विकासन्युज

अर्थमन्त्रीले निजी क्षेत्रलाई भने-‘पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहालौं’

काठमाडौं । प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङगेलले पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहाल्नु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले राजधानीमा गरेको प्रदेश ३ को आर्थिक मार्गचित्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङगेलले इलेक्ट्रिक सवारी विकासमा जोड दिएका हुन् । अर्थमन्त्री ढुङगेलले निजी क्षेत्रले योजना तयार पारेर ल्याए सरकारले भोलिदेखि नै काम सुरु गर्ने बताए । उनले भने-‘हामीले २०८५ सम्ममा तेलबाट चल्ने सवारी विस्थापन गर्न लागेका छौं, यसको लागि निजी क्षेत्रको सहयाेग आवश्यक रहेको हुन्छ ।’ कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र पेट्रोलियम सवारी साधान हटाउने पक्षमा रहेको बताए । उनले भने-‘मन्त्रीले काममा साथ दिने भए हामी पेट्रोलियम सवारी हटाउन तयार रहेका छौं, यसका लागि निजी क्षेत्रले मात्र प्रयास गरेर हुदैंन, सरकारले पनि साथ दिनुपर्छ ।’ शर्माले सरकारले रेलको हल्ला गर्नुभन्दा पनि चित्तवन हेटौंडा बुलेट ट्रेन सञ्चालन गर्न सुझाव दिए । उनले अबको ५ वर्षभित्र प्रतिव्यक्ति आय ४ हजार डलर पुर्याउन निजी क्षेत्र तयार रहेको बताए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इलेक्ट्रिक सवारीको विकासमा निजी क्षेत्रको ठूलो भुमिका हुने बताए । उनले भने-‘निजी क्षेत्र र सरकार एउटै डुङगामा हिड्ने भएकाले  यसमा दुबै सफल हुनु जरुरी छ, हामी जागिर खान मात्र मन्त्री बनाएका होइनौं ।’ कार्यक्रममा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकारले चारैतिर हात हाल्नु भन्दा कुनै एक क्षेत्रलाई मात्र अघि बढाउनु पर्नेमा जोड दिए । उनले इथोपियाको उदाहरण दिदैं नेपालले पनि कुनै सीमित विषयलाई मात्र प्रमुख एजेन्डा बनाउनु पर्ने सुझाए । कार्यक्रमा ३ नम्बर प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मालगायतले प्रदेशको आर्थिक सम्भावनाबारे विचार राखेका थिए ।

महासंघको महासचिवमा गौतमको उम्मेद्धवारी, कम मुल्यमा ठेक्का कबुल गर्ने नीति विरुद्ध लड्ने प्रतिवद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् । गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसको लागि आफ्नो उम्मेदारी रहेको स्पष्ट पारे । उनले सार्वजनिक खरिद ऐनमा रहेको कम मुल्यमा कबुल गर्नेले ठेक्का पाउने उल्लेखित व्यवस्थालाई सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यो व्यवस्थालाई सुधार गरियो भने गुणस्तरीय काम हुन्छ । मेरो यसमा धेरै जोड रहेको छ ।’ उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तिब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएका त्रुटिहरुलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’ राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूहरु दुई दशकभन्दा बढि काम गरेको अनुभव रहेको सुनाउँदै गौतमले भने,‘मसँग मुलुकभित्र र बाहिर गरि लामो समय काम गरेको अनुभव छ । ईलाम जिल्ला कार्यसमितिमा एक कार्यकाल, पूर्वाअञ्चल क्षेत्रीय निर्माण व्यवसायीमा एक कार्यकाल हुँदै केन्द्रीय सदस्यमा रहेर एक कार्यकाल बिताएको छु । अब म लड्ने भनेको नै महासचिवमा हो, मेरो भीजन भनेको ५० वर्ष पहिले दक्षिण कोरियाले अवलम्बन गरेको विकासको मार्ग जसरी अघि बढ्नुपर्छ भन्ने हो, हामी विकासमा धेरै पछि छौं, सरकारले क्षमता अनुसारको काम दिने हो भने समयमै काम सकिन्छ, निर्माण व्यवसायीहरुले पनि आफ्नो क्षमताकै आधारमा काम लिने हो भने काम समयमै सकिन्छ, गुणस्तर पनि आउँछ ।’ केही गल्तिहरु आफूहरुको पनि रहेको सुनाउँदै उनले भने,‘हामीहरुबाट पनि केही गल्तीहरु भएका होलान्, क्षमता अनुसारको काम दिने ऐन हुने हो भने कामको गुणस्तर र समय दुबै मिल्छ, त्यसपछि हामीलाई कुनै प्रकारको आलोचना गर्ने ठाउँ भेटिदैन, अर्को कुरा हाम्रो संगठनका सहकर्मीमाथि हेर्ने दृष्टिको बद्लिनुपर्छ, राज्यको पैसा कर्मचारी, निर्माण व्यवसायीको माध्ययमबाट जनताकोबीचमा पैसा आउने हो, जसमध्ये निर्माण व्यवसायीको माध्यममार्फत अलि बढि पैसा जनताकोबीचमा आउने हुनाले हेर्ने दृष्टि फरक हुन गएको छ, सूरक्षाको हिसाबमा सरकारले सजक हुनैपर्छ ।’ गौतमले निर्माण कार्य गुणस्तरीय नहुनुको पछाडि व्यवसायीहरुको मात्रै दोष नभएर निर्माण सामाग्रीहरुको कमसल लगायतका अरु थुप्रै कारण पनि हुन सक्ने सुनाए । उनले अघि थपे,‘विकास निर्माणको बारेमा सरकार र निर्माण व्यवसायीबीच अन्योन्याश्रीत सम्बन्ध छ, विकासको मुख्य जिम्मा सरकारको भएपनि त्यसको अभिन्न अंग हामीनै हो, हामी उद्योगको पनि उद्योग हो, सरकार, विज्ञ, निर्माण व्यवसायी सम्बन्धित् पक्षसँगको बृहत्त छलफल गर्ने र त्यसको आधारमा विकासका कामहरु हुनुपर्छ ।’

रोयल इन्डफिल्डको दुई नयाँ मोडल बजारमा, सेतो र रातो रङमा पाइने

काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको दुई नयाँ मोडल अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लिले थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाइक सार्वजनिक गरेको हो । उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले जनाएका छन् । उक्त क्लासिक गन मेटल ग्रेमा बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर विशेषता रहेको छ । त्यस्तै, थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङ्मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अनावरण लगतै सोहि यस ब्राण्डको थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाईकको बिक्री बितरण शुरु भएको कम्पनीले जानकारी दिएको छ ।

बजारप्रति लगानीकर्ताको विश्वास बढ्दै, सेयर बेच्नेभन्दा किन्नेको भीड

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दै गएपछि विस्तारै सेयर बजार पनि उकालो लागेको छ । बैंकको ब्याजदर घट्न थालेको र लाभांशको लोभले गर्दा सेयर बजार बढेको हो । सेयर बजारमा देखिएको सुधारसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । यता बैंकहरुले सेयर कर्जाका लागि योजना ल्याउन थालेका छन् । निरन्तर घटिरहेको बजार दुई साताअघिदेखि उकालो लागेपछि लगानीकर्ताहरु सेयर बजारप्रति आकर्षित भएका हुन् । हाल बजारमा सेयर बेच्नेको भन्दा किन्नेको भीड लागेको ब्रोकरहरुको भनाई छ । केही दिनयता बेच्ने भन्दा किन्नेको चाप बढेको ती ब्रोकरको भनाई छ । सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले किन्न थालेपछि बजार बढेको ती ब्रोकरको भनाई छ । बाणिज्य बैंकहरुको सेयर मूल्य सस्तो भएको र लाभांश पाउने लोभले गर्दा लगानीकर्ताहरु सेयर किन्नमा झुम्मिएका छन् । आइतबार मात्रै १६६ कम्पनीको ९१ करोड ५२ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सेयर कारोबार लगायत परिसूचकमा पनि सुधार हुँदै गएको छ । आइतबारको सेयर बजार ११ अंकले उकालो लागेर १२५६.५३ अंकमा पुगेको छ । सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य प्रतिकित्ता ३५९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको पनि ४ करोड रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । नेपाल बैंकको थप निष्कासन (एफपीओ) को कारोबार हुने तयारीमा छ । आइतबार कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादमूलक २६, निर्जीवन बीमा र विकास बैंक २० र बैंकिङ समूह १३ अंकले बढेका छन् भने बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।

