विकासन्युज

आईसीएफसी फाइनान्सको साधारणसभा असोज ९ मा, ८ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारणसभा असोज ९ गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको नाफा र नोक्सानको हिसावका साथै नगद प्रवाह विवरण स्वीकृत गर्ने छ ।

मानव विकास प्रतिवेदन भन्छ : भारतीय भन्दा नेपाली बढी समय बाँच्छन

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन। नेपालको त्यस्तो आय २ हजार ४ सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार ३५३।तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिएको छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ । गत शुक्रबार अबेर राती सार्वजनिक एउटा महत्त्वपूर्ण मानिने मानव विकास प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ। तर, त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एसियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिएको छ। नेपालभन्दा झण्डै तीन गुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ। प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष डा. स्वर्णिम वाग्ले नेपालीको ‍औसत आयु तुलनात्मक रूपमा भारतको भन्दा राम्रो हुनुमा करिब अढाई दशकदेखि नेपालले शिक्षा र स्वास्थ्यमा बढाउँदै गएको लगानी मुख्य कारण भएको बताउँछन्। उनी आय बढी हुँदैमा कुनै पनि मुलुकका जनताको आयु बढ्न नसक्ने दाबी गर्छन्। “आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो,”उनले भने, “वृद्धि भएको ठूलो अंशचाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ” ।कम आय भएका मुलुकले पनि सचेतपूर्ण तरिकाले मानव विकासका क्षेत्रमा लगानी गरे भने आयका तुलनामा मानव विकासको सूचकमा उनीहरूले राम्रो गर्न सक्ने उनको दाबी छ।उनले नेपालीको औसत आयु बढ्नुमा रेमिट्यान्सको समेत ठूलो भूमिका रहेको बताए। त्यस्तै सामान्य खालकै भए पनि उपचारका लागि शहर आवतजावत गर्न सहज बनाउने खालका सडक गाँउगाँउसम्म पुग्नु औसत आयु बढाउन सहयोगी बनेको विज्ञहरूको बुझाइ छ। उनीहरू त्यसमा गैरसरकारी संस्था र सहकारीले जगाएको जनचेतना, सरकारले स्वास्थ्य सेवामा गरेको संरचनागत सुधार र महिला स्वास्थ्य स्वयंसेविकाको सकारात्मक भूमिकालाई पनि सँगै जोड्छन्। प्रतिवेदनमा समेटिएको महिला र पुरूषको मानव विकासलाई तुलनात्मक अध्ययन गरिने अर्को एउटा सूचक अनुसार श्रम बजारमा सक्रिय हुने महिलाको संख्याका आधारमा पनि नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडि देखिएको छ। उक्त प्रतिवेदन अनुसार नेपालका ८२ प्रतिशतभन्दा बढी महिला श्रम बजारमा सक्रिय छन्। त्यसको कारणबारे एकजना अर्थशास्त्री केशव आचार्य भन्छन्, “४० देखि ५० लाख मान्छे विदेशमा गए। महिलाहरू नै घरमूली भए। त्यसले गर्दा महिलाहरू अलि सशक्त भएकाले श्रममा सहभागिता र छोरीको शिक्षामा राम्रो भएको हो।” दक्षिण एसियाका कतिपय मुलुकका तुलनामा नेपाली समाज खुला भएकाले महिलालाई घर बाहिर निस्केर काम गर्न सहज भएकाले समेत त्यसमा टेवा पुर्‍याएको कतिपय विज्ञको दाबी छ। विज्ञहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढेको प्रतिफलका रूपमा नेपालीको आयु वृद्धिलाई अर्थ्याइरहेका बेला कतिपयले भने यी क्षेत्रमा लगानी कम भएको बताउँदै आएका छन्। चालू आर्थिक वर्षकै बजेटलाई आधार मान्दा पनि स्वस्थ्य क्षेत्रमा कुल बजेटको ५ र शिक्षामा १० प्रतिशत मात्र बजेट छुट्ट्याइएको छ। श्रम बजारमा नेपाली महिलाको पहुँचबारे भने आलोचकहरूले जुन आँकडालाई आधार मानेर युएनडीपीले प्रतिवेदन तयार पारेको हो त्यसैमाथि प्रश्न गर्ने गरेका छन्। सीमित क्षेत्रमा सीमित महिलालाई लिएर गरिने सर्वेक्षणका आधारमा अन्तर्राष्ट्रिय श्रम संगठनले तयार पारेको तथ्याङ्कका आधारमा युएनडीपीले उक्त सूचक निकालेकाले त्यसलाई पूर्ण मान्न नसकिने उनीहरूको तर्क पाइन्छ। स्राेतः बीबीसी

