विकासन्युज

३९ वटा बीमा कम्पनीको नाफा ७ अर्ब ८१ करोड, कसको कति(सूचिसहित)

काठमाडौं । ३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २० वटा निर्जिवन बीमा कम्पनी, १८ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड ४४ लाख ४४ हजार रुपैंयाँ नाफा कमाएका हुन् । आव २०७४/७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार २१ वटा निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ३९ करोड १९ लाख ४८ हजार नाफा कमाएका छन् । त्यस्तै, १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४२ करोड २४ लाख ९६ हजार नाफा आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुको यो नाफा एक्चुरी गर्नु अघिको हो । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । ३ वटा नयाँ निर्जिवन बीमा कम्पनीहरुले ६ करोड ४० लाख नाफा कमाएका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनीहरुले ७३ करोड ४३ लाख ८२ हजार नाफा कमाउन सफल भएका छन् । पुराना ९ वटा जीवन बीमा कम्पनीहरुको नाफा भने १ अर्ब ६८ करोड ८१ लख १४ हजार रुपैंयाँ रहेको छ ।

एक सातादेखि सेयर बजारमा हरियाली, लगानीकर्तामा ल्यायो उत्साह, बुधबार २४ अंकले बढ्याे

काठमाडौं । साताको शुरुवातदेखि सेयर बजार उकालो लाग्ने क्रममा रहेको छ । तीन दिन लगातार बढेको बजार साताको दोश्रो अन्तिम दिन पनि नेप्से २३.८९ अंकले उकालो लागेर १२३४ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढेकाे हाे । बैंक तथा वित्तीय कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा सुधारात्मक संकेत देखिएको लगानीकर्ताले बताएका छन् । त्यस्तै, बजारमा सेयरको मूल्य सस्तिदै गएपछि केही दिनदेखि लगानीकर्ताहरु बाणिज्य बैंकको सेयरप्रति आकर्षित भएका हुन् । लगानीकर्ता अाकर्षित भएपछि वाणिज्य बैंककाे काराेबार रकम र सेयर मूल्यमा सुधार अाएकाे छ । बुधबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । कुल १६७ कम्पनीको कारोबार भएको बजारमा ७० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी कुमारी बैंकको एकैदिन ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ रहेको छ । उत्पादनमूलक र ट्रेडिङ बाहेक कारोबारमा आएका बाँकी समूहहरु उकालो लागेका छन् । सबैभन्दा बढी निर्जिवन बीमाको समूह १६२ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा ९५, माइक्रोफाइनान्स ४२, हाइड्रोपावर ३९ र डेभलपमेन्ट बैंक समूहको सूचक ३० अंकले उकालो लागेका छन् । बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ९.७५ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ८.४७ र ८.३३ प्रतिशत कमाएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक्स प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सीआईबीले २ जना उप-रजिष्ट्रारलाई पक्राउ गरेको पुष्टि गरेको हो । आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको  सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जानकारी दिए । रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको २५ लाख  रूपैयाँकाे सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयरधनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सीआईबीले छापा मारेको हो । २ जना उप-रजिष्ट्रार पक्राउ परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा खैलाबैला मच्चिएको छ । रजिष्ट्रारका भुवन हरी अर्यालले २ जना उप-रजिष्ट्रार कार्यालय नआएको स्वीकार गरे । तर सीआईबीले छापा मारेको बारेमा भने उनले केहि बताउन चाहेनन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । उप-रजिष्ट्रारद्धय रोकाय र पौडेलको कार्यकक्षमा ३ दिनदेखि ताला लागेको छ । १० करोड मुल्याङकन सम्मकोे फाइल हेर्ने उप-रजिष्ट्रार नहुँदा सेवाग्राही भने समस्यामा परेका छन् ।

एशियन लाईफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई साढे २० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला निजको बुवा कमप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको सो रकमको चेक मुक्तिनाथ विकास बैंकको कायम मुकायम सहायक महाप्रबन्धक लोकराज जोशीले हस्तान्तरण गरेका हुन् । जोशीले भदौ १९ गते मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा मृतकका परिवारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । धादिङ्गको त्रिपुरा सुन्दरी गा.पा. निवासी बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ मा सडक दुर्घटनामा परी असामयीक निधन भएको थियो । मिति २०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी १० लाख रुपैयाँ बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएकोमा स्वर्गीय उपाध्यायले यस कम्पनीलाई बीमा शुल्क वापत जम्मा ६६ हजार ८८६ रुपैयाँ भुक्तानी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुखमा घिमिरेको नाम सिफारिश

काठमाडौं । संवैधानिक परिषद्को बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त भएका थिए । बुधबारको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना थिए । रासस

