विकासन्युज

निजगढमा विमानस्थल र एयरपोर्ट सिटी बनाउन २२ लाख रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति

काठमाडौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । आज वन मन्त्रालयमा भएको बृहत् छलफलपछि उनीहरुबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो । निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थियो । मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएको प्रेस संयोजक दयानिधि भट्टले राससलाई जानकारी दिए। निजगढमा विमानस्थल मात्र निर्माण गर्दा सो क्षेत्रको वनका आठ लाख रूख कटान गर्नुपर्ने देखिएको छ । शहरसमेत निर्माण गर्नका लागि २० देखि २२ लाख रूख कटान गर्नुपर्ने वन मन्त्रालयको अनुमान छ । उहाँहरुबीच पर्यापर्यटनलाई प्रवद्र्धन गर्न दुवै मन्त्रालयबीच संयुक्त सर्भे टोली गठन गर्ने सहमति पनि भएको बताइएको छ । रासस

६ ओटा ए-डिभिजन फुटबल क्लबलाई काठमाडौँ महानगरको ५५ लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ए डिभिजनका ६ ओटा क्लवलाई रु ९ लाख तीन हजारका दरले अनुदान सहयोग गरेको छ । खेलको विकासलाई समयानुकुल अघि बढाउन काठमाडौँ महानगरपालिकाले सो रकम अनुदान दिएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम हस्तान्तरण गरेका हुन् । ए डिभिजन क्लवहरु हिमालयन शेर्पा क्लव, मनाङ–मस्याङ्दी क्लव, संकटा युवा क्लव, सरस्वती युवा क्लव, काठमाडौँ खेल मण्डल (एनआरटी) मच्छिन्द्र युवा क्लवलाई सो रकमको चेक मेयर शाक्यले हस्तान्तर गरेका हुन् ।

नेपालमै सुरु भयो साइबर जोखिमको इन्स्योरेन्स

काठमाडौं । नेपालमै साइबर जोखिमको इन्स्योरेन्स सुरु भएको छ । एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए । नेपाल इन्स्योरेन्सको साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले पनि साइबर क्राइम सम्बन्धी बीमा पोलिसीले स्वीकृति पाएको बताए । ‘हामीले पेश गरको पोलिसी बीमा समितिबाट स्वीकृत भएको छ, अहिले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग त्यसबारे छलफल गरिरहेका छौं’, शाहले भने । उनले नेपालको वित्तिय प्रणाली उच्च साइबर आक्रमणको जोखिममा रहेकाले पनि इन्स्योरेन्स गराउनु अनिवार्य भएको बताए । ‘चोर बैंकमा छिर्यो भने बोक्न सक्ने पैसा मात्रै लैजान्छ तर एउटा ह्याकरले एक क्लिकमा अरबौं रकम उडाइदिन सक्छ, त्यसकारण यस्तो जोखिमको बीमा गराउनुपर्छ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । उनले प्राकृतिक विपत्तीसँगै मानव श्रृजित विपत्तिले पनि संसारमा ठूलै चुनौती ल्याएको बताए । ‘संसारमा प्रकृतिले विपत्ति ल्याउँछ, हामीले त्यसको बीमा गराउँदै आएका छौं, अहिले मानव श्रृजित साइबर अपराध अर्काे ठूलो विपत्तिका रुपमा आएको छ, त्यसको पनि बीमा सुरु गर्न लागेका हौं’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । नेपालमा पछिल्लो समय एटिम ह्याक गरेर पैसा चोरी भैइरहेको छ । त्यस्तै, पछिल्लो समय एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याकपछि सिंगो वित्तिय क्षेत्रको प्रणालीमै जोखिम निम्तिएको छ । अब त्यस्तो जोखिमको समेत बीमा गरेर जोखिम हस्तान्तरण गर्न सकिने भएको हो । एनआईसी एसिया काण्डपछि अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले साइबर सेक्युरीटीको बीमा गराउन चाहेका थिए । नेपालमा त्यस्तो बीमा गर्ने व्यवस्था नभएपछि उनीहरुले भारतीय कम्पनी मार्फत समेत बीमा गराउन खोजेका थिए । तर नियामक निकाय बीमा समितिले नै त्यस्तो बीमा विदेशी कम्पनीमा गर्ने व्यवस्था नभएको बताएको थियो । नेपाल इन्स्योरेन्सले साइबर सेक्युरटीको बीमा पोलिसी बनाएर यतिबेला बैंक तथा वित्तिय संस्थाहरुमा पठाईरहेको छ ।

