५ हजार घुसले पहरी नायव निरीक्षक रामबाबु यादवको जागिर गयो
महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ । उनलाई ५ हजार रुपैयाँ घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ । पक्राउ परेको यादवलाई आयोगको बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको पनि जनाएको छ । रासस
सुर्खेत–जुम्ला हवाई सेवा शुरु, भाडा ३९६५ रुपैयाँ
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई सेवा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् । उनीसंगै उक्त जहाजबाट बधबार १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् । साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । “यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,” उनले भने, “यसले यहाँका पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।” सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर ३ हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ । सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उनले बताए। जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिए। मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ । रासस –––
सुबाराको अनौठो कार जहाँ गयो त्यहि घर
काठमाडौं । यसपालिकाे नाडा अटो शोमा सुबारा कम्पनीले अनौठो कार सार्वजनिक गरेको छ । कम्पनीले सुवारा गाडीको छतमा जुनकुनै ठाँउमा बास बस्न मिल्ने गरी जापानीज प्रविधिको सिल्पिङ ब्याग ल्याएको छ । कारमा यस्ताे सुविधा संभवत पहिलाे हाे । छोटो सवारीमा सजिलै प्रयोग गर्न सकिने सो ब्याग नेपालमै पहिलो पटक आएको कम्पनीकी सेल्स म्यानेजर रोसी श्रेष्ठले बताइन् । उनका अनुसार सो प्रविधिलाई जोड्नका लागि अनिवार्य रुपमा गाडीमा हुटको जडान गर्नु पर्नेछ । कम्पनीले यो ब्यागको ४ लाख रुपैंया तोकेको छ । लामो यात्राको लागि यो निकै फलदायी हुनेछ । रातिको समयमा यो ब्यागले सजिलै हावाहुरी र पानीबाट बचाउन सक्छ ।
१०० प्रतिशत नाफा बढाएर यसैबर्ष २ अर्ब पुर्याउँछौं : चिरायु भण्डारी
झण्डै ४ दशकदेखि बीमा क्षेत्रमा कार्यरत चिरायु भण्डारी ०७२ साउनदेखि नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा छन् । २०३४ सालमा राष्ट्रिय बीमा संस्थानमा प्रवेश गरेका भण्डारीले त्यहाँ ९ वर्ष जागिर खाएपछि नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा २६ वर्षसम्म काम गरे । उनी प्रतिस्पर्धाबाट २०७२ साउनदेखि राष्ट्रिय पुर्नबीमाको सीईओ भएका हुन् । पुर्नबीमाले विदेशबाट पनि विजनेश ल्याउन थालेको छ । वर्षेनी कम्पनीको व्यवसायको आकार बढ्दै गएको छ । नेपालमा बीमा बजारको विस्तार र कम्पनीको भावी योजनामा केन्द्रीत रहेर सीईओ भण्डारीसँग विकासन्युजले गरेको कुराकानी । चिरायु भण्डारी, सीईओ, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड नेपाल पुर्नबीमा कम्पनी अहिले कुन अवस्थामा छ ? हामीले हेर्दा नराम्रो भन्ने अवस्था छैन् । सामान्यतया आफैले गरेको काम आफुलाई चित्त बुझछ । मलाई मैले गरेको काम र उपलब्धि राम्रै छ भन्ने लागिरहेको छ । बाँकी कुरा बजारले मूल्यांकन गर्छ । तपाई पुर्नबीमामा आउनुअघि अवस्था कस्तो