ओपीसी सिमेन्टमा देखिएको विवाद समाधान, सगरमाथालाई गुणस्तरताको स्विकृती

घोराही । केहि दिन यता घोराही सिमेन्टको ओपीसी सिमेन्टमा देखिएको गुणस्तर सम्बन्धि विवाद समाधान भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको नमुना परिक्षण गर्दा मापदण्ड अनुरुप रहेको भन्दै उत्पादन अनुमति दिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग परिक्षण तथा बजार अनुगमन शाखाले भदौ १८ गते जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर परिक्षण नतिजाको बारेमा जानकारी गराएको छ । विभागले उद्योगबाट केहि दिन अघि ओपीसी सिमेन्टको नमुना लगेको थियो । परिक्षणका क्रममा ओपीसी सिमेन्ट नेपाल गुणस्तर ४९ अनुसार ठिक रहेको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले घोराही सिमेन्ट ई.प्रा.लि. लाई पत्र पठाएर गुणस्तर ठिक रहेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार उद्योगले सिमेन्ट उत्पादन र बिक्री वितरणको लागि अनुमति पाएको छ ।

प्रभु बैंकको मुस्ताङमा थप २ नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको दुई स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएका लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट ग्राहकहरु प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास गरेको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ पहुच पुगेको छ ।

५ करोड नाफा कमाउने कालिका पावरको योजना, अर्काे बर्ष लगानीकर्तालाई लाभांश

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७५/०७६ देखि नाफा गर्ने भएको छ । चालु आर्थिक वर्षमा कम्पनीले झण्डै ५ करोड रुपैयाँ खुदनाफा गर्ने भएको छ । गत आर्थिक वर्षमा कम्पनीले २४ लाख १७ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा हुने देखाएको हो । कम्पनीले आगामी आर्थिक वर्ष ०७६/०७७ मा ६ करोड ५६ लाख र आर्थिक वर्ष ०७७/०७८ मा ७ करोड ९९ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । कम्पनीले आगामी वर्ष ३ करोड १५ लाख रुपैयाँ र अर्को वर्ष ३ करोड ३० लाख रुपैयाँसम्म नगद लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै जाने देखिएको छ । नाफमा भएको वृद्धिसंगै चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ९२ पैसा, आगामी वर्ष ९ रुपैयाँ ९३ पैसा र आर्थिक वर्ष ०७७/०७८ मा बढेर ११ रुपैयाँ ५१ पैसा पुग्ने अनुमान सार्वजनिक गरिएको वित्तीय विरणमा उल्लेख छ । नाफा भएपछि यो वर्षदेखि कम्पनीको प्रतिसेयर नेटवर्थ धनात्मक भई १०० रुपैयाँ ७७ पैसा पुग्ने छ । आगामी आर्थिक वर्ष बढेर १०१ रुपैयाँ १४ पैसा र आर्थिक वर्ष ०७७/०७८ मा १०३ रुपैयाँ ८ पैसा पुग्ने छ । चालु आर्थिक वर्षमा कम्पनीले बिजुली बिक्रीबाट आम्दानी २२ प्रतिशत बढाएर १९ करोड ८८ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा १६ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । आगामी वर्ष आम्दानी वृद्धिदर घटेर २.९२ अर्थात २० करोड ४६ लाख र अर्को वर्ष २.७८ प्रतिशतले मात्र बढेर २१ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कालिकाले ६ मेगावाटका दरौदी ए जलविद्युत आयोजना बनाउन विभिन्न बैैंकबाट लिएको कर्जा ७२ करोड १२ लाखमा झरेको छ । गत आर्थिक वर्षसम्म कम्पनीले १० करोड ५५ लाख रुपैयाँ कर्जा तिरेको छ । बाँकी कर्जा ९.५ वर्षसम्म भुत्तानी गरिसक्ने लक्ष्य कालिकाको छ । २०७३ मंसिर १३ गतेदेखि बिजुली उत्पादन थालेको कम्पनीले १० वर्षसम्म पुरै र पछिल्लो ५ वर्ष ५० प्रतिशतसम्म आयकर छुट पाएको छ । कम्पनीले भदौ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । कालिकाले इक्रा आईपीओ ग्रेड ४ प्राप्त गरेको छ । आइपीओबाट संकलित मध्ये कम्पनीले ९ करोड रुपैयाँ ठकेदार र ३ करोड सामान आपूर्ति गर्दा आपूर्तिकर्ता कम्पनीलाई भुत्तानी गर्ने योजना बनाएको छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार चुत्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ६ करोड र सर्वसाधारणलाई २० प्रतिशत अर्थात १२ करोड गरी कुल १८ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै संस्थापकले ४२ करोड रुपैयाँ लगानी गरेका छन् ।