४० मेगावाटको रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु, ३ वर्षमा बिजुली बल्ने

म्याग्दी । ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको हो । आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँमा गत वर्ष मङ्सिर ५ गते जेपीसंग ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन) को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गाका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए। पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाइएको छ । ठेकेदारले अहिले निर्माण पूर्वतयारीको कामलाई तीव्रता दिएको छ । प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ । ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत् विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए।यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, कार्यकारी प्रमुखको भूमिकामा खरेल र कंसाकारबीच भिडन्त हुँदै

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । यसअघि सरकारले निगमको संचालक समिति सदस्यमा पर्यटन सचिव हुने व्यवस्थालाई हटाएर खरेललाई सदस्यमा नियुक्त गरेको छ । झापाबासी खरेल प्रधानमन्त्री केपी शर्मा वलीको निकट सहयोगि हुन् । खरेलले २०७० चैतमा निगमको महाप्रबन्धकबाट राजीनामा दिएर बाहिरिएका थिए । त्यसपछि निगममा फर्कन उनले पटक पटक सरकारसँग ताकेता गरेका थिए । खरेलले नेपाल टेलिकमको प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणको अध्यक्ष बन्नको गरेका प्रयास असफल भएका थिए । निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारलाई राजीनामा गर्न वाध्य पार्ने उदेश्यसहित खरेललाई कार्यकारी अध्यक्ष बनाएको देखिन्छ । निगमको कार्यकारी प्रमुखको रुपमा प्रबन्ध निर्देशक कंसाकारले काम गर्दै आएको थिए । तर उनी राजीनामा गर्ने मोडमा छैनन् । कार्यकारी अध्यक्षमा खरेलको नियुक्तीसँग निगममा कार्यकारी अधिकारको विषयलाई लिएर दुई जनाबीच लडाई हुने निश्चित देखिएको छ । कंसाकार पदबाट राजीनामा गर्ने पक्षमा छैनन् । उनको कार्यकाल करिव ९ महिना बाँकी छ ।

उखु किसानलाई अनुदान, १ लाख टन चिनीको कोटा निर्धारण

काठमाडौ । सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि १ लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । रासस

कालिक पावरको आईपीओ माग भन्दा बढी आवेदन, सोमबार अन्तिम दिन

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडको साधारणसेयर (आईपीओ) आज सोमबारसम्म मात्र निष्कासन हुने भएको छ । गत बिहीबारदेखि निष्कासन भएको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि सोमबारसम्म मात्र निष्कासन हुन लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते तोकिएको छ । निष्कासन तथा बिक्री प्रवन्धककाठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ । कालिकाले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ । आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । लगानीकर्ताले लाभांश पाउन ९ वर्ष भन्दा बढी अवधि कुर्नुपर्ने देखिएको छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार चुत्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीमा स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ६ करोड र सर्वसाधारणलाई २० प्रतिशत अर्थात १२ करोड गरी कुल १८ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै संस्थापकले ४२ करोड रुपैयाँ लगानी गरेका छन् ।

“सेभ द हार्ट”द्धारा पत्रकार कार्की सम्मानित

काठमाडौं । मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमले नेपाली जनमानसमा स्वास्थ्यसम्वन्धि जनचेतना अभिवृद्धि गरेको योगदानको कदर गर्दै सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो ।

नेपालीकाे क्रय क्षमता बढ्याे, ६ दिनमा १०० कराेड मूल्यकाे गाडी खरिद

नाडा अटाे शाे २०१८ मा प्रदर्शनीमा राखिएकाे विद्युतीय कार हुण्डाई इयोनिक काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । ६  दिनमा १०० कराेड रूपैयाँ मूल्यका सवारी एकै स्थानबाट खरिद हुनुले नेपालीहरूकाे क्रय क्षमता उच्च रहेकाे संकेत गरेकाे छ । तर यस्ताे क्रय क्षमता थाेरै नेपालीमा भएकाे अर्थविद् डा शंकर शर्मा बताउँछन् । नयाँ सवारी किन्ने भन्दा परिवार सदस्यका लागि अतिरिक्त सवारी किन्ने नेपालीकाे जमात बढेकाे उनले बताए । करिब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुर्याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए । चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो । व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ ।