विकासन्युज

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट पाउने छन् । बैंकले आफ्ना संस्थापक/सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

अब एनआईसी एशिया बैंकबाटै गुराँस लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०.१ प्रतिशतले कमी भई ३,७१८ मा बन्द भयो । अस्ट्रेलियाको एसएन्डपी२०० मा ०.४ प्रतिशतले कमी आई ६,२८५ अंक भएको छ । दक्षिण कोरियाको कोस्पीमा भने ०.१ प्रतिशत बृद्धि भई २,३०८ मा बन्द भयो । व्यापारिक चासो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शर्तहरु पालना नगरेको स्थितिमा संशोधित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबाट क्यानडा बाहिरिने चेतावनी दिएका थिए । क्यानडासँगको व्यापार वार्ता बुधबार पुनः शुरु हुने र त्यसमा दुबै देशका चासोका विषयलाई सम्बोधन गर्ने प्रयत्न जारी छ । ट्रम्प प्रशासनले क्यानडासँगको व्यापारिक वार्ताको समयसीमा गत शुक्रबार तोकेको थियो । अमेरिका-मेक्सिकोबीचको भएको सहमतिमा क्यानडा सहभागी रहेको छैन । चिनीया पिएमआई एउटा निजी क्षेत्रको सर्वेक्षणमा चीनको कारखाना उत्पादन १४ महिनायताकै सबैभन्दा न्यून रहेको देखाइएको छ । कारखाना उत्पादनको अध्ययन, विश्लेषण गर्ने काइक्सिन म्यानुफ्याक्चरिङ पिएमआईमा अगष्ट महिनामा ५०.६ अंक मात्र प्राप्त भएको छ । यो जुलाईको ५०.८ को भन्दा केही कम हो । कूल १०० अंकको यस मापनमा ५० भन्दा कम हुँदा उत्पादन खुम्चिएको आङ्कलन गरिन्छ । इन्धन बेन्चमार्क युएस कच्चातेलको मूल्यमा मङ्गलबार २६ सेन्ट बृद्धि भई ७०.०६ डलर प्रति ब्यारेल भएको छ । रासस/एपी

पाकिस्तान विरुद्ध बिमल घर्तीको गोल

काठमाडौं । साफ च्याम्पियानसिफमा नेपालले बराबरी गोल फर्काएकाे छ । खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले गोल गरेका हुन् ।

मुक्तिनाथ विकास बैंक ठमेलमा पनि, थप ६ स्थानमा खोल्ने तयारी

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठमेलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखा विस्तार गरेको हो । बैंकको हालसम्म काठमाडौ उपत्यका भित्र ठमेलल गायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् । त्यस्तै, बैंकले कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीमा पनि नयाँ शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

नापी कार्यालयका जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

बाल गोपालले नै जिताएका थिए बंगलादेशमा बन्धबन्धु गोल्डकप

काठमाडौं । बंगलादेशमा केहि बेरपछि सुरु हुने साफ च्याम्पियानसिपको पहिलो खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रिदैछ । पाकिस्तान बिरुद्ध स्पष्ट जित निकाल्दै अघि बढ्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । सन् २०१६ मा बंन्धबन्धु गोल्डकप जिताएका महर्जन आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विस्वस्त रहेका छन् । नेपाल र पाकिस्तानको अहिलेसम्म १५ पटक भेट भएका छन् । दुबै देशले ५-५ खेल जितेका छन् भने ५ खेलमा बराबरीमा सकिएको थियो ।

बजारमा सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री, यी हुन् कमाउने १० कम्पनीहरु

काठमाडौं । मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री भएका छन् । एकैदिन बैंकको १० करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । कुल १७२ कम्पनीको कारोबार भएको दिनभरको बजारमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो । सामान्य अंकले बढेको सेयर बजारमा काबेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बैंकका लगानीकर्ताले एकैदिन ९.२६ प्रतिशत बढी कमाएका छन् । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ रहेको छ । यस विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस दिने भएको छ । मंगलबार कमाउने १० उत्कृष्ट कम्पनीहरु त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताले ७.९३ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२६ रुपैयाँ रहेको छ । साथै, एनआईसी एशिया, लक्ष्मी र सिभिल बैंकको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले सोमबारको तुलनामा ३.९८ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक १६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ्, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने जलविद्युत्, उत्पादनमूलक, माइक्रोफाइनान्स र जीवन बीमा समूह सामान्य अंकले ओरालो लागेका छन् ।