विकासन्युज

देव विकास बैंकको साधारणसभा असार २७ मा, १७ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । देव विकास बैंकको ११ औं वार्षिक साधारणसभा असार २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । बैंकले २४ करोड ७० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ । यस्तै कर प्रयोजनका लागि १ करोड ३० लाख रुपैयाँ लाभांश पनि स्वीकृत गर्ने छ । बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि उपर्युत बैंक तथा वित्तीय संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि साधारणसभाले स्वीकृति प्रदान गर्ने छ ।

ओलीको चीन भ्रमण खर्च १ करोड ९३ लाख, हिमालय एयरलाईन्सले मात्रै बुझ्दैछ ६४ लाख रुपैंयाँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैंया खर्च हुने भएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा आफु निकटका व्यवसायी आङछिरिङ शेर्पाको हिमालय एयरलाइन्स प्रयोग गरेका छन् । अघिल्लो पटक चीन भ्रमणमा जाँदा पनि ओलीले हिमालय कै जहाज प्रयोग गरेका थिए । ओलीले सो जहाजका लागि ६४ लाख ९२ हजार रुपैंयाँ भाडा तिर्नेछन् । ओलीको चीन भ्रमणका लागि हिमालयको बिजनेश क्लासको टिकटका एक तर्फी भाडा १० हजार ७ सय ६० डलर लाग्छ । त्यस्तै इकोनोमी क्लासमा सवारी सरकारी टोलीका अन्य ३९ सदस्यहरुका लागि २७ हजार ८८५ डलर खर्च हुन्छ । भ्रमण दलका १७ सदस्य लिएर ओली ल्हासा जाँदैछन् । त्यसका लागि ११ हजार ५० डलर खर्च हुनेछ । प्रधानमन्त्रीसहित भ्रमण दलका सदस्यहरुका लागि प्रतिदन २५ अमेरिकी डलर थप खर्च सुबिधा उपलब्ध छ । यसबाट पाँच दिनमा प्रति व्यक्ति १२५ डलरका दरले खर्च दिइनेछ । चीन सरकारले खर्च व्यहोर्ने बाहेक १७ जनाका लागि बेईजिङमा होटल, खाना, स्वागत समारोहको प्रबन्ध नेपाली दुतावासले गर्नेछ । ओलीले चीन र ल्हासामा बिभिन्न अधिकारीहरुलाई उपलब्ध गराउने उपहारहरुको प्याकिङका लागि ५ हजार रुपैँया छुट्याएका छन् ।

लगानी जुटाउन नसकेपछि ९.७ मेगावाटको ईङवा आयोजनाको सम्झौता रद्ध हुदै, विद्युत प्राधिकरणले सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ईङवा हाइड्रोपावर प्राइभेट लिमिटेडसंग गरेको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) रद्ध गर्ने भएको छ । पीपीए गरेको ७ वर्ष बितिसक्दा पनि आयोजना निर्माण सुरु नभएपछि सम्झौता रद्ध गर्न लागेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण र कम्पनीबीच ०६८ असार १० गते पीपीए भएको थियो । त्यसबेला उसले ९.७ मेगावाटको आयोजना बनाउन डेढ वर्षभित्र लगानी जुटाउने प्रतिवद्धता व्यक्त गरेकोमा हालसम्म पनि आयोजना अघि बढाउन नसक्ने अवस्था आएपछि पीपीए रद्ध गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । यस्तै पीपीए भएको २ वर्षभित्र आयोजना निर्माण सम्पन्न नगरेपछि पीपीए खारेजको प्रक्रिया अघि बढेको उनको भनाई छ । प्राधिकरणको गत सोमबारको निर्णय अनुसार नोटिस अफ डिफल्टमा राखी ९० दिने स्पष्टिकरण सोधेको छ । सो अवधिमा चित्त बुझदो जवाफ नआए पीपीए रद्ध हुने उनले स्पष्टपारे ।

एनएमबी बैंकको एफपीओको सीमा बढ्यो, ५० लाख कित्तासम्म किन्न पाइने

काठमाडौं । लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) ५० लाख कित्तासम्म खरिद गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको हो । ५० लाख कित्ता एफपीओ खरिद गर्नेले १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने छ । बुधबारदेखि अधिकतम ५० लाख कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । एनएमबीको प्राकृतिक व्यक्तिले खरिद नगरेको एफपीओ कर्मचारी संचय कोष र केही बीमा कम्पनीले लिने प्रस्ताव गरेका छन् । अधिकतम सीमा हटेकाले बुधबार वा एक दुई दिनभित्र एफपीओ बिक्री हुने संभावना बढेको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार  छन् । खुलेको छैठौ दिन मंगलबारसम्म २ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार आवेदकले ६१ लाख ५६ हजार १५६ कित्तालाई आवेदन परेको छ । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।    