थियो र आएपछि के कस्ता परिवर्तन भए ? म आउनु भन्दा अघि यो आकास्मिक बीमा कोषको रुपमा थियो । २०७२ साल साउनदेखि म सीईओ भएर आएपछि कम्पनीले पुर्नबीमाको व्यवसाय सुरु गरेको हो । कार्यान्वयनमा आएको २ महिनापछि अफगानिस्तानको पुर्नबीमा व्यवसाय ल्यायाँै । यस्तै भुटानको पुर्नबीमा पनि ल्यायौं । अफगानीस्तानबाट ल्याएको व्यवसायमा आतंकवादी गतिविधिबाट हुने क्षतिको जोखिम लिएका थिएनौ । आतंकवादी गतिविधिको जोखिम नै कभर नगरेपछि अन्य बीमा जोखिम मात्र कभर हुने भएकाले हामीलाई घाटा भएन् । म आउनु भन्दा अघि कम्पनीका कर्मचारी सबै अस्थायी र करारमा थिए । म आएको केही महिनापछि सबैलाई स्थायी बनायौं । त्यही सिलशिलामा मिनभवनमा नेपाल बैंकको स्वामित्वमा रहेको ४ रोपनी १० आना जग्गा खरिद गर्यौं ।व्यवसायको कुरा गर्दा अहिले २८ मुलुकका ५२ बीमा कम्पनीबाट हामीले पुर्नर्बीमा व्यसाय भित्र्याएका छौं । आफनो मुलुकको मात्र नभई विदेशबाट पनि पुर्नबीमामार्फत विदेशी मुद्रा ल्याउने काम गरेका छौं । हामीले बाहिर मात्र पठाएका छैनौ विदेशी मुद्रा पनि भित्र्याएका छौं । विदेशबाट कति पुर्नबीमा शुल्क रकम प्राप्त भएको छ ? हामीले विदेशबाट करिब डेढ अर्ब रुपैयाँ जति पुनर्बीमा शुल्क भित्र्याएका छौं । तपाईले गर्ने व्यवसायको कति प्रतिशत विदेशबाट ल्याउनु भएको छ ? अहिले नै यति प्रतिशत हिस्सा भन्न सक्ने अवस्थामा छैनौं । हामीले भारतबाट पनि पुर्नबीमाको विजनेस ल्याउन सुरु गरेका छौं । सन् २०१८ को अप्रिल १ देखि भारतको नियमनकारी निकाय आइआरडीएलले विदेशी कम्पनीले पनि पुर्नबीमा व्यवसाय गर्न पाउने भनेर स्वीकृति दिएको छ । पहिला यस्तो व्यवस्था थिएन् । यसअघि हाम्रो पुर्नबीमा व्यवसाय जति पनि लैजान पाउने तर भारतबाट सुको पनि ल्याउन नपाउने अवस्था थियो । हामीले क्षमता देखाएर उताबाट व्यवसाय ल्याउन अनुमति पाएका छौं । त्यहाँका ६ वटा इन्स्योरेन्स कम्पनीबाट व्यवसाय ल्याएका छौं । भारतका नेशनल इन्स्योरेन्स कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, युनाईट इन्स्योरेन्स र न्युइण्डिया इन्स्योरेन्सलगायत निजी क्षेत्रका २ वटा बीमा कम्पनीको ट्रिटी हामीले लिएका छौं । क्षमताअनुसार १ देखि ४ प्रतिशतसम्म लिएका छौं । यो वर्ष २५ प्रतिशत पुनर्बिमा विदेशीबाट ल्याउने योजना बनाएका छौं । यस्तै अहिले सरकारले सबै नेपाली कम्पनीहरुले २० प्रतिशत पुर्नबीमा यहि गर्नुपर्ने व्यवस्था गरिदिएको छ । यसको अर्थ हामीले अहिले कुल बीमाको २० प्रतिशत जोखिम बहन गरिसकेका छौं । विदेशबाट व्यवसया लिँदा कति प्रतिशत जोखिम वहन गर्नु भएको छ ? यसलाई प्रतिशतमा गणना गर्न सकिन्न । जीवन बीमाको केही भन्न सकिन्छ, तर निर्जीवनको भन्न सकिने अवस्था छैन । निर्जीवन बीमाको प्रिमियम वेसमा हुन्छ । व्यक्तिगत दुर्घटनाको प्रतिहजार ५० पैसाको पनि गरिएको हुन्छ । प्रिमिय वेसमा भएकाले कुन ग्रुपको ५० पैसामा परेको छ भने व्यक्तिगत २ रुपैयाँमा परेको छ । यस्तो अवस्थामा हिसाव गर्न गाह्रो छ । विदेशी कम्पनीसँग पुर्नबीमा शुल्क लिएपछि जोखिम वापतको दावीको भुक्तानी गर्नु भयो की छैन ? हामीले जोखिम बापतको दावी भुक्तानी गरिसकेका छौं । बीमा गरेपछि दावी आईहाल्छ र भुक्तानी पनि दिनुपर्छ । सीईओ बन्दा गरिएका प्रतिवद्धता र आफ्नै योजना अनुसार कति प्रतिशत काम सम्पन्न गर्नुभयो ? अझै समय बाँकी नै छ । यसलाई यति प्रतिशत भन्नु भन्दा पनि पहिला अन्तर्राष्ट्रिय बजारमा जान्छु र अन्तर्राष्ट्रिय बीमा शुल्क संकलन गर्छु भन्ने सोच थियो । पहिला सार्क, त्यसपछि एसियन, अफ्रिकी, खाडी र युरोपेली मुलुकमा जाने सोच बनाएका छौं । त्यो सोचभन्दा बढी नै हामी अफ्रिकी बजारमा गइसकेका छौं । सार्क, खाडी मुलुकमा पनि पुगिसकेका छौं । युरोप र अमेरिका गएका छैनौ । अमेरिकाबाट पुर्नबीमा विजनेस ल्याउन संभव छैन् । युरोपमा जान हामीले केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । हाम्रो मुलुकको रेटिङ छैन् भने कम्पनीको पनि गरिएको छैन् । अन्तर्राष्ट्रिय रेटिङ भएपछि मात्र यसको आधारमा युरोपमा काम गर्न सकिने छ । हामी रेटिङको प्रक्रियामा छौं । यसपछि स्थानीय बजारबाट भन्दा विदेशबाट बढी प्रिमियम ल्याउन सकियो भने पुनर्बीमाको योजना सफल हुनेछ । त्यसपाली २५ प्रतिशत व्यवसाय विदेशबाट ल्याउने योजना छ । ३ वर्षभित्र स्थानीय भन्दा बाहिरी मुलुकबाट बढी बीमा व्यवसाय ल्याउने छौं । यसबाट बीमामा जुन व्यापार घाटा छ, त्यो घाटा हटाउँछौं । अहिले नै हामीले ७५ करोड रुपैयाँ बाहिर पठाएर डेढ अर्ब रुपैयाँ ल्याइसकेका छौं । पुरै बजारको कुरा छ, ५ अर्ब रुपैयाँ बाहिर गएको छ भने त्यो भन्दा बढी नेपालमा व्यवसाय ल्याउनु पर्यो नी । कमाइसकेपछि बल्ल बीमाबाट व्यापार घाटा छैन भन्ने हो । २० प्रतिशत पुर्नबीमा नेपालमै गर्नुपर्छ भनेर लबिङ गर्नु भएको आरोप छ तपाईलाई, के भन्नुहुन्छ ? यो बुझाइ फरक हो । पुर्नबीमा कम्पनीलाई केही न केही गर्छु भनेर आएको व्यक्तिले कम्पनीको व्यवसाय बढाउन केही गर्नु मेरो दायित्व हो । चाहे तपाईलाई नमस्कार गरेर होस वा अर्कालाई नमस्ते गरेर होस बिजनेश बढाउनु मेरो कर्तव्य हो । अन्तर्राष्ट्रिय अभ्यासमा जे छ यहाँ पनि त्यही गर्ने हो । भारतको कुरा गर्दा जनरल इन्स्योरेसन्स कम्पनीले काम सुरु गर्दा २० प्रतिशत बुझाउनु पर्ने व्यवस्था गरिएको थियो । यस्तै कमिशन शुन्य गरिएको थियो । तर हामीले त्यसो गरेका छैनौ । बजारमा अन्य कम्पनीले दिएको भन्दा बढी कमिशन दिएर विभिन्न प्रक्रिया अपनाइएको छ । यो भारत, पाकिस्तान वा अन्य खाडी वा युरोपमा हेर्नुस त्यहाँको सरकारको नीति नै राष्ट्रिय कम्पनीको संरक्षण र प्रवद्र्धन गर्ने नै हुन्छ । म आउदा त्यो थिएन । ३ वर्षपछि यो सुरु भएको हो । त्यो भन्दा अघि पनि थियो । सरकारले २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नुछ भनेपछि विदेशी कम्पनीले पनि पत्याउँछन् । आफैले लगानी गरेको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन किन आनाकानी गरे बीमा कम्पनीहरुले ? नेपाल पुर्नबीमाले पक्कै उहाँहरुलाई विश्वास दिलाउन सकेन होला । नत्र भने उहाँहरुलाई आफनो लगानी भएको कम्पनीमा विजनेश दिन के समस्या ? क्षमता छैन भनौ भने बीमा समितिका अनुसार बीमा कम्पनीले भूकम्पबाट भएको क्षतिको १३ अर्ब रुपैयाँ दावी भुक्तानी गरेका छन् । त्यसमा पुर्नबीमाको ८ अर्ब रुपैयाँ छ । यदी १३ अर्बको कुरा गर्दा ८ अर्ब विदेशी पुर्नबीमा कम्पनी पाए । यदी २० प्रतिशत गरेको हामीले