विकासन्युज

भारु हालसम्मकै कमजोर भई १ डलर बराबर ७० पुग्यो, नेपालमा के होला ?

एजेन्सी । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसंग हालसम्मकै कमजोर भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । सोमबार मात्रै डलरसंग भारु १ रुपैयाँले कमजोर भएको छ । यो ऐतिहासिक रुपमा कमजोर भएको फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ । टर्कीको अर्थतन्त्र संकटतर्फ उन्मुख भएपछि यसको असर भारुमा परेको हो । यद्यपी डलर भने मजवुत हुदै गएको छ । सोमबार टर्कीको लिरा ८ प्रतिशत कमजोर भएको छ । वृहत आर्थिक परिदृष्यले भारतको अर्थतन्त्र राम्रो देखाएपछि सोमबार बिहान भारु केही मजवुत भएको थियो । सोमबार बिहान ४१ पैसा मजवुत भई १ डलर बराबर ६८ रुपैयाँ ४२ पैसा भारु कायम भएको थियो । भारु अझ कमजोर हुने अनुमान गरिएको छ । भारुसंग स्थिर विनिमयदर भएकाले नेपाली रुपैयाँ पनि कमजोर हुने भएको छ । यसको असर नेपालमा पनि पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११० रुपैयाँ ४३ पैसा बिक्री दर तोकेको छ ।

सरकारका हरेक काम कारवाहीलाई पूर्ण रुपमा डिजिटलाईज गर्दै जानुपर्छ- अध्यक्ष राणा

काठमाडौं । महासंघका अध्यक्ष भवानी राणाले सरकारका काम कारवाहीलाई पूर्णत डिजिटलाईज गर्दै जानुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले यसमा सम्बन्धमा आवश्यक नीति कानुन ल्याउनु पर्ने बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा सोमबार(आज) महासंघ सचिवालयमा “पेपरलेस सोसाइटी एण्ड इम्प्लोइमेन्ट जेनरेशन इन आईसीटी सेक्टर” विषयक अन्तरक्रिया कार्यक्रममा राणाले सो कुरा बताएकी हुन् । अध्यक्ष राणाले विश्वव्यापी रुपमै उद्यमशीलताको प्रवद्र्धन तथा रोजगारी सृजनामा सूचना तथा संचार प्रविधि एउटा सफल पक्षको रुपमा प्रमाणित भैसकेको बताएकी छिन् कार्यक्रममा महासंघकी अध्यक्ष राणाले देश संघीय संरचना अनुसार अगाडी बढी सकेकाले संघीयतालाई दीगो बनाई संघीयताबाट आम नेपाली जनतालाई लाभान्वीत गराउन शुसासन र जवाफदेहीतामा आधारित अर्थतन्त्रको विकास हुनु पर्नेमा जोड दिएकी छिन् । उनले कृषि, पर्यटन र पूर्वाधार जस्ता महत्वपूर्ण क्षेत्रनै परिवर्तनका आधार हुन सक्ने भन्दै आर्थिक विकास र मुलुकभित्र सुशासनको प्रत्याभुति दिलाउन सूचना तथा संचार प्रविधि महत्वपूर्ण पाटो भएको बताएकी छिन् । उद्यमशीलता तथा रोजगारीका अवसर र चुनौतीहरुको विश्लेषण र उद्यमशीलताको विकास र रोजगारी सृजनामा सूचना तथा संचार प्रविधिको भूमिका विषयलाई गहन रुपमा अध्ययन गरी सोही अनुसार रणनीति तय गर्नुपर्नेमा उनले बताइन् । साथै, सूचना प्रविधि मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सृजनामा सरकारस“ग सहकार्य गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष राणाले बताइन् । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई मुलुक रूपान्तरणको प्र्रमुख आधार बनाएर जान सरकार क्रियाशिल रहेको बताउँदै अर्थतन्त्रको विकासमा अग्रस्थानमा रहेर कार्य गरीरहेको निजी क्षेत्रलाई उद्यमशीलता विकास र रोजगारी सृजनासँग सूचना प्रविधिलाई जोडेर लैजाने कार्यमा सहयोग गर्न सरकार तयार रहेको जानकारी दिएका छन् । राष्ट्रिय उत्पादकत्व प्रवद्र्धनमा कसरी सूचना प्रविधिलाई जोडन सकिन्छ यसमा महासंघ जस्ता व्यवसायिक संस्थाको सहयोग सरकारले खोजेको उनले बताए । सूचना प्रविधिका क्षेत्रमा बाह्य मुलुकले अवलम्वन गरेको मोडल यहाँ लागू गर्नुभन्दा पनि सरकारले मुलुककै माटो सुहाउँदो मोडल कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । साथै, उनले अहिलेको नयाँ पुस्तासम्म सूचना प्रविधि पहु“चलाई सहज बनाउने तर्फ सरकार क्रियाशिल रहेको र यसलाई विद्यालय तहदेखिनै जोड्ने योजना सरकारको रहेको जानकारी गराए । कार्यक्रममा स्टाफ कलेजका निर्देशक सुवर्ण कुमार सिंहले राष्टिय विकासमा सूचना तथा संचार प्रविधिको भूमिकालाई परिभाषित गरिनु पर्ने, राष्ट्रिय भिजन तयार गर्नुपर्ने, यस सम्बन्धमा अन्तर छलफल र अन्तरक्रियालाई नियमित रुपमा अगाढी बढाउनु पर्ने, सूचना तथा संचार प्रविधिको अभ्यासलाई व्यक्ति, व्यवसायिक र व्यापारिक रुपमा समेत बढाउनु पर्नेमा जोड दिएका छन् । त्यसैगरी, योङ इनोभेन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विभुषण विष्ट विष्टले मूलत सरकारले दीगो विकास लक्ष्य हासिल गर्न, स्वच्छ पिउने पानीको सुनिश्चिता गराउन, सार्वजनिक शिक्षामा पहुँच बढाउन, रोजगारी सृजना र पर्यटन विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेकाले यी क्षेत्रहरूबाट अपेक्षित लाभ हासिल गर्न सूचना तथा संचार प्रविधिलाई यी क्षेत्रस“ग जोडेर जानु पर्ने र सोही अनुसार नीति निर्माण र वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेप्सेले लिने सेयर सूचीकरण र वार्षिक शुल्क निर्धारण, कति पुँजीको कति (सुचिसहित)