नेपाल बङ्लादेश बैंकको ७७औं शाखा कन्चनपुरमा

काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले कन्चनपुरको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेव बदायकले गरेका छन् । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यो शाखासहित बैंकले ७७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

मेटलाईफ नेपालले जित्यो ‘सिल्भर स्टिभी’ अवार्ड, वित्तीय सेवाको विधामा उत्कृष्ट

काठमाडौं । मेटलाईफ नेपालको लाइफ केयरले वेष्ट न्यु प्रडक्ट अर सभिस-फाइनान्सियल सर्भिसको विधा अन्तर्गत “सिल्भर स्टिभी” अवार्ड जितेको छ । १५औँ वार्षिक अन्तराष्ट्रिय बिजनेस अवार्डमा वित्तीय सेवाको विधामा नवीनता र उत्कृष्टताका लागि लाइफ केयरलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बीमा योजना हो । यसमा जीवनको क्षति, अप्रत्यासित घटना र गम्भिर रोगको पहचिान वापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । यस योजनामा खासगरी लाइफ केयर व्युटिफुल नामक महिलालाई मात्र लागु हुने योजना उपलब्ध छ जसअन्तर्गत जीवनको क्षति तथा महिला केन्द्रित रोगहरु जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायत महिलालाई मात्र हुने दश (१०) वटा रोगहरु वापत सुरक्षण प्रदान गर्दछ । लाइफ केयरको एउटा भिन्न विशेषता भनेको उपचार खर्च र गम्भिर रोग पत्ता लागेको अवस्थामा स्याहारका लागि लाग्ने खर्च वापत एकमुष्ठ रकम अग्रिम भुक्तानी हुनु हो । कुनै कुनै अवस्थामा यस योजना अन्तर्गत बिमितले उक्त रकमलाई उपचारका लागि प्रयोग गर्नुका साथै आफु काममा नफर्कुन्जेल सम्मका लागि उक्त अवधिमा हुने आयको नोक्सानीलाई पुर्ति गर्नका लागि समेत प्रयोग गर्न सक्दछन् । लाइफ केयर फेब्रुरीबाट शुरु गरिएकोमा पहिलो ६ महिनाको अवधिमा २५०० भन्दा बढी बीमालेख बिक्री भैसकेको छ ।

जापान पठाइदिने भन्दै १ करोड ३१ लाख ठग्ने सबिन दनुवार पक्राउ

काठमाडौं । जापानमा सरकारी कोटामा कृषी सम्बन्धी काम लगाइदिन्छु भन्दै १ करोड ३१ लाख ठगि गर्ने सबिन बहादुर दनुवार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले दनुवारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सीआइबीका अनुसार दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालि को अध्यक्ष र संञ्चालक हुं भनी प्रति व्यक्ति ७ लाख देखी १२ लाख सम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रूपैया ठगी गरेका थिए । दनुवारलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाण्डौमा पठाइएको छ । यस्ता छन् अनुसन्धानबाट खुल्न आएका तथ्यहरू १. विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको मुख्य काम सुरक्षा गार्डको तालीम दिनु रहेकोमा सो नामको कार्यालयबाट जापानमा कृषी सम्बन्धी काम आएको छ, भन्दै पीडितहरूलाई प्रलोभनमा पारेको । २. जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रूपैया तलब हुने भनी बताएको । ३. चावहिलमा अवस्थित विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा।लि। मा रोजगारीमा जापान जानेहरूको लागि नेपाली तथा जापानी प्रशिक्षक समेत बोलाई जापानीज भाषा सिकाएको । ४. पीडितहरूलाई विश्वास दिलाउन सविन प्रकाश दनुवारले आफ्नो सालो नाता पर्ने लालमणि दनुवारलाई समेत जापान पठाउन लागेको भनी जापानीज भाषा कक्षामा सहभागी गराउने गरेको ।

पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५०० सिफारिस, औद्योगिक कामदारकाे भन्दा दाेब्बर हुँदै

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको छ । यही भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समितिको बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारहरुको पारिश्रमिकमा ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको हो । २०७२ को असारमा समितिले सिफारिस गरेको पारिश्रमिक दरमा ३ वर्षपछि २०७५ भदौमा मात्र पुनरावलोकन गरिएको समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । यसपटक समितिले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक पुनरावलोकनका लागि सञ्चार प्रतिष्ठानको क्षमता, तिनको श्रेणी र तहलाई समेत आधार बनाएको छ । यसबाहेक श्रमजीवीको जिवनयापनका लागि चाहिने न्यूनतम आधारभूत आवश्यकता, देशको मौद्रिक अवस्थामा आएको उतारचढाव, निजामती सेवा एवं अन्य निजी प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीहरुको पारिश्रमिकको तुलनात्मक अवस्था सञ्चार प्रतिष्ठानहरुको क्षमता, केही समय अगाडि नेपाल सरकारले विभिन्न औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत श्रमजीवीहरुको न्यूनतम पारिश्रमिकमा गरिएको वृद्धि तथा मुलुकको समग्र आर्थिक अवस्थालाई मध्यनजर गरी पारिश्रमिक पुनरावलोकनको निर्णय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । यसका साथै समितिले विभिन्न जिल्ला र प्रदेशमा पुगेर संचार प्रतिष्ठानका संचालक, व्यवस्थापक तथा श्रमजीवीहरुसँग गरेको अन्तरक्रिया, विभिन्न संचारप्रतिष्ठानमा गरिएको अनुगमन र नेपाल पत्रकार महासंघ लगायत पत्रकारिता र श्रमजीवीसँग सम्बन्धित संघ संस्थाबाट प्राप्त सुझावलाई समेत मध्यनजर गर्दै पारिश्रमिकको दरमा पुनरावलोकन गरेको हो । वहाँका अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख गरिएको पारिश्रमिकको दरलाई केही परिमार्जन गरी पारिश्रमिक पुनरावलोकन गरिएको हो । समितिले पत्रपत्रिकालाई राष्ट्रिय, प्रादेशिक र स्थानीय गरी तीन तह र त्यसमा पनि तीनवटा श्रेणीमा विभाजन गरी पारिश्रमिक पुनरावलोकन गरेको छ भने एफ.एम. तथा रेडियोहरुलाई १०० वाटसम्म ५०० वाटसम्म र त्यसभन्दा बढी क्षमताको गरी तीन श्रेणीमा तथा टेलिभिजनको हकमा स्याटेलाइट र केबुल टेलिभिजन गरी दुई श्रेणीमा विभाजन गर्ने र अनलाइन मिडियालाई हालसम्म सरकारी तवरबाट कुनै वर्गीकरण नगरिएकोले राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन श्रेणीमा रहने हो, स्वघोषणा गरी सोही अनुसार श्रमजीवीलाई पारिश्रमिक उपलब्ध गराउन पनि समितिले सुझाव दिएको छ । यसका साथै वर्गीकरणमा नपरेका पत्रपत्रिकाहरुलाई पनि स्वघोषणा गरी पारिश्रमिक उपलब्ध गराउन सुझाव दिइएको छ । समितिले पुनरावलोकन गर्न प्रस्ताव गरेको नयाँ पारिश्रमिक दर अनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु.२९,५००।–, रु.२७,५००।– र रु.२४,५००।– तथा प्रादेशिक स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु.२१५००।–, रु.२०,०००।– र रु.१८,०००।– तय गरिएको छ । स्थानीय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः रु.१८,०००।–, १७,०००।–, र १६,०००।– रुपैंया न्यूनतम पारिश्रमिक तोकिएको छ । यसैगरी ५०० वाट भन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु.२९,५००।–, ५०० वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि रु.२१,५००।– र १०० वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु.१८०००।– मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ । टेलिभिजन प्रतिष्ठानहरु मध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि न्यूनतम पारिश्रमिक रु.२९५००।– र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु.२१५००।– निर्धारण गरिएको छ । स्याटेलाइट प्रसारण हुने टेलिभिजनलाई छापा माध्यमको राष्ट्रिय क वर्ग र केबुल टेलिभिजनलाई प्रादेशिक क वर्ग सरह मानेर उक्त पारिश्रमिक निर्धारण गरिएको हो । सबै खाले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक रकमका अतिरिक्त रु.१०००।– रुपैंया संचार खर्च वापत उपलब्ध गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ । यस अगाडि ऐन पूर्ण कार्यान्वयन हुने संचारप्रतिष्ठानका लागि रु.१९५००।– र अन्य संचार प्रतिष्ठानका लागि रु.१४१००।– रुपैंया न्यूनतम पारिश्रमिक तोकिएको थियो । यसैगरी स्ट्रीन्जर समाचारदाताको हकमा राष्ट्रिय स्तरका संचार प्रतिष्ठान मध्ये पत्रपत्रिकामा प्रति समाचार रु.२२५ वाट बढाएर रु.३५०।– र रेडियोहरुमा रु.२०० बाट बढाएर रु.३०० तथा टेलिभिजनहरुमा रु.६०० बाट बढाएर रु.९०० पु¥याउने तथा प्रादेशिक तथा स्थानीय मिडिया अन्तरगत पत्रपत्रिकामा रु.१५० बाट रु.२२५, रेडियोमा रु.१५० बाट रु.२२५ र टेलिभिजनमा रु.६०० बाट बढाएर रु.७५० पु¥याउने निर्णय गरिएको छ । संचारप्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारीहरुको पारिश्रमिकमा पनि समितिले पुनरावलोकन गरेको छ । जसअनुसार राष्ट्रिय मिडिया अन्तरगत क, ख र ग वर्गका लागि रु.२१,५००।–, रु.२०,५००।– र रु.१८,०००।– तथा प्रादेशिक मिडियामा काम गर्नेहरुको लागि क्रमशः रु.१९,०००।–, रु.१८,०००।– र रु.१६,०००।– तय गरिएको छ भने स्थानीय मिडियामा कार्यरत कर्मचारीका लागि रु.१६,०००।–, रु.१५,०००।– र रु.१४,०००।– रुपैंया न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । बैठकले संचार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाउन र हाल पुनरावलोकन गरिएको पारिश्रमिकलाई सम्बन्धित संचारगृहको तल्लो तहमा काम गर्ने श्रमजीवीको पारिश्रमिक मानेर संचार प्रतिष्ठानमा तहगत वर्गीकरण सहित पारिश्रमिक पुनरावलोकन गर्न एक कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ । यसका साथै विभिन्न संचार प्रतिष्ठानहरुमा ५ वर्षसम्म नियमित रुपमा स्ट्रिन्जरको रुपमा काम गरेका श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न समेत सम्बन्धित संचार प्रतिष्ठानहरुलाई सुझाव दिने निर्णय बैठकले गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको पारिश्रमिक पुनरावलोकनको निर्णयलाई यथासिघ्र कार्यान्वयनका लागि सूचना तथा सञ्चारमन्त्री मार्फत नेपाल सरकार समक्ष पेश गर्ने र नेपाल राजपत्रमा प्रकासन भएपछि कार्यान्वयनमा जाने व्यवस्था छ ।

जनता बैंकद्धारा दार्चुलाको विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहका बीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बताएकी छिन् । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ ।