विकासन्युज

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । मंगलबार स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

शंकर पोखरेलको दाबी : दाङलाई शैक्षिक प्राविधिक केन्द्र बनाइने

काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले दाङलाई शैक्षिक र प्रविधिमैत्री जिल्लाका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन योजना अघि बढाइएको बताएका छन् । उनले दाङको विकास कुनै एक राजनीतिक दलको चुनावी नारामा सीमित नभई जिल्लावासीको साझा आकांक्षा भएको उल्लेख गरे । पोखरेलका अनुसार लामो समयदेखि अन्योलमा परेको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत घोराहीमा प्रस्तावित क्याम्पस निर्माणले अहिले ठोस गति लिएको छ । स्रोत सुनिश्चिततापछि गत वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र माघ ८ गते निर्माण कम्पनीसँग २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी उनले दिएका छन् । प्रारम्भिक चरणमा ३० करोड रुपैयाँको बजेट व्यवस्थापन गरिएको पनि उनको भनाइ छ । उनले २०८४ सालभित्र पूर्वाधार निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए । 'दाङका विद्यार्थीलाई उच्च प्राविधिक शिक्षा अध्ययनका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो उद्देश्य हो,' पोखरेलले भने । पोखरेलले अत्याधुनिक प्रयोगशाला, डिजिटल लाइब्रेरी र अनुसन्धान केन्द्रसहितको क्याम्पस निर्माण गरिने दाबी गरेका छन् । यसले सूचना प्रविधि, स्टार्टअप र नवप्रवर्तन क्षेत्रमा नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । पोखरेलले दाङलाई भारतको बैंगलुरु जस्तै सूचना प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने ‘मोडेल’ अघि सार्दै ‘दाङ भ्याली’ अवधारणा सार्वजनिक गरेका छन् । उनका अनुसार शैक्षिक पूर्वाधारसँगै प्रविधि पार्क, सीप विकास केन्द्र र उद्योगसँगको एकेडेमिक सहकार्यलाई पनि सँगसँगै अघि बढाइनेछ । स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्यमा दाङलाई लुम्बिनी प्रदेशकै शैक्षिक तथा प्राविधिक हब बनाउने लक्ष्य राखिएको उनले स्पष्ट पारेका छन् । जिल्लाको भौगोलिक अवस्थिति, सडक सञ्जाल र बढ्दो सहरीकरणले यो सम्भावनालाई बल पुर्‍याएको पोखरेलको दाबी छ । उनले विकासका यस्ता परियोजनालाई चुनावी एजेन्डाभन्दा माथि उठेर साझा अभियानका रूपमा समर्थन गर्न सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वानसमेत गरेका छन् ।

अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ०४० कित्ता सेयर बराबरको चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ०६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट कुल ७६ करोड ४७ लाख ०६ हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ । हकप्रद सेयर निष्काशनसम्बन्धी कार्यका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ । यस सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको कम्पनीले जनाएको छ ।  

काउली किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १००, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र  हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालन लगायत दैनिक गतिविधि सावधानी पूर्वक गर्न सबैलाई अनुरोध गरेको छ ।

राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सहकार्य जरुरी: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।  प्रहरी प्रधान कार्यालयमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताए ।  अर्थमन्त्री खनालले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार राजश्व चुहावट नियन्त्रण र राजश्व वृद्धिमा भूमिका खेल्न आग्रह गरे ।  समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसको नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताए ।  प्रविधि, जनशक्ति, कानुनी सुदृढीकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उनले उल्लेख गरे । प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकासम्बन्धी र अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावटसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरे ।  बैठकमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला प्रहरी कार्यालय मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल गरिएको थियो ।

स्वतन्त्रलाई सहयोग गरेको भन्दै २ पालिका प्रमुख र १ उपप्रमुखलाई जसपा नेपालको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई पार्टीबाट निष्काशन गरेको हो । पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हितविपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उनीहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए ।  यसैगरी पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्काशनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।  जसपा नेपालको महोत्तरी-३ मा मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको छ, तर उनीहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन् । 

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

काठमाडौं । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमा अन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ-अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् । कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले प्रत्येक वर्ष होली खेल्ने गर्छन् । सोही परम्पराअनुसार यस वर्ष पनि परिक्रमा विश्रामका क्रममा होली खेलेका हुन् । मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रङ अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । मिथिलामा कञ्चनवनमा होली खेलेसँग होलीको सुरुआत भएको छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमबार महोत्तरीको भङ्गाहा नगरपालिका-९ हरिनमरीस्थित कञ्चनवन पुगेर होली मनाएका छन् । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भङ्गाहा नगरपालिकाले भव्य स्वागत गरिएको थियो । नगर प्रमुख सञ्जीव साहले परिक्रमामा सहभागी भएकालाई स्वागतका लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको र पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्थासहित होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरिएको उहाँले उल्लेख गरे । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा होली वर्षेनि थप व्यवस्थित हुँदै गएको स्थानीय बताउँछन् । यस वर्ष यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले समेत सहभागिता जनाएका थिए । कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रङ अबिर खोलेर होली मनाएको धार्मिक विश्वास रहिआएको नगरप्रमुख साहले जानकारी दिए । उनका अनुसार धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने परम्परा छ । यही फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रूपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेका थिए । प्राचीन मिथिलाको राजधानी जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माताजानकी र मिथिला विहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत् रूपमा १५ दिने यात्रा तय गरिरहेका नगर प्रमुख साहले जानकारी दिए ।  कञ्चनवनपश्चात् पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागु पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौं सहभागिता रहने गरेको छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्राम स्थलमा जाने गरेका छन् । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदल यात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता छ ।