फोटोग्राफी सौखिनका लागि हुवावेले भित्र्यायो वहुप्रतीक्षित पी २० प्रो स्मार्टफोन, मूल्य ९९ हजार ९००

काठमाडौं । हुवावेको नयाँ स्मार्टफोन ‘हुवावे पी २० प्रो’ नेपाली बजारमा भित्रिएको छ । शुरुमा पेरिसको बजारमा भित्र्याइएको उक्त स्मार्टफोन फोटोग्राफीका पारखीहरूलाई प्राथिमकता दिइएको छ । फोन बहुप्रतीक्षित स्मार्टफोनमा विश्वकै पहिलो लाइका ट्रीपल क्यामेरा जडान गरिएको कम्पनीको भनाइ छ । हुवावे पी सर्भिसको सबैभन्दा यस नयाँ स्मार्टफोनले मोबाइल फोटोग्राफीको सिर्जनात्मकतालाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीले लिइएको छ । लाइका ट्रीपल क्यामेरामा भएको लाइका कलर टेम्प्रेचर सेन्सरको कारण सार्वजनि भएको मोबाइलले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार पर्ने बताइएको छ । कम्पनीको अनुसार क्यामेरामा अद्भुत ४० एमपी आरजीबी क्यामेरा सेटअप उपलब्ध छ । जसमा दृश्यको वास्तविक रङ कैद गरी तिक्खर तस्वीर निकाल्ने खुबी छ । त्यस्तै द २० एमपी मोनोक्रोम सेन्सर र टेलिफोटो लेन्ससहितको ८ एमपी सेन्सर उपलब्ध छ । यसबाट अध्याँरो ठाउँमा पनि आइएसओ १०२४०० सम्मको तस्वीर खिच्न सक्छ । फोनमा २४ मेघा पिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । जसले दिन वा रात, नजिक वा टाढा जस्तो सुकै दृश्य स्पष्ट र आकर्षक तरिकाले खिच्ने कम्पनीको भनाइ छ । साथै कृत्रिमवौद्धिकतायुक्त थ्रीडी फेसियल मोडलीङ प्रविधिले अनुहारको बनौट अनुरुप अद्भूत सेल्फीहरू निकाल्ने कम्पनीको दावी छ । फोनको विभिन्न फिचर्सहरुमा फुलभ्यू डिस्प्ले, ६.१ इञ्च स्क्रिनमा भिडियो, ४००० एमएएच क्षमताको व्याट्री, ६ जिबी रर्याम र १२८ जिबी रोम उपलब्ध छ । नयाँ खाले ट्वीलाइट, सुनौलो–गुलाबी, कालो र गाढा निलो रङमा उपलब्ध सो हुवावे पी २० प्रो अहिले नेपालमा भने ट्वीलाइट रङमा उपलब्ध छ । नेपाली बजारमा उक्त स्मार्टफोनको मूल्य कम्पनीले रु ९९,९०० तोकेको छ ।

मोरङको धनपाल गाउँपालिकामा सवा २ कराेड बराबरकाे ८० घर हस्तान्तरण

काठमाडौं । रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुई कोठे पक्की घर हस्तान्तरण गरिएको छ । धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल (मस्जिद) को समेत निर्माण गरिएको छ । दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए । यसअघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । संस्थाले २६ वर्षदेखि आयमुलुक कामका सामग्री र सीपमूलक तालीम समेत प्रदानगर्दै आइरहेको छ । उद्घाटनका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताएका । उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने समेत विश्वास दिलाए। मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गरे। उनले ‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु १ अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा व्यक्त गरे। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु ४ करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम लगायतमा खर्च गर्ने बताए । रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गरे । रासस  

आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न पायो अनुमति

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । छिट्टै हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त वादे श्रेष्ठले बताए ।

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने

काठमाडौँ । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ’, उनले भने । उद्योग विभागअन्तर्गत दर्ता भएका करीब सात हजार ५०० उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्ने बारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालको भनाइ छ । उनको अनुसार उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कूल लगानी, विदेशी लगानी, रोजगार मजदूर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ । औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेअनुसार विवरण पेश गर्नका लागि विभागले आग्रह गरेको हो । क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेश नगर्ने उद्योगपतिलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले जनाएको छ । उद्योग विभागबाट हाल रु १० करोडभन्दा कम विदेशी लगानीका साना उद्योग, रु १० देखि २५ करोडसम्मका मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानीका ठूला उद्योग दर्ता हुँदै आएका छन् । रासस