आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पतालबीच क्यासलेस सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म यस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।
महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमै दिने भयो घर र शिक्षा कर्जा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा दिने भएकाे छ । यो सुविधामार्फत ग्राहकहरुले घर कर्जामा ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कर्जा र शैक्षिक कर्जामा ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । उल्लेखित कर्जाहरु मात्र वार्षिक १२.९९ प्रतिशतको ब्याजदरमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै, उक्त सेवाहरु बैंकको जुनसुकै शाखाहरुबाट पनि लिन सकिने छ । २० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नेछन् । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ । त्यस्तै, महालक्ष्मी शैक्षिक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी वर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन् । यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्ने बैंकले जनाएकाे छ ।
ट्रामाडोल औषधी बिक्रीवितरण बन्द, दुरुपयोग भएको औषधी व्यवस्था विभागको ठहर
काठमाडौं । व्यापक दुरुपयोग बढेको भन्दै सरकारले ट्रामडोल एकल वा समिश्रित औषधी बिक्री वितरणमा रोक लगाएको छ । केही मुलुकमा नियन्त्रित भइसकेको र नेपालमा यसको दुरुपयोग बढदै गएको ठहर गर्दै औषधी व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो । विभागले बजार अनुगमन गर्दा सो औषधीको व्यापक दुरुपयोग भएको ठहर गरेको छ । औषधी सल्लाहकार समितिको बैठकले ती वनावटका औषधी सीमित स्थानबाट मात्र बिक्री वितरण गराउने र सोको प्रभावकारी नियमनको निर्णय गरेको विभागले जनाएको छ । चिकित्सकको प्रेस्किृप्सन आधारमा र रेकर्ड राखेर बिक्री वितरण गर्न विभागले निर्देशन समेत दिएको छ । यस्तै औषधीपसल र अस्पतामा बिक्री हुन बाँकी रहेको औषधी फिर्ता गराउन विभागले भनेको छ ।
स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशक, ७ दिनभित्र दरखास्त दिनुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक नियुक्ति गर्न लागेको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कार्यकारी निर्देशक नियुक्त गर्न लागेको हो । एक साताभित्र आफनो शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव सहित बायोडाट पेश गर्न मन्त्रालयले भनेको छ । यस्तै आफुले सम्पादन गर्ने कार्ययोजना र प्रतिवद्धता सहित गोप्य खामवन्दी गरी दरखास्त दिन मन्त्रालयले जानकारी दिएको छ ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने–जथाभावी कर असुली रोक्न बलियो संघीय कानून चाहियो
काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले जनतामाथि कर थोपरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले दोहोरो र बढ्दो करदरको मार विरुद्ध जनमता बढेको बताएका छन् । संघीयता आफैमा महंगो व्यवस्था भएको बताउदै उनले ३ तह सरकारको वृहत संरचनाका कारण प्रशासनिक खर्च झनै बढेको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् “तलव, भत्ता सुविधा र अनुत्पादक प्रशासनिक खर्चले जनतामाथि करको भार थपिदा यसले समस्या ल्याएको छ ।” उनले जथाभावी कर उठाउने प्रवृत्तिलाई रोक्न बलियो संघीय कानून आवश्यक भएको औल्याएका छन् । स्थानीय निकायले आफुखुसी जथाभावी कर उठाउन थालेपछि अहिले जनस्तरबाट व्यापक विरोध सुरु भएको छ ।
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
काठमाडौं। एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ। यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् । मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमाआधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रप देखि कक्षादश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् । यहि सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् । गाहकले गुगल प्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवाभित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।
तीजको नाममा विकृति, हुँदा खानेहरुको लागि तीज गलपाँसो
तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो यस दिनका कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा बिवाहित नारीहरुले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसंग जे जस्ता गर गहना छन् सबै लगाई सोह्र सिंगार पटार गरेर भगावान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् । तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयुहुने, मृत्यु पर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ त्यही भएर नेपाली विवाहीतत त अविवाहीतत सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ ।तेस्रो दिन विहान उठेर बत्ती बाल्छन्, केरा र तुल्सी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो विगो काम गते बात नलाग्ने बताइन्छ । तीजको चौथो दिन अर्थात् अन्तिम दिन रिषि पञ्चमी हो । यस दिन विहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्ले दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरि शुद्घ भै सप्तरिषि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आप्mनो कर्म घर फर्किन्छन् । यस्तो राम्रो पर्व रहेको नेपाली हिन्दुहरुको महान चाड अब धार्मिक र सामाजिक पर्व रहेन । यो पर्व अब एउटा देखासिखीको रुपमा भड्किलोरूपमा देखा पर्दैछ । देश विदेशमा बस्नेहरुले आफ्ना छोराछोरीलाई तीजको बारेमा गलत शिक्षा दिइरहेको आभाष पाइन्छ किनकी तीज आउनुभन्दा महिनौ दिन अगाडिदेखिको दरको रिहर्शलले । यस प्रकारको कार्यले के सही सलामत पर्व हस्तान्तरण गरिएको मानिएला र रु एकदिन ब्रत बस्न महिनौदिनदेखिको तडक भडकलाई हेर्दा त नेपाली हिन्दु नारीहरुको पवित्र चाडलाई “हुनेखाने”नेपाली महिलाहरुले आफ्नो गर गहना र साडी प्रदर्शन गर्ने पर्व बनाए भन्दा अत्युक्ति नहोला । ब्रतमा चोखो खानेकुरा खानु पर्नेमा तामसी भोजन गरिरहेका हुन्छन् । जो कोहीले पनि अहिलेका नारीहरुलाई सोध्नुस् तीज भनेको के हो र दर भनेको के हो कसैले पनि सही उत्तर दिन सक्दैनन् किनकी अहिलेका नारीहरु २ महिना अघिदेखि दरखाने भनेर झ्याली पिट्दै हिड्छन्, २ महिनासम्म एक अर्काको घरमा हसुर्दै हिड्छन् तर जुन दिन वास्तविक रूपमा दर खाने हो त्यो दिन उनीहरुको कसैको घरमा केहीनै पाक्दैन । यस्ले गर्दा हाम्रो वास्ताविक दर लोपोन्मुख हुन खोज्दैछ । अब त तीजका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा हुन थालेका छन् । पहिला पहिला तीज भनेको कुशे औशीबाट सुरु हुन्थ्यो । कुशे औशीलाई बुबाको मुख हेर्ने औशी पनि भनिन्छ । पहिला पहिला विहाबारी भएर गएकी छोरी चेली आफ्नो बुबाको मुख हेर्न दिनमा माइती घर आएर पञ्चमीको पुजा सकेर कर्म घर जान्थे ।