युनाइेटड इन्स्योरेन्सको फायर पोलिसी फेरी रोकियो, ३० प्रतिशत बजार खोसियो
काठमाडौं । युनाइेटड इन्स्योरेन्स कम्पनीको फायर पोलिसी फेरी रोकिएको छ । कम्पनीको आर्थिक सुशासनमा समस्या देखिएपछि बीमा समितिले युनाइटेडको फायर पोलिसीमा रोक लगाएको हो । ‘युनाइटेड इन्स्योरेन्सलाई चैत २९ गते पत्र लेखेर फायर पोलिसी कार्यान्वयन नगर्न भनेका हौं’, बीमा समिति श्रोतले भन्यो । युनाइटेडको फायर पोलिसीमा २०७१ सालमा पनि रोक लागेको थियो । सीजी इलोक्ट्रोनिक्सको गोदामा आगलागी हुँदा गरिएको दावी भुक्तानीका कारण युनाइटेड इन्स्योरेन्सको फायर पोलिसी माथी रोक लागेको हो । कम्पनीले वास्तविक क्षति भन्दा २४ करोड बढि दावी भुक्तानी गरेको थियो । बीमा समितिले सो रकम सीजी इलेक्ट्रोनिक्सँग फिर्ता लिन भनेको थियो । त्यसका विरुद्ध सीजीले तत्कालिन पुनरावेदन अदालतबाट अन्तरकालिन आदेश ल्याएको थियो । तर सोही अदालतले अन्तरकालिन आदेश खारेज गरेर बीमा समितिको निर्णय कार्यान्वयन गर्न आदेश दिँदै २०७४ साल चैत ८ गते पुर्ण पाठ पठाएको थियो । समितिले अदालतको सोही पुर्ण पाठका आधारमा बीमा समितिले फायर पोलिसी रोक्ने पुरानो निर्णय पुनः कार्यान्वयन गरेको हो । निर्जीबन बीमा कम्पनीहरुमा फायर पोलिसीको हिस्सा औषतमा ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । फायर पोलिसी रोकिएसँगै युनाइटेड इन्स्योरेन्सको प्रीमियम पनि ३० प्रतिशतकै हाराहारीमा घट्नेछ । सीजीबाट २४ करोड रुपैंयाँ असुली गरेर प्रोभिजनमा राखिएको सोही बराबरको रकम निकालेपछि फायर पोलिसीमाथीको प्रतिबन्ध पनि फुकुवा हुने बीमा समितिले जनाएको छ ।
एनएमबी र सिटिजन्स बैंकको प्रिमियम मूल्य एफपीओ आउदै, हेर्नुस कसको कति
काठमाडौं । दुई वाणिज्य बैंकले प्रिमियम मूल्यमा १ करोड १८ लाख ७८ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्ने भएका छन् ।एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले चुक्तापुँजी बढाउन र सिटिजन्सले लगानी संरचना परिवर्तन गर्न एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । उसले एफपीओ निष्कासन गर्न गत जेठ २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यस्तै सिटिजन्स बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले प्रिमियम आम्दानी मात्र ६ करोड ७२ लाख रूपैयाँ आम्दानी हुनेछ । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ ।
१८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, क-कसले कति कमाए ?
काठमाडौं । मंगलबारको सेयर बजारमा विभिन्न १८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सो मध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी तीन वटै कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत बढी कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७७०, प्रुडेन्सियल इन्स्योरेन्सको ८४७ र र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य १० हजार २९७ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशत कमाएका छन् । त्यसैगरी, डिप्रोक्स डेभलपमेन्ट बैंकको ९.९४, आरएसडीसी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.९३ र यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.८८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८५, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८३ र नेरुडे लघुवित्त विकास बैंकको ९.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, लघुवित्त लगानी तथा विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा क्रमशः ९.४६, ९.३५, ९.१७ र ९.०८ प्रतिशत कमाएका छन् । कुल १६६ कम्पनीको कारोबार भएको थियो । सो मध्ये १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सहयोगी विकास बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।
सेयर बजार ३३ अंकले बढ्दा सबैभन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको, यस्तो छ कारण
काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली देखिएको छ । मंगलबार ९५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३७ करोड ७२ लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।मंगलबार व्यापार बाहेक, बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । कारोबार रकममा उच्च वृद्धि देखिएको सो दिनको बजारमा यस कम्पनीको मात्रै ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि लगानीकर्ता सूर्या लाइफमा झुम्मिएका हुन् । कम्पनीको करिब १००० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमा आउने भएपछि सेयर लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले सेयर कारोबार बढेको हो । कम्पनीले जारी गरिरहेको उक्त हकप्रद सेयरको म्याद भोलिदेखि बन्द हुँदैछ ।
फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा समितिका संयोजक कृष्णभक्त पोखरेलले विगतमा मुद्दा लागिसकेर कारागारमै रहे पनि सांसद पद रहिरहने नभई अन्तिम फैसला नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए । फैसलाले सांसद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको बताउँदै उनले सांसद पदमुक्त भएका खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था राख्न लागिएको जानकारी दिएका छन् । संयोजक पोखरेलका अनुसार अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्नेछ । सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको छ । विगतमा धेरै समिति बनाइए पनि प्रभावकारी रुपमा काम गर्न नसकेका कारण अब घटाएर १० मात्रै समिति बनाउने विषयमा प्रतिपक्ष दलसहितसँग सहमति भएको संयोजक पोखरेलले बताए । समितिका सदस्य मीनबहादुर विश्वकर्माले संसदीय समिति सात वटा बनाउनुपर्नेमा जोड दिएका छन् । नियमावली बनाउँदा न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउने गरी बनाउन नहुने बताउँदै स्वतन्त्र न्यायपालिकालाई संसद्ले सीधै हेर्न नहुने विचार व्यक्त गरेका छन् । विश्वकर्माले भने, “छ महिनाभित्र झण्डै तीन सय वटा कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नाको विकल्प छैन । ” तेह्र सदस्यीय समितिका अन्य सदस्यमा जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा मीनेन्द्र रिजाल, रवीन्द्रप्रसाद अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव छन् । रासस
सिटी एक्सप्रेस र क्विक् पे बिच रेमिटान्स सम्झौता
काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याती प्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ । सम्झौता पश्चात क्विक पेको ३१८७ एटिएम् साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ । नेशनल् कमर्सियल बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।
रित्तिँदै राष्ट्र बैंक, एकै दिन ६७ कर्मचारी बाहिरिए, यो वर्षमात्रै १५१ ले अवकास पाउदै
काठमाडौं । राज्यको ढुकुटी सम्हाल्ने तथा बैंक तथा वित्तीय संस्था नियमन गर्ने नेपाल राष्ट्र बैंकबाट कर्मचारी रित्तिदैँ गएका छन् ।कर्मचारी नभएर केन्द्रिय बैंक रिक्तिनै लागेको प्रमाण हो एकै दिन ६७ जना कर्मचारीले अनिवार्य अवकास पाउनु हाे । अवकास पाउनु १ महिनाअघि बैशाख ४ गते मंगलबारदेखि नै ६७ जना कर्मचारी विदा वसेका छन् । उनीहरुले आउदो जेठ ४ गतैदेखि अनिवार्य अवकास पाउदैछन् । कार्यकारी निर्देशकदेखि सहायक निर्देशकले अवकास पाएका हुन् । ३० बर्षे सेवा अवधी वा उमेर हद ५८ बर्षका आधारमा यी कर्मचारीहरुले अनिवार्य अवकास पाएका हुन् । यसरी अवकास पाउनेमध्ये अधिकांश भने ३० बर्षे सेवा अवधीका कारण बाहिरिन बाध्य भएका हुन् । कर्मचारी व्यस्थापनमा लोकसेवा आयोग र सरकार दुबैले असहयोग गर्दा समस्या बढेको देखिन्छ । लोक सेवा आयोगले अहिले नयाँ व्यवस्था कार्यन्वयन गर्न नमिल्ने भनेपछि राष्ट्र बैंकबाट ठुलो संख्यामा कर्मचारीले अवकास पाउन लागेका हुन् । प्रत्येक शाखाबाट विभिन्न समयमा गरी एउटा शाखाबाट औसत ५ जना कर्मचारीले अवकास पाउने भएका छन् । यसअघि राष्ट्र बैंक व्यवस्थापनले ३० वर्षे प्रावधानलाई हटाएर ५८ वर्षे अवकास योजनमा लोक सेवाले अस्वीकार गरेपछि त्यत्तिकै टरेको छ । “पहिला नै कर्मचारीको अभाव थियो र प्रभावकारी रुपमा काम गर्न सकिएको थिएन, अहिले धेरैले अवकास पाउने भएपछि हाहाकार नै भएको छ” राष्ट्र बैंकका एक अधिकारीले भने “ अब जनसरोकारका अत्यावश्यक काम बाहेक अन्य काम गर्न नसकिने अवस्थामा पुगिएको छ ।” ती अधिकारीका अनुसार बैंक सुपरीवेक्षण, नियमन र विदेशी विनिमयको अनुगमन र सुरपरीवेक्षण जस्ता काम नहुने अवस्था आएको छ । कर्मचारीको अभावमा विदेशी विनिमय विभागले २ वर्षदेखि बैंकले गर्ने विदेशी मुद्रा कारोबारको अनुगमन गर्न सकेको छैन् । केन्द्रीय बैंकमा हाल १ हजार ७१ जना कर्मचारी कार्यरत छन् । राष्ट्र बैंकमा सेवा अवधी ३० बर्ष वा उमेर ५८ बर्ष मध्ये जुन पहिले हुन्छ सोही आधारमा अवकास हुने व्यवस्था छ । एक वर्षमा १५५ जनाले अवकास पाउने केन्द्रीय बैंकले जनाएको छ । रित्तपदपूर्ति गर्न बैंकले सहायक ९६, अधिकृत ४५ र १० जना कम्प्युटर अपरेटर मागेको छ । १५१ जनाको विज्ञापन गर्दा ५६ हजारको आवेदन परेको छ । कर्मचारीको लिखित परीक्षा र अन्तरवार्ता लोकसेवा आयोगले गर्नेछ ।
दरबार मार्गमा खुल्यो किंङस् लाउञ्ज, स्वादिष्ट परिकार र संगीतप्रेमीलाई उचित गन्तव्य
काठमाडौं । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए । राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक भट्टराईले भने । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार,गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रुप, लाईभ रुम,फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्का सञ्चालक रामचन्द्र श्रेष्ठले बताए । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन,प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट संचालनमा आएपनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमूना स्वरुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।