस्नेरी सडक खण्ड ११ गतेदेखि १६ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । कुलेखानी सिस्नेरी सडकखण्ड बैशाख ११ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बर्खा अगावै सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यलयले सडक बन्द गरेरै काम सुरु गर्न लागेको हो । सडक विस्तारको क्रममा पहाड काट्नु पर्ने भएकोले सडक बन्द गर्नु परेको कार्यलयले जनाएको छ । अब अर्को हप्ताको मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुनेछ । निर्माण अवधिभर सो रुटमा गुडने सवारीले लेन अनुसासन साथै ओभरटेक गर्दा विचार पुर्याउनु पर्नेछ । नियम अनुसार सवारी नचलाएमा कानून बमोजिम कडा कारबाही हुने कार्यलयले जनाएको छ । साथै वैकल्पिक बाटो प्रयोग गरी सक्ने सवारीले यस रुटको प्रयोग नगर्न कार्यलयले आग्रह गरेको छ ।

सिण्डिकेटको माग गर्दै व्यवसायीले यातायात ठप्प पार्ने तयारी

  काठमाडौं ।सिन्डिकेटको माग गर्दै यातायात व्यवसायीले आन्दोलन गर्ने भएका छन् । सरकारले सिण्डिकेट हटाउने भएपछि यसलाई कायम राख्न भन्दै यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने भएका हुन् । सरकारले हालै लागु गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै यायातात व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्दोलन गर्ने जानकारी दिए । उनले मंगलबार महासंघको बैठकले निर्णय गरी बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणा गर्ने जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सबै यातायातका साधन बन्द र माग पुरा नभए २६ गतेदेखि यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् ।    

फेरी पेट्रोलियमको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर १०६, डिजेल ८७ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।पेट्रोलको भाउ बढेर प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको भाउ बढेर प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको हो । इन्डियन आयल कर्पोरेशन लिमिटेडले भाउ बढेको मूल्यसुचि पठाएपछि निगमले बढाएको हो ।

जाइका, यूएसएड, डिएफआईडीले कामको प्रतिवेदन बुझायो

काठमाडौं । जाइका, यूएसएड, डिएफआईडी लगायत संस्थाले कामको विवरण बुझाएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आफ्ना राष्ट्र एवम् नियोग तथा साझेदार संस्थाहरुले गरेका पुनर्निर्माण कार्यहरुको प्रगति समीक्षा गरेका हन् । साेमबार राष्ट्रिय पुननिर्माण प्राधिकरणमा भएको कार्यक्रममा छिमेकी राष्ट्रहरु भारत, चीन र स्वीट्जरल्याण्डका नेपालस्थिति राजदूतावासका प्रतिनिधिहरुले नेपालको पुननिर्माणको क्षेत्रमा भइरहेका परियोजनाहरुको बारेमा विस्तृत जानकारी दिंदै तिनलाई बेलैमा सम्पन्न गर्न भइरहेका प्रयासबारे अवगत गराए । साथै, युरोपेली युनियन, विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रसंघीय निकायहरु यूएनडीपी र यूएनओपिएस तथा पुनर्निर्माणमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरुको समन्वयकारी संस्था एचआरआरपीका प्रतिनिधिले पुनर्निर्माणको क्षेत्रमा आ–आफ्ना संस्थाहरुका तर्फबाट भइरहेका कार्य तथा आर्थिक परिचालनको स्थितिबारे जानकारी गराएका थिए ।

७ हजार घुस खाने ट्राफिक प्रहरी मोतिकुमार श्रेष्ठ पक्राउ

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिदालिदैं मकवानपुरबाट खटिइ गएको अख्तियार टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ सत्तरी हजार घुस सहित पक्राउ परेका हुन् । उनीमाथी थप अनुसन्धान गर्दै जादा मुस्तकिम मिया र सलामदिन मिया समेत नियन्त्रणमा लिई जरिवाना र कैद सजायकाे माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

कैलाश विकास बैंकको ४८औँ शाखा सञ्चालनमा

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले ४८औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बैशाख ३ गते (आज) सोमवारदेखि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुको बाहुलीबाट एक समारोहका बिच सुसम्पन्न भयो । उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्ज्यूकेटिभ कृष्णगोपाल मानन्धरले यस संस्थाले वित्तिय क्षेत्रमा पुर्याएको योगदानको वारेमा प्रकाश पारेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।