कुशे औशीमा नआएकी छोरीचेलीलाई औशीपछि गएर लिएर आइन्थ्यो । तीजको ब्रत बस्ने अघिल्लो दिन जे जस्तो मीठो मसिनो छ सबै मिली बाडेर खान्थे । आफ्ना दुखसुखका कुराहरु गीत मार्फत बिलौना गर्थे । चाहे ती साुस बुहारीका हुन्, चाहे नन्द आमाजु, देवर–जेठाजुका नै किन नहुन् तर त्यो आज एकादेशको कथा जस्तै भएको छ ।अहिलेका तीजका गीतहरु रत्तयौली र ठट्यौलीका मात्र छन् । १/२ जना हरिदेवी कोइरलालाहरुले कसरी सम्हालुन् रु समाजका अगुवा अर्थात “हुनेखाने”हरुले “हुँदाखाने”हरुलाई पनि देखासेखीको बाटोमा घकेल्दै छन् जस्ले गर्दा हुँदा खानेहरुको लागि यो तीज गलपासो भएको छ किनकी हँुदाखानेहरुले हुनेखानेहरुसंग प्रतिसपर्धा सकी नसकी गर्न परेको छ । स्मरण रहोस् अनौपचारिक रुपमा आजभन्दा १ महिना अघिदेखि सुरु भएको दरखाने कार्यक्रम अमेरिकामा औपचारिक रुपमा अगष्ट १२ अर्थात साउन २७ गतेबाटरुपमा सुरु भैसकेको छ । यस्को मतलब अन्य देशका नेपाली महिलाहरु भने पछि परेका होइनन् उनीहरुले पनि यस्को सुरुवात संगसंगै गरेको फेसबुकका तस्वीहरुबाट प्रष्ट हुन्छन् । यस्तो विकृतिलाई रोक्न सम्बन्धित देशमा खुलेका संघसंस्थाहरुले ध्यान दिने कि । यस्ता फजुल खर्च जम्मा गरेर रवि लामिछाने वा धुर्मुस सुन्तली वा स्वयं आफु संलग्न भएर मातृभुमीको विकास गरेमा कसो होला (लेखक स्वतन्त्र पत्रकार हुुन्)
एनएफआरएसमा ७ वटा बाणिज्य बैंकः ४९ करोड नाफा बढ्यो, कस्को कति ?
काठमाडौं । हालसम्म ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार वित्तिय विवरण सार्वजनिक गरेका छन् । ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको २०७४/७५ को अपरिस्कृति वित्तिय विवरण अनुसार उनीहरुको नाफा जम्मा ४९ करोड रुपैंयाँले बढेको छ । सोही प्रणाली अनुसार आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब ५४ करोड नाफा कमाएका बैंकहरुले गत आव २०७४/७५ मा भने जम्मा ११ अर्ब ३ करोड मात्रै नाफा कमाउन सफल भएका हुन् । ७ वटामध्ये ३ वटा बैंकहरु नाफा बढाउन असफल देखिन्छन् । २ अर्ब ७० करोड नाफा आर्जन गरेर एभरेष्ट बैंक अहिलेसम्म पहिलोे नम्बरमा परेको छ भने २ अर्ब १५ करोड कमाएको ग्लोबल आईएमई दोश्रो र एक अर्ब ८५ करोड नाफा कमाएको सिद्धार्थ बैंक तेश्रो नम्बरमा परेका छन् । एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाउन सफल भएको छ । बैंकको नाफा अघिल्लो बर्ष २ अर्ब २९ करोड मात्रै थियो । एभरेष्टको प्रति सेयर आम्दानी ३४.३७ रुपैंयाँ रहेको छ । ग्लोबल आईएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले अघिल्लो बर्ष २ अर्ब ६ करोड नाफा कमाउन सफल भएको थियो । बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ रहेको छ । सिद्धार्थ बैंकले १ अर्ब ८५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा जम्मा एक अर्ब ३८ करोड मात्रै नाफा कमाएको थियो । सिद्धार्थको प्रति सेयर आम्दानी २४.०६ रुपैंयाँ रहेको छ । एनआइसी एसिया बैंकले ८२ करोड नाफा गरेको छ । बैंकले आव २०७३।७४ मा एक अर्ब ९ करोड नाफा गरेको थियो । एनआईसी एसियाको प्रति सेयर आम्दानी १८.९४ रुपैंयाँ छ । सिटिजन्स बैंकले ९६ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको सोही अवधीमा १ अर्ब २९ करोड थियो । सिटिजन्सको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । एसबिआईले १ अर्ब १३ करोडबाट २१ करोडले बढाएर एक अर्ब ३४ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ छ । माछापुच्छ्रे बैंकले एक अर्ब २१ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षमा भन्दा ९ करोेड रुपैंयाँले घटेको हो । माछापुच्छ्रेको प्रति सेयर आम्दानी १६.४१ रुपैंयाँ छ ।