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लिने सूचीकरण तथा वार्षिक शुल्क निर्धारण गरेको छ । बोर्डले चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले सूचीकरण शुल्क ०.१० प्रतिशत वा न्युनतम १ लाख ५० हजार रुपैयाँ तोकेको छ । यस्तै वार्षिक शुल्क ५० हजार रुपैयाँ निर्धारण गरेको छ । ५० करोड रुपैयाँ भन्दा बढी चुक्तापुँजी भएका कम्पनीले सूचीकरण शुल्क ०.०५ प्रतिशत वा २ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । वार्षिक शुल्क पनि १ लाख रुपैयाँ तोकिएको छ । नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी हुने कम्पनीको सूचीकरण शुल्क ०.१५ र ५० करोड माथिको ०.१ प्रतिशत प्रस्ताव गरेको थियो । नेप्सेले प्रस्ताव गरेको भन्दा कम दर तय गरेको बोर्डका प्रवत्ता निरज गिरीले बताए । यस्तै डिबेन्चर, एकाँक बचत वा समूहगत बचत सूचीकरण अन्तर्गत ५० करोड रुपैयाँसम्म निष्कासन रकममा सूचीकरण शुल्क ६० हजार र वार्षिक शुल्क २५ हजार, ५० करोड रुपैयाँ भन्दा बढीको निष्कासन रकम भएकोमा सूचीकरण शुल्क १ लाख र वार्षिक शुल्क ५० हजार रुपैयाँ तय गरिएको छ । सूचीकरण निवेदन दस्तुर १५ हजार र समयमा नविकरण शुल्क नबुझाउने कम्पनीले वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने बोर्डले जनाएको छ ।  बोर्डले धितोपत्र सूचीकरण विनियमावली साउन १ गतेदेखि लागु गरिसकेको छ ।

स्पर्स लघुवित्तको दुई दिने तालिम सम्पन्न

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीहरुलाई २ दिने आधारभुत लघुवित्त सम्बन्धी तालिम दिई सम्पन्न गरेको छ । साउन २७ र २८ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा वित्तीय संस्थाका विभिन्न शाखा कार्यालयमा कार्यरत ३५ जना प्रशिक्षार्थी फिल्ड सहायकहरुको उपस्थिति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । फिल्ड कर्मचारीहरुलाई लघुवित्त सम्वन्धी आधारभूत ज्ञान दिने, फिल्डमा कार्य गर्दा आईपर्ने समस्याहरु निराकरणका उपायहरुको बारेमा जानकारी दिने, कर्मचारीहरुलाई लगानी बचत तथा जीवन बीमाको बारेमा जानकारी गराउँदेै व्यवसाय वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । संस्थाका कार्य सञ्चालन, जनशक्ति व्यवस्थापन तथा तालिम विभागका प्रमुख पवन बरालले लघुवित्तको उत्पत्ति, इतिहास र नेपालमा लघुवित्तको सुरुवात, वर्तमान अवस्था बारेमा तालिम दिएका थिए । कर्जा तथा अनुगमन विभागका प्रमुख हरिशरण गिरीले फिल्ड व्यवस्थापन समुह पुर्व तालिम, केन्द्र तथा समुहको गुणस्तरको बारेमा सहभागीलाई जानकारी दिएका थिए । वित्तीय संस्थाका सामान्य सेवा, आन्तरीक लेखा तथा शेयर विभाग प्रमुख ऋषभ सुवेदीले बर्तमान समयमा जीवन विमा किन, कसरी र यसको चौतर्फी फाईदाको बारेमा सहभागीलाई स्पष्ट पारे । संस्थाका वित्त तथा लेखा विभाग प्रमुख विनोद पराजुलीले सहभागीहरुलाई कार्यालयमा दैनिक प्रयोगमा आउने फारम तथा फरमेटहरुलार्ई अद्यावधिक गर्ने बारेमा बताएका थिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत सजल खड्काले जीवनमा सफल हुनका लागि लक्ष्य सहित अघि बढ्नु पर्ने बताउँदै विभिन्न व्यक्तित्वहरुको जीवनीलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै सहभागीहरुलाई लक्ष्य प्राप्तीका लागि उत्पेरित गरेका थिए ।