तिर्नु पथ्र्यो २ अर्ब रुपैयाँ । विजनेश कति आउथो भने ३ अर्ब २० करोड हुन्थ्यो । ३ अर्ब २० करोड पुर्नबीमा शुल्क लिने थियो भने २ अर्ब रुपैयाँ दावी भुक्तानी गर्ने थियो । अब भन्नुस घाटा हुन्थ्यो कि नाफा ? फेरी कमिसन दिन पनि हामीले कन्जुस्याइ गरेका छैन । उहाँहरुले दिएको विजनेशवापत भारतको भन्दा बढी कमिसन दिएका छौं । हामीबाट सरकारले भन्दा बीमा कम्पनीले बढी लाभ पाएका छन् । वास्तवमा बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीलाई बिजनेशन दिन आनाकानी गरेर आफुले आफैलाई विश्वास गरेनन् । कम्पनीको वित्तीय प्रगति कस्तो छ ? कम्पनीको वित्तीय प्रगति विस्तार हुदै गएको छ । ०७१र०७२ मा ७९ करोड रुपैयाँ मात्र प्रिमियम थियो । त्यसपछि ०७२/०७३ को हिसाव गर्दा १ अर्ब ७१ करोड बीमा शुल्क पुगेको थियो । त्यसबेला बाहिर १ अर्ब १० करोड रुपैयाँ पुर्नबीमा तिरेका थियौं । त्यसबेला ६० प्रतिशतसम्म कमिसन पाउने थियौं । त्यसबेला ५० करोड रुपैयाँ खुदनाफा गरेका थियौ । ०७३/०७४ मा बढेर बीमा शुल्क ३ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । त्यसबेला पुर्नबीमा वापत ७६ करोड रुपैयाँ मात्र तिरेका थियौं । त्यसबेला ६० करोड रुपैयाँ खुदनाफा गर्यौं । अब गत आर्थिक वर्षमा ४ अर्ब बीमा शुल्क आर्जन गरेका छौं । खुदनाफा १ अर्ब रुपैयाँ बढी हुने देखिएको छ । कम्पनीले पछिल्ला ३ वर्षदेखि राम्रो नाफा गरेको छ । लगानीकर्तालाई कहिले र कति लभांश दिने योजना छ ? बीमा समितिले ५ वर्षसम्म लाभांश बाँड्न नपाउने नीतिगत व्यवस्था गरेकाले लाभांश वितरण गरिएको छैन् । पाँच बर्षपछि लगानीकर्ताले राम्रो बोनस सेयर, नगद लाभांश पाउने छन् । २००४ मा आकास्मिक बीमा कोष स्थापना भएको १० वर्षपछि नेपाल पुर्नबीमा कम्पनीमा परिणत भएको थियो । त्यो हुदाँ ३५ लाख रुपैयाँ लगानी गर्ने कम्पनीले १ करोड नगद लाभांश र ६ करोड रुपैयाँ बराबरको बोनस सेयर पाएका छन् । अब कुन अनुपातमा नाफा होला ? जोखिम बाँडेर धेरै फाइदा छ भने आगामी दिनमा राम्रो प्रतिफल दिने देखिन्छ । साधारण सेयर (आईपीओ) निष्कासन कहिले गर्दै हुनुहुन्छ ? आईपीओ निष्कासन गर्न संस्थापक लगानीकर्तासंग पैसा मागेका छौं । बीमा कम्पनीलाई पात्राचार गरिसकेका छौ । सरकारले गत साउनमा २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । सर्वसाधारणबाट आईपीओ निष्कासन गरेर १ अर्ब ६० करोड रुपैयाँ उठने छ । १ अर्ब २६ बीमा कम्पनीले लगानी गर्नुपर्ने छ । बीमा कम्पनीले थप लगानी दिन ढिलाइ गरेका छन् । यसको कारण के होला ? बीमा कम्पनीले ३५ दिनको म्याद पाएका छन् । पैसा मागिरहेका छौं । असोज ५ गतेसम्म सबै बीमा कम्पनीबाट थप रकम प्राप्त हुने छ । आईपीओ प्रिमियममा मूल्यमा निकाल्दै हुनुहुन्छ ? नेपालको पहिलो पुर्नबीमा कम्पनी भएकाले सर्वसाधारणले पनि १०० रुपैयाँमा सेयर किन्न पाउन भन्ने हाम्रो भनाई हो । केही कम्पनीले १०० प्रतिशत पुर्नबीमा यही गरेका छन् । यस्तो गर्नेको संख्या कति पुग्यो ? ७ वटा जीवन बीमा कम्पनीले शतप्रतिशत यहि पुनजर्बीमा गर्ने सहमति गरिसकेका छन् । निर्जीवनतर्फ १०० प्रतिशत पुर्नबीमा नेपालमा संभव छैन् । किनभने बीमा समितिले ४० प्रतिशत भन्दा बढी पुर्नबीमा गर्न नपाउने