एक्सेल डेभलपमेन्टले १७ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले कर सहित आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात ११ करोड ७७ लाख रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंककाे चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेकाे छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ३१५ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर आइतबार झरेर ३०३ रूपैयाँमा कारोबार भएको छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

१७ निर्जीवन बीमा कम्पनीले गरे १३ अर्ब १० करोड भुक्तानी(सूचिसहित)

काठमाडौं । १७ वटा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब १० करोड ५३ लाख दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा बीमा गराउने विमितहरुमध्ये दावी पेश गर्नेहरुलाई सो मात्रामा भुक्तानी गरेका हुन् । ५८ हजार २ सय ८१ वटा दावीको भुक्तानीका लागि सो रकम तिरेका हुन् । गत आर्थिक बर्षमा २७ हजार ९५३ वटा दावीको भुक्तानी गर्न बाँकी रहेको छ । सो दावी वापतको ८ अर्ब ८७ करोड ९ लाख रुपैंयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । बाँकी दावी भुत्तानी चालु आर्थिक वर्षमा हुने छ । सबैभन्दा बढी दावी भुक्तानी हिमालयन जनलरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । हिमालयनले ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीले ४ हजार ७६० वटा दावी वापत सो भुक्तानी गरेको हो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ दावी भक्तानी गरेको छ । शिखरले ९ हजार १९२ वटा दावीका लागि सो भुक्तानी गरेको हो । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पनि ३ हजार ६९० वटा दावी वापत १ अर्ब २८ करोड ३६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सबैभन्दा कम दावी भुक्तानी भने एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । गत वर्ष एभरेष्टले ३ हजार ४९३ वटा दावी वापत ११ करोड ७० लाख रुपैयाँ बराबरको भुत्तानी गरेको छ ।  

३३८७ कर्मचारीले सम्पत्ति विवरण बुझाउन गरे अटेर, अख्तियारले कार्वाही गर्दै

काठमाडौ । गत आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार ८०० मध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए। कर्मचारीलाई आव २०७४/०७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो ।भ्रष्टाचार निवारण ऐन –२०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने हुन्छ । गत वर्ष ८६ हजार ५०० कर्मचारी मध्ये ८२ हजार ८३ कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने गर्दछ । निर्देशक पराजुलीले तोकिएको समयसीमाभित्र नबुझाउने कर्मचारीलाई विशेष परिस्थितिका लागि कार्यालय प्रमुखले निर्णय गरेपछि एक महिना बुझाउन समय दिइने बताए । किताबखानामा सङ्कलन गरिएको विवरण राष्ट्रिय सतर्कता केन्द्रमा पठाइने छ । रासस

आइएमईका कर्मचारीलार्इ बोता मःममा १५ प्रतिशत छुट, सबै आउटलेटमा लागू हुने

काठमाडौं । आइएमई लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम बीच ग्राहकलाई विशेष छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवा ग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष पाउनेछन् । सम्झौतापत्रमा आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोतामःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । काठमाडौंमा ४, ललितपुरमा १ र भक्तपुरमा आउँदै गरेको १ सहित कुल ६ आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख सम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।