स्थानीय तहमा मनपरी कर, तत्काल समस्या सुल्झाउन विज्ञहरूकाे सुझाव

काठमाडाैं । स्थानीय तहमा करको समस्या बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्नु पर्नेमा सम्बद्ध निकायहरुले जोड दिएका छन् । सोमबार नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेज प्रालिले आयोजना गरेको ‘नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’ विषयक अन्तरक्रियामा महालेलेखा परीक्षक, आईक्यान अध्यक्ष, अर्थविद् तथा व्यवसायीले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महालेखा परीक्षक टंकमणी शर्माले भने, ‘स्थानीय तहमा देखिएका करका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु पर्ने बताए । आफुखुसी करका दर निर्धारण गर्दा समस्या बढेर गएको छ । यसले सेवाग्राही समस्यामा परेका छन् । यसता गुनासो दिनहुँ बढ्ने क्रममा छन् ।’ प्रदेश तथा संघमा करको विषयमा समस्या न्युन रहेको बताएका उनले स्थानीय तहको समस्या महत्वपूर्ण रहेको भन्दै समाधानमा जोड दिएका थिए । स्थानीय तहहरुले लगाएको करको लेखा राख्दै चुस्त र दुरुस्त पार्न आफुहरु सक्रिय हुने उनको भनाई थियो । आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले पनि प्रत्येक स्थानीय निकायमा करको दर फरक भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । केन्द्रिय सरकारले करका सम्बन्धमा एकरुपताको पहल नगर्दा भद्रगोलको अवस्था आएको उनको भनाई थियो । करमा एकरुपता नभएकै कारण अन्यौलता समेत थपिँदा सेवाग्रही चेपुवामा परेको उनको भनाई थियो । खुसी साथ नागरिकले राज्यलाई कर तिर्न पाउने वाताबरण बनाउन अर्थविद् चन्द्रमणि अधिकारीले सरकारलाई सुझाव दिए । सरकारको कर नीति राम्रो भए पनि कार्यान्वायन पक्ष फितलो भएको बताएका कार्यक्रमका अन्य वक्ताहरुले स्थानीय निकायलाई आफुखुसी करको दर निर्धारण गर्नबाट रोक्न केन्द्रिय सरकारले पहलकदमी लिनु पर्ने बताएका थिए ।

लघुवित्तहरुमा देखिएका समस्यालाई समयमै सुधार गर्नुपर्छ- अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरुलाई समयमै सुधार गरी सामाजिक जिम्मेवारी भित्र रहेर कार्य गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिएका छन् । स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको बताए । उनले सामाजिक-आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यसतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । समारोहका सभापति तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए । उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए जुन बंगलादेशको ग्रामीण ट्रष्टले विगत देखि संचालन गर्दै आएको छ । समारोहमा अर्थमन्त्री खतिवडाले केन्द्र तथा ग्रामीण ट्रष्ट, बंगलादेशले संयुक्त रुपमा आयोजना गरेको ग्रामीण वित्तीय पद्दती विषयक अन्तराष्ट्रिय कार्यक्रमको अवसरमा प्रकाशित “ What we can learn from the Grameen Bank ” अंग्रेजी प्रतिवेदन विमोचन गर्नुभयो ।

वृज सिमेन्टद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५०० जनाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले साउनको अन्तिम सोमबार(आज) सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ । सिमेन्टले लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, दिर्घायु गुरु हस्पिटल एण्ड रिर्सच सेन्टर, चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १०० जना विभिन्न स्वयंमसेवकहरुद्धारा ८ स्थानमा सेवा प्रदान गरिएको थियाे । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । उक्त स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरका अनुसार करीब २५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । साउनको सोमबार महादेबको विभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेब हलेशी लगायत देशभरका विभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टले आफ्नो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका बताएको छ ।

२० हजार घुससहित इन्जिनियर सरोजकुमार साह अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई २० हजार रुपैयाँ घुससहित सोमबार नियन्त्रणमा लिएको छ । इन्जिनियर साहले नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले साहलाई घुसवापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्यिारका प्रवत्ता रामेश्वर दंगालले बताए ।