व्यवस्था गरेको छ । आतंकवादको बीमा र कृषि बीमा यही छ । यो घाटाको व्यापार भएको छ । कतिको १२० प्रतिशत पनि घाटा पुग्छ । यहाँ व्यवसायको आकार कम भयो तर क्षति बढी भएपछि स्वतः घाटा भएको हो । कम्पनीको सेयर संरचनाको विषयमा असन्तुष्ठि देखिएको छ । यस्तो अवस्था किन आयो ? यो साधारणसभाबाटै निर्णय भएको कुरा हो । साधारणसभामा जोडदार रुपमा कुरा उठाउनुपर्नै हो । साधारणसभामा ठिकै भन्ने कुरा आयो । हामीले यो सम्बन्धमा ४ पटक बैठक राखेका छौं । उहाँहरुसंग बसेर पटक पटक छलफल भएको हो । त्यसबेला नकरात्मक कुरा आएन । बाहिर निस्किएपछि असन्तुष्ठि छ भन्ने कुरा आएको छ । साधारणसभाले दिएको म्यान्डेट भन्दा फरक किसिमले माइन्युट गरियो भन्ने आरोप लागेको छ, यस्तो कसरी भयो ? त्यो कुरा तत्कालै भन्नु पर्यो नि । साधारणसभापछि सरकारसंग थप लगानी मागेको हो । सरकारको स्वामित्व घटाउने बढाउने अधिकार साधारणसभालाई छैन भन्ने व्यवस्था प्रवन्धपत्र नियमावलीमा छ । यदी सरकारको सेयर तलमाथि गर्नुपरेको अवस्थामा मन्त्रिपरिषदको निर्णय आवश्यक पर्छ भन्ने उल्लेख गरिएको छ । साधारणसभाले गरेको निर्णयका आधारमा सरकारले पैसा पठाएपछि त्यो हैन भन्न मिलेन । पैसा घटाएर पठाउनुस भन्ने हाम्रो तागत छैन । सरकारको ४३.५५, बीमा कम्पनीको ४० र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । त्यसबेला प्रवन्धपत्र नियमावलीमा सही गर्ने उहाँहरु नै हो । प्रवन्धपत्रमा ४३.५५ प्रतिशत सरकारको, निर्जीवनको ३८, जीवन बीमा र अन्य संस्थाको १८.६ प्रतिशत उल्लेख छ । चालु आर्थिक वर्षमा व्यवसाय कति प्रतिशतले बढाउने लक्ष्य बनाउनु भएको छ ? चालु आर्थिक वर्षमा हामीले साढे ७ अर्ब रुपैयाँ व्यवसाय गर्ने लक्ष्य लिएका छौं । विदेशबाट पनि २ अर्ब रुपैयाँ विजनेस ल्याउने लक्ष्य लिएका छौं । नाफा २ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेका छौं । यो लक्ष्य पुरा हुने कुरा दावी भुक्तानीको अनुपातमा निर्भर रहन्छ ।
दशै तथा तिहारका लागि रेनोका ‘शुभलाभ’ स्किम
काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो । ‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।
विद्युत प्राधिकरणले काठमाडौँमा २२० केभी प्रसारणलाइन बनाउने, लागत १५ अर्ब
काठमाडौ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारणलाइनको रिङ निर्माण गर्न लागिएको हो । हाल उपत्यकामा १३२/६६ र ६६/११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारणलाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथसँगै बन्ने प्रसारणलाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ अर्थात १५ करोड अमेरिकी डलर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक÷दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिए । सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०/१३२ र १३२/११ केभी क्षमताका एक÷एक वटा सबस्टेसनसमेत निर्माण गर्ने तयारी छ । “बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो”, कार्यकारी निर्देशक घिसिङले भने। प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ । चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन । अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ । दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००/२२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०/१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारणलाइनको निर्माण अवरुद्ध भएको हो । थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष २०५५÷५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ । आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रसारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ । नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रसारण प्रणालीमा सुधार गर्न लागिएको हो । रासस
ग्लोबल आइएमई बैंक गुल्मीमा
काठमाडौं। ग्लोबल आइएमई बैंकले मगंलबार थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या १०२ पुगेको छ । बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखा रहित बैंकिङ्ग सेवासुरु गरेको हो। उक्त दुवै शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ । चारपलामा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन् । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न डीसहाेमा, सीडीएमए र युटीएलकाे महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमईले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल बनस्पत्ति घिउ र मोरङ सुगर मिल्स सञ्चालनमा ल्याउने
काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बन्द अवस्थामा रहेका २ वटा ठुला उद्योग सञ्चालनमा ल्याउने भएको छ । कर्पोरेशनले बन्द रहेको नेपाल वनस्पति घ्यू उद्योग लिमिटेडलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । असोजको अन्तिमसाताबाट तोरीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । कर्पोरेशनले विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेड र कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको जनाएको छ । कर्पोरेशनको ५६ औं वार्षिकोत्सका अवसरमा बुधबार राजधानीमा आयोजना कार्यक्रममा बन्द अवस्थामा रहेका २ उद्योग सञ्चालनमा ल्याउने जानकारी दिइएको हो । कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ । सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४।२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पोरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए। “कर्पोरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उनले भने। कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पोरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको बताए। कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले आउदो दशै, तिहार र छठ पर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् । कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए। यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल काठमाडौँलाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमश २५ हजार र २० हजार रुपैयाँ छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमश ३५ हजार , ३० हजार र २५ हजार रुपैयाँ छ । रासस